रातभर लाइन बस्नेहरूको कथा : पीसीआरको फन्दाले भुइँको बास

तस्वीर सौजन्य : कान्तिपुर दैनिक

उनी लाइनको पहिलो नम्बरमा छन् । उभिइरहन कठिन हुने भएकाले चाउचाउको कार्टुनलाई इँटाले अँठ्याएर छेउको सिँढीमा टुसुक्क बसिरहँदा ध्यान घरीघरी भाँडिन्छ, आँखा आफूले ओगटेको त्यही ठाउँमा पुग्छ ।

अघिल्ला दुई रात लाइन बसेर पनि पालो नपाएपछि राजेश साह शनिबार साँझ ६ बजे नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । आफू एक नम्बरमै भएकाले आइतबार त पक्कै पीसीआर गर्न पाइनेमा उनी ढुक्क थिए तर आफ्नो पालो कसैले मिचिदेला कि भनेर सशंकित पनि थिए । त्यही कारण उनका आँखा बारम्बार आफैंले राखेको इँटामाथि दौडिन्थे ।
िि
िसर्लाही बलरा नगरपालिका–१ का राजेश जन्मिँदै उनको घर ऐलानी जग्गामा थियो । जन्मजात ‘सुकुम्बासी’ भएकाले उनले देख्ने सपनाको घेरा पनि फराकिलो छैन । बा–आमाले पेटका लागि संघर्ष गरेको देखेरै हुर्किएका राजेशले १२ वर्षको उमेरदेखि नै साहुको खेत कमाउन जाने र दिनभरि काम गरेबापत जे दिन्छन् त्यही ल्याएर छाक टार्ने गर्थे । त्यसैले ३७ वर्षीय उनी सन्तोकी देखिन्छन्, उनलाई आफ्नै नियतिबाहेक अरू कसैसँग गुनासो छैन ।


Advertisement

उसो त साहुले बारम्बार आएर उनीहरूको घर भएको जग्गा आफ्नो हो भनेर नधम्क्याएका पनि होइनन् । जाने अर्को कुनै ठाउँ नभएकाले राजेशको परिवार कहिले साहुसँग त कहिले राज्यसँग पौंठेजोरी खेल्दै त्यहीं ओत लागिरहेको छ । तर घामपानी छेकेर मात्रै जिन्दगी नचल्दो रै’छ । त्यसैले उनले जिन्दगीका १२ वर्ष भारतको पञ्जाबमा बिताए, खेतबारीमा काम गरे । अलि अलि भएको कमाइ घरमा खान ठिक्क मात्रै हुन्थ्यो, कहिले त पुग्दैनथ्यो पनि ।

जेठो छोरा सोहन बिरामी पर्न थालेपछि उनलाई भारतमा बस्नै मन लागेन, उनी यतै दुःख गर्छु, छोराको पनि उपचार गराउँछु भनेर फर्किए । तर दुःख गर्नका लागि आफ्नै जग्गा छैन, गाउँमा काम पाइएन, छोरा झन्झन् शिथिल हुँदै गए । भारत लगेर नसाको शल्यक्रिया गरेको छोरामा दुई वर्षअघि मुटुको समस्या देखिएपछि उनी सर्लाही छाडेर काठमाडौं आएका हुन् ।


Advertisement

उनीसँगै तीन सन्तान र श्रीमती पनि काठमाडौं नै आए । हातमा खेतीकिसानी र ज्यामी मजदुरीबाहेक अरू सीप थिएन । छोरालाई अस्पताल दौडाइरहनुपर्ने भएकाले उनको मन त्यतापट्टि पनि गएन । त्यसैले पानीपुरी बनाउन सिकेर आफ्नै व्यवसाय थाले । ‘बिरामी छोरालाई कतिखेर कता दौडाउनुपर्छ थाहा हुन्न, अरूकामा काम गर्दा भनेको बेला छुट्टी पाइन्न, बरु सानै भए पनि आफ्नै काम गर्छु, छोराको पनि उपचार गराउँछु भनेर लागेको थिएँ,’ राजेश उदास सुनिए, ‘अहिले सबै चौपट भयो, भनेजस्तो केही पनि भएन ।’

