सरकारदेखि नागरिक समाजसम्म संस्कारविहीन हुँदा जनतालाई दुःख !

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखक मैनाली नेपाल सरकारका पूर्व सचिव हुन् ।

देशभित्र विभिन्न क्षेत्रमा आवद्ध हुनेलाई जनताले प्रायः मन पराइरहेका छैनन् । समाजमा सफेद पोशाकमा देखिँदै आफूलाई भद्र भलादमी र समाजका लागि केही गरिराखेको दाबी गर्नेहरू जनताका नजरमा बदनाम छन् ।

बदनामीका सम्बन्धमा गहिरो छाप परिसकेको छ । त्यसैले यिनीहरू छिट्टै सकारात्मक प्रभाव पार्न सक्ने अवस्थामा देखिँदैनन् । सबै क्षेत्रमा व्यक्तिवाद, नातावाद, कृपावाद, दलीय स्वार्थ, भ्रष्टाचार, कालोबजारी, तस्करी व्याप्त छ । यही अनुभूति जनताले राम्ररी गरेका छन् । यी सबै कारणले गर्दा देश गरीबीको दुश्चक्रमा नराम्ररी फसेको छ । थोरै टाठाबाठामा स्रोतसाधन संग्रह भइराखेको छ । यसबाट देशले मुक्ति पाइहाल्ने सम्भावना देख्न सक्ने अवस्था नहुँदा सबैमा निराशा छाएको छ ।


Advertisement

आखिर कुन–कुन समूह हुन् त देशलाई यस्तो दूरावस्थामा पुर्‍याउने ? प्रश्न उठ्नु स्वाभाविकै हो । राजनीतिले देशलाई अघि बढाउने र पछि धकेल्ने दुवै काम गर्दछ । त्यसैले कस्तो छ त नेपालको राजनीति र त्यसका कलाकारहरू ? छलफल यसैबाट प्रारम्भ गरौं ।

नेपालमा यथार्थतामा राजनीति भूमिगत शक्तिबाट सञ्चालित छ । जो राजनीतिमा लागेर व्यक्तिगत तरक्की गर्न सफल भएका छन्, उनीहरू आफ्नो बलबुता र नेपाली जनताको विश्वास एवं समर्थनमा राजनीति गर्ने सामथ्र्य देख्दैनन् । राजनीति देशभन्दा अन्यत्रबाटै सञ्चालित छ । जनताभन्दा भूमिगत अदृश्य शक्तिको समर्थनमा नेपालका धेरै व्यक्तिले राजनीतिलाई कमाइखाने भाँडो बनाएका छन् ।


Advertisement

त्यसैले जनताको आलोचनाको खासै महत्त्व यी राजनीतिज्ञलाई हुँदैन । उनीहरू जनतालाई गौण मान्दै जनतामाथि चरम शोषण गरिराखेका छन् । राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग  गर्छन् । भ्रष्टाचारलाई संस्थागत रूपदिन तत्पर छन् । प्राडो, पजेरो प्रकरणदेखि लिएर पुरुष सांसदलाई सुत्केरी हुँदाखाने औषधिको सुविधा समेत दिन तत्परता देखाइराखेका छन् ।

जो स्वच्छ छविका देखिएका छन्, उनीहरूका आसेपासेहरू भ्रष्टाचारमा लिप्त भएकोमा मुकदर्शक बनेका छन् । उनीहरूलाई हिजो दुई रंगको चप्पलको फिता लगाउनेहरू रातारात नवधनाढ्यका रूपमा रुपान्तरित भइराखेको दृश्य हेर्न बाध्य मात्र होइन, यिनै भ्रष्टहरूको आदर्श र उपदेश सुन्नु विवश बनाइराखेको अवस्था छ ।

