कोरोना महामारीसँगको युद्धलाई अवसरमा बदल्ने यी कलिला नर्स

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

कोरोना महामारी (कोभिड–१९) ले धेरै नेपालीको रोजगारी गुमाइदिएको छ । महामारीको उपचारमा खटिनुपर्ने बेला केही निजी स्वास्थ्य संस्थाले कोरोनाको जोखिम हुने भन्दै बिरामीलाई ढोका बन्द गरेर स्वास्थ्यकर्मीलाई समेत बिदा गरे ।

तर नर्सिङ क्षेत्रको अध्ययन (बीएस्सी नर्सिङ, एचए, स्टार्फ नर्स अध्ययन पूरा) गरेर रोजगार नपाएर घरमै बसेकाहरूले जोखिम मोलेरै यतिबेला देशको सेवा कामको अवसर पाए ।


Advertisement

कोरोना भाइरस संक्रमितको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत सञ्चालनमा रहेको धागो कारखानाको कोरोना विशेष अस्थायी अस्पतालमा धेरै नयाँ नर्सहरू छन् । कम उमेरका उनीहरू कोरोना युद्धलाई अवसरको रुपमा लिएर रातदिन निर्धक्क संक्रमितको सेवामा जुटेका हुन् । कोभिड अस्पतालमा ९० प्रतिशत नयाँ नर्सहरू आईसीयू/भेन्टिलेटरमा संक्रमितको स्याहारसुसारमा खटिएका छन् ।

सानो छोरा छाडेर आईसीयूमा संक्रमितको उपचारमा खटिएकी लक्ष्मी


Advertisement

अध्यनन पूरा भएलगत्तै उनको बच्चा (छोरा) जन्मियो । बुटवलकी लक्ष्मी ज्ञवाली काठमाडौंस्थित होम इन्टरनेसनल कलेजबाट २०७३ सालमा बीएस्सी नर्सिङ ‘पास आउट’ हुन् । जागिर खोज्ने भन्दाभन्दै बच्चा सानै भएकाले लक्ष्मी आफैंले पनि त्यति इच्छा देखाइनन् । 

यो वर्ष चाहिँ जागिर गर्नुपर्छ भन्ने उनको सोच बलियो हुँदै गएको थियो । कोभिड–१९ को महामारी उनलाई अवसर बनेर आयो । प्रादेशिक अस्पतालले कोभिड–१९ अस्पतालका लागि नर्सको माग गर्‍यो । लक्ष्मी त्यो अवसर नगुमाउने सोच बनाइन् । 

उनले पठाइ पूरा गरेको पनि ३ वर्ष भइसकेको थियो । यति लामो समयसम्म खाली बसेपछि महामारीका बेला किन जागिर चाहिएको होला भनेर उनलाई आफन्तहरूले प्रश्न गरिराख्थे तर आफ्नो दृढ चाहना र परिवारले पनि पूर्ण साथ दिएपछि उनले जागिरका लागि आवेदन दिइन् । उनी छनोट भइन् र वैशाख १ गतेदेखि लक्ष्मीको ‘ड्युटी’ शुरू भयो ।

नर्सको जागिर उनका लागि पहिलो थियो । उत्साह, रहर र मनमा कोरोनाको त्रास पनि । शुरूका केही दिन धागो कारखानाको कोभिड अस्पतालमा बिरामी थिएनन् । त्यहाँ कार्यरत नर्सहरूलाई बिरामी आउँदैन होला जस्तो पनि लाग्यो । जब पहिलो संक्रमित व्यक्ति अस्पताल आए, त्राससँगै लक्ष्मीसहित अन्य नर्सहरू सर्तक भएर निकक्क तयारी अवस्थामा रहे । २७ वर्षिया लक्ष्मी अस्पतालको आईसीयूको ग्रूप इन्चार्ज पनि हुन् ।

लक्ष्मी भन्छिन्, ‘शुरूमा केही त्रास देखिए पनि अहिले सहज रुपमा काम गरेका छौं । अहिले त मनमा केही आशंका पनि छैन । अझै महामारीले जागिर जुराइदिएजस्तो पनि भयो मलाई । त्रास विना सहज रूपमा आईसीयूमा काम गरेका छौं ।’

अस्पतालको आईसीयूमा उपचारपछि १५ जना निको भएर घर फर्किसकेका छन् भने २ जना अस्पतालमै छन् । ३ वर्षको छोरालाई छाडेर उनी अस्पतालमा बिरामीको सेवा गरेर होटलमा बस्छिन् ।