रात छिप्पिँदै जाँदा जाडो पनि बढ्दै जान्छ । लाइनमा आआफ्नो चिनो राखेर सबैजना तितरबितर भएका छन् । तर राजेश आफू बसिरहेको ठाउँ पटक्कै छाड्दैनन्, बरु प्लास्टिकमा ल्याएको नीलो गम्छा निकालेर ओढे । अस्पताल अघिल्तिरको चिसो छिँडी जति बसे पनि तात्दैन । चिसो सिरेटोले झन्झन् हान्न थालेपछि उनलाई सोधें, ‘आज पनि पानी पर्छ होला है ?’ आकाशतिर हेरेर उनले भने ‘पर्दैन ।’ एकछिन रोकिए र फेरि थपे, ‘भगवान्को कृपा !’ आकाशतिर झलमल्ल ताराहरू देखिएका थिए, त्यही आधारमा उनले पानी पर्दैन भन्ने अड्कल गरेका रैछन् । उनले भनेझैं राति पानी परेन ।

पोहोर साउनमा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा छोराको मुटुको शल्यक्रिया भएको रहेछ । उपचारको पैसा नलागे पनि अस्पताल बाहिर किन्नुपर्ने औषधि र छोरालाई खुवाउनुपर्ने रसिलो पोसिलो खान्कीका लागि उनले मासिक ५ हजारदेखि ७ हजार रुपैयाँको हिसाब छुट्याएका छन् । कहिलेकाहीं त्योभन्दा पनि धेरै खर्च हुन्छ । गत माघदेखि सुको कमाइ भएको छैन । लकडाउन त चैतदेखि भएको हो तर त्योभन्दा अघि माघमा आमा सिकिस्तै भएको खबर आएपछि उनी परिवारैसहित सर्लाही गए, आमाको अनुहार त हेर्न पाए तर बचाउन सकेनन् । ‘एकपटक इन्डिया गएर दबाई ल्यायौं, त्यो दबाईले सन्चो भएन, फेरि अस्पताल लैजान पनि सकिएन, म गएको १५ दिनपछि आमा बित्नुभयो,’ उनले भने ।

आमाको काजकिरिया सकेपछि बुबालाई सम्झाइबुझाइ काठमाडौं आउने योजना बनाउँदा नबनाउँदै लकडाउन सुरु भइहाल्यो, उनीहरू पनि रोकिए, कामको मेसो पनि मिलेन ।
काम नपाउँदा घरमा सबै भोकभोकै पर्न थाले । उनलाई वृद्ध बुबा र बिरामी छोराको पीरले बरोबर सताउन थाल्यो ।

उत्तिकै चिन्ता घरका अरू परिवारको पनि थियो, ‘दिक्कतबाहेक अरू केही भएन,’ राजेश बिस्तारै खुल्दै गए ।

कामको बाटो खुल्ने कुनै छेकछन्द थिएन । उनको बस्तीमा राहत बोकेर कोही पनि गएन, वडा कार्यालयसम्म ढकढक्याउन जान सक्ने ताकत उनीहरूसँग थिएन, गए पनि आफूहरूलाई कसैले हेर्छ भन्नेमा उनीहरू विश्वस्त थिएनन । ‘लकडाउनका बेला वडाका मान्छे आएर राहत दिन्छौं भन्दै नाम टिपेर लगेका थिए,’ राजेशले सुनाए, ‘तर फेरि फर्केर आएनन् ।’ उनलाई सरकारसँग कुनै आशा नै छैन । ‘सरकारले गरिबलाई चिन्दै चिन्दैन, उनीहरूकै मान्छेले खान्छन्, मुखियाले आफ्नै मान्छेलाई दिन्छन्,’ राजेशले भने, ‘हामीलाई कसैले हेर्ने भए किन यस्तो दुःख हुन्थ्यो र !’

