नक्साको भरमा राष्ट्रवादको 'आत्मरति' : कालापानी–लिम्पियाधुराको भूमि कहिले हुन्छ फिर्ता ?

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सतही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय बिलकुल होइन, यसको पक्षमा प्रस्तुत हुनुपूर्व आफैंले आफूलाई राष्ट्रियताको कसीमा परीक्षण गर्दै आत्मसमीक्षा गर्नु जरूरी हुन्छ ।

नेपालमा राष्ट्रियतामा समझदारी गरिएका थुप्रै तथ्यहरू उजागर भएका छन्, ती घटनाक्रमका खलनायकहरूले पटक–पटक राष्ट्रवादीको  कित्तामा स्वयंलाई सहजै प्रस्तुत गर्ने गरिआएका छन् । नेपालमा विभिन्न कालखण्डमा राजनीतिज्ञहरूले लिएका निर्णयहरू, सम्पादन गरेका कामकारवाहीहरू, सन्धि तथा सम्झौताहरू सबैको राष्ट्रियताको कसीमा परीक्षण गर्दै, उनीहरूमध्ये के कति राष्ट्रियताका पक्षमा खुलेर प्रस्तुत भई राष्ट्रको भलाइका लागि के कति योगदान पुर्‍याउन सफल भएका छन् ? के कति क्रियाकलापहरू राष्ट्र हितविपरीत सम्पादन भएका छन् ? सोको विश्लेषण गर्दै राष्ट्रियताको अवधारणालाई प्रस्ट पार्ने प्रयास यस आलेखमा गरिएको छ ।


Advertisement

राष्ट्रियतामा राष्ट्रको पहिचान र प्रतिष्ठा कायम गराउने, राष्ट्रप्रति दर्शाउने अगाध सम्मान, अपनत्व, देशप्रेमजस्ता भावनाबाट प्रेरित हुँदै मन, वचन र कर्मले सदैव सत्मार्गमा आफ्ना क्रियाकलापलाई केन्द्रित गराउन सक्नुपर्छ । यसले देशको समग्र पहिचानलाई समेट्न सक्नुपर्छ । यो भावनात्मक विषय हो, जुन अन्तःस्करणबाट प्रस्फुटित हुन्छ र कर्ममा परिणत हुन्छ । राष्ट्रियतामा समर्पित नागरिक जुनसुकै परिस्थितिमा सदैव राष्ट्रको चिन्तनमा लागिरहेको पाइन्छ । तसर्थ, राष्ट्रियतामा अवसरवाद र व्यक्तिगत स्वार्थ रहँदैन र रहनु पनि हुँदैन ।

सामान्य बोलीचालीको भाषामा राष्ट्रियतालाई राष्ट्र वा राज्यसँग जोडेर हेरिन्छ । जो देशको नागरिक हो, उसको राष्ट्रियता त्यही हो । तर, यो यति मात्रमा सीमित हुँदैन । राष्ट्रियता परिचायक र पहिचान हो । समान मौलिकता, सांस्कृतिक रहनसहनका बीचको सुमधुर सम्बन्ध एवं सौहार्दतालाई त्यस समाजभित्र विकास भएको राष्ट्रियता भनिन्छ । विशेष गरी बहुलवादी समाजमा विभिन्न प्रकारका संस्कृति, भाषाभाषी, धर्मावलम्बीका बीच उनीहरूको सम्मान र पहिचान समानताका आधारमा कायम गरेर सबैलाई एकतृत गर्दै राष्ट्रिय एकतामा आवद्ध गराउने सत्कार्य यसमा गरिन्छ । देशभित्र आन्तरिक कलह, वैमनश्य, द्वन्द्व, अशान्ति र गृहयुद्धको अवस्था आउँदा त्यस देशको राष्ट्रियता कमजोर बन्दछ ।


Advertisement

राष्ट्र र राष्ट्रियता एक अर्काका परिपूरक हुन् । देशको राष्ट्रियता प्राप्त गरेपश्चात् कर्तव्य र दायित्वको पालना गर्नुपर्छ । राष्ट्रियतामा ओतप्रोत भएको व्यक्ति आफूलाई आदर्श नागरिकका रूपमा समाजमा स्थापित गर्न सफल भएको हुन्छ र सामाजिक प्रतिष्ठा प्राप्त गर्दछ । परम्परादेखि चल्दै आएको रीतिरिवाज, प्रथा, कलाकौशल, साहित्य, धर्म आदिको संरक्षण गर्दै यो जिम्मेवारीलाई क्रमशः भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्दछ । समाज र राष्ट्रको संरक्षण सम्बर्द्धन गर्दै आफ्नो देश र समाजप्रति गौरव गर्न सक्ने परिस्थिति निर्माण गर्नु नै राष्ट्रियता हो ।