आईसीयूमा रहेका संक्रमित बिरामीलाई खाना खुवाउनेदेखि सरसफाई गर्न पनि पछि पर्दैनन् नर्सहरू । लक्ष्मी भन्छिन्, ‘आफूले सुरक्षाका उपकरण लगाएर काम गरेपछि धेरै डर लाग्दैन । क्वारेन्टीन बसेर कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि बल्ल घर जान्छु, महिनाको एक पटक बच्चा भेट्न पाइन्छ ।’ आईसीयूमा काम गर्ने नर्सहरूको सेवा देखेर बिरामी पनि खुशी हुने गरेका छन् ।

‘शुरूमा आईसीयूमा आएका २ जना कपिलवस्तु र दाङका व्यक्तिको अवस्था जटिल थियो । उनीहरूको उपचार खटेका थियौं । संक्रमितको उपचारमा खटिँदा मनमा त्राससँगै सेवालाई अवसरको रुपमा लियौं,’ उनले भनिन् । जोखिममा काम गर्ने स्वास्थ्यकर्मीमाथि राज्यबाट खासै ध्यान नपुगेको ज्ञवालीको गुनासो छ । 

फेसबूक ग्रूपमा भेटिएको आवश्यकताले जुराइदिएको जागिर

मानिसको जीवन सोचजस्तो हुँदैन भन्ने भनाइ नै छ, त्यस्तै भएको छ बुटवलको कोरोना विशेष अस्पतालमा कार्यरत स्टाफ नर्स रीया थापाको पनि । काठमाडौंमा जन्म, बालापन र अध्ययन पूरा गरेकी थापा कोरोना महामारीको बेला कहिल्यै नदेखेको ठाउँमा एक्लै बसेर जागिर गरिरहेकी छन् । स्टार एकेडेमीबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थापाले केही महिना काठमाडौंस्थित स्टार हस्पिटल प्रालिमा स्वयंसेवी भएर काम गरिन् । त्यहाँ कामबाट केही अनुभव पनि सिकिन् ।

कोरोना भाइरस चीनबाट फैलिएर अमेरिका हुँदै भारतमा पनि संक्रमण बढ्दै गएको थियो । २२ वर्षीया रीयालाई जागिरको आवश्यकता पनि थियो । १ दिन साथीले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सहरूको मागसहित आवश्यकताको सूचना कलेज पढ्ने साथीहरूको फेसबूक ग्रूपमा पोस्ट गरिन् ।

‘साथीहरू जागिर खाने इच्छा भए बुटवल जाऔं’ भनेर ग्रूपमा ती साथीले लेखिन् । रीयाको मनमा ‘जाउँ कि नजाउँ’ भन्ने कुरा खेलिरह्यो । उनले बुवाआमासँग पनि सल्लाह गरिन् । अभिभावक पनि दोधारमा परे । रीयाले बीएनको आयोग लड्नका लागि पनि १ वर्षको अनुभव आवश्यकता पर्थ्यो । उनले मन दह्रो बनाइन् । गत चैत ७ गते रीयाले बुटवलको यात्रा तय गरिन् । काठमाडौंको कीर्तिपुरकी रीयालाई बुटवल नौलो थियो ।

प्रादेशिक अस्पतालले धागो कारखानालाई कोभिड–१९ अस्पतालको रूपमा स्तरोन्नति गरेको थियो । भारतसँग सीमा नाका जोडिएको प्रदेश ५ भारतमा संक्रमण बढेसँगै कोरोनाको बढी जोखिममा थियो । त्यही भएर १०० शय्याको अस्थायी अस्पताल छुट्टै ठाउँमा बनाउने निर्णय गरी थप २० जना स्वास्थ्यकर्मी/नर्सको माग गरिएको थियो ।

सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गरिरहेको थियो । राम्रो अंक ल्याएर उत्तीर्ण गरेकी उनलाई अस्पतालले अन्तर्वार्ताका लागि आउन भन्यो । उनी चैत १० गते प्रादेशिक अस्पतालमा अन्तर्वार्ता दिन पुगिन् । त्यहाँ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनाल, वरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापा, अस्पतालका नर्सिङ इन्चार्ज ज्योति पौडेल लगायतको टीम थियो । अन्तर्वार्ता दिइन् । १ हप्तापछि नतिजा आयो । रीया पनि करारका लागि छनौट भइन् । अन्तर्वार्तापछि रीयालाई भनिएको थियो, ‘तपाईं कोभिड–१९ अस्पतालमा पनि काम गर्नुपर्छ ।’ 

