भारतको बेंगलुरुमा हिंसा भड्किँदा तीनजनाको मृत्यु भएको छ र कर्फ्यु लगाइएको छ ।
फेसबूकमा अपमानजनक पोस्ट गरिएपछि हिंसा भएको बताइएको छ । प्रहरीले दंगा गर्नेहरूलाई तितरबितर पार्न अश्रूग्यास उपयोग गरेको छ ।
मुसलमान धर्मका पैगम्बर मोहम्मदका विषयमा लेखिएको आपत्तिजनक पोस्ट एक स्थानीय विधायकका नातेदारले शेयर गरेपछि हिंसा भड्किएको बताइएको छ । मंगलवार राति विरोधकर्ताहरूले विधायकको घर घेरेर कारहरूमा आगो लगाएका थिए ।
एक प्रहरी चौकीमा पनि आक्रमण गरेर आगजनी गरिएको थियो ।
प्रहरीले भीड हटाउन अश्रूग्यास र लाठीचार्ज गरेको थियो ।
दंगामा दर्जनौं मानिस घाइते भएका छन् ।
बेंगलुरु प्रहरीले दंगामा सहभागी रहेका ११० जनालाई पक्राउ गरिएको जनाएको छ । कानून कार्यान्वयन अधिकारीहरूसँग सहकार्य गर्न र शहरमा शान्ति बहाली गर्न प्रहरीले अपील गरेको छ ।
आपत्तिजनक फेसबूक पोस्ट लेख्ने व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ ।
वरपरका टोलहरूमा कर्फ्यु लगाइएको प्रहरीले घोषणा गरेको छ ।
एजेन्सी