कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
मनोज गजुरेल एन्ड टिमले गतसाल गाईजात्राका अवसरमा देशका सातै प्रदेशमा प्रहसन गर्यो । यसपालि कम्तीमा दोब्बर सहरमा प्रहसन पस्कने योजना थियो ।
फ्याट्ट आइदियो कोरोना महामारी, भइदियो लकडाउन । घरबाटै निस्कन नमिल्ने भएपछि दर्शक जम्मा पारेर प्रहसन देखाउनु असम्भव भइहाल्यो । त्यसो भए केही नगर्ने त ? लकडाउनको पहिलो साता मनोजले यतातिर ध्यानै दिएनन्, घरमै मज्जाले समय बिताए ।
दोस्रो साताबाट हल्काफुल्का बेचैनी भयो । तेस्रो सातामा त निष्कर्षमा पुगिहाले, परम्परा धान्नकै लागि सही, गाईजात्राको प्रहसन गर्नैपर्छ । तर, कसरी ? दिमागमा झ्वाट्ट जवाफ आइहाल्यो, डिजिटल माध्यममा । अर्थात्, पहिले जसरी स्टेजमा नजाने, स्टुडियोमा खिचेर दर्शकसम्म पुर्याउने ।
लकडाउनपछि घरमै बनाएका छोटा कमेडी र प्रेरणादायी भिडियोमा प्राप्त प्रतिक्रियाले उत्साह थपेको थियो । ‘मान्छेमा चिन्ता छ, आर्थिक समस्या छ तर हामी दाम सहयोग गर्ने सामर्थ्य राख्दैनौं,’ यसपटकको प्रहसनको औचित्य पुष्टि गर्दै मनोजले भने, ‘त्यसैले हास्यमार्फत यो अन्योलता चिर्ने अनि हौसला र आशा सिर्जना गर्ने प्रयत्न गर्यौं ।’
मनोजको समूहमा शैलेन्द्र सिम्खडा, चट्याङ मास्टर, सुबोध गौतम, सुमन कार्की, राजा राजेन्द्र, यमन श्रेष्ठलगायत छन् । गत वर्ष मनोज ‘कमेडी च्याम्पियन’ को निर्णायक बने, उक्त सोका प्रतियोगीलाई पनि समेटे । जब फरक–फरक विचारका कलाकारबीच महामारीको दौरानै ऊर्जा साटासाट भयो, हास्यप्रस्तुति बनाउन तम्तयार भइहाले ।
यो थियो, वैशाख तेस्रो साताको कुरा । अहिले उनको युट्युब च्यानलमा मनोजसहित अन्य कलाकारले त्यतिबेलैबाट बनाएका कमेडी भिडियोहरूले लाखौं भ्युज बटुलिरहेका छन्, फेसबुकतिर छ्याप्छ्याप्ती छन् । देशविदेशका अनेक घटना, प्रवृत्ति र पात्रमाथि व्यंग्य कसेका छन् ।
भनिरहनु पर्दैन, यसको केन्द्रमा उनै मनोज छन् । ‘क्यारिकेचर’ मा ब्रान्ड बनिसकेका मनोजले यसपटक पनि ‘सरप्राइज’ दिएका छन् । जस्तो ः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस एड्हानोम र भारतका विवादास्पद टेलिभिजन पत्रकार अर्नब गोस्वामीको अवतारमा देखिएका छन् । आदिकवि भानुभक्त आचार्य अनि ४० वर्षपछिको स्वयं मनोज गजुरेल बनेका छन् ।
को–पाइलट पुष्पकमल दाहाल बनेर विमान उडाएका छन् ।
मनोज चाहन्थे, समय खराब छ, मनमा तनाव छ, त्यसैले यसपालि कोरा कमेडीमात्र नहोस्, जिम्मेवारीबोधसहितको सन्देश पनि होस् । ‘जति क्यारिकेचर गरेको छु, त्यसमार्फत व्यंग्य त छँदै छ, सद्भाव र भाइचारा पनि अभिव्यक्त गर्न खोजेको छु । अहिलेको वास्तविकता र मनोविज्ञान पहिल्याउने प्रयास छ मेरो,’ उनले भने । आज बाँचिरहेको समयको प्रतिविम्ब भएर हुनुपर्छ, उनका हरेक हास्य कन्टेन्ट खुब रुचाइँदै छ ।
टेड्रोस रोज्नुको आफ्नै कारण छ, मनोजसँग । कोरोनासम्बन्धी समाज, सामाजिक सञ्जाल र मूलधारकै मिडियामा पनि अनेक अफवाह फैलिएका छन्, त्यसलाई गलत सावित गर्दै आधिकारिक सूचना दिने डब्लूएचओ र उनै टेड्रोस हुन् ।
