मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
असोज १४, २०७७
आधुनिक युगमा सबभन्दा शक्तिशाली कुरा कुनै छ भने त्यो सूचना प्रविधि नै हुनुपर्छ । यसले संसारभरिका मानिसलाई नियन्त्रणमा लिएको छ र मानिसहरूले आफू यसको नियन्त्रणमा भएको कुरा समेत थाहा पाइरहेका छैनन् ।
सूचना प्रविधि उपलब्ध गराउने विशाल कम्पनीहरूले मानिसलाई उपभोक्ता मात्र नभई लगभग कठपुतली नै बनाएका छन् भनी नेटफ्लिक्समा आएको नयाँ डकुमेन्ट्री ‘द सोसल डाइलेमा’ ले देखाएको छ ।
जेफ ओर्लोव्स्कीले निर्देशन गरेको उक्त डकुमेन्ट्रीमा गूगल, फेसबूक, इन्स्टाग्राम, पिनइन्टरेस्ट, ह्वाट्याप जस्ता कम्पनीमा काम गरेर छाडेका मानिसहरूले प्रविधि कम्पनीहरू कसरी मानिसलाई लती बनाइरहेका छन् र मानिसको डेटा बेचेर पैसा कमाइरहेका छन् भनी खुलेर बताएका छन् ।
गूगलका पूर्व कर्मचारी ट्रिस्टान ह्यारिस यस डकुमेन्ट्रीका नायक हुन् । उनले सेन्टर फर ह्युमेन टेक्नोलोजी नामक संस्था चलाउने गरेका छन् । प्रविधिको अतिउपयोगबाट जोगिएर ठूला कम्पनीहरूको मुनाफा कमाउने माध्यम नबन्नका लागि मानिसहरूलाई उनको संस्थाले प्रेरित गर्ने गरेको छ । अनि प्रविधि कम्पनीहरूलाई नाफामा मात्र ध्यान नदिई मानवीय सम्बन्ध विकासका लागि प्रविधिको उपयोग गराउन उनले अभियान चलाउने गरेका छन् ।
डकुमेन्ट्रीको आरम्भतिर उनी भन्छन्, ‘यसो वरिपरि हेर्दा संसार पागल हुँदै गइरहेको जस्तो देखिन्छ । तपाईं आफैंलाई सोध्नुस्, यो सामान्य कुरा हो त ? कि हामी कुनै किसिमको जादूमा फसेका छौं ?’
डकुमेन्ट्रीमा सामाजिक सञ्जालको दुष्प्रभावका विषयमा पुस्तक लेख्ने शोशाना जुबोफ र जेरोन लेनियरका भनाइहरू पनि समेटिएका छन् । ‘तपाईंको आफ्नो व्यवहार तथा दृष्टिकोणमा क्रमशः आइरहेको साना र थाहा नपाइएको परिवर्तन नै प्रविधि कम्पनीहरूका लागि उत्पादन हो,’ लेनियर भन्छन् । ‘तपाईंको व्यवहार परिवर्तन गरेरै उनीहरू पैसा कमाइरहेका छन् ।’
उनीहरू भनेर लेनियरले प्रविधि कम्पनीहरूको अल्गोरिदमलाई इंगित गरेका हुन् । डकुमेन्ट्रीमा त्यस आल्गोरिदमलाई तीनजना कम्प्युटर इन्जिनीयरमार्फत मानव स्वरूप दिइएको छ । टिशर्टमाथि कोट लगाएका ती इन्जिनीयरहरूले कन्ट्रोल रूममा बसेर मानिसहरूलाई जसरी भए पनि फोनमा नै ध्यान केन्द्रित गराइरहनका लागि दिनरात मेहनत गरेको देखिन्छ ।
मानिसहरूलाई थप भिडियो हेर्न, थप सामग्री शेयर गर्न, थप विज्ञापन हेर्न लगाउनका लागि सामाजिक सञ्जालमा देखाउने प्रत्येक व्यवहारलाई निकै ध्यानपूर्वक निरीक्षण गरिन्छ ।
प्रयोगकर्ताको मनोविज्ञान कस्तो छ भन्ने कुराको जाँचपरख गरेर उसलाई व्यवहार परिवर्तन गर्नका लागि प्रेरित गरी ठूला प्रविधि कम्पनीले विज्ञापनदाताबाट मोटो रकम कुम्ल्याउने गरेका छन् ।