नेपाल र नेपाली जनताको हितका दिशामा भए गरेका काम कारबाहीको आधारमा यसको विश्लेषण हुन्छ । नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुक्षेत्रीय राष्ट्र हो । यो देशको निर्माण गर्ने क्रमदेखिको मुख्य–मुख्य कार्यको स्मरण राष्ट्रियता र राष्ट्रवादका क्रममा गर्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहले नेपाल देशको पहिचान बनाइदिएकाले हामी नेपाली भएर सगौरव आफ्नो परिचय दिन सफल भएको अवस्था छ । भगवान् बुद्धको जन्म यहीँ भएकाले संसारभर नेपालको नाम सबैले स्मरण गर्दछन् । सगरमाथालाई नेपालले आफ्नो विश्व चिनारीको आधार बनाएको छ । नेपाली सैनिकले प्रदर्शन गरेको बहादुरीबाट नेपालीको इज्जत अन्तर्राष्ट्रिय जगतमा छ ।

जंगबहादुरले बेलायत भ्रमणको आमन्त्रण प्राप्त गरेपछि उपनिवेशमा रहेको भारतका आफ्ना समकक्षीभन्दा स्वतन्त्र देश नेपालको प्रधानमन्त्री भएकाले आफूले बढी तोपको सलामी पाउनुपर्ने अडान राखेर सो स्वीकृत भएपछि मात्र भ्रमण गर्नु राष्ट्रियताको पक्षमा लिइएका राष्ट्रिय अडान मान्नुपर्दछ, राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग तयार पारे । पाँच विकास क्षेत्रको विभाजन र विकासका लागि आधार तयार पारे । यसबाट देश विकासका लागि स्पष्ट ढाँचा तयार भयो । राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने ठूलो प्रयास गरे ।

भारत र पश्चिमा राष्ट्रका सहमति नहुँदा पनि बीपीले इजरायल, चीन र पाकिस्तानसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित गरेर स्वतन्त्र देशको पहिचान कायम गरे । सगरमाथा नेपालको प्रमाणित गर्न चीनका राष्ट्र प्रमुखलाई विश्वस्त तुल्याए । यी प्रयास निश्चय पनि नेपालको हितमा केन्द्रित भएका हुन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा नेपालमा नाकाबन्दी गरेको समयमा यसको विरोधमा स्पष्ट अडान राख्नु र संविधान जारी गर्ने काम केही समय स्थगित गर्न भारतले दिएको दबाबलाई अनुपयुक्त र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई संविधान जारी गर्न सहयोग गर्नु जस्ता राष्ट्रियताका पक्षमा लिइएका अडान सह्रानीय छन् ।
राष्ट्रियताले व्यक्ति र राष्ट्रका बीचको अन्तरसम्बन्ध प्रगाढ बनाउने भावनात्मक औजारको काम गर्दछ । राष्ट्र र राष्ट्रवादीका हैसियतमा सबै वर्ग, समूह, समुदाय, जातजाति, धर्मका बीच उच्चस्तरको सम्मान र एकता कायम गर्दछ । यो राष्ट्रिय चरित्र र संस्कृति निर्माणको आधार हो । सामान्य अर्थमा राष्ट्रियतालाई भूगोलमा सीमित गर्न सकिँदैन, जनताको हितमा केन्द्रित भएर गरिने सबै कार्यहरू राष्ट्रियतामा समेटिने गर्दछ । बाह्य आक्रमणको सशक्त प्रतिरोध गर्दै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा सदैव मन वचन र कर्मले लागिपर्नु नै राष्ट्रियता हो । राष्ट्रका  पक्षमा प्रस्फुटित भएको भक्तिभाव, सम्मान, श्रद्धा र समर्पण नै यथार्थमा राष्ट्रियता हो । अमूक देशको समर्थन र विरोध गर्नुलाई मात्र यसको परिभाषामा समेट्न सकिन्न तर यदि यस्तो समर्थन वा विरोधले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमसत्तामा सहयोग पुग्दाको अवस्थामा यसको परिभाषाले समेट्दछ ।

भारतले अतिक्रमण गरिराखेको करीब ९६ हजार बिघा जमिन फर्काउने काम गर, खुला सिमानालाई अत्यन्त व्यवस्थित गर्न सीमा सुरक्षा दल गठन गरी जवाफदेही बनाऊ, देशमा आर्थिक विकास गर्दै देशलाई समृद्धिको दिशामा अभिमुख  गराउनु जरूरी भइराखेको छ । देशलाई स्वावलम्बनको दिशामा अघि बढाई राष्ट्रभक्तिको स्पष्ट पहिचान देऊ, तर आजसम्मको कार्यशैलीलाई नजिकबाट अध्ययन गर्दा यो अवस्थामा प्रस्तुत हुन सरकार तयार देखिँदैन, तसर्थ राष्ट्रियता वक्तव्यबाजी र सतही प्रचार प्रसारको विषयमा सीमित हुन पुगेको छ ।

