भलिबल खेलाडीको कोरोना बीमा गरिने

प्रतिकात्मक तस्वीर

लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रस्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ ।

ट्रस्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । 


Advertisement

खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रस्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रस्टले जनाएको छ ।

खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । ‘खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रस्टले यो सराहनीय काम गरेको छ,’ उनले भने । 


Advertisement

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना संक्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए । तेह्रौं सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो ।

पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरू आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्