डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : किसानमा कहिल्यै नमेटिने गोलीको निशानी

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

गुलयारी फँटुवा । मानववस्ती भन्दा पर, चारैतिर घना जंगलले घेरिएको । बर्खामा धान, हिउँदमा गहुँ र मसुरो, तेलहन बालीले ढपक्क ढाकिन्छ ।

शान्त लाग्छ । तर गुलयारीको त्यो शान्त स्वरूपभित्र कान थाप्दा उतिबेला मिठो निद्रामा रंगिन सपना सजाइरहेका ती निमुखा, निर्दोष किसानको चित्कार आउँछ ।


Advertisement

यो परिदृष्य कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ गुलयारी अर्थात् गोलो आकारमा फैलिएको पूर्व प्रधानमन्त्री डा. केआई सिंह (कुँवर इन्द्रजीत शाही) को बिर्तावाल मैदानी इलाकाको हो ।

कैलालीको कैलारी गाउँपालिका–७ रामपुरका स्थानीय बुद्धिजीवी रामकुमार चौधरी भन्छन्, ‘गुलयारीलाई मात्रै होइन, शासकहरूले शोषित, पीडित र निमुखा किसानको पसिनालाई आफ्नो बिर्ता ठाने । चेलीहरूको कुमारीत्व आफ्नो बिर्ता ठाने । निहत्था, सोझो किसानको ज्यानलाई पनि आफ्नो बिर्ता माने, मुला काटेझै मनलाग्दी काटे ।’


Advertisement

रामपुरकै फूलराम चौधरीको दिमागमा२०५९ जेठ महिनाको त्यो रातिको घटना आज पनि ताजै छ । तर गते चाहिँ ठम्याउन उनलाई अलि गाह्रो भयो । सम्झिँदै भन्छन्, ‘जेठ १४ र १५ गते रातिको घटना हो, त्यो मेरो जीवनको मात्रै नभई वसन्ताबासीकै कालो राति थियो ।’

२०५९ सालताका तत्कालीन माओवादीको जनयुद्ध चरम उत्कर्षमा थियो । जमिनदारहरूका भएभरका जग्गा माओवादीको कब्जामा थियो । माओवादीलाई दमन गर्न तत्कालीन सरकारले शाही नेपाली सेना परिचालन गर्‍यो । गुलयारी फँटुवा पनि माओवादीकै कब्जामा थियो, करीब १० वर्षसम्म कब्जा कायमै रह्यो ।

उता, भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा रहेका बिर्तावाल सिंहका छोराको आक्रोशको सीमा रहेन ।  आफ्नो बुवाले बिर्तामा पाएको जग्गाको फसल माओवादीले किसानलाई बाँड्न थालेपछि उनीहरूको आक्रोशले सीमा पार गर्‍यो । सिङ्हाईमा बस्दै आएका केआई सिंहका छोराहरू दर्जनौं गुण्डाका साथ हातहतियारसहित नेपाल प्रवेश गरे । राति १२ बजे रामपुर र वसन्ता गाउँमा आतंक मच्चाए ।

रामकुमार चौधरी त्यो रातिको घटनाक्रम स्मरण गर्दै भन्छन्, ‘दिउँसो सेनाको डरले त्यो राति केही समय बरघरहरूको नेतृत्वमा भेला चल्यो । भेलापछि सबै आ–आफ्नो घर सुत्न गए । बस्ती पूरै मिठो निद्रामा थियो । हतियारधारी डाँकाहरू रामपुर र वसन्ता गाउँमा पसे । डाँका अइलै रेउ ... भागो ... (डाँका आए भागौं) भन्दै मध्यराति कोलाहल, भागदौड, चित्कार शुरू भयो । मिठो निद्रामा रहेको बस्ती क्षणभरमै रोदन र चिच्याहटले त्राहिमान भयो ।’ 

उनी अगाडि थप्छन्, ‘मिठो निद्रामा रहेका रामपुरका स्थानीय खुशीराम चौधरीको घाँटी मुला काटेझै तरवारले छिनाइदिए डाँकाहरूले । प्रेमलाल चौधरीको हात बाँधेर बन्दुकको गोली बर्साए । वसन्ता गाउँका फूलरामका माइलो भाइ छुन्नुराम चौधरीको पनि घाँटी छिनाइदिए । लुटपात मच्चाए । केआई सिंहका छोराहरूले माओवादीप्रतिको भएभरको रिस गाउँलेमाथि खन्याए । फूलरामको ट्रयाक्टर लिएर डाँकाहरू उज्यालो नहुँदै सीमा पार गरे । रामपुर र वसन्ता शोकमा डुब्यो ।’