देश अराजक अवस्थामा धकेलिँदै छ । अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई भ्रष्ट राज्यको सूचीमा राखेको अवस्था छ । नाकाबन्दीबाट सिर्जित तस्करी र भ्रष्टाचार नेपालको राजनीतिले नियन्त्रण गर्न सकेन । सरकारको नेतृत्वमा रहनेहरू नै तस्करी र भ्रष्टाचारमा घनिष्ठ रूपले सम्बन्धित रहेको आक्षेप लाग्दैछ । तर हाम्रो राजनीति, राजनीतिज्ञहरू र सरकारमा रहनेहरू सबै उनीहरूको मूल्यांकन जनताले कसरी गरिराखेका छन्, त्यसको लेखाजोखा गर्न आवश्यक देख्दैनन् ।

जनता अवाक छन्, उनीहरू आफ्नै तथाकथित जनप्रतिनिधिलाई स्वार्थी व्यक्तिको झुण्ड र भ्रष्टका रूपमा चित्रण गरिराखेका छन् । यिनै भ्रष्टहरूबाटै आफ्ना प्रतिनिधि आवधिक निर्वाचनमा चयन गरिराख्नुपर्ने अवस्था नेपालका आम नागरिकको रहेको छ । त्यसैले नेपालमा सर्वसाधारण जनताले राजनीतिज्ञलाई भ्रष्टको झुण्डको रूपमा सम्बोधन गरिराखेका छन् ।

दोस्रो दर्जामा रहेका छन् सरकारी संयन्त्र, जसमा निजामती कर्मचारी, जंगी, प्रहरी, संस्थान लगायतमा कार्यरत राष्ट्रसेवक पर्छन् । यी निकायमा आजसम्म  जनताको सहज पहुँच स्थापित हुन सकेको छैन । सरकारले दिएको नीति, निर्देशन, कानूनी प्रावधानका आधारमा प्रवाह गरिने सेवामा सेवाग्राही सन्तुष्ट छैनन् । प्रक्रिया अत्यन्त जटिल छ । प्रायः जनसम्पर्क हुने कार्यालयमा खुलेयाम घुसको चलखेल देखिन्छ । कार्यालय प्रवेश गर्ने ढोकामा नै दलालसँग सेवाग्राहीको जम्काभेट हुन्छ । दलाल र सेवाप्रदायकबीच अत्यन्त सुमधुर सम्बन्ध हुन्छ । त्यसैले यस्ता कार्यालयको सञ्चालन अप्रत्यक्ष दलालले नै गरिराखेका हुन्छन् ।

सरकार सुशासनको नारा दिएर थाक्दैन । जनता सामान्य कामका लागि दलाल, गाउँका टाठाबाठामा निर्भर हुनुपर्छ । सेवाग्राहीप्रति कर्मचारीको व्यवहार अझै पनि सेवकका रुपमा देख्न पाइँदैन । शक्तिसँग नजिक भएकाहरूसँग ताबेदारी गर्दै जनतामाथि शोषण दमन र अमैत्रीपूर्ण व्यवहार गर्नुमा नै सरकारी संयन्त्र अभ्यस्त छ । यस परिस्थितिमा सरकारले गर्ने सुशासनको सुगा रटाइ सस्तो मनोरञ्जन मात्रैमा सीमित देखिन्छ । यस्तो संयन्त्र राजनीतिज्ञलाई गलत मार्गमा लाग्ने बाटो देखाउन, सहयोग गर्न र राजनीतिज्ञ र कर्मचारीतन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचारदेखि सबै प्रकारका जनविरोधी कार्य गर्न हाम्रा राजनीतिज्ञहरू र सरकारी संयन्त्रका अधिकांश पात्र निर्लज्जताका साथ अघि बढिराखेका छन् ।

