पुनः लकडाउन होइन, यी १० सावधानी हुन सक्छन् अबको विकल्प

रामचन्द्र भण्डारी
रामचन्द्र भण्डारी

लोकान्तरका समाचार संयोजक भण्डारी प्रशासन, न्याय र राजनीतिमा कलम चलाउँछन् ।

नेपालमा कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो संक्रमण पुष्टि भएपछि २०७६ चैत ११ गतेबाट शुरू भएको लकडाउन यही साउन ७ गते अन्त्य भएको औपचारिक घोषणा सरकारले गर्‍यो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले मध्यरातबाट लकडाउन अन्त्य हुन्छ भनी साउन ६ गते अपराह्न घोषणा गर्दैगर्दा कोभिड संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको थियो । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किएका थिए भने मृतकको संख्या ४० थियो ।


Advertisement

संक्रमण घटेर वा जोखिम कम भएर लकडाउन अन्त्य गरिएको थिएन भन्ने कुराको पुष्टि त्यसपछिका १३ दिनमा देखिएको संक्रमण र मृत्युले नै गर्छ । बरु त्यसमा आर्थिक पाटो र चौतर्फी दबाब प्रमुख कारण थियो ।
लकडाउन अन्त्य भएको पहिलो दिन साउन ७ मा थप २ जनाको मृत्यु भएको पुष्टि सरकारले गर्‍यो ।

त्यो संख्या आजको मिति अर्थात् साउन २० सम्म आइपुग्दा २१ हजार ९ पुगिसकेको छ । यो १३ दिनको अवधिमा ३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । प्रहरी हेडक्वार्टर, अख्तियारको मुख्यालयदेखि मुख्यमन्त्रीको कार्यालयसम्म संक्रमण पुगिसकेको छ ।


Advertisement

मृतकको संख्या ५८ पुगेको छ । यो १३ दिनमा थप १८ जनाको मृत्यु भयो ।

क्वारेन्टीनहरू संक्रमण फैलाउने केन्द्र बने । सरकारले क्वारेन्टीनमा बसेका सबैको परीक्षण समेत गर्न सकेन । भारतबाट नेपाल भित्रिन चाहनेहरूलाई सीमा नाकामा रोकियो । बाध्य भएर उनीहरू चोरबाटो प्रयोग गरी नेपाल छिरे र समाजमा घुलमिल भए । न सरकारले दायित्व पूरा गर्न सक्यो, न नागरिक नै अनुशासित देखिए । अब फेरि त्यस्तै लकडाउनको अर्थ के ?

यसबीचमा वीरगञ्ज, राजविराज, जनकपुरलगायतका स्थानमा संक्रमण नियन्त्रणबाहिर जाने खतरा देखिएपछि निषेधाज्ञा नै जारी गरिएको छ भने विराटनगर लगायतका कतिपय ठाउँमा पुनः लकडाउन घोषणा भएको छ ।

संक्रमण घट्नुको साटो बढ्दै गएपछि देशमा पुनः लकडाउन गर्ने कि भन्ने विषयमा समेत चर्चा शुरू हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार विज्ञहरूलाई बालुवाटारमा बोलाएर छलफल समेत गरेका छन् ।

फेरि लकडाउन कति प्रभावकारी ?
कोरोनाको उद्गम स्थल मानिएको चीनको वुहानमा ७६ दिनसम्म लकडाउन गरियो । झण्डै साढे २ महिनाको यो अवधिमा चीन सरकारले लकडाउनलाई निकै कडाइका साथ कार्यान्वयन गर्‍यो ।

नागरिकहरूलाई दैनिक अत्यावश्यक सामग्रीहरू दैलोमै पुर्‍याइदिनेदेखि घर–घरमा पुगेर नमूना संकलन गरी परीक्षण गरियो । यो बीचमा चीनले कोरोनाको स्थानीय संक्रमणलाई लगभग निमिट्यान्न पार्‍यो ।
हाल फाट्टफुट्ट देखिएको संक्रमणलाई चीनले आयातित संक्रमित भन्ने गरेको छ ।

यदि हाम्रो सरकारको क्षमता, नागरिकको अनुशासन त्यो स्तरको हुन्थ्यो भने ४ महिनाको लकडाउन पनि निकै बढी हो । हामीकहाँ त यति लामो लकडाउनमा पनि कोरोनालाई फैलिनबाट कुनै पनि हिसाबले रोक्न सकिएन, बरु फैलिन मलजल गरियो ।

चैत ११ गते लकडाउन शुरू हुँदै गर्दा एकदमै सहज अवस्था थियो । देशमा स्थानीय संक्रमण शून्यमा थियो । विदेशबाट आउनेहरूलाई मात्र सही ढंगले क्वारेन्टीनमा राख्न र संक्रमितलाई आइसोलेट गर्न सकिएको भए संक्रमण समाजमा जाने नै थिएन ।

