यस्तो छ आर्मेनिया र अजरबैजानबीचको द्वन्द्वको नालीबेली, रुस र टर्की पनि आमनेसामने

अजरबैजानलाई सन् १९९० को दशकमा आर्मेनियासँग लज्जास्पद पराजय बेहोर्नुपरेको कुराले अझै सताउँछ । अहिले बलियो भएपछि अनि टर्कीको समेत सहायता उपलब्ध भएपछि अजरबैजानले दम देखाउन थाल्दा मस्कोको टाउको दुखेको छ । 

रुसका कम्युनिस्ट नेता भ्लादिमिर लेनिनले रुसमुनि टाइम बम राखेको भनी राष्ट्रपति भ्लादिमिर पुटिनले एकपटक गुनासो गर्ने गरेका छन् । बोल्शेभिकहरूले सन् १९१७ मा सत्ता लिएदेखि संघीय सिद्धान्त अपनाएको कुरालाई पुटिनले सन्दर्भ बनाएका हुन् । लेनिनले विभिन्न अल्पसंख्यकहरूलाई सोभियत संघभित्रै रही आआफ्नो गणराज्य बनाउन दिएका थिए । संघीयता अपनाएकाले कम्युनिस्ट शासन पतन भएपछि यी गणराज्यहरू सोभियत संघबाट टुक्रिँदै गए ।


Advertisement

सोभियत संघीयताले अन्य समस्या पनि निम्त्यायो । कम्युनिस्टहरूले १५ गणराज्यका रूपमा ठूला समुदायलाई स्वायत्तता दिए । साना समुदायले पनि स्वायत्तता पाए तर तिनको स्वरूप अर्कै किसिमको थियो : कथित स्वायत्त गणराज्य र स्वायत्त क्षेत्र । सोभियत संघ विघटन हुँदा पूर्ण गणराज्यहरू स्वतन्त्र भए तर तीभित्रका स्वायत्त गणराज्य र क्षेत्रहरू भएनन् । 

साना अल्पसंख्यकहरू यस्तो स्वेच्छाचारी परिणामबाट खासै खुशी भएनन् र पृथक् बनेका गणराज्यबाट पनि छुट्टिन चाहे । परिणामस्वरूप अनेकौं युद्ध भए र तीमध्ये पहिलो युद्ध नागोर्नो–काराबाख स्वायत्त क्षेत्रमा भयो । त्यो अजरबैजानभित्रको आर्मेनियाली बस्ती हो । उक्त स्वायत्त क्षेत्रले अजरबैजानबाट टुक्रिएर आर्मेनियामा जोडिने प्रयास गरेको थियो । युद्धमा आर्मेनिया विजयी भयो । आर्मेनियालीहरूले अजरीहरूलाई नागोर्नो–काराबाखबाट धपाए अनि उक्त क्षेत्रलाई आर्मेनियासँग जोड्ने अजरी भूमिको एक टुक्रामा पनि कब्जा गरे । 


Advertisement

नागोर्नो–काराबाख वस्तुगत रूपमा स्वतन्त्र राज्य बन्यो तर त्यसलाई कसैले पनि मान्यता दिएन र त्यो पूर्णतः आर्मेनियाको सहायतामा निर्भर रह्यो । आफूले गुमाएको प्रान्त अनि आर्मेनियाले कब्जा गरेको भूभागमाथिको दाबी  अजरबैजानले अहिलेसम्म पनि छोडेको छैन । परिणामस्वरूप, येरेभान (आर्मेनियाको राजधानी) र बाकु (अजरबैजानको राजधानी) बीच विगत ३० वर्षमा यदाकदा सैन्य भिडन्त हुने गरेका छन् । 

यसै सप्ताहान्तमा आर्मेनिया र अजरी सुरक्षाफौजबीच पुनः भिडन्त भएको छ । आर्मेनिया सरकारले शत्रुको आक्रमणलाई निस्तेज पारेको घोषणा गर्दै अजरबैजानका अनेकौं सैन्य सामग्री ध्वस्त पारेको भिडियो सार्वजनिक गर्‍यो । 
 

अजरबैजान सरकारले आफूमाथि आर्मेनियाबाट आक्रमण भएको आरोप लगाउँदै आफूले प्रत्याक्रमण गरेको अनि अनेकौं गाउँहरू मुक्त बनाएको घोषणा गर्‍यो । आर्मेनियाले अहिले सेना परिचालन गरेको छ । पूर्ण युद्ध शुरू हुने हो भनी धेरैले डर मानेका छन् ।

तीस वर्षअघि आर्मेनियाबाट हार बेहोरेको स्थितिको तुलनामा अजरबैजान अहिले आफूलाई शक्तिशाली अनुभव गर्छ त्यसैले अहिलेको युद्ध चर्केको हो भन्ने एउटा व्याख्या गरिन्छ । अजरबैजानको अर्थतन्त्र आफूसँग भएको विशाल तेलखानीका कारण बलियो बनेको छ र छिमेकी आर्मेनियाको भन्दा विशाल छ । अनि अजरबैजानको जनसंख्या पनि आर्मेनियाको भन्दा निकै बढी छ । अजरीहरू १ करोड छन् भने आर्मेनियालीहरू जम्मा ३० लाख छन् । अजरबैजानले सेनामा भारी लगानी गरेको छ र युद्ध चर्केछ भने पनि आफू नै हावी हुने भनी विश्वास लिएको छ । 