यी सबै कुरा सहज बनेको छ । किनकि खुला रूपमा भ्रष्टाचार गर्नेहरू समेत पुरस्कृत हुँदै गएका र नियन्त्रण गर्ने निकायले आँखा चिम्लिएको अवस्था समेत पाइएको छ । किनकि यस्ता व्यक्तिहरू प्रायः शक्ति केन्द्रको नजिक रहेका हुन्छन् । सबै प्रकारका कुकृत्य गर्ने अभयदान राज्यका तर्फबाट प्राप्त गरिराखेका छन् । त्यसैले सरकारी संयन्त्र जसलाई राष्ट्रसेवकको पवित्र संज्ञा दिइएको छ, उनीहरूले जनताका नजरमा कामचोर र भ्रष्टको पहिचान बनाएको पाइन्छ ।

अर्को पक्ष छ, व्यापारी र उद्योगपतिको । यो समूह सबै प्रकारका शक्तिमा रहेकाहरूसँग राम्रो सम्बन्ध कायम गरी अत्यधिक फाइदा लिन निपुण देखिन्छ । यिनीहरू राजनीतिज्ञलाई बेलाबखत चन्दा सहयोग दिन्छन् । कामसँग सम्बन्धित कर्मचारीलाई नजराना टक्र्याउँछन् र आफ्नो दुनो सोझ्याउँछन् । यी सबै सहयोग र नजरानामा अत्यन्त थोरै लगानी गर्दै अत्यधिक रूपमा व्यक्तिगत फाइदा लिन्छन् । यिनिहरूको भेटघाट अत्यन्त फाइदाजनक हुने भएकाले देशका नीति निर्माताको ढोका यिनीहरूका लागि सधैं खुला रहन्छ । राजनीतिज्ञहरू यस्ता समूहप्रति अत्यन्त ज्यादा मैत्रीपूर्ण सम्बन्ध राख्छन् । केही उच्च पदाधिकारीमाथि नियन्त्रण जमाइ यिनीहरू व्यक्तिगत स्वार्थपूर्ति गर्न खप्पिस हुन्छन् । व्यावसायिक समूहको पकड सरकारी नीति निर्माण र निर्णय प्रक्रियामा रहन्छ । उदाहरणका लागि हरेक क्षेत्रगत कार्यालयमा यिनीहरू नै हाबी भएका हुन्छन् । त्यसैले जनता उद्योगपति, व्यापारीलाई तस्करका रूपमा सम्बोधन गर्न रुचाउँछन् ।

समाजमा वैदेशिक रोजगार व्यवसायीको अर्को वर्ग छ । जनताले तस्करका रूपमा सम्बोधन गरिराखेका व्यक्तिलाई सरकारमा रहनेहरूले आफ्ना उद्योग कलकारखानाहरू कौडीको मोलमा बिक्री गर्छन् । उद्योग सञ्चालन गर्न लगानीको सुरक्षा हुने वातावरण तयार गर्न सरकार असफल भएको छ, त्यसैले भएका उद्योगहरू बन्द हुँदै गएका छन् । देशभित्र रोजगारीका अवसर प्राप्त गर्ने अवस्था छैन । त्यसैले देशको युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएको छ ।

उनीहरूले प्रेषित गरेको विप्रेषणबाट देशको अर्थतन्त्र वामे सर्दैछ र सरकारमा रहनेहरू यसैमा गौरवान्वित भएका छन् । तर तिनै युवालाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा ठूलो शोषण गर्ने अभयदान सरकार र यसको संयन्त्रले वैदेशिक रोजगार व्यवसायीलाई प्रदान गरिराखेको छ । विदेशमा बसी कमाएको रकमको ठूलो अंश विदेश जाँदा लिएको ऋण तिर्नमा खर्चिनुपर्छ । सरकार प्रस्ट नीतिका आधारमा यो समूहलाई नियन्त्रण गर्ने इच्छाशक्ति देखाउँदैन । किनकि यथास्थितिमा छाड्दा नै देशका उच्च ओहदामा रहेकाहरूलाई फाइदा हुन्छ । त्यसैले यस्ता समूहहरूलाई जनताले आफूमाथि भएको अन्याय र पीडाको क्षतिपूर्ति गर्न नसकी मानव तस्कर जस्तो घृणित नामले सम्बोधन गर्दछन् ।