तर दुर्भाग्य ! क्वारेन्टीनहरू संक्रमण फैलाउने केन्द्र बने । सरकारले क्वारेन्टीनमा बसेका सबैको परीक्षण समेत गर्न सकेन । भारतबाट नेपाल भित्रिन चाहनेहरूलाई सीमा नाकामा रोकियो । बाध्य भएर उनीहरू चोरबाटो प्रयोग गरी नेपाल छिरे र समाजमा घुलमिल भए । न सरकारले दायित्व पूरा गर्न सक्यो, न नागरिक नै अनुशासित देखिए ।

लकडाउन निमुखाका लागि मात्र भयो । पहुँच हुनेहरू निर्वाध आवतजावत गरे । पास वितरण आवश्यकताका आधारमा भन्दा चिनजान र भनसुनमा बढी भयो । संक्रमितहरू नै ढुक्कले देशको एउटा कुनाबाट अर्को कुनामा पुग्ने वातावरण बन्यो ।

अब भन्नुस्, साढे ४ महिना नागरिकले पाएको दुःख, आर्थिकरूपमा देशले बेहोरेको क्षतिलाई यसले न्याय गर्‍यो त ? पक्कै पनि गरेन ।​

हजारौंले रोजगारी गुमाएका छन्, व्यापार/व्यवसाय २/४ वर्ष उठ्नै नसक्ने गरी थलिएको छ, समग्रमा भन्दा सिंगो अर्थतन्त्र आईसीयूमा छ । अब पुनः लकडाउन गर्दा अर्थतन्त्र कम्तिमा एक दशक उठ्न नसक्ने गरी कोमामा जाने निश्चित छ ।

अझै ४ महिना लकडाउन गर्ने हो भने पनि खुलेको दिनबाट हामीले फेरि यस्तै सावधानी अपनाएर दैनिकी सुचारू गर्नुको विकल्प हुने छैन । बरू त्यतिबेला संक्रमण थप फैलिएको र अझै जोखिमपूर्ण अवस्था हुनसक्छ ।

के अब लकडाउन गरेर वुहानमा जस्तै दैलोदैलोमा सामान पुर्‍याउने र हरेक परिवारमा परीक्षण गर्न सक्ने ल्याकत सरकारसँग छ ? चिनियाँ जस्तै अनुशासित भएर सरकारको निर्देशन पालना गर्ने धैर्य हामी नागरिकमा छ ? छैन र यसैगरी संक्रमण फैलिराख्ने हो भने पुनः लकडाउन गर्नुको अर्थ के ?

डब्लूएचओले नै भनिसकेको छ, कोरोना अबको एकदुई वर्ष समाजबाट जानेवाला छैन । 

प्रभावकारी खोपको विकास भई हरेक नागरिकको हातहातमा नपुग्दासम्म ढुक्क भएर दैनिक जीवन चलाउने अवस्था नआउने पक्कापक्की छ ।

अझै ४ महिना लकडाउन गर्ने हो भने पनि खुलेको दिनबाट हामीले फेरि यस्तै सावधानी अपनाएर दैनिकी सुचारू गर्नुको विकल्प हुने छैन । बरू त्यतिबेला संक्रमण थप फैलिएको र अझै जोखिमपूर्ण अवस्था हुनसक्छ ।

त्यसो भए विकल्प के त ? विकल्प भनेको पर्याप्त स्वास्थ्य सावधानी अपनाएर फरक ढंगले दैनिकी अघि बढाउने नै हो । अब फेरि लकडाउन गरियो भने त्यसपछि अपनाउने सावधानी अहिलेबाटै अपनाउने ।

अहिले समाजमा दुई किसिमको अति छ । एकाथरिले कोरोना केही होइन, हाउगुजी मात्र भनेर बेवास्ता गरिरहेका छन्, अर्काथरि यसले सारा सखाप पार्दै छ, तुरुन्त कर्फ्यू लगाउनुपर्छ भन्ने छन् ।

कर्फ्यू नै लगाउने र कसैलाई पनि घरबाहिर निस्किन नदिएर एक घरदेखि अर्को घरसम्म संक्रमण नपुग्दै निमिट्यान्न पार्ने हो भने पनि भारतमा कोरोना नियन्त्रण नहुँदासम्म जोखिम कायमै रहने अवस्था छ ।

त्यसैले कर्फ्यू नै लगाए पनि नेपालबाट कोरोना संक्रमण तत्काल जानेवाला छैन । समाजमा घुलमिल भइसकेका संक्रमितहरू अस्ट्रेलियाको जंगलमा डडेलो फैलाउने आगोको फिलिङ्गो जस्तै बनिसकेका छन् ।