मृतक प्रेमलाल चौधरीकी पत्नी लाइकदेवी चौधरी १८ वर्षअघिको दर्दनाक घटना आफ्नो परिवारको लागि अभिशाप बनेको बताउँछिन् । पति गुमाउनुको साथै आफूसहित ५ जना परिवारका सदस्यको शरीरमा कहिल्यै नमेटिने खत बसेको बताउँछिन् ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी लाइक देवीले पतिको मृत्यु दर्ता प्रमाणपत्र देखाउँदै विगत स्मरण गर्छिन्, ‘हामी जेठो मालिक (केआई सिहंको जेठो छोरा) को भागमा रहेको जग्गामा अधियाँ/बटैया लगाउँथ्यौं । संकटकालकै बेला थियो । धानको फसल तयार भएपछि माओवादीहरू आएर तिकुर (३ भाग) भाग लगाउन उर्दी जारी गरे । हामी विवश भएर ३ भाग लगायौं । २ भाग हामीलाई राख्न लगाए । १ भाग चाहिँ मालिकको लागि तर मालिकको भाग चाहिँ माओवादीले नै लिएर गए । हिउँदको सिजन आयो  । मालिकले धान लगे पनि गहुँ लगाउन अह्राए । गहुँ उत्पादन भएपछि मालिकलाई दियौं । बर्खा सिजनको तयारीमा लाग्यौं । धानको बेर्ना राखिसकेका थियौं तर जेठ १७ गतेको रातिको घटनाले मेरो परिवार नै तहसनहस बनाइदियो ।’

लाइक देवी

विगतको घटनाले भावविह्वल भएकी उनले भनिन्, ‘जेठ १७ गते बेलुका बेरी (खाना) खाएर सुतेका थियौं । एक्कासी एक हुल मान्छे आएर मार्न थाले । गोली र खुकुरी जथाभावी प्रहार गर्न थाले । श्रीमानको छाती र टाउकोमा गोली चलाइदिए । विस्तारामै मारिदिए । मेरो तल्लो पेटमा कुखुरीले काटिदिए । बरका छावा (जेठो छोरा) छेदु चौधरीको कम्मरमा कुखुरीले काटिदिए । पटोहिया (बुहारी) प्रेमा चौधरीको नितम्ब र हातमा गोली चलाए, हात भाँचिदिए । छोरी रीता चौधरीको गोडाको फिलामा खुकुरीले काटे र मेरी बहिनी (सौतेनी) लाई भाँटाले हिर्काए ।’

छेदु चौधरीको कम्मर

गुलयारीको जग्गा मृतक खुशीराम चौधरी पनि अधियाँमा जोत्दै आएका थिए । उनीसहित उनको परिवार पनि त्यो राति निशानामा पर्‍यो । खुशीराम चौधरीकी पत्नी झिंझिया र छोरा लाइकराम चौधरीलाई पनि घाइते बनाए ।

रामकुमार चौधरीका अनुसार ज्यान गुमाएकाहरू राजनीतिबाट बेखबर थिए । आफ्नै खेती किसानी गरी जहान परिवारसँग रमाएका थिए । वसन्तामा ज्यान गुमाएका फूलरामका माइलो भाइको भर्खर मगनी भएको थियो । उनको बिहे तय हुन बाँकी नै थियो । डाँकाहरूले लुटपाटसँगै भाइको हत्या गरेपछि फूलरामका कान्छो भाइको बिहे ज्यान गुमाएका छुन्नुरामको मगनी भएकी युवतीसँग भयो ।

त्यो रात रामपुर र वसन्ताको लागि कालो राति बन्यो । जसको एउटै कारण हो – बिर्तावाल गुलयारी फँटुवा । स्थानीयहरूले न्यायको लागि गुहार गर्ने त्यसताका कुनै निकाय देखेन । चुपचाप सबै सहे ।

मरेपछि सबै माओवादी !

रामकुमार अगाडि थप्छन्, ‘घटनाबारे त्यो द्वन्द्वकालमा प्रहरीलाई खबर गरौं भने कसरी गरौं उतिबेला सेना, प्रहरीबाटै डर लाग्थ्यो । माओवादीको बिल्ला भिराएर उल्टै कारवाही गर्ने पो हुन् कि भन्ने डर उत्तिकै थियो । माओवादीलाई सुनाउँ भने माओवादी आफैं विद्रोहमा थियो । रामपुर र वसन्ताले चुपचाप सबै अन्याय सहन गर्‍यो । अत्याचारले थिचिएको आँसुको सागरमा डुबिरह्यो । गुलयारीको शान्त स्वरूपभित्र कहिल्यै नमेटिने चित्कार दबिएको पाउँछौं ।’

