बाढी र डुबानले बर्सेनि पिरोल्ने प्रदेश २ : कस्तो छ प्रदेश सरकारको तयारी ?

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रदेश २ मा प्रत्येक वर्ष बाढी र डुबानका कारण जनधनको ठूलो क्षति हुने गर्छ ।

यस वर्ष पनि पछिल्लो केही दिनदेखिको वर्षाका कारण प्रदेश २ का आठवटै जिल्ला पूर्णरूपमा प्रभावित छन् । विभिन्न भूभाग जलमग्न हुनुका साथै कतिपय स्थान त डुबानमा नै परे ।


Advertisement

सप्तरीको डाक्नेश्वरी, खडक, हनुमाननगर नगरपालिका, महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, सिरहाको सिरहा र लहान नगरपालिका तथा नवराजपुर गाउँपालिका, धनुषाको नगराइन नगरपालिका, मुखियापट्टी मुसहर्निया गाउँपालिका अति नै प्रभावित रहेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए ।

उनका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका, मनरा शिसवा नगरपालिका, महोत्तरी गाउँपालिका, सर्लाहीको ईश्वरपुर नगरपालिका, चक्रघट्टा, विष्णु, कोडैना, ब्रह्मपुरी गाउँपालिका, रौतहटको गौर, ईशनाथ, राजपुर, परोहा, चन्द्रनगर नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, फेटा, सुवर्ण गाउँपालिका प्रभावित भएको छ । त्यसैगरी पर्साको पर्सागढी नगरपालिका, जगनाथपुर, बहादुरमाई गाउँपालिका पनि प्रभावित भएको छ ।    


Advertisement

प्रदेश २ प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांकअनुसार सिरहामा १ जनालाई खोलाले बगाएर मृत्यु भएको छ ।  त्यसैगरी चट्याङका कारण सप्तरी, सर्लाही र रौतहटमा १/१ जना र बारामा ४ जनाको ज्यान गएको छ ।

चटयाङकै कारण कुल २० जना घाइते समेत भएका छन् । बाढीका कारण प्रदेश २ मा कुल १ सय १८ घरका ६ सय ६४ जना मानिसहरू प्रभावित भएका छन् । त्यसैगरी प्रदेश २ मा ४ सय ५० घर तथा २ हजार ७ सय मानिसहरू उच्च जोखिममा रहेका छन् । 

प्रदेश २ को सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार गत वर्ष आएको बाढीका कारण ३८ जना मानिसको मृत्यु भएको थियो ।  १ अर्बभन्दा बढीको भौतिक संरचना क्षति भएको थियो ।

उक्त क्षतिको रकम राहतस्वरूप उपलब्ध गराइदिन प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको भएपनि कुनै राहत प्याकेज उपलब्ध नभएको उनी बताउँछन् । बाढी, डुबान, कटान प्रत्येक वर्षको समस्या हो । मानिसहरू उक्त प्राकृतिक प्रकोपको क्षति भोग्न बाध्य छन् ।

उक्त क्षतिलाई रोक्न तथा नियन्त्रण गर्न प्रदेश सरकारले हालसम्म के कति काम गर्‍यो त भन्ने प्रश्न उठ्नु स्वाभाविक पनि हो । विपद् हेर्ने निकाय आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अवधकिशोर कुशवाहाका अनुसार बाढीको प्रकोप न्यूनीकरण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा ४ थान रबर बोट सेट किनेर प्रदेश २ को प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

१९ लाख ५४ हजार रुपैयाँमा ४ सेट रबर बोटमा ३२ थान लाइफ ज्याकेट, ३२ थान प्याडल, ३६ थान हेल्मेट र डोरी (रोप) किनेर असार ३१ गते प्रदेश प्रहरी प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहलाई हस्तान्तरण गरिएको उनले बताए । 

त्यसैगरी रबर बोट खरिद गर्नका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रौतहट र बारा जिल्ला गरी ६ जिल्लास्थित जिल्ला प्रशासन कार्यालयलाई ५/५ लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ निकासा गरेर पठाइएको छ । सर्लाही र पर्सा जिल्लाका लागि पनि उक्त रकम पठाइएको थियो, तर ती दुईवटा कार्यालयको संकेत कोड आर्थिक मामिला तथा योजना मन्त्रालयमा दाखिला नरहेका कारण पैसा जान नसकेको कुशवाहा बताउँछन् । 

त्यसबाहेक ८ वटा ड्रोन र ५० थान साइकल किन्नका लागि प्रदेश सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासलाई २६ लाख रुपैयाँ पठाइएको छ ।  उक्त मुख्यालयलाई गम बूट किन्न थप २ लाख ५० हजार रुपैयाँ समेत पठाइएको उनले बताए । 

गत आर्थिक वर्षमा नै प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूलाई पनि एउटा/एउटा मोटर बोटका लागि कुल ४० लाख रुपैयाँ छुट्याएको थियो ।

