प्रभू बैंकको ‘सहयात्रा समृद्धिको’ कर्जा योजना शुभारम्भ

प्रभू बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको’ कर्जा योजना शुभारम्भ गरेको छ ।

मूलतः नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अन्तर्गतको कर्जा योजना आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा कोभिड–१९ को कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीको विद्यमान आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र महामारीमा उनीहरूको पेशा, उद्यम र व्यवसायलाई पुनः सञ्चालन गर्न सहयोग पुर्‍याउने लक्ष्यका साथ ल्याइएको बैठकले जनाएको छ ।


Advertisement

‘सहयात्रा समृद्धिको कर्जा योजना उक्त समूहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि हो,’ बैंकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाएसँगै विशेषगरी महिला टेम्पो चालकहरू आर्थिक संकटबीच बाँचिरहेका छन् । नियमित रूपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागि आर्थिक जोहो गर्न नसक्दा  अहिले निकै ठूलो आर्थिक दबाबबीच आफ्नो घर व्यवहार चलाउन उनीहरू बाध्य छन् । 


Advertisement

अर्कोतिर हाल विद्यालयले विद्यार्थीका लागि अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन् । तर शिक्षकहरूले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैंकले काठमाडौं उपत्यकाभित्रका महिला सफा टेम्पो चालकलाई अधिकतम १ लाख र विद्यालय शिक्षकलाई अधिकतम ४ लाख रुपैयाँ कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउने जनाइएको छ । ‘कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौं उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएकोे जानकारी गराउँदछौ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसाय साथै काठमाडौं उपत्यका बाहिर पनि क्रमशः लागू गर्दै जाने व्यहोरा जानकारी गराइन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सहयात्रा समृद्दिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीप पनि सिकून् भन्ने अभिप्राय केन्द्रित गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्