समाजमा अर्को तप्का समाजसेवी नागरिक समाजको आवरणमा रहेको छ । देख्दा समाजसेवीको छदम भेषमा रहेकाहरू अपवादबाहेक सबै व्यक्तिगत अभिष्ट पूरा गर्न तल्लिन छन्, अन्यत्र प्रायः विकसित देशहरूमा यो वर्ग सरकारलाई  सतर्क गराई देशमा सुशासन कायम गर्नमा विशेष भूमिका निर्वाह गर्दछन, संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति गर्ने क्रममा डेनमार्कमा नागरिक समाजलाई महत्त्वपूर्ण भूमिका कानूनले नै प्रदान गरेको छ । तर नेपालको सन्दर्भ भिन्न छ, नागरिक समाजको छदम भेषमा विभिन्न दलका राजनीतिक कार्यकर्ताले पेशाकै रूपमा अवलम्बन गरी आर्जन गरिराखेका छन्, त्यसैले नेपालको सन्दर्भमा इमान्दार नागरिक समाज अस्तित्वमा आउन सकेका छैनन् ।

कुनै राजनीतिक दलसँग आवद्ध  हुन पाउँदा गौरव मान्ने नागरिक समाजसँग के अपेक्षा गर्न सकिन्छ ? त्यसैले जनताका नजरमा यो वर्गले सम्मान पाउन सकेको छैन । दातृ राष्ट्रसँग विशेष सम्बन्ध कायम गरी उनीहरूकै स्वार्थ अनुकूल कार्य गर्न अभ्यस्तता प्राप्त गरेको स्थिति छ । अर्को वर्ग छ पत्रकार । गलत र भ्रामक समाचारहरू सम्प्रेषण गर्छन्, व्यक्तिको चरित्रसँग खेलवाड गरिराखेका छन्, देशमा प्रख्याती आर्जन गर्न सफल पत्रिकाहरू कुनै न कुनै राजनीतिक दल वा राजनीतिक नेतासँग आवद्ध  भएको र उनीहरूकै एजेन्डा बोकेर हिँड्ने गरेको पाइँदैछ, खोजमूलक पत्रकारिताको सर्वथा अभाव छ ।

यसरी देशमा रहेका सबै पेशागत वर्ग कुनै न कुनै रूपमा जनताका नजरमा अस्वीकार भइराखेका छन् । यस प्रकारको दूरावस्थाबाट देश गुज्रिएको छ । यसको समाधान हुनसक्ने आशालाग्दो अवस्था देख्न सकिएको छैन । यसका लागि देशको राजनीति जनकेन्द्रित हुनुपर्छ । जुन दिनसम्म साम्राज्यवादी र विस्तारवादी अदृश्य शक्तिको चंगुलमा देश फस्छ, त्यस दिनसम्म जनता व्यवहारमा सार्वभौम हुनै सक्दैनन् । सार्वभौम जनताको अभावमा राजनीति, प्रजातन्त्र, स्वतन्त्रता, स्वाभिमान सबै निष्प्रभावी बन्दछन् । त्यसैले नेपालको सुदृढीकरणको दिशामा यी पक्षलाई राम्ररी प्राथमिकतामा राखी अघि बढ्नुपर्ने विश्लेषण प्रवुद्ध वर्गले गरिराखेको अवस्था छ । यो अवस्था विद्यमान हुनुमा हाम्रो समग्र समाज पनि जिम्मेवार रहेको छ, यी सबै वर्ग हाम्रै समाजका उपज हुन् । त्यसैले यसको सुधार समग्र समाजमा सुधार आउँदा मात्र सम्भव हुन्छ । 

श्यामप्रसाद मैनाली
श्यामप्रसाद मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्