अब राजनीतिक घटनाक्रमतर्फ केन्द्रित हुँदै राष्ट्रियताका बारेमा विश्लेषण गरौं । स्वर्गीय बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएको अवस्थामा भारतका प्रधानमन्त्री पण्डित जबाहरलाल नेहरूले भारतीय संसदमा आफ्नो देशको उत्तरी सिमाना हिमाल भएको भन्ने अभिव्यक्ति दिएको विषयलाई लिएर नेपाल एक स्वतन्त्र स्वाधीन राष्ट्र भएकाले यसको सार्वभौमसत्तामा खलल पुग्ने गरी आएको अभिव्यक्तिको सशक्त विरोध गर्दै यसलाई पुनः भारतीय संसदमै अर्को वक्तव्यमार्फत सुधार गर्न बाध्य पारिनु राष्ट्रियताको पक्षमा भएको अद्वितीय उदाहरण मान्नु पर्दछ ।

प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको उत्तरी सिमानामा क्याम्प गरी बसेका भारतीय सैनिकहरूलाई हटाउनु, २०४६ सालको आन्दोलनमा भारतले राजासँग गर्न चाहेको सौदाबाजी राष्ट्रिय हित प्रतिकूल भएकाले भारतकै समर्थन र सहयोगमा आन्दोलन जारी हुँदाको बखत विदेशी शक्तिसँग राष्ट्रियतामा समझदारी गर्नुभन्दा नेपाली जनतासँग हातेमालो गर्नु राष्ट्रियताका दृष्टिले उपयुक्त सम्झी तत्कालीन राजा वीरेन्द्रले आफ्नो निरपेक्ष राजाका हैसियतलाई परित्याग गरी संवैधानिक राजा बन्न स्वीकार गर्नु राष्ट्रियताका दृष्टिले स्वागतयोग्य कदम हो । यसका अतिरिक्त नेपालको सीमा क्षेत्रमा बसोवास गरी आएका असली सीमा रक्षकबाट नेपालको राष्ट्रियताको संरक्षण भइआएको छ ।

सप्तरी तिलाठीका देवनारायण यादव र कञ्चनपुरमा आफ्नो सीमारक्षाका लागि भौतिक अस्तित्व समेतलाई जोखिममा राख्न तयार भएकाहरूबाट राष्ट्रियताको पाठ काठमाडौंका आलिसान दरबारमा विराजमान रहेका राजाहरूले सिक्नु पर्ने अवस्था छ । सीमावासीहरूमा देखिएको राष्ट्रियता स्वतःस्फुर्त हो, असली र स्वार्थरहित राष्ट्रियताको प्रदर्शन यी सीमावासीहरूबाट आफ्नो सीमाको रक्षा गरेर भइराखेको छ । 

नेपालका राजनीतिक घटनाक्रमहरू जसबाट नेपालको राष्ट्रियता जोखिममा पारिएको छ त्यसको संक्षिप्तमा विश्लेषण गरौं । गण्डक सम्झौताका समयमा तत्कालीन राजा महेन्द्र र भारतीय प्रधान मन्त्री नेहरुका बीच भैंसालोटनमा भएको गोप्य वार्ताको परिणति नेपालको शिशु प्रजातन्त्रको हत्या हुन पुग्यो, नेपालका राजाले कू गरे, राजा त्रिभुवनले नेहरूको लिखित निर्देशनलाई शिरोधार्य गर्दै बीपीलाई प्रधानमन्त्री बनाउन तयार भएकोमा नबनाई मातृकालाई बनाए, मातृकाले भारतका सैनिकहरूलाई नेपालका १८ स्थानमा क्याम्प गरी बस्न दिए, नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय राजदूतलाई उपस्थित गराई उनकै आशयअनुसार निर्णय लिने अभ्यास लामो समयसम्म गरिएको थियो, पटक–पटक भएको नाकाबन्दीको नेपालका राजनीतिज्ञहरूले खुलेर विरोध गर्न सकेनन्, कालापानी–लिम्पियाधुरा क्षेत्रमा लामो समयदेखि भारतीय सैनिक क्याम्पलाई निरन्तरता दिई उक्त क्षेत्रमाथि नेपालको अधिकार गुम्ने अवस्थाको सिर्जना गर्नु, हालसम्म जारी भएका सबै संविधानहरूमा नेपालको नक्सा नराखिएकोमा वर्तमान संविधान जारी हुँदा निसान छापमा नक्सा राखी लिम्पियाधुरा क्षेत्रमा नेपालको हक दाबी नरहेको स्वीकार गरी नक्सा छापिनु, भारतीय समर्थनमा नेपालमा अस्तव्यस्तता सिर्जना गरी दश वर्षसम्म द्वन्द्व आमन्त्रण गर्नु र यो द्वन्द्वरत पक्षले राष्ट्रियताको पक्षमा कुनै एजेन्डा तय गर्न नसक्नु, गोरखा भर्तिकेन्द्र २००७ मा खोल्नु, नेपाललाई अप्ठ्यारो पर्ने गरी नेपाल भारतमैत्री सम्झौता २०११ सालमा गर्नु, २०१६ सालमा गण्डक सम्झौता गर्नुका साथै डा. भट्टराईले गरेको बिप्पा सम्झौता, तत्कालीन समयको नेपाली कांग्रेसको सरकारले गरेको टनकपुर सम्झौता र यसलाई संसद्बाट पारित गर्न प्रतिपक्ष दलका माधव नेपाल र वर्तमान प्रधानमन्त्री ओली लागिपर्नु, यसबाट खर्बौं रकम प्रतिवर्ष नेपाललाई प्राप्त हुने भनी मिथ्या प्रचार–प्रसार ओलीजीको नेतृत्वमा गर्नु आदि यस्ता घटनाहरू हुन् जसले सुनियोजित हिसाबले नेपाललाई अप्ठ्यारोमा पार्दै  भारतलाई बढी फाइदा पुगेको छ । यी सबै नेपालको राष्ट्रियताको विपक्षमा भए गरेका कार्यहरू हुन् ।

