यूट्युबरको धन्दा– डलरको लोभमा समाज कुरूप बनाउने फण्डा !

भरत केसी
भरत केसी

केसी समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

काठमाडौंको मौसम । अँध्यारो रात । झमझम पानी  दर्किरहेको थियो । नयाँ पुस्तक पढौं भनेर यसो खोलेको मात्र के थिए, अफिमको नशा लागेझैँ भुसुक्कै निदाएछु ।

मध्यरातको प्रहरमा अनौठो सपना देखें । अचानक आँखा अघिल्तिर ७ सूर्य बालेझैं चम्किलो प्रकाश पर्‍यो ।
 
नेपथ्यबाट मधुर स्वरमा ‘ए बालक उठ् !’ भन्ने आवाज मेरो कानका भित्तामा ठोक्कियो । यसो हेरेको भगवान् श्रीकृष्ण ‘राधे ! राधे !’ भन्दै मेरो समिपमै आउनुभो ।


Advertisement

सपनामा साक्षात भगवानको विराट रूप देखेर एक टक त मुटु नै रोकियो । ओठ काप्न थाले । म बबुरोलाई किन भेट्न आउनुभएछ भनि कौतूहल जाग्यो ।

दबेको आवाजमा ‘के कति कामले पाल्नुभएको होला प्रभू ?’ भनी बिन्ती बिसाएँ ।


Advertisement

‘स्वर्गबाट एउटा मुद्दा लिएर आएको छु, भेटघाटमा निस्केको ।’

भगवान्को जवाफ पूरा हुन नपाउँदै मैले प्रश्न तेर्स्याइहालें, ‘कोसँगको भेटघाट हो प्रभू ?’
 
‘नेपाली यूट्युबरसँग’ प्रभूले छोटो जवाफ फर्काउनुभो । ओहो ! प्रभू यो त गज्जबकै कुरा सुनाउनुभयो, हाम्रो लागि गौरवको कुरा हो, मैले उत्साहित हुँदै भने । 

भगवान् तात्तिँदै बोल्नुभो, ‘केको गौरव ? नेपाली यूट्युबरले स्वर्गमा समेत बसिखान दिएनन् । नेपाली यूट्युबरका भिडियोले देउता समेत बिग्रिसके ।’
 
‘कसरी प्रभू ?’ मैले बाल जिज्ञासा राखें ।

‘दिनरात नेपाली यूट्युबरका काण्डैकाण्ड र उच्छृंखल भिडियो हेरेर २–४ जना देउता समेत क्यामेरा काँधमा राखी यूट्युबर जस्तै भइसके । भगवान्का घरघरमा गएर कतिका घरमा झगडा पारिसके भने कतिका पारपाचुके समेत गराइसके । अस्ति १ जना यूट्युबर–देउताले त यमराजले गर्ने फैसला पनि आफैं गरिदिएछन् । कम्ती फसाद परेन ? एउटालाई लैजानुपर्ने अर्कै मनुष्य परेछ । त्यसमाथि यूट्युबर परेछ । मृत्यलोकमा एकछिन त भागाभाग चल्यो । तुरुन्त पृथ्वीलोकमा पुर्‍याइदिएको । धन्न साथमा क्यामेरा रहेनछ, त्यो दिन हामी बच्यौं । त्यही भएर यूट्युबरलाई सम्झाउन आएको,’ प्रभूले भन्नुभयो ।
  
प्रभूलाई सुनेर म खितखित हाँसे । मैले भने, ‘यो काम त नेपाल सरकारले नै गरिहाल्थ्यो प्रभू, हजुरले आउने कष्ट नगर्नु भए हुने ।’

‘तिम्रो सरकार पनि यूट्युबरभन्दा कम्ताको छ र ? सरकारका काण्डको लिस्ट यूट्युबरभन्दा ठूलो छ,’ भगवान्ले कडक जवाफ दिनुभो ।

म चुप लागें । एकछिन सन्नाटा छायो । छोटो अन्तरालपछि भगवान् बोल्नुभो, ‘पसलहरूको अवलोकन गर्छौ बालक ?’

‘कस्तो पसल भगवान् ?’ मैले सोधें ।

‘तिनै व्यापारिक पसल जस्ता यूट्युब च्यानल ।’

मलाई पनि उत्सुकता जाग्यो । लौ न प्रभू हेरिहालौं । स्वर्गमा समेत ट्रेन्डिङमा आउने भिडियो कस्ता रहेछन् ?

