यो हावा किन उत्ताउलो बन्दैछ ?

  • दियेशरत्न शाक्य

यो हावा किन आजकल 
बढी नै उत्ताउलो  बन्दैछ हँ ?


Advertisement

मास्क लगाएको 
मेरो नाकलाई गिजोल्न
बिहान सखारै देखि
चोक र सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध
मकहाँ उडाएर ल्याउँछ

कार्बन उत्सर्जनले आराम लिएर
आकाश खुल्ला भएको
यो समयमा  
म स्वागत गर्दै
मेरो शरीरभित्र फिजाउन चाहन्छु
सगरमाथामा गाडेको नेपाली झन्डा 
छोएर अघि बढेको हावा
लुम्बिनीमा बुद्ध पदचाप स्पर्श गरेर 
फर्केको हावा
मन्दिरबाट धुपको सुगन्ध बोकेर
उडेको हावा
जंगलबाट लालीगुराँसको बास्ना 
टिपेर लम्केको हावा
तर अफसोच ! 
यो हावाले बोकेर आउँछ केवल
गर्मीले कुहिन लागेका गन्धहरु


Advertisement

पोखिन लागेको यो समयलाई
बाँधिराख्न
जब म ध्यान बस्न थालेको हुन्छु
यो हावा मुर्दाघरको गन्ध
मतिर उडाएर ल्याउँछ
यो हावा कहिले हुनहुनाएर आउँछ
मानौं मसंग थरिथरि मन्त्रको 
ब्यापार गर्न खोज्दैछ
र सौदाबाजी नमिलेको निहुँमा 
हुत्याउन खोज्दैछ

यै हावामा हुर्रिदै हरेक बिहान                                                
मेरो घरभित्र छिर्छ खबर पत्र 
जसलाई पुछारसम्म पढ्न नपाउँदै
मैले तयार गर्नुपर्छ 
मेरो दैनिकी
शोक पत्र वा बिरोध पत्र

म सोचिबस्छु
यो हावासंग सकिंदैन
जता पनि बहँदै यसले संसारभरका
डेमोक्रेसी कण्ठ पारेको छ
अथवा जानाजान यो असनको 
अटेरी साँढे बन्न खोजेको छ

खोइ यै हावाले सिकाएरै हो कि 
आजकल
फेसन र प्रशासन 
राजनीति र शिक्षा नीति
ब्यवहार र संस्कार
धर्म र कर्म
सबका सब उत्ताउलो भएको छ

मलाई शंका लागेको छ 
यो हावाको अक्सिजन मात्रामा 
पक्कै पनि
केही न केही तत्व मिसिएको छ
जुन मति भ्रम छर्न काफी छ
निर्निमेष हेरिरहूँ 
यो हावाको
अनुगमनको गर्न
शुद्धीकरण  गर्न
कुन समय र कुन क्रान्तिसम्म
आफूलाई उचाल्नुपर्ने हो ?

कमेन्ट गर्नुहोस्