कोरोना संक्रमणको डढेलो निभाउन के गर्नुपर्ला ?– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

लक्षणयुक्त संक्रमणको महामारीसँगै हामी कोरोना संक्रमणको अप्ठ्यारो चरणमा प्रवेश गरेका छौं । संक्रमितको संख्या मात्र हैन गम्भीर बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । हाम्रा आइसोलेसन वार्ड तथा आईसीयू लगभग भरिएको स्थिति छ ।

मृतकको संख्या दिनानुदिन बढिरहेको छ । टोल, वार्ड, पालिका तथा जिल्ला सिल गर्ने, लकडाउन गर्ने तथा कर्फ्यु लगाउने क्रम बढिरहेको छ । एकदम सीमित संख्यामा रहेका भेन्टिलेटर, आईसीयू बेड तथा अक्सिजन प्लान्टका कारण आम नागरिकमा भय, त्रास र असुरक्षा बोध भएको छ ।


Advertisement

स्वास्थ्य मन्त्रालयले धमाधम अस्पतालको क्षमता बढाएर आम जनतालाई विश्वस्त गर्नुको साटो नागरिकलाई तर्साउने काम गरिरहेको छ । विशेषगरी स्वास्थ्यमन्त्री तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ताको निर्मम चेतावनीका कारण सरकारले महामारीसँग आत्मसमर्पण गरेको आम नागरिकको बुझाइ छ ।

महामारीबाट बच्न आम नागरिकले के गर्ने ?


Advertisement

हामी संक्रमित भयौं भने सरकारलाई वा रोग सार्ने व्यक्तिलाई दोष दिएर रोग निको हुँदैन, न त मृतकलाई ब्युँताउन सकिन्छ । यो महामारीबाट बच्नका लागि हामी स्वयं जिम्मेवार हुनुको विकल्प छैन । संक्रमणबाट बच्नका लागि यी उपाय हामीले कडाइका साथ अवलम्बन गर्नु जरुरी छ ।

– सकभर घरमै सेल्फ लकडाउनमा बस्ने । घरभित्र पनि जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई आइसोलेसनमा राख्ने अर्थात् छुट्टै कोठामा राख्ने । उहाँहरूसँग मास्क लगाएर कुरा गर्ने तथा सुरक्षा दुरी कायम गर्ने ।

– पसलमा, काममा वा अन्य जुनसुकै उद्देश्यले बाहिर जाँदा नाक तथा मुख राम्रोसँग छोपिने गरी अनिवार्य रूपमा मास्क लगाउने । आफन्त, साथीहरू तथा सहकर्मीसँग कुरा गर्दा, खोक्दा तथा हाच्छ्युँ गर्दा अनिवार्य रूपमा मास्क लगाउने । विभिन्न अध्ययनले देखाएका छन् कि मास्कको सही प्रयोग कोरोना संक्रमणबाट बचाउने ठूलो अस्त्र हो । कपडाको मास्क, सर्जिकल मास्क वा N 95/K 95 मास्क उपलब्धताअनुसार लगाउन सकिन्छ ।

– पसलमा, बाटोमा, कार्यस्थलमा तथा अस्पतालमा समेत ६ फिटको दूर कायम गर्ने । भीडभाडमा नजाने ।

– नियमित रूपमा हात सफा गर्ने, अनुहार नछुने तथा अनावश्यक वस्तु नछुने । सकभर चस्मा र पञ्जाको पनि प्रयोग गर्ने ।

– बन्द कोठामा कुराकानी, छलफल तथा मिटिङ नगर्ने । झ्यालढोका खोलेर वा घरबाहिर बसेर वा भर्चुअल माध्यमबाट छलफल, मिटिङ वा अन्य सामूहिक काम गर्ने ।

– थुक्ने बानी बन्द गर्ने ।

– सकभर थोरै मान्छेसँग कुरा गर्ने, छोटो कुरा गर्ने तथा टाढा बसेर कुरा गर्ने ।

– निर्माण, यातायात, उद्योग आदिमा काम गर्ने मजदुरलाई अनिवार्य रूपमा मास्क लगाउन तथा दूरी कायम गर्न लगाउने ।