भगवान्ले आफ्नो शक्तिद्वारा ठूलो मल जस्तो स्क्रिन प्रकट गर्नुभयो । जसमा थरिथरिका पसलहरू सजाइएका थिए । बाल चञ्चलता जसरी मनमा उत्सुकता जाग्यो । अब चाहिँ मलाई पसल–पसल चहार्न मन लाग्यो ।

जे पर्ला–पर्ला । यूट्युबको मलमा छिरें । यस्तो लाग्यो कुनै मल्टिपरपोजको विदेशी मलमा छिरे जस्तै । क्या सानदार सजाएर राखिएका पसलहरू । पसलका उरन्ठेउला नाम सुन्दा यस्तो लाग्थ्यो – न्वारन गर्ने पण्डित कुनै फेस–रिडरभन्दा कम्ता नहोला । थरिथरिका सटरहरू । साहुजी त झन् कति काइदाका । थरिथरिका यूट्युबर साहु देखिए । बजारमा बेच्न राखिएका रङ्गीबिरङ्गी बेलुन जस्तै । कसैका वालमा उत्तानो परेका फोटाहरू सजिसजाउ थिए । कसैले बिजुलीको पोलमा करेन्ट निकाल्न लागेझै अर्धनग्न स्त्रीको तस्वीर टासेका थिए । क्या काइदाको दुनिया बाबै !

सबैभन्दा पहिले एउटा पसलमा छिरें । एउटा जड्याहा जस्तै उपरमुन्टेले जोसिँदै भन्यो, ‘वेलकम टु माई च्यानल ।’ साहुजी थियो सायद त्यो पसलको । ‘हाई डोज’मा छन् जस्तो लाग्यो र त्यो पसलबाट बाहिरिए । 

सिधै अर्को पसलमा फाल हालें । वालमा २ खुट्टाको बीचमा सिरानी च्यापेकी सुन्दरीको तस्वीरले स्वागत गर्‍यो । नाम पनि पूरै ‘कामुक’ ! यो च्यानलमा छिर्दा यस्तो लाग्यो म नेपालमा छैन ।  सिधा बुझ्ने हो भने ‘मिनि पोर्न’ साइट जस्तो । पोर्न साइटका गतिविधि त हुँदैनन् होला तर बोल्न र भन्न बाँकी केही पनि राख्दा रहेनछन् । यो खालका पसलका निश्चित ग्राहक हुँदा रहेछन्, कमेन्ट हेरेपछि थाहा भयो पूरै उत्तेजित कमेन्ट ! 

छेवैमा अर्को पसल पनि रहेछ । यसले पनि त्यस्तै काम गर्दो रहेछ पहिलाको पसल जस्तै तर यसमा चाहिँ मान्छेलाई प्रत्यक्ष हसाउनु पर्दो रहेछ । त्यो पनि पूरापूर ‘भल्गर’ बोलेर । यस पसलमा ‘म भन्छु नि कत्रो छ !’ भन्दै एक जना साहुजीकै कोही कराउँदै थिई । बाहिर निस्कने निर्णय गरें । 

अगाडि हेर्दा झन् आपत आइलाग्ला भन्ने डर ।

त्यो पसलबाट फुत्त निस्कें र अर्कोतर्फ लागें । यो पसलको साहुजी बोल्यो, ‘नमस्कार तपाईंलाई स्वागत छ हाम्रो बहसमा’ । यो पसलमा पूरै संसद भवनवाला ‘फिल’ । यस्तो लाग्यो देशको पूरै राजनीति यहीँ पसलबाट चल्दैछ । साहुजीका आसपास २ जना नेता जस्तै देखिने छोटे भलादमी थिए । एउटाले औलो उठाउँदै भन्यो, ‘तेरो पार्टीका नेताहरू चोर हुन् चोर ।’ अर्को बीचैमा जंगियो, ‘तेरो पार्टी त दलाल हो दलाल, बलात्कारी पार्टीको झोले !’ साहुजी बीचैमा बोल्यो, ‘तपाईंहरू यसरी झगडा नगर्नुस् । कार्यक्रमलाई सभ्य बनाउनुस् ।’

