मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ

प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।

जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई खोजीखोजी पक्राउ गरेको हो ।


Advertisement

प्रहरीले असार दोस्रो हप्तादेखि फरार व्यक्तिको खोजीलाई तीव्र गति दिँदै आएपछि करीब ३ महिनाको अवधिमा फरार व्यक्ति पक्राउ परेका हुन् । प्रहरीका असारमा ९, साउनमा ४५, भदौमा ५४, असोज महिनाको १० दिनको अवधिमा २६ गरी १३४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान हुन बाँकी रहेका व्यक्तिबाट हालसम्म २३ लाख १५ हजार ८५३ रुपैयाँ रकम संकलन भएको छ । 


Advertisement

प्रहरीले ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागूऔषध, बैंकिङ कसुर, कीर्ते, सार्वजनिक अपराध लगायतका मुद्दामा फरार रहेका व्यक्तिहरू पक्राउ परेका छन् । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा तनहुँ जिल्ला अदालतको २०७३ चैत १७ गतेको फैसलाले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो । अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावनाको विकास हुने हुँदा त्यसलाई अन्त्य गर्न अभियानकै रुपमा टोली परिचालन गरिएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्