– आफू पाहुना भएर कसैको घरमा पनि नजाने र आफन्तलाई पनि घरमा नबोलाउने ।

– तीज, कुशे औंशी, दशैंतिहार, छठ, जात्रा आदि यो वर्ष घरमै मनाउने । निम्तो गरेन भने अरूले के सोच्छन् भनेर जोखिम नमोल्ने । १ जना आफन्तलाई पनि नबोलाउने, आफूपनि नजाने । टेलिफोनबाट आशीर्वाद लिने तथा दिने ।

–  नेपाल सरकार, डब्लुएचओलगायत आधिकारिक निकायको सूचना र विज्ञको सल्लाहलाई मात्र विश्वास गर्ने । हल्ला र भ्रमको पछि पटक्कै नलाग्ने ।

– संक्रमित तथा मृतकको संख्या सुनेर डर नमान्ने । आफ्नो घर, परिवार तथा आफन्तलाई त्रास वितरण नगर्ने । दीर्घ बिरामीको उपचारलाई निरन्तरता दिने ।

सरकारले गर्नुपर्ने काम

– नेपालको सिमाना जोडिएका भारतका उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको इपिसेन्टर बनिरहेका छन्, तसर्थ नेपालीबाहेक अन्य व्यक्तिलाई नाका, जंगल, खेत, बस्तीमार्फत् नेपाल प्रवेश गर्न नदिने । सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त गस्ती गर्नेतर्फ सरकारले ठोस कदम चाल्न ढिलो गर्नु हुँदैन ।

– संक्रमण व्यापक फैलिएका रेड जोनबाट बिरामीबाहेक अन्य व्यक्तिलाई अर्को जिल्ला जान नदिने तथा रेडजोनमा सार्वजनिक तथा लामो दुरीका यातायात सञ्चालन नगर्नेतर्फ सरकारले गृहकार्य गर्नुपर्दछ ।

– घनाबस्ती भएका शहरमा अत्यावश्यक कामबाहेक आवतजावत बन्द गर्ने, सहर छिर्ने सवारी साधनलाई संक्रमणरहित बनाउने, हरेक व्यक्तिको पीसीआर जाँच गरेर होल्डिङ सेन्टरमा राख्ने अनि रिपोर्ट आएपछि मात्र संक्रमण नभएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्ने गरी शहर प्रवेश गर्ने अनुमति दिनुपर्दछ ।

– भारतीय मजदुर तथा संक्रमित जिल्लाबाट शहर आएका व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्ने ।

– कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनका लागि स्थानीय निकायले १० कक्षा पास गरेका व्यक्तिलाई सामान्य तालिम दिएर परिचालन गर्नु प्रभावकारी हुन्छ ।

– होम क्वारेन्टाइन वा होम आइसोलेसनमा बसेका व्यक्तिको निगरानी गर्ने तथा आफ्नो वडाका जोखिम स्थानमा बस्ने वा काम गर्ने व्यक्तिलाई परीक्षण गर्न सहजीकरण गर्ने काममा स्थानीय निकाय क्रियाशील हुनु पर्दछ  ।

– सार्वजनिक यातायातमा ठूला बस मात्र सञ्चालन गर्ने, माइक्रोबस र टेम्पुलाई अन्य उद्देश्यको लागि प्रयोग गर्ने तथा अनुगमनका लागि प्रत्येक बसमा १ जना सुरक्षाकर्मीको व्यवस्था गर्दा संक्रमण फैलिने डर हुँदैन ।

– झ्यालढोका नभएका डिपार्टमेन्टल स्टोर, सपिङ मल आदिमा अनिवार्य रूपमा भेन्टिलेसनको व्यवस्था मिलाउने तथा नमिलाएमा बन्द गर्नेतर्फ सरकार सूचीत हुनु जरुरी छ । त्यस्ता बन्द ठाउँमा हावा ( एरोसोल ) को माध्यमबाट पनि संक्रमण सर्ने सम्भावना हुन्छ ।