अनि अजरबैजानले आफ्नो प्राथमिक साझेदार टर्कीबाट पनि सहायता पाइरहेको छ । यस सप्ताहान्तमा भएका भिडन्तपछि टर्कीका राष्ट्रपति रेचेप एर्दोआनले अजरबैजानमाथि अतिक्रमण गरिएको बताउँदै सारा संसारलाई उसको समर्थन गर्न आह्वान गरे । टर्कीको समर्थन पाएपछि अजरी नेतृत्व थप सशक्त बनेको छ र परिस्थिति आफूअनुकूल भएनछ भने पनि पछि नहट्ने भएको छ । 

रुसले आधिकारिक रूपमा नागोर्नो–काराबाख विवादमा तटस्थताको नीति अपनाएको छ र सबै पक्षलाई मतभिन्नताहरू शान्तिपूर्ण तरिकाले सुल्झाउन आह्वान गरेको छ । यस्तो अर्थ यथास्थितिलाई समर्थन गर्ने हो । त्यस्तो यथास्थितिले आर्मेनियालाई फाइदा गर्ने भएकाले वस्तुगत रूपमा यो आर्मेनियाप्रतिकै समर्थन हो । रुसले प्रायोजन गरेका विभिन्न बहुपक्षीय पहलहरूमा आर्मेनिया पनि सदस्य रहेकाले रुस उसकै पक्षमा हुनु स्वाभाविक हो । 

त्यसैले नागोर्नो–काराबाखमा भएको भिडन्तले रुसलाई अप्रत्यक्ष रूपमा टर्कीविरुद्ध उभ्याउँछ । रुसले लोकतन्त्रलाई ध्वस्त पार्न चाहेको अनि निरंकुश सरकारहलाई प्रवर्द्धन गर्न खोजेको भन्ने संकथनलाई पनि यसले भत्काएको छ । रुसको साझेदार आर्मेनिया लोकतन्त्र हो भने टर्कीको साझेदार अजरबैजान निरंकुशतन्त्र हो ।

रुस र टर्कीका प्रोक्सीहरू नागोर्नो–काराबाखमा मात्र भिडिरहेका हैनन् । सिरियामा रुसले बशर असदको सरकारलाई समर्थन गरेको छ भने टर्कीले इदलिब प्रान्तमा असदविरोधी विद्रोहीहरूलाई उक्साइरहेको छ । लिबियामा रुसले विद्रोही नेता खलिफा हफ्तरलाई समर्थन गरिरहेको छ भने टर्कीले हालै राजधानी त्रिपोलीबाट हफ्तरका सैनिकहरूलाई धपाउनका लागि सरकारी सेनालाई व्यापक सहायता पठाएको छ । 
 

ककेसस, मध्यपूर्व र उत्तरी अफ्रिकामा रुसको प्रभाव घटाउनका लागि टर्कीले काम गरिरहेको भन्ने रुसको बुझाइ गलत छैन । तर टर्कीलाई अप्ठ्यारोमा पार्ने रुस मात्रले गरिरहेको छैन । नाटोका अन्य सदस्यहरूसँग पनि टर्कीको सम्बन्ध राम्रो छैन र यसले गर्दा रुसलाई आफ्नो फाइदा गराउन सहज बनेको छ । टर्कीबाट आर्थिक अवसरहरू पनि आइरहेका छन् । जस्तो, हालै मात्र टर्कीले रुसमा बनेका एस–४०० एयर डिफेन्स मिसाइलहरू किन्ने निर्णय लिएको छ । 

परिणामस्वरूप, रुस र टर्कीबीच हालैका वर्षमा भिडन्तको स्थिति आउँदा रुस सरकारले शान्त पार्न चाँडो कदम चाल्ने गरेको छ । यही दृष्टिकोण उसले नागोर्नो–काराबाखमा उत्पन्न परिस्थितिका विषयमा पनि अपनाएको छ । एकातिर रुस आर्मेनियाली साझेदारसँग उभिनुपर्ने हुन्छ । अर्कातिर उसले टर्कीसँग भिडन्त आउने गरी युद्ध चर्किन दिन हुँदैन । 

युद्धविराम तथा यथास्थितिले नै यो अभीष्ट पूरा गर्छ । त्यसैले रुसको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ जसमा परराष्ट्रमन्त्री सर्गे लाभरोभले दुवै पक्षलाई युद्धविराम गर्न तथा परिस्थिति स्थिर बनाउनका लागि सम्झौता थाल्न गहन वार्ताहरू भइरहेको बताएका छन् । 

तत्कालका लागि यस दृष्टिकोणले काम गर्ला । तर दीर्घकालका लागि आर्थिक तथा जानसांख्यिक आधारमा हेर्दा दक्षिण ककेससको शक्ति अजरबैजानको पक्षमा ढल्किने सम्भावना छ । त्यसो हुँदै गर्दा रुसले टर्कीसँगको सन्तुलन कायम राखिरहन मुश्किल पर्नेछ ।
 

आरटीमा प्रकाशित पल रबिन्सनको विश्लेषण 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्