तटीय क्षेत्रमा जोखिम : ‘तिनाउलाई हेपेर बस्नेहरू आफै सती जानेछन्’ !

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

४ दिनदेखि लगातार परेको वर्षाले तिनाउ नदी उर्लिएको छ । वर्षा नरोकिँदा नदीको बहाव क्षेत्रका वासिन्दा त्रासमा छन् ।

तिनाउको उकास क्षेत्रमा मात्र होइन, नदीको बहाव नै छेकेर मानिसहरूले पक्की घर बनाएका छन् ।


Advertisement

१ किलोमिटरभन्दा बढी बहाव क्षेत्र रहेको नदीलाई बढीमा ५०० र कममा सय मिटरसम्म खुम्चाएर सुकुम्बासीको नाममा तिनाउको दायाँबायाँ क्षेत्रमा हजारौं व्यक्ति बसेका छन् ।

तिनाउ नदीका अध्येता तथा इन्जिनीयर डा. खेटराज दहालले नदी ओगटेर बस्नेको राजनीतिकबाहेक अन्य समाधान नभएको बताए । पाल्पा र रुपन्देहीको सीमा क्षेत्र सिद्धबाबा आइपुग्दा तिनाउमा ६४ वटा साना ठूला खोला र भेल मिसिन्छन् । 


Advertisement

‘नेताहरूलाई जिताउने भोट भनेको यही नदी किनारामा बस्नेले हो । यिनीहरूलाई नेताहरूले हटाउन पनि सक्दैनन् । उनीहरू आफै छाड्ने कुरा पनि छैन । तिनाउलाई हेपेर बस्नेहरू आफै ढिलोचाँडो सती पक्कै जानेछन्,’ उनले भने ।

तिनाउ चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीको उच्च जोखिममा रहेका तिनाउ, दानव र कञ्चन नदी छेउका वासिन्दा पानी पर्दा घर छाडेर बस्छन् । तटीय क्षेत्रका वासिन्दालाई तिनाउमा बाढी आउने संकेत र सूचना साइरन बजाएर प्रवाह गरिन्छ । २०४५ सालदेखि सुकुम्बासीको नाममा तिनाउ अतिक्रमण गरेर बस्न शुरू गरिएको जानकारहरू बताउँछन् ।

डा. दाहाल भन्छन्, ‘नदीमा बाढी प्रत्येक वर्ष आउँदैन । ठूलो भूकम्प पनि धेरै वर्षपछि आएजस्तै हो । २०३० को दशकमा तिनाउले पूर्वपश्चिम राजमार्गको पुल र १५० भन्दा बढी घर बगाएर ठूलो धनजनको क्षति गरेको थियो । त्यहीँ अवस्था फेरि आउँछ ।’ पछिल्ला २ दशकयता तिनाउमा बढेको नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् र मानवीय अतिक्रमणका कारण जिल्लाकै समृद्धिको आधार मानिएको तिनाउ अभिशाप बन्ने खतरा रहेको बताइन्छ ।

२०३० सालमा तिनाउले बुटवलको दाउरे टोलका १५० घर बगाएको थियो । तिनाउको पक्की पुल बगायो । २०७३ सालमा बुटवल देवीनगरको झोलुङ्गे पुल र केही घरटहरा नदीको कटानमा परेका थिए । तिनाउ नदीसँग जोडिएका बुटवल उपमहानगरपालिका–१, २, ३, ५, ६, ९, १८ र तिलोत्तमा नगरपालिकाको १–३ नम्बर वडासम्म नदीको बहाव क्षेत्रमै घर बनाइएका छन् ।

वातावरण क्षेत्रका जानकार युवराज कँडेलले पाल्पाका विभिन्न स्थानीय तहमा खानीको उत्खनन् र विकास निर्माणका कामसँगै भूक्षयले गर्दा नदीमा बाढी आउने जोखिम बढी रहेको बताए । ‘तिनाउको जलाधार क्षेत्रमा खानीका नाममा उत्खनन् भइरहेको छ । त्यो माटो ढुंगा तिनाउमै मिसिने हो । त्यो भेल कतिखेर आएर बहाव क्षेत्रका बस्ती कटान गर्छ ठेगान हुँदैन,’ उनले भने । स्थानीय तहहरूले बहाव क्षेत्रमा बस्नेलाई रोक्नुको सट्टा सेवासुविधा दिएर वैधानिकता दिएजस्तै भएको छ । रुपन्देहीमा मात्रै तिनाउ ६० किलोमिटर छ । पाल्पाको माडी फाँटबाट शुरू भएको तिनाउ रुपन्दहीको दक्षिणी क्षेत्र मर्चवार हुँदै भारतको गोरखपुरमा पुगेर मिसिन्छ । 

इन्जिनीयर दाहाल थप्छन्, ‘नदीलाई अड्कलेर हिँडाएर हुँदैन । ढिलोचाँडो नदी आफ्नो पुरानो बाटोमा फर्किन्छ । नदीलाई मानिसहरूले आफू अनुकूल हिँडाउने होइन । नदीको बाटो रोक्न हुँदैन ।’

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले सुकुम्बासीको नाममा नदीको बहाव क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई जनप्रतिनिधि आएपछि रोक लगाइएको बताइन् । ‘हामी आएपछि थाहा पाएसम्म कसैलाई पनि टहरा बनाएर बस्न दिएका छैनौं । अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने कार्य भइरहेको छ,’ उनले भनिन् ।

बुटवल उपमहानगरपालिकाले संकलन गरेको तथ्यांकमा करीब १६ हजार सुकुम्बासी छन् । सरकारले तिनाउ करिडोरमा औद्योगिक क्षेत्र बनाउने बताउँदै आएको छ । तिनाउ करिडोरमा औद्योगिक क्षेत्र बनाउँदा पनि जोखिम बढी रहने जानकारहरू बताउँछन् । हिउँदको समयमा जथाभावी उत्खनन् गर्दा पूर्वपश्चिम राजमार्गको पक्की पुल समेत जोखिममा छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्