कोभिड–१९ को महाव्याधिले देशहरूको सीमा पार गर्दै गर्दा संसारले सबैभन्दा धेरै देखेको अनुहार सम्भवतः टेड्रोसकै हो । ‘क्यारिकेचर चिनेकै अनुहारको गरिन्छ । अहिलेका लागि टेड्रोसजस्तो उपयुक्त पात्र अर्को देखिनँ,’ मनोजले कान्तिपुरसँग भने, ‘तर टेड्रोसलाई व्यंग्य गरिएको छैन । बरु यो पात्रमार्फत महामारीमा पनि स्वार्थप्रेरित राजनीति गरिरहेका संसारका शक्तिराष्ट्रका प्रमुखलाई व्यंग्य गरेको छु । स्वास्थ्यसम्बन्धी सचेतना पनि छ ।’ उनका अनुसार टेड्रोसका माध्यमबाट पूर्वीय वैदिक सनातन, संस्कृति र सभ्यतामा रहेका ध्यान, योग, अध्यात्म र प्रकृतिप्रेमको सन्देश पनि प्रवाह गरिएको छ ।
प्रेसमिटको सन्दर्भमा तयार पारिएको भिडियोमा टेड्रोस बनेका मनोजले ‘नमस्कार’ र भ्रातृत्वलाई विशेष महत्त्व दिएका छन् ।
टेड्रोस बन्ने निधो भएपछि मनोजले उनका धेरै भिडियो हेरे, हुलिया, हाउभाउ, बोल्ने शैली र अन्य शारीरिक भावभंगिमा नियाले । अनि केही दिन अफ्रिकन टोनमा अंग्रेजी बोल्ने अभ्यास गरे । उनले भने, ‘टेड्रोस बन्ने तयारी र अभिनय प्रस्तुति मेरा लागि पनि नवीन अनुभव रह्यो ।’
मनोजको चर्चित भइरहेको अर्को क्यारिकेचर हो, हरेक घटनालाई अतिरञ्जित बनाउने भारतीय टीभी पत्रकार अर्नब गोस्वामीको । अर्नब नेपालमा पहिले पनि चिनिएकै पत्रकार हुन्, नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि उनले चलाएका विभिन्न टक–सोपछि झन् धेरैको ध्यान तानियो । मनोजका अनुसार नेपाल र भारतबीच विवाद हुँदा भारतीय मिडियाले अस्वाभाविक गतिविधि देखाउँछन्, हाम्रो सार्वभौविकतामाथि प्रहार गर्छन् र उनीहरूलाई भ्रम हुन्छ कि उनीहरूले जे देखायो, त्यो नेपालमा पत्याउँछन्, त्यसको प्रभाव पर्छ ।
‘भारतीय मिडियाको नेपालीमाझ रहेको असली छवि देखाउन पनि अर्नब बनेको हुँ,’ मनोजले भने, ‘चर्को स्वरमा बोल्ने, प्रश्न नसोधी उत्तर खोज्ने, आफ्नै कुरा एकोहोरो लाद्ने र अरूलाई बोल्न नदिई निर्णय सुनाउने अर्नब प्रवृत्तिलाई समात्ने प्रयास गरेको छु ।’
अर्नबको पत्रकारितालाई मनोजले ‘तर्साकारिता’ नाम दिएका छन् । अनर्ब र नेपाली पत्रकार ऋषि धमलाबीचको काल्पनिक वार्ता उतारिएको छ । ऋषिको क्यारिकेचर सुमन कार्कीले गरेका छन् । ‘ऋषि पनि सानातिना अनर्ब नै हुन् । दुवैलाई एकसाथ भिडाउँदा रोचक हुन्छ भन्ने लाग्यो । अर्नबको प्रस्तुति जोकझैं लाग्छ, जोकमाथि हामीले जोक गर्दा महाजोक भएको छ,’ उनले भने । हावादारी गाली र मजाक होइन, तर्कपूर्ण र शालीन व्यंग्य कसेको उनको दाबी छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको क्यारिकेचर मनोजले पहिल्यै गरिसकेका छन् तर यसपटक अलि भिन्न छ । कोरोनाले च्याँप्दै गएपछि ट्रम्पले ह्वाइटहाउसमा हिन्दु पुजारी बोलाएर स्वस्ति–शान्ति गराएका थिए, जसको अन्तर्राष्ट्रिय मिडियामा खुब चर्चा भएको थियो । मनोजले त्यही स्वस्ति–शान्तिलाई क्षमापूजाका रूपमा नक्कल गरेका छन् । यो भिडियोमा उनको डबल रोल छ, पुजारी बन्ने ‘स्वामी मनोजानन्द’ पनि मनोज नै हुन् । उनले ट्रम्पलाई प्रतीक बनाएर रूस, चीनजस्ता संसारका सुपर–पावरलाई व्यंग्य गरेका छन्, साना र पिछडिएका राष्ट्रको आवाज समेटेका छन् । भने, ‘संसारको राजनीतिको केन्द्रमा ट्रम्प छन्, तर महामारीमा पनि अन्य देशसँग शीतयुद्ध गरे, गलत तथ्यहरू प्रचार गरे, त्यसैले उनको प्रवृत्तिमाथि व्यंग्य गर्नु आवश्यक थियो ।’ कूटनीतिक मर्यादाभित्र रहेरै कमेडी गरेको उनको भनाइ छ ।