गत असोज १ देखि सरकारले लामो दूरीका गाडी चल्न दिने निर्णय गरेपछि राजेश काठमाडौं आउने निचोडमा पुगे । यो बेला पानीपुरीको व्यापार हुँदैन भन्ने उनलाई थाहा छ, तर अरू जस्तो भए पनि काम त पाइएला नि भन्ने आशले उनलाई काठमाडौं डोर्‍याएर ल्याएको हो । काठमाडौं आइसकेपछि पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ नआउँदासम्म अरू पनि काम पाउने सम्भावना छैन भन्ने बुझेरै उनले यसरी मरिमेटेका हुन् । ‘पीसीआर रिपोर्ट हाम्रो प्रमाणपत्र रैछ,’ राजेशले भने, ‘बाध्यताले जस्तो पनि दुःख सहन पर्ने रैछ, हामी गरिब नभएको भए पैसा तिरेर अरू अस्पतालमै गएर पीसीआर गर्थ्यौं ।’

राति १२ बज्यो, अस्पताल अघिल्तिरका फार्मेसीहरू बन्द भए, गाडीको चहलपहल कम हुँदै गयो । छिमेकका घरहरूबाट कुकुर भुकेको बाहेक आवाज आउन छाड्यो । अस्पलाल कुरेर बसेका प्रहरीहरू छेउ लागे, लाइनबद्ध सबैजना जो जस्तो अवस्थामा छन्, त्यस्तैमा निदाउन थाले । राजेशका पनि आँखा लोलाए, उनी पनि त्यही चिसो छिडीमा गुटुमुटु पल्टिए । तर निद्रा लागेन । रात जसोतसो कटाउन पाए बिहान पीसीआर गरेर गइहालँॅला भन्ने उनको मनमा थियो । ‘रिपोर्ट आएपछि काम पाइन्थ्यो,’ उनले भने, ‘छोराछोरी भोकभोकै राख्नु पर्दैनथ्यो ।’

राजेशले छोराको उपचारका बेला पोहोर घरभेटीसँग लिएको ३५ हजार ऋण सम्झिए, मासिक ३५ सयका दरले ८ महिनादेखि तिर्न नसकेको कोठाको भाडा सम्झिए, सबैभन्दा धेरै सम्झिए बिरामी छोरालाई । ‘१० वर्षपछि फेरि अप्रेसन गर्नुपर्छ भनेका छन्, उसलाई रोगबाट बचाउनु छ, अरूको पेट भर्नुछ,’ साह अलमलिन्छ्न्, ‘तर कहाँ जाने र के गरि खाने, थाहा छैन ।’ तर पीसीआर रिपोर्ट आएपछि काम पाउने उनले आश राखेका छन् ।

आइतबार बिहान साढे ११ बजे राजेशको पालो आयो । पीसीआर परीक्षण गरेर चक्रपथको कोठामा पुग्दा ठ््याक्कै १ बज्यो । ‘पर्सि रिपोर्ट आउँछ रे,’ उनले बिस्तारै भने, ‘त्यसपछि म काम खोज्न जान्छु ।’

६ बजे सुरु भएको लाइनमा राति १२ बज्दासम्म करिब ५ सय जना जम्मा भइसकेका थिए । त्यो बेलासम्म लाइनको सबैभन्दा पुछारमा सप्तरी कञ्चनरूप नगरपालिका ५ पथरीका सन्तोष खङ र उनका साथी वीरेन्द्र यादव थिए । १४ वर्षदेखि काठमाडौंमा ज्याला मजदुरी गरेर सप्तरीमा रहेका परिवार पाल्दै आएका उनीहरू लकडाउन हुने भएपछि गत चैत ९ गते घर गएका हुन् । परिस्थिति यति बिग्रियो कि अब पनि घरमै बस्ने हो भने भोकभोकै मर्नेबाहेक विकल्प नहुने भयो ।