लकडाउन गरेर पनि संक्रमण रोक्न नसक्ने हो भने फेरि सास्ती किन भोग्ने ? यसो भन्दै गर्दा अर्को भुल्नु नहुने कुरा के हो भने, कोरोना केही होइन भनेर बेवास्ता गर्ने अवस्था पनि छैन । त्यसो भए गर्ने के त ? केही सुझावहरू बुँदागत रूपमा राख्न चाहन्छु ।

१. आजको मितिमा मानिसहरू जो जहाँ छन्, उनीहरूलाई त्यहीँ होल्ड गर्ने । अन्तरजिल्ला आवागमनमा पूर्ण रोक लगाउने । पास वितरणमा निकै कडाइ गर्ने । साउन ७ अघिको स्थितिमा जस्तै कलकारखाना, शिफ्टमा सञ्चालन गर्ने गरी सरकारी कार्यालय र निजी क्षेत्रका कार्यालयहरू सुचारू राख्ने ।

२. सार्वजनिक यातायात तत्काल बन्द गर्ने । हवाइ यातायात नखोल्ने । यातायात व्यवसायीले बैंकमा तिर्नुपर्ने किस्ता र ब्याज यातायात बन्द रहेको अवधिसम्मका लागि होल्ड गर्ने सुविधा उपलब्ध गराउने । त्यसका लागि बैंकहरूलाई सरकारले केही प्याकेज दिनुपर्छ भने दिने ।

३. उद्योगधन्दा र अफिसहरू चलाउनका लागि सम्बन्धित अफिसले नै कर्मचारी ओसारपसार गर्नुपर्ने गरी व्यवस्था गर्ने । निजी सवारी जोरबिजोरमा चल्न दिने । कुनै उद्योगले बाहिरी जिल्ला (लामो रुट)बाट कर्मचारी ल्याउनुपर्ने छ भने पास लिई गाडी लगेर ल्याउने र क्वारेन्टीनमा राखी कोरोना परीक्षणपछि काममा लगाउन सक्ने व्यवस्था गर्ने ।

४. समुदायमा संक्रमणको जोखिम देखिएमा जुन क्षेत्रमा बढी संक्रमण देखिएको हो त्यो क्षेत्रमा निषेधाज्ञा नै जारी गरेर कसैलाई घरबाहिर निस्किन नदिने र उक्त समुदायको प्रत्येक परिवारमा कम्तिमा एक जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरी संक्रमण देखिएमा आइसोलेट गर्ने र संक्रमण नदेखिएकाहरूलाई बाहिर निस्किन अनुमति दिने ।

५. परीक्षणको दायरा व्यापक बढाउने । स्वास्थ्यकर्मीहरूको नियमित परीक्षण गर्ने । अस्पतल भर्ना भएका सबै बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्य परीक्षण गर्ने । तरकारी पसल, किराना पसल, मेडिकल लगायत बढी भीडभाड हुने स्थानमा पनि परीक्षणलाई विस्तार गर्ने ।  

६. विद्यालय, कलेज, पार्टी प्यालेस, सिनेमा हल, सभा सम्मेलनसहित हाल प्रतिबन्ध रहेका सबै क्षेत्रको प्रतिबन्ध कायमै राख्ने ।

७. होटल तथा रेस्टुरेन्ट बन्द गर्ने । उनीहरूलाई यातायात व्यवसायीहरूलाई दिएजस्तो सुविधा उपलब्ध गराउने ।

८. पसलहरूमा भीडभाड हुन नदिने । भौतिक दूरी अनिवार्य कायम गराउने । सकिन्छ भने कारोबारलाई क्यासलेस गर्ने दिशातर्फ सोच्ने । डिजिटल कारोबारलाई प्रोत्साहित गर्ने । 

९. मास्क प्रयोगलाई अनिवार्य गर्ने । मास्क चिउँडोमा मात्र लगाउने प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित गरी मास्क लगाउने सही तरिका सिकाउने । सकिन्छ भने सरकारले नै मास्क वितरण गर्ने । नियमित हात धुन प्रोत्साहित गर्ने । 

१०. तरकारी तथा किराना पसलहरूलाई बिहान/बेलुकाको साटो दिउँसो खोल्ने, जसले गर्दा भीडभाड कम हुन्छ र अत्यावश्यक सामान मानिसहरूले जसरी हुन्छ व्यवस्थापन गरेर आफैं किन्छन् । बिहान/बेलुका हुने अत्यावश्यक भीडभाड नियन्त्रण गर्ने ।

रामचन्द्र भण्डारी
रामचन्द्र भण्डारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्