अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाएका छन् ।
कमला ह्यारिसको हिन्दू धर्मसँग निकट सम्बन्ध छ । उनकी आमा श्यामला गोपाल दक्षिण भारतीय मूलकी हिन्दू महिला हुन् । उनी स्तन क्यान्सर सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिक हुन् ।
उनका पिता जमैकाबाट अमेरिका पुगेका काला जातिका क्रिस्चियन हुन् । उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
क्यालिफोर्नियाको बर्कलीमा हुर्केकी कमलाकी बहिनी माया ह्यारिस हुन् । कमला बाल्य तथा यौवनकालमा काला जातिको ब्याप्टिस्ट चर्च र हिन्दू मन्दिर दुवैमा जाने गरेकी थिइन् ।
उनी आफ्नी बहिनीका साथ भारतको तमिलनाडुमा रहेको चेन्नईस्थित मामाघर जाने गरेको बताउँछिन् ।
कमला ह्यारिस डेमोक्रेटिक पार्टीमा मध्यमार्गी धारकी नेता हुन् । जो बाइडनले राष्ट्रपति पद जिते भने अर्को कार्यकाल शायदै चलाउलान् किनकि त्यतिखेरसम्म उनी ८२ वर्षका भइसक्नेछन् ।
त्यसैले उपराष्ट्रपति हुने मौका पाइन् भने कमलाले सन् २०२४ मा हुने निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने सम्भावना छ ।
भारतीय संस्कृतिको विरासतमा आफूलाई निकै गर्व लाग्ने कमला बताउँछिन् । आमाले आफूलाई भारतको हिन्दू संस्कृतिप्रति गर्व गर्न सिकाएको उनको कथन छ ।
राजनीतिमा आउनुअघि कमला ह्यारिस सरकारी वकिल थिइन् । उनले अपराधीहरूलाई कठोर दण्डका लागि पैरवी गर्ने गरेकाले मानिसहरू उनलाई प्रहरी समेत भन्ने गर्थे ।
सन् २०१७ मा उनी अमेरिकी संसद्को माथिल्लो सदन सिनेटको सदस्य निर्वाचित भएकी हुन् ।
जो बाइडनविरुद्ध उनले राष्ट्रपति पदको उम्मेदवारीका लागि लडेको भए पनि खासै मत पाइनन् । तर उनलाई मतदान नगरेकोमा काला जातिका मानिसहरूले थकथकी मानिरहेको बताइन्छ ।
एजेन्सी