कोरोना त्रास : लक-डाउन समाधान हैन, यी हुन सक्छन् अबको विकल्प

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

कोरोना महामारीका कारण देशैभर गत चैत ११ बाट घोषणा गरिएको लक-डाउन ४ महिनापछि साउन ७ गतेबाट हटाइएको थियो । लक-डाउन शुरू गर्दा देशैभर जम्मा २ जनामा संक्रमण देखिएको थियो भने लक-डाउन हटाउने निर्णय गरिसक्दा प्रतिदिन औसत ४ सयमा कोरोना संक्रमण भेटिएको अवस्था थियो । 

पूर्वतयारीविनै लक-डाउन हटाइएको भन्दै जनस्वास्थ्य विज्ञहरूले सरकारको आलोचना नगरेका होइनन् । तर लक-डाउन हटाएर जनजीवन सामान्यीकरणतर्फ लैजानुपर्ने माग पनि आमजनताको स्तरबाट उठिरहेको थियो । 


Advertisement

खोप नबनेसम्म कोरोनासँग 'लिभिङ टुगेदर'मै रहनुपर्ने हुनाले व्यक्तिगत तहबाट जनस्वास्थ्यको सबै मापदण्ड अपनाउनुपर्ने, मास्क स्यानिटाइजरको प्रयोग गरिरहनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने जस्ता विषयहरूमा सरकार, चिकित्सक, जनस्वास्थ्य विज्ञहरूले निरन्तर दिइरहने सुझावहरू हुन् । तर पनि पछिल्ला केही दिनमा देशैभर संक्रमणको संख्या उकालो लाग्दो अवस्थामा छ भने संक्रमणका कारण हुने मृत्युको आंकडा पनि बढिरहेको छ ।    
कोरोनाको सन्त्रासका कारण घटेको आर्थिक गतिविधिले बेरोजगारी बढाइरहेको छ । काम गर्नेहरूले पनि आफ्नो कामबाट हात धुनुपर्ने परिस्थिति सिर्जना भएको छ । देशभरि ६० प्रतिशतभन्दा बढी रोजगारीको सिर्जना गरेका निजी प्रतिष्ठानहरू कर्मचारी, तलब र सुविधा कटौती गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा उभिएका छन् ।  

यस्तो अवस्थामा चारैतिरबाट एउटै प्रश्न सोध्न थालिएको छ, 'के अब फेरि लक-डाउन हुन्छ त ?' प्रश्न स्वाभाविक छ किनभने संक्रमितको संख्या बढिरहेको छ । संक्रमण बढेपछि वीरगञ्ज, विराटनगर जस्ता आर्थिक गतिविधि धेरै हुने सहरमा कहीँ लक-डाउन त कहीँ निषेधाज्ञा नै जारी गरिएको छ । उपत्यकामै पनि ट्राफिक प्रहरीमा संक्रमण देखिएपछि सयौँ प्रहरीलाई क्वारेन्टीनमा पठाइएको छ ।


Advertisement

यद्यपि कोरोना समुदायस्तरमा फैलिएको छ कि छैन भन्ने विषयमा सरकारी अधिकारी र विज्ञहरूसँग स्पष्ट जवाफ छैन ।

फेरि लक-डाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएको छैन - सीसीएमसी 

हामीले फेरि लक-डाउन गर्ने सरकारको तयारी छ र ? भनेर कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का कार्यालय सचिव महेन्द्र गुरागाईंलाई सोधेका थियौं । उनले भने, 'फेरि लक-डाउन गर्ने कि नगर्ने भन्ने विषयमा कुनै छलफल भएको छैन । जहाँ संक्रमण छ, त्यहाँ सील गरेर टेस्ट बढाउनुपर्छ भन्ने लाइनमा छलफल भएको छ ।'

गुरागाईंले अबको ५/७ दिनमा टेस्टलाई बढाउँदै लैजाने निर्णय भएको र त्यसले संक्रमणको स्वरूप पत्ता लगाउने बताए । 'संक्रमण धान्न नसकिने स्थितिमा देखियो भने नियन्त्रणका सबै उपायहरू अपनाउनुपर्ला,' उनले भने, 'नत्र भने बाहिरबाट आउने मान्छेहरू नियन्त्रण भयो भने उपत्यकामा संक्रमण बढ्दैन भन्ने अस्तिको बैठकले निष्कर्ष निकालेको थियो । आवश्यक पर्दा संक्रमण फैलिएका क्षेत्रहरू सील गरेर परीक्षण गर्ने निर्णय त मन्त्रिपरिषद् बैठककै हो ।'

उनले त्यही निर्णयका आधारमा अहिले वीरगञ्ज, राजविराज, विराटनगरलगायत केही ठाउँ सील गरिएको बताए । 