घटनापछि आफूहरू मुद्दा दर्ता गर्ने पक्षमा भए पनि जबरजस्ती माओवादीको बिल्ला लगाएको लाइकदेवी दुःखेसो सुनाउँछिन् । ‘म त मुद्दा हाल्ने विचारमा थिएँ । तर मुन्ना शाह नै धनगढी गएर माओवादीहरूलाई मारेको भन्ने हल्ला फिजायो । पछि हामी निरीह भयौं । त्यो संकटकालमा सबै अन्याय सहेर बस्यौं ।’ माओवादी नभएपनि घटनामा मारिने आफ्ना पतिसहित तीनै जनालाई माओवादी भन्न थालिएको लाइक देवी सुनाउँछिन् ।

‘घटना पूरानो होला तर हामीमाथि भएको अन्याय र अत्याचार आज पनि उस्तै लाग्छ । प्रशासनले आतंककारी (माओवादी) को सूचीमा राख्यो । उपचारको क्रममा हामीलाई कोहलपुर लगियो । तर माओवादी भन्दै उपचार पनि गरिदिएन । त्यत्तिकै फर्कियौं । भाग्यले बाँचेका मान्छै हौं हामी,’ लाइक देवीका छोरा छेदु चौधरीले कम्मर पछाडि खुकुरीले काटिएको खत देखाउँदै भने, ‘ठीकै छ, यदि हामी माओवादी भयौं भने एउटा शहीद परिवारले राज्यबाट पाउने सुविधाबाट किन वञ्चित गरियो । पीडकलाई कारवाही गर्न किन उचित ठानेनन् । आखिर माओवादी पनि सरकारमा आएकै त हो ।’

पीडित परिवार

यति मात्रै होइन, त्यो घटनापूर्व केआई सिंहका छोराहरूको अत्याचार पटक–पटक पोखिएको स्थानीय बताउँछन् । राम्री युवती देख्नै नसक्ने उनीहरूले धेरै चेलीहरूको अस्मिता लुटेको सुनाउँछन् । अत्याचार र यातनाका शिकार भएका स्थानीय पञ्चायतकालदेखि आजसम्म उनीहरूको नाम सुनेर त्रसिने गरेको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमल चौधरी बताउँछन् ।

वडाध्यक्ष चौधरी भन्छन्, ‘उनीहरूको अत्याचार यति बढेको थियो कि उनीहरूले जग्गा मात्रै आफ्नो बिर्ता ठानेनन्, किसानको रगत, पसिना र चेलीहरूको इज्जत समेत आफ्नो बिर्ता माने । उनीहरूको नामै सुनेर मानिसहरू तर्सिन्थे । आज पनि भित्रि मनमा त्रास उत्तिकै छ ।’

फरगिभ एण्ड फरगेट : शाह

पूर्व सांसद समेत रहेका केआई सिंहका कान्छा छोरा यज्ञजीत शाहले आफू तथा आफ्नो परिवारमाथि मिथ्या र निराधार आरोप लगाएको बताउँछन् । दाजुहरू भारतमा बसे पनि आफू पहिल्यैदेखि भैरहवा बस्दै आएकाले घटनाबारे धेरै कुरा जानकारी नभएको उनले बताए ।

उनी भन्छन्, ‘कुरा २० औं वर्ष अगाडिको हो । माओवादीहरू सत्तामा आइसके । म पनि प्रचण्ड अध्यक्ष भएको पार्टीको सदस्य हो । हामीले त्यो बेला धेरै पीडा खेप्यौं । पहिले जे–जस्तो भए पनि पुराना कुरालाई बिर्सेर जानुपर्छ । अबको समय मेलमिलापको हो । विकास र सुशासनको हो । त्यो बेला उसले यस्तो उस्तो गर्‍यो भनेर कुरा गर्नु उचित छैन । अंग्रेजीमा भन्छन् नि ‘फरगिभ एण्ड फरगेट’ ।

गुलयारीमा डा. केआई सिंहको नजर किन ?

डोटी जिल्लाको डुम्राकोटमा जन्मेका डा. केआई सिंहलाई नेपालको इतिहासमा विद्रोही स्वभावका नेताको रुपमा मानिन्छन् । डोटेली राजाको हिउँदे महिनामा बस्ने ठाउँ भारतको लखिमपुर जिल्लाको सिङ्हाईमा सिंहलाई ८ वर्षको कलिलै उमेरमा लगिएको थियो । सिङ्हाईमै उनले प्राथमिक शिक्षा हासिल गरे भने बलरामपुर, लखनउ र गोन्डामा बसेर माविसम्मको शिक्षा आर्जन गरेका थिए ।

उनी परिवारसँगै बर्मा पुगेका थिए । बर्मामै उनले आयुर्वेदसम्बन्धी अध्ययन गरेका थिए । चिकित्सक वा विद्यावारिधि नगरेको भए पनि औषधिमूलो गर्ने भएकाले उनलाई डाक्टर भनिएको थियो  । उनले त्यही आधारमा आफ्नो नाम डा. केआई सिंह लेख्न थालेको विकिपिडियामा उल्लेख छ । 

