जनतालाई भोक र रोगबाट बचाउन निर्देशन

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्यांक संकलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा शुक्रवार बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्यांक संकलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।


Advertisement

समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रूप लिएर फैलिँदै गएको हुनाले कानूनी, विधिगत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिइन् ।

महामारीका कारण कोरोना र मनसुनजन्य प्रकोपबाट समाज र देश नै प्रभावित भएको ठहर गर्दै खाद्यान्नको माग र आपूर्ति नमिल्दा अन्तराष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर बजारमा ८० प्रतिशतको रोजगार कटौती भएको जनाइएको छ । बैठकले भारतबाहेक अन्य मुलुकमा काम गरिरहेका करिब ४० लाख नेपालीको रोजगारी प्रभावित हुनसक्ने पूर्व आकलन गरिएको हुनाले गरीबी तथा बेरोजगारी बढ्ने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।


Advertisement

बैठकमा नेपाली कांग्रेसकी पुष्पा भुसालले रोग र भोगबाट बचाउनका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले भरपुर सहयोग गर्नुपर्ने र निर्वाचनको बेलामा मतदाताको नामावली संकलन गरेझै विपद्मा परेका व्यक्तिको तथ्यांक संकलन गर्न बैठकमा सुझाव दिएकी थिइन् ।

समितिमा अरु सांसदले पनि महामारीमा जनतालाई भोक र रोगबाट बचाउनुपर्ने सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्