उनले थपे- 'काठमाडौंमा पनि कुनै क्षेत्रमा अलि ठूलो स्केलमा देखियो भने त्यो एरिया बन्द गरेर परीक्षण गर्ने र १/२ दिनमा परीक्षणको प्रतिवेदन आएपछि नियन्त्रणबाहिर जाने जस्तो देखियो भने बन्द गर्ने नत्र परिस्थिति काबुमै छ भने गतिविधिहरू गर्न दिने कुरा हो । नागरिकहरू सबै सजग हुनुपर्‍यो । अहिले त्यही रणनीतिमा काम भइरहेको छ ।' 

उनले अबको ५/७ दिनमा काठमाडौंका वडा-वडामा पनि परीक्षण गर्ने तयारी रहेको उनले बताए । 

बाहिरबाट आएका मान्छेहरूलाई वडा कार्यालयले खोज्ने र परीक्षणमा पोजिटिभ भेटियो भने त्यहीअनुसार थप कन्ट्याक्ट ट्रेसिङ गरेर अघि बढ्ने, नत्र सुरक्षित ठानेर गतिविधि गर्न दिने सरकारको तयारी रहेको उनले बताए । 
उनले बोर्डरमै क्वारेन्टीन बनाउने भनेर सीसीएमसीले निर्देशन दिएको बताए । 

अबको यात्रा नवसामान्यीकरण तर्फ - डा. समीर दीक्षित 

जनस्वास्थ्यविज्ञ डा. समीर दीक्षितले कोरोना भाइरस १/२ हप्ता मात्र नभएर १/२ वर्षसम्म पनि समाजमा रहन सक्ने भएकाले अबको परिस्थितिलाई नवसामान्यीकरणतर्फ लैजानुपर्ने बताए ।

डा. दीक्षितले लोकान्तरसँग भने, 'यसको उपचार छैन, खोप अहिलेसम्म आएको छैन । यसबाट न लुक्न सकिन्छ, न त यसलाई हराउन सकिन्छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर जनजीवनलाई सामान्यीकरणतर्फ लैजानु नै अहिले हामीले गर्नुपर्ने पहिलो काम हो ।'

मास्क लगाउने, एकअर्कासँग दूरी बनाउने, स्यानिटाइजर निरन्तर प्रयोग गर्ने, हात धुने, ठूलो–ठूलो स्वरले नखोक्ने, हाछ्युँ नगर्ने जस्ता सामान्य कुराहरू गर्ने हो भने संक्रमण भयावह हुनबाट रोक्न सकिने उनको मत छ । 

'कुन देशमा लक-डाउन गरेपछि संक्रमण रोकिएको छ र ?' उनले प्रश्न गरे, 'लक-डाउनले कोरोना रोकिन्छ भन्नु भ्रम हो । बरू सरकारले परीक्षण व्यापक बनाउने, जो-कोहीले पनि परीक्षण गर्न पाउने व्यवस्था गर्ने, संक्रमितमा लक्षण छैन भने घरमै आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने र स्थानीय सरकारले त्यसको अनुगमन गर्ने कामहरू गर्नुपर्छ ।' 

डा. दीक्षितले अकस्मात कोरोना संक्रमण बढेको भन्दै त्रास लिन नहुने बताए । 'संक्रमण बढेको हो तर यो अकस्मात होइन,' उनले भने, 'क्वारेन्टीनमा टेस्ट नभएपछि ती मान्छेहरू समाजमा गए, अहिले उनीहरूमा पोजिटिभ देखिएको छ र समाज पनि जोखिममा परेको छ । सरकारले शुरूदेखि नै सही रणनीतिमा काम गरेको छैन । नेपालमा संक्रमण पहिल्यैदेखि छ र कहिले धेरै देखिन्छ कहिले थोरै । यसमा कोही त्रासमा बस्नु पर्दैन ।'

अन्य देशमा विना लक-डाउन कोरोना नियन्त्रण भइरहेको छ, हामीले किन त्यसो गर्न सक्दैनौं ? डा. शेरबहादुर पुन 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनले तयारीका साथ लक-डाउन खोल्नुपर्छ भनेर आफूले भन्दै आएको भएपनि त्यो नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

'पछि जोखिम हुनसक्छ भनेर मैले पहिल्यैदेखि नै भन्दै आइरहेको हो,' डा. पुनले लोकान्तरसँग भने, 'धेरै शंकास्पद मान्छेहरू यो बीचमा काठमाडौं भित्रिए । काठमाडौं मात्र नभएर सीमाबाट नेपाल भित्रिएकालाई संक्रमण छ कि छैन भनेर कसरी पत्ता लगाउने ? उनीहरू होम क्वारेन्टीनमा बसेका छन् कि छैनन् भनेर कसरी थाहा पाउने ? यी विषयमा पर्याप्त तयारी गरिएन ।'

उनले कोरोना समुदायस्तरमै फैलिनुमा आमनागरिकको पनि कमजोरी रहेको बताए । 'अहिले समुदायमा फैलिसकेको भन्दै विभिन्न विज्ञहरूले भन्दै आएका छन् । यसमा आम नागरिकको पनि कमजोरी छ । मास्क नलगाउने, जथाभावी हिँड्ने, क्वारेन्टीन बस्नेहरूले नियम पालना नगर्ने, जनस्वास्थ्य मापदण्ड नअपनाउने जस्ता कमजोरीहरू हामीबाटै भएका छन्,' डा. पुनले भने । 

