काेराेना संक्रमित स्याङ्जाका एसपीको दोस्रो रिपोर्ट नेगेटिभ

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

फाइल फोटो।

स्याङ्जा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

गत साउन १२ मा उनीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो।  साथै पछि थप भई स्याङ्जामा प्रहरी कर्मचारीमात्रै ४० जना संक्रमित भएका थिए। 


Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले एसपी कँडेलको स्वाब संकलन गरेर परीक्षण भएकाेमा मंगलबार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। गत साता कोरोना पुष्टि भएपछि कँडेल पुतलीबजारस्थित आफ्नै क्वार्टरमा बस्दै आएका छन् । 

यस्तै, अन्य ३९ जना प्रहरी कर्मचारीह भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा र करेन्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गराइरहेका छन् । 


Advertisement

जिल्लामा हालसम्म २ सय ८१ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ। तीमध्ये १ सय ९७ जना निको भइ घर फर्केको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। संक्रमितमध्ये कालिका सामुदायिकमा ४७ जना र करेन्डाँडाको स्वास्थ्य चौकीमा ८ जना बसिरहेका छन् ।

जिल्लामा संक्रमित दर बढेपछि संक्रमितहरुको कन्ट्याक्ट लिइएकाहरुमध्ये मंगलबार ४१ जनाको रिपोर्ट नेगेटिभ आएको प्रजिअ क्षेत्रीले बताए ।

पुतलीबजारमा साउन १३ देखि नै अत्यावश्यक सेवाबाहेक अन्य सेवा संचालन तथा आवत्जावत्मा कडाइ गरिएको थियो। पछि क्रमशः अन्य क्षेत्रसहित जिल्लाभर मानिसको आवत्जावत्मा कडाइ पारिएको हो। 

प्रजिअ क्षेत्रीले भने, ‘गत मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन र पसलहरू बन्द गराइएको छ। संक्रमित दर नघट्दासम्म सो कायम रहनेछ।’ पुतलीबजारमा १० दिनका लागि सिल गर्ने भनी गत साता सूचित गरिएको थियो ।

 जिल्ला प्रहरी कार्यालय नै लामो समयदेखि सिल गर्नुपर्दा जिल्लाको शान्तिसुरक्षामा असर परेको छ। प्रहरीका साथै नेपाली सेना र सशस्त्र प्रहरी बललाई पनि जिल्लामा परिचालन गरिएको क्षेत्रीले बताए।

जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गरिएकोमा ४० जनाबाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता अधिकारीले बताए।

यसैबीच, मंगलबार पुतलीबजारमै थप ८ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु प्रहरी कर्मचारी भने हैनन्। कोरोना भाइरस संक्रमित देखिनेमा वर्ष ३०, ३२, ३९, ६१ का १–१ जना पुरुष छन्। यस्तै, वर्ष ३३ का २ जना पुरुष छन् भने २३ र ५२ का महिला छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा थप ८ सहित गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४३ पुगेको छ।

संक्रमितमध्ये १ हजार ३ सय ५२ निको भएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।


 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्