कोरोनाको त्रास सबैतिर थियो । डाक्टर, नर्स, स्वास्थ्यकर्मीमा पनि त्रास थियो । छनोटमा परेपछि बुवाआमाले पनि आफू सुरक्षित भएर काम गर्नू, डराउनु हुँदैन भनेर हौसला दिए । जोखिमसँगै चुनौतीलाई अवसरमा बदलेर काम गर्ने आँट र साहस बटुलिन् उनले । बुवाले उनलाई तिलोत्तमाको योगिकुटीस्थित एक घरमा डेरा खोजिदिएर काठमाडौं फर्किए । नयाँ ठाउँ, जोखिम बढी र नयाँ अवसरलाई सहज बनाउँदै वैशाख १ गतेदेखि उनी काममा खटिन थालिन् ।

शुरूको चरणमा उनीहरू अस्पताल जाने–आउने मात्र भयो । अन्य ठाउँमा संक्रमित बिरामी भेटिए पनि प्रदेश ५ मा संक्रमित भेटिएका थिएनन् । वैशाख १९ गते रुपन्देहीको कोटहीमाईका एक व्यक्तिमा कोरोना देखियो । उनलाई रीया कार्यरत धागो कारखानामा ल्याइयो । उनीहरूको मनमा डरत्रास पनि देखियो । 

उनी भन्छिन्, ‘शुरूमा कोरोना संक्रमित आएपछि डर लाग्यो, संक्रमित बिरामी कस्ता होलान् भन्ने लागेको थियो तर बिरामीको हेरचाह र आवश्यक काउन्सिलिङ गर्दै गएपछि डर हराउँदै गयो । अहिले आउँदा त केही डर नै छैन । नर्मल अस्पतालमा काम गरे जस्तै हुन्छ ।’

बुटवल अस्पतालमा कोरोना संक्रमितले नृत्य गरिरहेको भिडियो रीयाले नै खिचेकी थिइन् । जुन भिडियो भाइरल बनेको थियो । त्यो भिडियोले कोरोना संक्रमण पनि खुशी हुन र रमाउन सक्छन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको थियो । उनी भन्छिन्, ‘भिडियो मैले खिचें तर त्यो भिडियो मिडियामार्फत बाहिर जाँदा डर लाग्यो तर भिडियो बाहिर जाँदा पोजेटिभ म्यासेज गयो ।’ महामारीको समयमा स्वास्थ्यकर्मीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने र स्वास्थ्यकर्मीले जोखिमपूर्ण क्षेत्रमा डर नमानी राम्रो योगदान दिनुपर्ने उनको बुझाइ छ ।

उनीसहित अन्य नर्सहरू अस्पतालमा आउने संक्रमितलाई परामर्श दिन्छन् । ‘कोरोना केही पनि होइन । निको हुन्छ । डराउनु पर्दैन । केही समस्या भए हामीलाइ खबर गर्नुहोहोला । अस्पतालको शय्याबाट सीसी क्यामेरामा हात हल्लाउनुहोला । नत्र हलमा माइकको व्यवस्था छ, माइकमार्फत पनि खबर गर्दा हुन्छ भन्छौं । त्यति भनेपछि संक्रमितको आत्मबल बलियो हुने रहेछ,’ रीया भन्छिन् । अस्पतालमा बिरामीलाई भिटामिन सी भएका खानेकुरा दिने गरिन्छ ।

रीयाले डेरा लिए पनि ३ महिना भयो डेरामा बसेकी छैनन् । पहिलोपटक बुटवल आएकी उनी घर जान पाएकी छैनन् । उनी १४ दिन अस्पतालको नियमित ड्युटी गर्छिन्, त्यसपछि १४ दिन होटलमा क्वारेन्टीनमा बस्छिन् । उनी सहितको समूहलाई अस्पतालले पार्क प्लाजा होटलमा बस्ने व्यवस्था गरेको छ । ‘जीवन यस्तो हुने रहेछ । कहिल्यै नदेखेको, कल्पना नगरेको ठाउँमा एक्लै आएर कोरोना माहामारीमा काम गरें,’ उनले भनिन् ।