– संगठित पेशाका व्यक्तिहरू जस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सफाइकर्मी, उद्योगमा काम गर्ने मजदुर तथा अन्य सामूहिक बसाइका व्यक्तिहरूलाई अनिवार्य रूपमा मास्क लगाउन, दुरी कायम गर्न तथा पटक–पटक परीक्षण गर्न सहजीकरण गर्नुपर्दछ ।

– यस्तो विषम परिस्थतिमा भीआईपिहरूले सुरक्षाकर्मी राख्ने लोभ गर्नुहुँदैन ।

– हरेक जिल्लाका निजी वा सरकारी ठूला अस्पताल तथा मेडिकल कलेजमध्ये केहीलाई कोरोना अस्पतालको रूपमा विकास गर्ने । हरेक संक्रमितलाई त्यहीँ उपचार गर्ने । त्यो ठाउँमा अक्सिजन प्लान्ट, आईसीयू बेड, भेन्टिलेटर आदिको पर्याप्त व्यवस्था गर्ने । अन्य अस्पतालमा कोरोना संक्रमणको उपचार नगर्ने । जनरल सेवा प्रवाह गर्ने । ती अस्पतालमा कुनै व्यक्ति संक्रमित भएमा अस्पताल सिल नगर्ने तथा संक्रमितलाई आइसोलेसनमा राख्ने गरेमा सेवा प्रवाह रोकिने छैन ।

– स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न तथा न्यायिक कर्तव्य पूरा गर्नका लागि मन्त्रालय, विभाग, महाशाखा तथा ग्रीन जोनमा काम गरेका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई रेड जोनमा र रेड जोनमा काम गरिरहेका स्वास्थ्य जनशक्तिलाई मन्त्रालय, विभाग, महाशाखा तथा ग्रीन जोनमा पालोगरी सरुवा गर्ने । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्रत्येक महिनाको तलबसँगै प्रदान गर्ने, गुणस्तरीय र पर्याप्त पीपीई तथा अन्य सुरक्षा सामग्री उपलब्ध गराउने । स्वास्थ्यकर्मी संक्रमित भएमा राज्यले गुणस्तरीय उपचार गर्ने अस्पताल छुट्याउने । बिमा तथा सुरक्षाको प्रत्याभूति गर्ने । १५ दिन काम गर्ने तथा १५ दिन क्वारेन्टाइनमा बस्ने पालो मिलाएमा सबै स्वास्थ्यकर्मी संक्रमित भएर अस्पताल बन्द गर्नुपर्ने अवस्था आउँदैन ।

– संक्रमितको संख्या बढेसँगै संक्रमितको आइसोलेसन र उपचारलाई व्यवस्थित गर्नु जरुरी छ । स्थानीय निकायलाई परिचालन गरेर कति जना व्यक्तिको होम आइसोलेसन सम्भव छ ? कति जना व्यक्तिलाई होम आइसोलेसन सम्भव छैन भनेर घरघरको तथ्यांक संकलन गर्न शुरू गर्नुपर्दछ । होम आइसोलेसन सम्भव नभएका संक्रमितलाई सरकारी, सामुदायिक भवन, होटेल तथा पार्टी प्यालेसलाई तुरुन्त आइसोलेसन केन्द्र बनाउन तुरुन्तै कदम चाल्नु जरुरी छ । ती आइसोलेसन केन्द्रलाई सुरक्षित, सुविधाजनक र प्राथमिक उपचारको व्यवस्था गर्ने ।  गम्भीर बिरामीलाई मात्र कोरोना अस्पतालमा भर्ना गर्ने । हरेक अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्ने, आईसीयू बेड बढाउने तथा भेन्टिलेटरको संख्या बढाउन ढिलो गर्नु हुँदैन ।