त्यसैगरी लाइफ ज्याकेटका लागि ५ लाख रुपैयाँ, थ्रो ज्याकेटका लागि ५ लाख रुपैयाँ र रेस्क्यू रोपका लागि २ लाख गरी कुल ५२ लाख रुपैयाँ रकमान्तर गरेर पठाउनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा सहमतिका लागि पठाइएको थियो । तर, रकमान्तर गरेर बजेट निकासा दिन आर्थिक मामिला तथा योजना मन्त्रालयले सहमति नदिएका कारण रकम पठाउन नसकिएको कुशवाहाले बताए ।

गत वर्ष बाढी आउँदा प्रदेश २ मा ८ वटा रबर बोट थियो तर अहिले प्रदेशमा कुल ५० वटा रबर बोट हुनुपनि सफलता नै रहेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव बताउँछन् । 

‘प्रदेशमा एउटा मात्र मोटर बोट थियो तर अहिले ६ वटा पुगेको छ,’ उनले भने, ‘हयान्ड थ्रो ब्याग थिएन तर अहिले ५ सय थान थ्रो ब्याग भएको छ ।’ 

प्रदेश प्रहरी कार्यालय र प्रादेशिक सशस्त्र प्रहरी कार्यालयमा एक–एक थान ड्रोन क्यामेरा उपलब्ध भएको छ । लाइफ ज्याकेटसहित विभिन्न रेस्क्यू सामग्री तथा उपकरण जुटाउन सफल भएको उनले बताए ।  

बाढीमा फसेका व्यक्तिहरूलाई उद्धार गर्नका लागि पर्याप्त जनशक्ति तयार पारिएको उनले बताए । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितका प्रदेशका सबै जिल्लाका जनशक्तिलाई बाढीमा फसेका व्यक्तिहरूको उद्धार कार्यका लागि आवश्यक तालिम दिइएको छ । 

बाढीमा फसेका व्यक्तिहरूलाई उद्धार गर्नका लागि नेपाल प्रहरीका १ सय ५० जना, सशस्त्र प्रहरीका ३ सय जना र नेपाली सेनाका २ सय ५० जना सुरक्षाकर्मीलाई तयार पारेर राखिएको यादव बताउँछन् । 

ती जनशक्तिले अहिले आएको बाढीमा फसेका मानिसहरूको समेत उद्धार गरेको उनले बताए । 

आगामी दिनमा प्रदेशका सुरक्षाकर्मीहरूलाई बाढीमा फसेका मानिसको उद्धार गर्नका लागि बंगलादेशमा थप प्रशिक्षणका लागि पठाउने कार्ययोजना बनेको यादव बताउँछन् ।

‘पहिले बाढीमा फसेका मानिसहरूलाई उद्धार कसरी गर्ने, कुन रूटबाट गर्ने भन्ने समेत यकिन थिएन,’ मन्त्री यादवले भने, ‘तर हामीले अब नदीहरू तथा बस्तीको इभ्याकुएसन रूट समेत तय  गरेका छौं ।’ 

सशस्त्र प्रहरीमा गोताखोर जनशक्ति समेत भएका कारण फसेका मानिसको उद्धार जतिबेला पनि गर्न सक्ने अवस्थामा प्रदेश सरकार रहेको उनले बताए ।

बाढीमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौंमा नेपाली सेनाको दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको समेत उनले जानकारी दिए । 

बाढीमा कुन–कुन ठाउँमा के कस्तो भौतिक क्षति भएको छ भन्ने कुराका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरेको छ । 

उक्त अनुगमन समितिले अनुगमन गरेर कटानमा परेको सडक, नदीको तटबन्ध निर्माण गर्न सिफारिस गर्नेछ  । 

फसेका मानिसहरूलाई सुरक्षित स्थानमा राख्नका लागि विभिन्न स्थानीय तहमा शेल्टर बनाउने स्थान पहिचान भए पनि आगामी वर्षमा त्यो काम थालिने उनले बताए ।

दीर्घकालीन रूपमा नै बाढी बाट हुने क्षति न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले रणनीति तथा कार्यक्रम समेत बनाइसकिएको मन्त्री यादवले दाबी गरे । त्यसलाई प्रदेश सभामा लग्न भने बाँकी नै छ । 

दीर्घकालीन योजना अन्तर्गत नै बाढीको मूल (मुहान) अन्य प्रदेश भएका कारण अन्तर प्रदेश स्तरीय बैठक गरेर न्यूनीकरणका उपाय अवलम्बन गर्ने, ठाउँ–ठाउँमा राहतका सामग्रीहरू भण्डारण गरेर राख्नका लागि गोदाम घर बनाउने, आफ्नै हेलिकप्टर किन्ने, चुरे संरक्षणका कामहरू गर्ने जस्तो कार्ययोजना रहेको उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्