अन्तिममा पो थाहा भो – साहुजीको कामै दुनियाँलाई त्यहाँ ल्याएर झगडा गराउने रहेछ । वक्ताहरू बोल्दै उफ्रिँदै थिए, बुरुक्क–बुरुक्क भ्यागुता जस्तै । कतिबेला हात हालाहालमै उत्रिन्थे । खुबै रोमाञ्चक । कानको आधा श्रवण शक्ति यिनको कर्कस आवाजले खायो । त्यहाँबाट पनि कुलेलम हानें ।

छेवैमा अर्को पसल रहेछ । पसलको नामै अभियन्ता खालको थियो । एक जना आँखामा आँशु निकाले जसरी सानो स्वरमा एउटा बालिका देखाउँदै बोल्दै थियो । ‘हेर्नुस् नाईले यो बहिनीको पूरै शिर मुण्डन गरिदिएछ, नाङ्गो जंगलझै कुरूप देखियो । त्यसैले यसको टाउकोमा कपाल उमार्न जसरी भए पनि सहयोग गर्नुहोला, प्लिज प्लिज ।’

अर्को मनुवाले बोल्दै थियो । ‘हेर्नुस् मेरो नङ काट्दा मासु पनि काटिएछ । नङको अपरेसन गर्न कृपया केही पैसा सहयोग गर्नुहोस् ।’ यो चाहिँ पूरै हप्ता असूल कारोबारवाला पसल लाग्यो ।

हुरीले घरको छानो उडाएकादेखि कट्टु हराएका सारा गुनासाका पोका यही पसलमा हेर्न पाइयो । यस प्रकारका पसलका ग्राहक प्रायः देश बाहिर बस्दा रहेछन्, त्यो चाहिँ कमेन्ट हेरेपछि थाहा भयो । 

लुखुरलुखुर अर्को पसलको गेटमा पुगें । भिडियो चल्यो अनि साहुजीले बोल्न शुरू गरे, ‘नमस्कार म फलानो पत्रकार !’ एक जनाको मुखै अगाडि माइक ठड्यायो र भन्यो, ‘भन्नुस् यो मृत्यु कसरी भयो ? के मृत्यु हुनुअघि तपाईंलाई मृतकको फोन आकोथ्यो ?’ पछि थाहा पाए कसैका परिवारका सदस्यको मृत्यु भएको रहेछ र मुर्दालाई पोस्टमोर्टम कक्षमा पर्खिरहेका रहेछन् ।

विचराहरूका आँखामा आँशुका छाल बगिरहेका थिए । तर त्यो यूट्युबरले प्रश्न सोध्न छोडेन । छेवैको एक जना बहिनीले जंगिँदै भनिन्, ‘छिः मान्छेको वेदना पनि नबुझ्ने कस्तो यूट्युबर ।’ यो पसले अलि असामाजिक लाग्यो । मनले यो पसलमा धेरै बेर बस्न दिएन । 

मैले श्रीकृष्णलाई सोधें, ‘भगवान् यिनले यतिबिघ्न किन गरेका होलान है ?’ छोटो जवाफ फर्काउनुभयो, ‘पैसाको लागि नरपिशाचहरू ।’

‘अरुको चरित्र हत्या गरेर कसरी पैसा आउँछ र ?’ मैले फेरि प्रश्न तेर्स्याएँ । ‘जुन कन्टेन्ट बढी हेरिन्छ त्यसलाई यूट्युबले बढी पे गर्छ । त्यही भएर यिनीहरूले सूचना संकलन र पत्रकारिताका नाममा उच्छृंखलता फैलाए नि ! धन्दावाला व्यापारी !’

एउटा अर्को पसलमा छिरौंन त सोचेर गएँ । निक्खर मानवअधिकारवादी देखिनेवालाहरू हुँदा रहेछन यहाँ । सारा देशको पीरमर्काको चिन्ता लिएर बस्या छन् चिन्तारामहरू । लौ न देश बिगारे यिनले भन्दै एउटा फतरफतर गर्दै थियो शुरूआती भिडियोमै ।
 
यो चाहिँ आफ्ना विपक्षीलाई गालीगलौज गर्न खोलिएको पसल रहेछ । अर्को छेउमा एक जना कराउँदै थियो, ‘दुई कौडीका नेता !’
 
