कर्णाली: वैशाख यता बाढीपहिरोमा ४३ जनाकाे मृत्यु, आठ बेपत्ता

फाइल फोटो।

कर्णाली प्रदेशमा गत वैशाखबाट बाढीपहिरोमा परेर ४३ जनाको मृत्यु भएकाे छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका कारणले सयौं घरबारविहीन बनेका छन् भने  ८ जना बेपत्ता भएका छन्। २८ घाइते भएका छन्। 


Advertisement

बाढीपहिरोमा परेर सबैभन्दा बढी मानवीय क्षति कालिकोट भएको र पहिरोको जोखिममा परेर जाजरकोटमा सबैभन्दा बढी विस्थापित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

‘कालिकोटमा बाढी पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ। ६ जना वेपत्ता र ९ जना घाइते भएका छन्। कालिकोटमा १३ घरमा पूर्ण क्षति र १ सय १५७ घरधुरी विस्थापित भएका छन्,’ उनले भने, ‘त्यसपछि जाजरकोट जिल्लामा १५ जनाको मृत्यु, २ जना वेपत्ता र ७ जना घाइते भएका छन् भने करिब ५५ घर पूर्ण रुपमा क्षति र करिब ४ सय घरधुरी विस्थापित भएका छन्।’


Advertisement

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परेर सुर्खेतमा १ जना मृत्यु, ५ घर पूर्ण क्षति, दैलेखमा १ जनाको मृत्यु, ६ जना घाइते, ११ घरमा पूर्ण क्षति, सल्यानमा १ जनाको मृत्यु र रुकुमपश्चिममा ४ जनाको मृत्यु, ६ जना घाइते, ६ वटा घरमा पूर्ण क्षति भएको छ। 

त्यस्तै, बाढीपहिरोका कारणले हुम्लामा ३८ घरमा क्षति भएको र मुगुमा एउटा घरमा क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

बाढी पहिरोका कारणले कर्णालीमा ३ करोड ६७ लाख ३९ हजार ७ सय ७१ रुपैयाँ बराबरको धनमालको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

बाढीपहिरोमा परेर सुर्खेतमा ४५ लाख ७ हजार, दैलेखमा १७ लाख ९५ हजार, जाजरकोटमा ३२ लाख २७ हजार, कालिकोटमा ५६ लाख ५९ हजार ७ सय ७०, रुकुमपश्चिममा २९ लाख १ हजार, हुम्लामा १८ लाख ९८ हजार र मुगुमा ७० हजार रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको प्रवक्ता बास्तोलाले बताए ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्