मुख्यमन्त्री पौडेलको निर्देशनः स्वास्थ्यकर्मीको मनोबल नगिराउनू

फाइल फोटो।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न निर्देशन दिएका छन्।

कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं  नागरिकमाथि दुर्व्यवहार  हुने गरेको सन्दर्भमा शनिबार सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारीसंँग जुधिरहेको हाम्रो देशमा महामारीविरुद्धको युद्धमा अग्रमोर्चामा लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेलाबेलामा दुर्व्यवहार हुने गरेकामा  दुःख व्यक्त गरे।


Advertisement

‘घरबेटीले नर्सलाई कोरोना सार्न सक्ने भन्दै कोठा छोड्न दवाव दिएको, स्वास्थ्यकर्मीहरुको सवारी साधन रोकेर दुर्व्यहार गरेको, विभिन्न बहानामा हातपात गरेको तथा अपशब्द प्रयोग गर्ने गरेको एवं संक्रमित चिकित्सकको मनोबल गिर्ने गरी बहिष्करण गरेका घटनाहरु बाहिरिरहेको छ, स्वास्थ्योपचारमा अहोरात्र खटिने आम स्वास्थ्यकर्मीहरुको मनोबल गिराउनुका साथै संक्रमित नागरिकहरुको मनोविज्ञानमा गम्भीर असर पर्न सक्नेतर्फ अलिकति पनि नसोची विवेकशून्य भएर गरिएका त्यस्ता क्रियाकलापको जति निन्दा गरे पनि कम हुन्छ, आपराधिक क्रियाकलाप गर्नेहरु कारवाहीकाे भागीदार हुनुपर्छ र हुने नै छन्,’ मुख्यमन्त्रीले सन्देशमार्फत भनेका छन्।

पौडेलले सन्देशमा संक्रमितलाई दुव्र्यवहार नगरी माया, प्रेम र  सद्भाव व्यक्त गरी हौसला प्रदान गर्न सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइमा अनुरोध पनि  गरेका छन्।


Advertisement

कमेन्ट गर्नुहोस्