नेम्वाङसँग प्रचण्डको भेट, ओलीसँग अनिश्चित

फाइल तस्वीर

पार्टीभित्र देखिएको गतिरोध अन्त्यका विषयमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बिहीवार हुने भनेको छलफल अनिश्चित बनेको छ । हिजो बुधवार अपरान्हका लागि तय भएको बैठक पनि अन्तिम समयमा स्थगित भएको थियो ।

यसैबीच अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच बिहीवार भेटवार्ता भएको छ । प्रचण्डको निवास खुमलटारमा बिहान भएको भेटवार्ता नेकपामा देखिएको विवाद समाधानका विषयमा केन्द्रित थियो । नेम्वाङले सहमति जुट्नेमा आफू आशावादी रहेको बताए ।


Advertisement

अध्यक्षद्वयले आइतवार, सोमवार र मंगलवार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसहित छलफल गरेका थिए । अहिलेसम्म भएका छलफलबाट कुनै सहमति जुट्न नसकेको नेताहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक मार्फत निकास खोज्न गरेको आग्रहलाई प्रचण्ड नेपाल समूहले अस्वीकार गरेका छन् । ओलीइतर समूहले स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्ने र स्थायी कमिटीले टुंगो लगाउन नसके केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् ।


Advertisement

पार्टी भित्रको विवादका कारण असार १० गते शुरु भएको नेकपा स्थायी कमिटीको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन ६ गते केहीबेर बसेर १३ गते बोलाइएकोमा बैठक सूचनामार्फत अनिश्चित कालका लागि स्थगित भएको छ । प्रचण्ड-माधव समूहले एकतर्फी रुपमा बैठक राखेपछि नेकपाको विवाद झनै बल्झिएको थियो ।

बुधवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड नेपाल समूहका नेताहरुले पार्टीभित्रको विवाद अब बहुमतीय प्रणालीबाट टुंगो लगाउने बताएका थिए ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्