जोइले पोइ छोडेका, बहुविवाहदेखि जारी लिने र बिगो तिर्नेसम्मका मुद्दाहरू यो पसलले हेर्दो रहेछ । बुढाको सम्पत्ति लिएर अर्कैसँग फरार हुनेदेखि फिर्ता ल्याइदिनेसम्मका मुद्दा यही पसलमा देखिए । खेतको साध मिचिँदा होस्, चाहे टिप्परले किचिँदा होस्, यही पसलमा छिनोफानो हुने रहेछ । 

यूट्युब मलका पसल चाहर्दै थिएँ, भगवान्ले ठूलो स्वरमा बोल्नुभो, ‘यसलाई भन्छन् यूट्युब खेतीको आतंक ।’ प्रभूको जोरको कर्कस आवाजले निद्राबाट झसंग ब्युँझिए ।

साँचो अर्थमा भन्ने हो भने विषयवस्तुलाई तोडमोड गरेर सनसनीपूर्ण खुलासा भन्दै बेतुकका ‘हेडिङ’ राख्ने प्रवृतिले आमसञ्चारलाई नै अभद्र तुल्याएको छ ।

सस्तो प्रचारबाजी र सस्क्राइबको लोभमा यूट्युबरहरू क्यामेरामा जे पनि कैद गर्न र जे पनि बक्न तयार देखिन्छन् । यिनले समाजलाई सही सूचना सम्प्रेषण गर्न यूट्युबको प्रयोग गरेनन् । बरु भएभरका सामग्रीलाई सनसनीपूर्ण बनाएर समाजलाई बेवकुफ र दिग्भ्रमित पारिरहे । 

आफ्नो च्यानलको बाली सपार्न समाजमा भएका सकारात्मक पक्षलाई समेत नकारात्मक खुराक बनाएर नार्ने काम गरिरहे । केही जमातले यूट्युबरले पत्रकारितामा योगदान दिएका छन् भनि प्रस्ट्याउँछन् । यो कुरा नारायण गोपालले क्रिकेटमा योगदान दिए भने जत्तिकै हो । पत्रकारिताका आधारभूत नियमको समेत हेक्का नराखी भ्रामक र कपोकल्पित सूचना सञ्चार गर्ने यूट्युबरहरू सञ्चारकर्मी कम डलर व्यापारी बढी हुन् ।

यिनले राखेका शीर्षकबाट प्रस्ट थाहा पाउन सकिन्छ, यिनको सिधा उद्देश्य के हो भनेर । आफ्नो खेतीलाई उर्बर बनाउन जस्तोसुकै भद्दा, अश्लील र उट्पट्याङ सामग्री प्रस्तुत गर्न रत्तिभर पनि लज्जाबोध गर्दैनन् । यूट्युबरको बेशरम चालचलनले अहिले आमसञ्चारमाथि नै प्रश्न चिह्न खडा भएको छ । 

सञ्चारमाथिको छुद्र यूट्युबकारिता गरेर २–४ डलर अर्थोपार्जन त गर्लान् तर समाजमा यसले पारेको दीर्घकालीन असरको भरपाई कसले गर्छ ? जनतामा पारेको मानसिक उत्पीडनको उपचार कसले व्यहोर्छ ? भ्रमपूर्ण सूचनाले समाजलाई गरेको क्षतिको हिसाब कसरी मिल्छ ? यूट्युबको तरवारले चरित्रहत्या गरिएकाहरूले समाजमा आफ्नो शिर कसरी उठाउँछन् ?

समाजलाई प्रविधिमैत्री बनाउन, नयाँ–नयाँ प्रयोग सिकाउन, नविनतम आविष्कारको जानकारी दिन, शुद्ध मनोरञ्जन प्रदान गर्न, सत्यतथ्य सूचना सम्प्रेषण गर्न, सिक्न चाहेका कामको रिफ्रेन्स दिन संसारले यूट्युबको उपयोग गरिरहेको छ । तर हामी कहाँ पतिपत्नीको डिभोर्स गराउन, पीडितलाई पीडा थप्न, अरुको चरित्रहत्या गर्न, समाजमा भाडभैलो मच्चाउन, व्यक्तिगत रोष साध्न, गलत प्रवृत्तिलाई प्रश्रय दिन र चन्दा उठाउन यूट्युबको प्रयोग भइरहेको छ । जुन अत्यन्तै दुःखद हो ।