उनले राजालाई आफ्नो कामबाट खुशी पारेको बताइन्छ । एकताका राजा महेन्द्र स्वदेश बाहिर गएको बेला उनैले देशको कार्यभार सम्हालेको बताइन्छ ।

फर्केपछि राजाले उनको कामबाट खुशी भई ‘तिमी के लिन्छौ ?’ भनेर सोध्दा उनले जग्गा लिन्छु भनेको बताइन्छ । राजाले उनलाई हेलिकप्टरमा बसाएर जग्गा हेर्न ल्याएको र उनले कञ्चनपुरको शुक्लाफाँटा, कैलालीको गुलयारीफाँटासहित स्थान देखाएका थिए । जसमध्ये उनलाई गुलयारी फँटुवा मन परेको बताइन्छ । गुलयाली फँटुवा र उनको बाल्यकाल बितेको भारतको सिङ्हार्ईबीचको दूरी ३०–३५ किलोमिटर रहेकाले मन पर्नुको मुख्यकारण रहेको स्थानीय बताउँछन् । करीब ४० विघा क्षेत्रफलमा वसन्ता वन क्षेत्रमा फैलिएको गुलयारी फँटुवालाई राजा महेन्द्रले बिर्तामा प्रदान गरे । तर दर्ता भने ३० विघा रहेको पाइएको छ ।

सशस्त्र द्वन्द्वकालमा बिर्तावाल जग्गा माओवादीको नियन्त्रणमा थियो । माओवादी शान्ति प्रक्रिया आएपछि पुनः त्यो जग्गाको भोगचलन केआई सिंहको पुस्ताबाट हुँदै आएको छ । कैलारी गाउँपालिका–७ वडा कार्यालयको तथ्यांक अनुसार सो जग्गा हाल ३ जनाको नाममा दर्ता भएको छ । 

केआई सिंहका ३ छोराहरू यज्ञजीत शाह, मुन्ना शाह र चोलाजीत (शिउ कुमार) शाहको नाममा जग्गा दर्ता छ । यज्ञजीत शाह भैरहवाबाट निर्वाचित पूर्व सांसद समेत हुन् । मुन्ना शाह र चोलाजीत शाह भने भारतको सिङ्हार्ईमा बस्दै आएका छन् । रामपुर र वसन्ता घटनापछि सो जग्गा भाडामा दिइएको छ । घटनापछि भने शाह दाजुभाइ आउन छोडेको स्थानीय बताउँछन् ।

करीब १० वर्षदेखि सो जग्गामध्ये १० विघा जग्गा भाडामा लिई खेतीपाती गर्दै आएका कैलारी गाउँपालिका–७ हौसलपुरका रामु चौधरीले १० विघाको वार्षिक भाडा ३ लाख २० हजार तिर्दै आएका छन् । २ भाइको जग्गाको भाडा रकम सिङ्हार्ई पुर्‍याउँदै आएको उनले बताए । तर पूर्व सांसद यज्ञजीतको जग्गा भाडामा जोत्दै आएका स्थानीय फेरुराम चौधरीले भाडा बाफतको रकम काठमाडौं पुर्‍याउँदै आएको बताउँछन् । यद्यपि मोलपोत रकम भने सिंहका नाती पुुस्ताले दाखिला गर्दै आएको वडा कार्यालयले जनाएको छ ।

बिर्ता उन्मूलनले नछोएको गुलयारी

२०१६ सालमा सरकारले बिर्ता उन्मूलन ऐन ल्याएको थियो । सो ऐन बमोजिम सबै बिर्ता उन्मूलन गरेको थियो । ऐनमा बिर्तामा रहेको बिर्तावालको भूस्वामित्व सम्बन्धी हक र अधिकार स्वतः समाप्त हुने उल्लेख छ । तर यो बिर्तावाल जग्गा भने जोगिएकै छ । जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । ऐनको दफा ४ को उपदफा २ मा ‘क’ श्रेणीको जग्गा भए बिर्ता जग्गाको मोहीको नाममा दर्ता गर्न सकिने भनिएको छ । तर आवाद नभएको पर्ति तथा जंगल कसैको नाममा दर्ता गर्न नसकिने उल्लेख छ । जुन नेपालको अन्य पर्ति जग्गा तथा जंगलसरह हुुने भनिएको छ । जबकि गुलयारी फँटुवा जग्गा जंगलको बीच भागमा अवस्थित छ ।

सो जग्गा भएर हाल हुलाकी राजमार्ग विस्तार भएको छ । सो जग्गा धनगढी–टीकापुर खण्डमा पर्छ । कैलालीको हसुलिया बजारदेखि करीब ८ किलोमिटर दक्षिण–पूर्वी दिशामा जग्गा अवस्थित छ । 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्