नेपालमा आन्तरिक क्रियाकलापहरू समेत राष्ट्रियताका विपक्षमा हुँदै आएका छन्, देश र जनताका पक्षमा उल्लेखनीय कार्यहरू भएका छैनन्, सुशासनका आधारहरू तहसनहस भएका छन् । नेपालमा भ्रष्टाचारलाई संस्थागत गराउने प्रयासमा प्रायः सबै राजनीतिज्ञहरू एकजुट भएका छन्, ठूला भ्रष्टाचारजन्य क्रियाकलापहरू नियन्त्रक निकायको कार्यक्षेत्रभन्दा बाहिर राखी ठूल्ठूला भ्रष्टाचारका अपराधीहरूलाई अभयदान प्रदान गरिएको छ । हाल संसद्मा पेस भई राखेको विधेयकमा यो अपराधलाई संस्थागत गराउन प्रशस्त प्रावधानहरू समेटिएका छन्, यस्ता विषयमा प्रतिपक्ष मौन बसी समर्थन गरिराखेको छ ।

भ्रष्टाचारकै उल्लेख गर्नुपर्दा भाइरस संक्रमणले उग्ररूप लिइराखेको अवस्थामा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको जस्ता लज्जास्पद घटनाहरू घटिरहँदा सरकारले जवाफदेहिता बहन गर्न सकिराखेको छैन । अब थोरै मात्र राष्ट्रियताका पक्षमा वर्तमान सरकार खडा हुने हो भने लिम्पियाधुराबाट भारतीय सेना शीघ्र हटाउन सबै रणनीतिको अवलम्बन गर्नुपर्दछ, आफ्नो भूभागमा अधिकार स्थापित गर्न सक्नुपर्दछ, तर सरकार नक्सा जारी गरेर यसैमा आफूलाई राष्ट्रवादीका रूपमा प्रस्तुत गर्दै आत्मरतिमा रमाउँदै गएको छ । यसका लागि अर्थपूर्ण प्रयास गर्ने सन्दर्भमा सरकार अघि बढ्ने पक्षमा देखिएको छैन ।

विभिन्न स्थानहरूमा भारतले अतिक्रमण गरिराखेको करीब ९६ हजार बिघा जमिन फर्काउने काम गर, खुला सिमानालाई अत्यन्त व्यवस्थित गर्न सीमा सुरक्षा दल गठन गरी जवाफदेही बनाऊ, देशमा आर्थिक विकास गर्दै देशलाई समृद्धिको दिशामा अभिमुख  गराउनु जरूरी भइराखेको छ । देशलाई स्वावलम्बनको दिशामा अघि बढाई राष्ट्रभक्तिको स्पष्ट पहिचान देऊ, तर आजसम्मको कार्यशैलीलाई नजिकबाट अध्ययन गर्दा यो अवस्थामा प्रस्तुत हुन सरकार तयार देखिँदैन, तसर्थ राष्ट्रियता वक्तव्यबाजी र सतही प्रचार प्रसारको विषयमा सीमित हुन पुगेको छ ।

यस अर्थमा नेपालमा राष्ट्रवादीहरूको अन्वेषण गर्दा अपवाद स्वरूप सीमित राजनीतिज्ञहरूमा मात्र राष्ट्रियताको भावना प्रस्फुटन भएको पाइएको छ ।

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्