विज्ञानले कुनै पनि प्रविधिको विकास मानव कार्यमा सहजताका लागि गर्दछ । यूट्युबरको काम अरुको चरित्रहत्या गरेर माड खाने होइन । समाजमा द्वेष र क्लेश पैदा गरी सामाजिक अवस्थितिलाई कुरूप बनाउने होइन । समाजमा संस्कार निर्माण गर्ने अभिभारा हरेक नागरिकमा निहित छ । 

यूट्युबरले प्रस्तुत गरिरहेका गैरजिम्मेवारी र भत्सर्नायोग्य सूचनाले समाजलाई न त अगाडि बढाउन मद्दत गर्नेछ, न त यथास्थितिमा कायम रहन दिनेछ । यस प्रकारका बिर्सनलायक कार्यले समाजलाई मानसिक विचलन बनाई रसातलमा पुर्‍याउने पक्का छ ।

हामीले प्रसारण गर्ने सार्वजनिक चासोका सूचना प्रसारण गर्नुअघि सयपल्ट तौलिन आवश्यक छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कुराले ठूलो माने राख्दछ । तर यूट्युबरहरूले प्रसारण गर्ने सामग्रीको गति देख्दा यस्तो लाग्छ एकपल्ट आफैंलाई पो तौलिने हो कि ? अन्यथा यसबाट सिर्जित दुष्परिणाम स्वयं यूट्युबरले मात्र होइन, सिंगो परिवेशले भोग्नुपर्ने हुन्छ । 

अरुको घरको आँगनमा गएर कसैको मुखमा माइक घुसार्दै गर्दा सो व्यक्तिको सामाजिक जीवनको पनि हेक्का राख्न जरुरी छ । हत्याभन्दा कैयौ गुणा खतरनाक हुन्छ चरित्र हत्या । अर्काको मानहानी गरेर यूट्युबरकारिता गर्ने मात्र ध्याउन्नमा लाग्यौ भने यसले समाजलाई चाँडै अधोगतिमा लैजानेमा कुनै शंका छैन ।

धमिलो पानीमा माछा मार्न पोख्त केही वर्ग पनि आजभोलि क्यामेरा ठड्याएर यूट्युबकारिता गरिरहेका छन् । व्यक्तिगत दुश्मनी साध्न, अरुको आदर्शमाथि प्रहार गर्न, भाषा संस्कृतिलाई कमजोर बनाउन, जातीय द्वन्द्वलाई बढावा दिन र पैसाको खेती गर्न मात्रै यिनिहरू परिचालित छन् । लाइक, कमेन्ट, शेयर र सस्क्राइबको लोभले जसलाई पनि आहारा बनाउने प्राणी हो यूट्युबर । आफूले मन नपराएका व्यक्ति र संस्थाप्रति लक्षित गरी हुर्मत लिन पनि यूट्युबरहरू माहिर देखिन्छन् ।


यूट्युबको प्रयोग गरी जनताको सेन्टीमेन्टमाथि खेलेर अर्थोपार्जन गर्न खोज्नु, दुनियाँको चरित्र हत्या गर्दै हिँड्नु, सामाजिक विकृति फैलाउन खोज्नु, गलत प्रवृत्तिलाई मलजल गर्नु, झूटा मान्छे र आदर्शलाई बारम्बार हाइलाइट गरी स्थापित गर्न खोज्नु जस्ता कार्य सामाजिक मूल्यमान्यताका हकमा हत्या भन्दा पनि ठूलो अपराध हो । यसले निश्चित वर्गलाई पोषण त देला तर आखिरकार समाजलाई मानसिक सुकेनाशको अवस्थामा पुर्‍याइछाड्छ ।

हामी के बोल्छौं ? कस्ता संगित सुन्छौं ? कस्ता चलचित्र हेर्छौं ? कस्ता व्यक्तिलाई सुन्छौं ? यसले हाम्रो विचारको चैतन्य प्रकट गर्दछ र हाम्रो विचारले नै समाज बन्ने हो । त्यो प्रकट भएको विचारमाथि टेकेर नै समाजले अभ्यास गर्दछ । त्यसो भए हाम्रो चेतनाकोस्तर अहिले ट्रेन्डिङमा रहेका उच्छृंखलता फैलाउने खालका सूचना हेर्नेसम्मको मात्र हो त ? एकपल्ट आफैंलाई प्रश्न गरौं – हामी सबै यही परिवेशको एक हिस्सा हौं ? गलत प्रवृत्तिले प्रश्रय पाउनुमा हामी सबैको कतै न कतै हात रहेको छ ।