तीन वर्षअघि मनोज पुष्पकमल दाहाल अनि सीताराम कट्टेल केपी शर्मा ओली बनेर हास्यप्रस्तुति दिएका थिए, दर्शकदीर्घामा असली पुष्पकमल र केपी पनि थिए । स्थायी सरकार चाहिएको र उनीहरू मिल्दा दुई तिहाइ आउने सम्भावना हुने भाव थियो, उक्त प्रस्तुतिमा । नभन्दै त्यसको केही समयपछि तत्कालीन एमाले र माओवादीको एकीकरण भयो, केपीको नेतृत्वमा दुई तिहाइको सरकार पनि बन्यो । केपी र पुष्पकमल दुवै नेकपाका अध्यक्ष भए । केपीले ‘जेट प्लेनमा दुई पाइलट चाहिने’ अभिव्यक्ति दिए । यही कारण यसपटक मनोज र सीतारामले विमानको ककपिटमै बसेर आपसमा दोषारोपण गरेका छन्, पुष्पकमल र केपीको हुलियामा । कुनै समय एमालेबाट विद्यार्थी राजनीति गरेका मनोजले भने, ‘पार्टी मिल्यो, मन मिलेन, कार्यकर्ता मिलेनन्, नागरिकको सपना मिलेन, त्यसैले हामीले अनर्थ हुनुअगावै उहाँहरू दुवैले अनिवार्य अवकाश लिनुपर्ने सन्देश दिएका छौं ।’
विमानभित्रको सुटिङ सिनामंगलस्थित ‘एभियसन म्युजियम’ मा गरिएको हो, यसका लागि उनीहरूले क्याप्टेन वेद उप्रेतीसँग उडानसम्बन्धी प्रशिक्षण पनि लिएका थिए । उड्यनसम्बन्धी शब्दावली र सन्दर्भमा नेकपाभित्रको खिचातानीमाथि सीताराम र उनको रोचक रस्साकसी देख्न पाइन्छ । सीतारामसँगको सहकार्यबारे मनोजले भने, ‘कन्टेन्टमा म उसको दाइ हो । प्रविधिमा ऊ मेरो दाइ । त्यसैले सँगै काम गर्दा एकअर्कासँग सिक्न पाइन्छ ।’
क्यारिकेचरमा विविधता पस्कने क्रममा मनोज आदिकवि भानुभक्त बनेका छन् । भानुभक्तले हास्यकविता पनि रचेका छन् । भानुको क्यारिकेचरमार्फत त्यो युग र यो युग जोड्ने प्रयास गरेको उनको भनाइ छ । त्यस्तै, ४० वर्षपछिको विश्वको प्रविधि, नेपालको कमेडी र नेपाली कलाकारको अवस्था कल्पना गर्दै कमेडी तयार पारेका छन्, जसको पात्र उनी आफैं हुन् । ‘त्यतिबेला तनाव चुलिएको हुन्छ, हाँसो बिक्री हुन्छ । त्यसैले विभिन्न देशले मलाई हास्यविज्ञका रूपमा नियुक्त गरेका हुन्छन्,’ मनोजले मुस्कुराउँदै भने, ‘कोरोनापछि विश्वले एकजुट भएर आर्थिक विकास गरेको सुखद कल्पना पनि गरेको छु ।’
मनोज कमेडीमा कहिले तीखो हुन्छन््, कहिले समाजका नकारात्मक प्रवृत्तिहरू उदांगो पार्छन्, कहिले सकारात्मक भाव प्रवाह गर्छन् । जे गरे पनि, समाजप्रतिको दायित्व भुल्दैनन् । सचेत र सिर्जनशील हास्यकलाकारको छवि निर्माण हुनुको रहस्य पनि यही हो । व्यंग्य गरेरै उनको रोजीरोटी चलेको छ, ख्याति कमाएका छन् । समयसँगै उनको व्यंग्यको शैली बदलिएको छ । तर, समाजको मनोवृत्ति र पात्रहरू पनि उसैगरी बदलिए त ? यो प्रश्नले सुरुमा मनोजलाई केही गम्भीर बनायो र जवाफका लागि उनले २३ वर्षअघि चट्याङ मास्टरले लेखेको गीत सापटी लिए :
संसद् बोलाए नि आउने यिनै हुन्
भोटै खसाले नि पाउने यिनै हुन्
यिनै थिए, यिनै छन्, रहने यिनै हुन्
तपाईंको यो हालत बनाउने यिनै हुन् । कान्तिपुर दैनिकमा गोकर्ण गौतमले खबर लेखेका छन् ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...