ओली प्रचण्ड गृहकार्यमा, मध्यान्ह मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर आइतवार पनि छलफल भएको छ । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । 

सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति गरेको थियो । सोही अनुसार अध्यक्षद्वय बीच बिहीवार र शुक्रवार पनि पनि छलफल भएको थियो । 


Advertisement

नेकपा भित्र मन्त्रिपरिषद् पुनर्गठनका तीन विकल्पमा छलफल भइरहेको स्रोतको दावी छ । सबै मन्त्री हटाएर नयाँ नियुक्त गर्ने, दुई वर्ष पूरा भएकालाई हटाउने या राम्रो काम गरेकालाई बाकी राखेर केहीलाई हटाउने प्रस्तावमा छलफल भइरहेको छ । 

अध्यक्षद्वय बीच रिक्त संवैधानिक आयोगहरूमा नियुक्ति बारे समेत छलफल भइरहेको छ । डा युवराज खतिवडाले राजीनामा गरेपछि अर्थमन्त्रालय रिक्त छ । 


Advertisement

कोरोना संकटका कारण अर्थतन्त्र जर्जर बनेको समयमा अर्थमन्त्रालय नेतृत्वबिहीन बन्दा कामकारवाही प्रभावित भएका छन् । खतिवडाले राजीनामा गरेपछि अर्थमन्त्रालय ओलीले नै राखेका छन् । 

यसैबीच आइतवार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । मन्त्रिपरिषद् बैठकबाट केही महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले यसअघिको बैठकमै मन्त्रिपरिषद् पुनर्गठनको संकेत गरेका थिए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्