आजसम्म हाम्रो देशका यूट्युब ट्रेन्डिङ भिडियोहरू भनेकै गालीगलौज र चरित्र हत्याकै छन् । जसले अपशब्द बोल्छ, जसले अवान्छनीय क्रियाकलाप गरेर बोल्न सक्यो, त्यो यूट्युबको हिरो । यूट्युबमा हेरिएका भिडियो समाजका प्रतिनिधि विचार हुन् । हामी के हेर्छौं र के गर्छौं भन्ने कुरा नै समाजमा मन्थन हुने हुन् । नामै किटेर त भन्न नमिल्ला तर एकपल्ट ट्रेन्डिङमा परेको अनुहार सम्झिनुस् र उसको चाला नाप्नुस् अनि मज्जाले हाँस्नुस् ।

यूट्युब, गूगल जस्ता प्लेटफर्महरू आजका दुनियाका ठूला र साझा विश्वविद्यालय जस्ता भएका छन् । धेरैजसो विकसित देशका ट्रेन्डिङ भिडियोहरू विज्ञान, प्रविधि, कृषि उपकरण, खानपान बारेमा हुन्छन् ।

हामीले हेर्ने र बनाउने कन्टेन्ट भनेका, कसले कसकी पत्नी भगायो, कुन मन्त्रीका कति वटा गर्लफ्रेन्ड, फलानीले यति महंगो साडी किन लगाएकी, ठमेलमा के छामछुम भो, नेतालाई सबैभन्दा बढी गाली कसले गर्न सक्यो ? कुन हिरोइनका कति लामा दाह्रा ? यिनै हुन् हाम्रा ट्रेन्डिङ भिडियो भनेका । पूरै थाङ्ने ।

हामी के सिक्दैछौं ? समाज कहाँ जाँदैछ ? हामी के गर्दैछौं ? अनि हामीले चाहेको समाज कस्तो ? जसले जे गर्छ त्यही परिणाम पाउने हो । प्रविधिको सदुपयोग गरौं, दुरुपयोग होइन । यही गतिमा यस्तै खालका चरित्रविहीन भिडियोहरू निरन्तर बन्दै गए र समाजमा यिनले ठूलै स्थान पाउन थाले भने अब आउने हाम्रो भावी पुस्ता कस्तो सामाजिक दलदलमा फस्ला ? सोच्दै पट्यारलाग्दो । हामी आफूप्रति त इमानदारी हुन सकेनौं तर आउने सन्ततिमा वितृष्णा पैदा हुन सक्ने काम कसरी गर्न सक्छौं ?

आफूले खिचेको प्रदूषणयुक्त रिपोर्ट, भिडियो साँझ घरमा लगेर आफ्ना बालबच्चा र परिवारलाई छातीमा हात राखेर गर्वका साथ देखाउन सकिन्छ ? आफूले अरुको विरुद्धमा विषबमन, उट्पट्याङ हर्कत र चरित्रहत्या गरिरहँदा अबोध बालकले के सिक्छ ?

यसो भन्दैमा सबै यूट्युबरलाई एउटै भट्टीमा हालेर पोल्न मिल्दैन । केही यूट्युबरले राम्रा कहलिएका मिडियाभन्दा पनि उत्कृष्ट काम गरेका छन् । यूट्युबबाटै समाजसेवा पनि गरेका छन् । खोज पत्रकारिता गरेका छन् । समाजलाई विशुद्ध मनोरञ्जन पनि दिएका छन् । केही यूट्युबरले सांस्कृतिक धरोहरको जगेर्ना पनि गरेका छन् । ती सम्पूर्ण यूट्युबरलाई सलाम छ ।

सूचना र समाचार प्रकाशन सम्बन्धी काम गर्ने यूट्युबरलाई बाँध्ने कुनै वैधानिक कानून वा पत्रकारिताका आधारभूत परिधिभित्र कस्ने कानूनको टड्कारो आवश्यकता देखिन्छ । यूट्युबरहरू स्वयंले पनि समाज र सामाजिक परिवेशलाई ख्याल राखी सनसनीपूर्ण खबरभन्दा पनि सूचनामूलक खबर प्रसारण गर्न पट्टि ध्यान दिन आवश्यक देखिन्छ ।

भरत केसी
भरत केसी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्