– कोभिड १९ मा संसारमा प्रयोग भएर राम्रो परिणाम दिएको Remdesevir तथा Dexona सुइको अहिले कालोबजार चलिरहेको छ । विकसित देशले क्लिनिकल ट्र्याल गरेर प्रयोग गरिरहेको Remdesevir लाई नेपालमा क्लिनिकल ट्र्याल गर्ने भनेर उपलब्ध गराउन ढिलो गरिएको छ । विकसित देशमा क्लिनिकल ट्र्याल गरेर चलाइएको औषधिलाई यहाँ रोक्नुको कुनै अर्थ छैन । यो ढिलाइले गर्दा एकातर्फ गम्भीर बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ भारतमा ५ हजार ४ सय पर्ने सुइलाई ५० हजारदेखि १ लाखसम्म तिरेर चलाइएको छ । यसको ६ देखि १२ डोज आवश्यक पर्न सक्छ । यो औषधिलाई भारत, बंगलादेश, चीन वा अन्य मुलुकबाट सरकारी स्तरबाट तुरुन्त खरिद गरेर स्टक राख्नु जरुरी छ । न्यून आय भएका आम नागरिकलाई नि:शुल्क तथा तिर्न सक्ने व्यक्तिलाई स:शुल्क यो औषधि उपलब्ध गराउन सकिन्छ । सरकारले कालोबजारीलाई तुरुन्त नियन्त्रण गर्नु जरुरी छ ।

– नेपालमा उपलब्ध रोगप्रतिरोधात्मक क्षमता बढाउने तथा कोरोना संक्रमणमा उपयोगी हुने जडिबुटीको अनुसन्धान गर्ने तथा आइसोलेसन केन्द्रमा वितरण गर्ने व्यवस्था मिलाउने । निको भएका अधिकांश व्यक्तिले आफू अदुवा, बेसार, ज्वानो, कागती, गुर्जो, अश्वगन्धा, तुलसी, दालचिनी, मरिच आदि खाएर योग तथा ध्यान गरेर निको भएको प्रतिक्रिया दिएका छन् । यी वनस्पतिको अनुसन्धान र प्रवर्द्धन गर्नु जरुरी छ । मुटु तथा आँखालाई खराब गर्ने Hydroxychloroquine लगायतका औषधिभन्दा माथि उल्लेखित आयुर्वेदिक औषधि धेरै सुरक्षित छन् ।

– कोरोना संक्रमण लामो समय जाने निश्चित छ । सरकारले दीर्घबिरामीका औषधि तथा खाद्यान्न कम्तिमा १ वर्ष पुग्ने गरी स्टकमा राख्नु जरुरी छ । कृषिलाई अभियानको रूपमा चलाएर बाँझो जमिन नराख्ने, कृषि उत्पादन, बजारीकरण र डेलिभरीमा लाखौंको रोजगारी स्थापना गर्न सकिन्छ । उत्पादन तथा रोजगारी प्रबर्द्धनको क्षेत्रमा विशेष पहल गर्नु जरुरी छ ।

– कोरोना संक्रमण निर्मुल भएका वा न्यून भएका देशहरूमा पुन : संक्रमण शुरू भएको छ । जाडो महिनामा कोरोना संक्रमणको अर्को वेभ आउने विश्वका विभिन्न देशले आंकलन गरेका छन् । त्यस्तै नेपालमा पनि चाडपर्वको समयमा संक्रमितको संख्या अत्यधिक बढ्ने र जाडो महिनामा पिक अवस्थामा संक्रमण पुग्ने अनुमान गरिएको छ । डब्लुएचओले पनि खोप नआएसम्म यो महामारी नियन्त्रण नहुने बताएको छ । यस्तो अवस्थामा आफ्ना नागरिकको आत्मबल बढाउनका लागि राज्य योजनाबद्ध रूपमा लाग्नु जरुरी छ । त्यस्तै कोरोना संक्रमण भयो भने मृत्यु नै हुन्छ भन्ने बुझाइलाई परिवर्तन गराउनु जरुरी छ । कोरोनाभाइरस कमजोर भाइरस हो । संक्रमितको संख्या बढेपनि यसको मृत्युदर निकै कम छ । यो तथ्य ३ करोड नेपालीले बुझ्नु जरुरी छ । तसर्थ डर मान्ने, आत्तिने तथा आफूलाई सम्हाल्न नसक्ने व्यक्ति वा समूहलाई मनोपरामर्श दिनु आवश्यक छ । भाइरसले भन्दा त्रासले हुने मृत्युलाई शून्यमा झार्न सरकार क्रियाशील हुनु जरुरी छ । हरेक जनतामा 'हाम्रो सरकारले हेर्छ' भन्ने आत्मविश्वास सरकारले जागृत गर्नु जरुरी छ ।

– विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारले ढिलो गर्नुहुँदैन । भिसा सकिएका, रोजगारी गुमेका, दीर्घबिरामी तथा निरुपाय आफ्ना नागरिकलाई उद्धार गर्नु सरकारको कर्तव्य हो । यस्तो जटिल अवस्थामा रहेका नागरिकले अन्य बाटो समएमा त्यो समाज र राष्ट्रको लागि प्रत्युत्पादक हुनसक्छ । यो तथ्य परराष्ट्र मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयले मनन गरेर भोलि नै उद्धार शुरू गर्नु अत्यावश्यक छ ।

– कोरोना संक्रमण बढेको बेला लकडाउन वा कर्फ्यु जारी गर्दा न्यून आय भएका व्यक्ति, दैनिक काम गरेर खाने मजदुर आदिको लागि पुग्दो राहत प्रदान गर्न सरकार गम्भीर बन्नुपर्दछ । मास्कले भोक छेक्दैन तथा व्यक्तिगत दुरी चिन्दैन भन्ने तथ्य बुझ्नु आवश्यक छ ।

– स्वास्थ्यमन्त्री तथा उनको टीम नियमित रूपमा रेडजोन क्षेत्रका अस्पतालमा गएर स्वास्थ्यकर्मीको समस्या बुझ्ने, संक्रमितको अवस्था बुझ्ने तथा काम गर्ने हौसला दिने कदम चाल्नु अपरिहार्य छ ।

– विश्वका १६० वटा ल्याबले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा काम गरिरहेका छन् । ती मध्ये २३ वटा ल्याबले प्रि–क्लिनिकल स्टेज (जनावरमा परीक्षण गर्ने) पार गरिसकेका छन् । ६ वटा ल्याब तेस्रो अर्थात अन्तिम चरणको क्लिनिकल ट्र्यालमा छन् । नेपाल सरकारले प्रधानमन्त्री स्तरबाट, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयको च्यानलबाट, डब्लुएचओलगायत संस्थामार्फत तथा राजदुतमार्फत खोप उत्पादक देश, कम्पनी, वितरक तथा अल्प विकसित देशमा नि:शुल्क वा न्युनतम शुल्कमा खोप वितरण गर्ने संस्था GAVI (ग्लोबल एलाइन्स अफ भ्याक्सिनेसन एण्ड इम्मुनाइजेसन ) सँग नियमित रूपमा सम्पर्कमा रहने, तेस्रो चरणको क्लिनिकल ट्र्यालका लागि आमन्त्रण गर्ने तथा ३ करोड डोजको बुकिङ गर्ने लगायतका विषयमा यथाशीघ्र काम गर्ने । यस्तो खालको समन्वय नगरेमा नेपालले ढिलो गरी खोप पाउने खतरा रहन्छ ।

– कोरोना महामारीको समयमा सबैभन्दा सुरक्षित ठाउँ हाम्रा गाउँ हुन् । गाउँमा छरिएका बस्ती, पातलो जनसंख्या तथा जोखिम हुने अवस्थासँग न्यून सम्पर्क हुने भएकाले हाम्रा गाउँ शहरको तुलनामा सयौं गुणा सुरक्षित छन् । काठमाडौं उपत्यका लगायतका शहरमा महामारी फैलियो र उपचार नपाउने अवस्था आयो भने लाखौँ नागरिक आफ्नो गाउँमा जाने अवस्था आउनेछ । तसर्थ गाउँमै भौतिक पूर्वाधारको विकास तथा रोजगारीको अवसर सिर्जना गरेमा हाम्रा गाउँ विकसित, उत्पादनमूलक, आत्मनिर्भर र सुविधासम्पन्न हुनेछन् ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्