प्रधानमन्त्री रोजगार कार्यक्रमबा ६० हजारभन्दा बढीले पाए रोजगारी

फाइल फोटो।

देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट  ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन्। सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि बढाउने लक्ष्य र योजना बनाएको छ। 


Advertisement

विभिन्न दातृ निकायले समेत कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बेरोजगार युवालाई रोजगारी दिने नितान्त मौलिक कार्यक्रमका रुपमा सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको छ।

 यस्तै श्रमिकलाई दीर्घकालीन हित गर्ने लक्ष्यका साथ अगाडि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक लाख ६८ हजार ८७०  योगदानकर्ता आबद्ध भएका छन्।


Advertisement

मन्त्री  रामेश्वर राय यादवको अध्यक्षतामा यस मन्त्रालय र अन्तर्गतका निकायले आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित वार्षिक कार्यक्रम तथा आयोजनाहरुको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा उक्त विवरण पेश भएको हो। 

आव  ०७६÷७७ मा  मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनामा आठ र दोस्रो प्राथमिकता प्राप्त आयोजना तीन गरी कूल ११ परियोजना सञ्चालन गरिएको थियो । ती कार्यक्रममा कूल बजेट ६ अर्ब ४० करोड ५२ लाख विनियोजन गरिएको थियो। 

मन्त्रालय अन्तर्गतको १४४ वटा माइलस्टोनमध्ये ८८ सम्पन्न तथा ४५ आंशिक सम्पन्न रही कूल सङ्ख्याको ७५ प्रतिशत कार्य प्रगति हासिल भएको छ। मन्त्रालयको बेरुजु फछ्र्यौट ५५.५० र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ। 
 

कमेन्ट गर्नुहोस्