त्यसमाथि गत जेठमा आफ्नै गाउँका मलर सदाको भोक खप्न नसकेर भएको मृत्युको साक्षी बसेका उनीहरू यो अवधिमा लागेको ६०/७० हजार रुपैयाँ ऋणको भारी बोकेर काठमाडौं आएका हुन् । ‘काम केही नभएपछि सुरुसुरुमा त छरछिमेकीसित सरसापट गरेर घर चलायौं,’ सन्तोषले भने, ‘पछि सापटी दिने पनि कोही नभएर श्रीमतीले नाकको फुली पनि धितो राखेर चामल ल्याइन् ।’ त्यसअघि उनकी श्रीमतीले कानको टप पनि गाउँकै सुन पसलमा धितो राखेर चामल ल्याएकी थिइन् । तर उनलाई लकडाउनपछिको कुनै त्यस्तो दिनको सम्झना छैन, जुन दिन खान बसेपछि भरपेट भएर मात्रै उठ्न पाइयोस् ।

कमाइ हुँदा श्रीमतीलाई जोडिदिएको गहनासमेत धितो राखेर खाइसक्दा पनि अवस्था सामान्य नबनेपछि अब जसरी पनि कमाउनुपर्छ भनेर सन्तोष काठमाडौं आएका हुन् । तर घरभेटीले पीसीआर रिपोर्ट ल्याएर नआउँदासम्म घरमा नपस्नु भनेपछि चार दिन पीसीआरका लागि टेकु अस्पतालमा लाइनै बसेर बिताए । तर बिहान जतिखेर गए पनि लाइन लामै हुने र फर्किनुपर्ने भएपछि उनी शनिबार राति ११ बजेतिरमात्रै अस्पतालमा पुगेका थिए, त्यही पनि झन्डै ५ सय जनाभन्दा पछिमात्रै उनको पालो पर्‍यो । सानैमा बाआमा गुमाएका सन्तोषलाई आफूले कमाउन नसकेका कारण छोराहरू भोकै परेकामा सबैभन्दा ठूलो असन्तोष थियो । त्यसैले परिवारले बाटो छेक्दाछेक्दै पनि उनी काम खोज्न काठमाडौं आएका हुन् ।

सरकारले गत १ गतेदेखि लामो दूरीका सवारीसाधन पनि चल्न पाउने निर्णय गरेपछि कामका लागि भन्दै काठमाडौ आउनेको संख्या धेरै भयो । तीमध्ये सबैभन्दा धेरै प्रदेश २ कै छन् । टेकु अस्पतालमा भेटिनेमध्ये पनि अधिकांश प्रदेश २ का मजदुरहरू छन् । घरभेटीले जसरी भए पनि रिपोर्ट ल्याएर आउनु भनेपछि उनीहरू कोही झोला बिसाएर त कोही झोलै बोकेर टेकु अस्पतालमा सुत्न जान्छन् । तर सबैको पालो आउँदैन । रातिदेखि भोलिपल्ट दिउँसो २ बजेसम्म लाइन बसेर फर्किन्छन् र उही दिनचर्या सुरु हुन्छ । यी मजदुर त्यतिखेर जुन बाध्यताले काठमाडौं छाडेर घर गएका थिए, यतिबेला त्योभन्दा ठूलो बाध्यताले थिचिएर काठमाडौं आएका हुन् । तर संघर्षको यो इनिङको सुरुवात उनीहरूले टेकु अस्पतालको चिसो छिडीबाट गर्नुपरेको छ । सन्तोष दिउँसो साढे १ बजेतिर पीसीआर गरेर निस्किएपछि सरासर ललितपुरको महालक्ष्मीथान आइपुगे र रुखको फेदमा अडेस लगाएर बसे, लामो सास फेरे र भने, ‘बल्ल एउटा काम सकियो, यो दुःख कहिल्यै बिर्सिन्नँ ।’ कान्तिपुर दैनिकमा बिनु सुवेदीले खबर लेखेकी छन् । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्