फेरि लक-डाउन लगाउनु पर्ने हो त भन्ने प्रश्नमा डा. पुनको जवाफ छ- 'आम नागरिक सन्तुलित ढंगबाट अघि बढ्नुपर्‍यो । हामी आफैं इमान्दार हुनुपर्‍यो । जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्‍यो । असल नागरिक भएर इमान्दारीपूर्वक जीवन यापन गर्ने हो भने लक-डाउन आवश्यक छैन । यसको खोप नबन्ने बेलासम्म कोरोनासँग हामी सँगै बस्ने गरी आफैंले आफ्नो मापदण्ड बनाउनुपर्‍यो । यो अहिल्यै केही हप्ता या महिनामा जिरोमा जाने परिस्थिति छैन ।'

अन्य देशले विना लक-डाउन नै कोरोना नियन्त्रण गर्न सकिरहेको छ भने हामीले किन नसक्ने भन्दै डा. पुन प्रश्न गर्छन्, 'जहाँ ठूलो परिणाममा देखिन्छ, त्यहाँ सील गर्ने र तत्कालै परीक्षण गर्नुपर्छ । नत्र भने हामी आफैं सजग भएर दैनिक जनजीवन चलाउने हो भने यो त्यति ठूलो विषय होइन ।'

वीरगञ्जको पछिल्लो स्थिति के हो ?

पर्सा जिल्लाको वीरगञ्जमा कोरोना संक्रमणको स्थिति बिग्रँदै गएपछि गत साउन १० गतेबाटै निषेधाज्ञा जारी गरिएको थियो । त्यसलाई निरन्तरता दिँदै साउन १९ गते (भोलि)बाट सदरमुकामबाहिर पनि विस्तार हुने गरी निषेधाज्ञा जारी गरिएको छ । 

गण्डक अस्पतालका सञ्चालकसमेत रहेका नेकपा वीरगञ्ज महानगरपालिकाका अध्यक्ष रहबर अन्सारीले जिल्ला प्रशासन कार्यालयको कमजोरीका कारण वीरगञ्जमा स्थिति खराब हुँदै गएको आरोप लगाए ।

'काठमाडौंबाट स्वास्थ्य टोली आउने भनिएपनि अहिलेसम्म आएको छैन,' अन्सारीले लोकान्तरसँग भने, 'यहाँको स्थिति भयावह छ भन्दा हुन्छ । हिजो राति मात्र ४५ जना नयाँ संक्रमण थपिएको छ । मेयरका घरपरिवार र महानगरका कर्मचारीहरूमा पनि कोरोना देखिएको छ । लक-डाउन खुलेपछि पनि अपनाउनुपर्ने प्रिकउसन् जिल्ला प्रशासन कार्यालयले नअपनाएकाले यस्तो स्थिति आएको हो ।'

प्रशासनले आँखा चिम्लिँदा तस्करी पनि बढेको, भारतबाट आउनेहरूको संख्या ह्वात्तै बढेको उनले बताए । अन्सारीले आफ्नो गण्डक अस्पताल कोभिड १९ अस्पताल बनाउन सरकारलाई हस्तान्तरण गरेका छन् । 

तर पर्सा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले परिस्थित नियन्त्रणमै रहेको दाबी गरे । उनले लोकान्तरसँग भने, 'वीरगञ्जमा अहिलेसम्म ५ सय ३ जनामा संक्रमण देखिएको हो भने २ सय भन्दा बढी निको भएर घर गएका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । हामीले पछिल्लो निषेधाज्ञा कोरोना संक्रमणको मास टेस्टिङ गर्न जारी गरेका हौँ ।'

परीक्षण हुँदै गर्दा मान्छेहरू यता उता हिँड्न नपाऊन् भनेर निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ ।  

'हामीसँग आईसीयू, भेन्टिलेटर आवश्यक मात्रामा छन्,' उनले भने, 'जसरी बाहिर हल्ला फैलाइएको छ त्यो गलत छ । पछिल्ला केही दिनमा औसत ४/५ सय टेस्ट गर्दा ३०/३५ जनामा संक्रमण देखिएको हो, जुन सामान्य नै हो ।'

उनले भन्सारबाट दैनिक ४ सयभन्दा बढी गाडीहरू नेपालतर्फ आउने र सामान लोड अनलोड गर्नेहरू, ड्राइभरहरू जोखिममा रहेको बताए ।

'दैनिक आपूर्ति पनि सहज बनाउनुपर्यो,' उनले भने, 'हामीले काठमाडौँलगायत अन्य ठाउँमा आवतजावत गर्ने मालवाहक ट्रकका कर्मचारीहरूलाई पनि परीक्षण गर्ने व्यवस्था गरेका छौं । परिस्थिति काबुमै छ ।' 

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्