शुरूमा उनलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाउने ज्ञान पनि थिएन । अस्पतालले तालिम दियो । अहिले उनी सहजै पीपीई लगाउन र फुकाल्न सक्छिन् । पीपीई लगाएर ६ घण्टासम्म काम गर्दा साह्रै गाह्रो हुने रीयाको भनाइ छ । जोखिमपूर्ण काम गर्ने स्वास्थ्यकर्मीलाई राज्यले भत्ता दिने बताए पनि धागो कारखानामा काम गर्ने स्वास्थ्यकर्मीले भत्ता पाउन सकेका छैनन् । राज्यले स्वास्थ्यकर्मी र चिकित्सकलाई शतप्रतिशत जोखिम भत्ता दिने बताएको थियो । कोरोनाका बिरामीको उपचारमा काम गराउन भर्ना गरिएका करारका नर्सहरूलाई अस्पतालको दरबन्दीमा राखिनुपर्ने रीयाको माग छ ।

अन्यत्रभन्दा संक्रमित बिरामीको उपचार गर्न सजिलो

रूपन्देहीको तिलोत्तमा–४ की मनिषा राना कोभिड महामारी शुरू हुनुपूर्व बुटवलकै एक निजी मेडिटेक हस्पिटल प्रालिमा काम गर्थिन् । ३ वर्षअघि पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेकी रानाले मेडिटेक हस्पिटलमा काम गर्न थालेको ९ महिना भएको थियो । त्यसअघि उनले १ वर्ष बाग्लुङको धौलागिरी प्राविधिक कलेजमा पनि अध्यापन गरेकी थिइन् । त्यसपछि उनले काठमाडौंमा आईसीयू सम्बन्धी तालिम पनि लिइन् ।

काम गर्दागर्दै कोरोनाको महामारी आइपुग्यो । प्रादेशिक अस्पतालले नर्सिङ स्टार्फ माग गर्‍यो । कोरोनाको जोखिम नै भए पनि पाएसम्म निजीभन्दा सरकारी अस्पतालमै काम गर्ने उनको सोच थियो । नभन्दै उनी छनोटमा परिन् र वैशाख १ गतेदेखि दैनिक ड्युटीमा खटिइन् ।

अस्पतालको आईसीयूमा कपिलवस्तु र दाङका कोरोना संक्रमित बेहोस अवस्थामा आए । उनी सहितको नर्सको टीम र चिकित्सकहरू उपचारमा खटिए । अन्य अस्पतालमा जस्तो कोभिड अस्पतालमा जटिल अवस्थाका बिरामीको रेखदेखमा बिरामीका आफन्त जान पाइँदैन । राना भन्छिन्, ‘संक्रमित बिरामीलाई खाना खुवाउनेदेखि शौचालय पुर्‍याउने, सरसफाइको काम हामीले गरेका छौं/गर्नुपर्छ ।’

मनिषालाई पनि महामारीमा कोरोना अस्पतालमा काम गर्न घरबाट सहजै साथ थिएन । २४ वर्षीया उनले अप्ठ्यारो परिस्थितिमा देशलाई साथ दिनुपर्ने भनेर परिवारलाई सम्झाइन् । डाक्टर र नर्सहरूले सुरक्षित मापदण्ड अपनाएर काम गरेपछि सुरक्षित भइन्छ भनेर विश्वास दिलाइन् । छोरीले सम्झाएपछि परिवार ढुक्क भए । अस्पतालमा ८ शय्या आईसीयूका छन् । मनिषा पनि आईसीयूको ग्रूप इन्चार्ज हुन् ।

मसिना भन्छिन्, ‘४ महिना पुगेपछि त हामी कोरोनासँग अभ्यस्त भइसक्यौं । अन्य जस्तो पनि मानिस र बिरामीलाई जोखिम मोलेर काम गर्नुभन्दा संक्रमित भएकाको उपचारमा खटिँदा सुरक्षित भइन्छ जस्तो लाग्दै गएको छ ।’ 

आईसीयूमा लामो समयसम्म काम गर्दा गाह्रो हुने अनुभव छ उनको । अप्ठ्यारो अवस्थामा कति पनि दुःख नमानेर नर्सहरू उपचारमा खटिएका छन । ९ घण्टासम्म पीपीई लगाएर काम गर्दा शौचालय जान पनि पाइँदैन । कोरोनासँग जुध्दा नयाँ अनुभव सिकेको नर्सहरूको अनुभव छ । कोरोनाका लागि भर्ना लिएको अस्पतालले महामारीपछि पनि नर्सहरूलाई कुनै ठाउँमा व्यवस्थापन गर्नुपर्ने कोभिड अस्पतालमा काम गर्ने नर्सको माग छ ।

यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार भएको हो ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्