डकुमेन्ट्रीको केन्द्रीय तर्क बुझाउनका लागि एक परिवारमा प्रविधि उपयोगको असरलाई कथानक बनाइएको छ । सामाजिक सञ्जालमा रमाउने बानी लागेपछि उक्त परिवारका सदस्यहरू एकअर्कासँग राम्रो गरी संवाद पनि गर्दैनन् ।
परिवारको किशोर छोरोलाई आमाले एक हप्तासम्म फोनबाट टाढा बसेमा पुरस्कार दिने घोषणा गर्छिन् तर ऊ त्यसमा सफल हुँदैन । उग्रवादी राजनीतिक विचारधारा भएका मानिसहरूको समूहमा उसको हिमचिम बढ्न थाल्छ । अर्थात् उसमा व्यवहार परिवर्तन देखिन थाल्छ ।
प्रविधि कम्पनीहरूले प्रयोगकर्ताहरूलाई आफूप्रति लती बनाउनका लागि निकै कठोर मेहनत गरेका हुन्छन् किनकि अहिलेको युगमा मानिसको ध्यान केन्द्रित गर्नु आफैंमा ठूलो चुनौती हो । यसका लागि उनीहरूले मनोवैज्ञानिक तथा व्यवहारशास्त्रीहरूलाई उत्प्रेरक डिजाइन बनाउन लगाउँछन् ।
मस्तिष्कको डोपामाइन रेस्पोन्सलाई दुरुपयोग गर्दै सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई लती बनाउने गरेका छन् । अनि प्रत्येक व्यक्तिलाई स्क्रीन स्क्रोल गराइरहन, हेरिरहन तथा विभिन्न लिंकमा क्लिक गराइराख्न अल्गोरिदमहरूलाई त्यसैअनुरूपको सामग्री दिन लगाइरहेका छन् ।
सबै सामाजिक सञ्जाल कम्पनी अनि गेम तथा याप कम्पनीहरूले उत्प्रेरक डिजाइनको उपयोग गर्छन् । उदाहरणका लागि, फेसबूकको नोटिफिकेसन र ट्यागिङ प्रविधिले मानिसलाई स्क्रीनमा अल्झाइरहन सहयोग गर्छ । अनि फेसबूकको नोटिफिकेसन इमेलमा आउने सुविधा छ भने के गतिविधि भएको हो भनी सूचना आउँछ तर गतिविधिको तस्वीर हेर्न फेसबूकै पुग्नुपर्ने हुन्छ ।
कसैले तपाईंलाई तस्वीरमा ट्याग गर्यो भने ट्याग गरेको सूचना मात्र आउँछ, तस्वीर हेर्न फेसबूकमै पुग्नुपर्ने हुन्छ । यसरी नै ठूला कम्पनीहरूले प्रयोगकर्ताको स्क्रीन टाइम बढाइरहेका हुन्छन् ।
यसरी स्क्रीन टाइम बढ्दै जाँदा प्रयोगकर्ताहरूको दिमाग सुस्त हुँदै गइरहेको छ । मानिसहरू कुनै कुरामा पनि ध्यान केन्द्रित गर्न सकिरहेका छैनन् अनि अरू मानिसले बढी लाइक र कमेन्ट पाएको भन्ने चिन्ता लिँदै डिप्रेसनमा समेत जाने गरेका छन् ।
अनि युवतीहरूले इन्स्टाग्राम वा स्न्यापच्याटमा फिल्टर प्रयोग गरिएको फोटो हेर्दै आफ्नो वास्तविक अनुहारप्रति निराशा व्यक्त गर्ने गरेका छन् । फिल्टरको जस्तो अतिसुन्दर अनुहार बनाउनका लागि उनीहरू प्लास्टिक सर्जनकहाँ समेत पुग्ने गरेका छन् ।
दश वर्षअघिको तुलनामा बालबालिकाको स्क्रीन टाइम १० गुणा बढेको तथ्यांकहरू आइरहेका छन् । यसले गर्दा निद्रा र भोजनको प्याटर्न बिग्रिरहेको अनि बालबालिका आक्रामक बन्दै गएका विभिन्न आँकडा पाइन्छन् । त्यसैले सूचना प्रविधि, अझ विशेषगरी सामाजिक सञ्जालले मानिसहरूलाई सोचविचार नगर्ने रोबोट जस्तो बनाएको छ ।
फेसबूक लगायत सामाजिक सञ्जाल सित्तैमा चलाउन पाइने भनेर दंग पर्नु पनि बेकार छ किनकि मानिसलाई सित्तैमा कुनै कुरा पाउँदा केही न केही बलिदान दिनुपर्छ । सूचना प्रविधि चलाउँदा मानिसले मस्तिष्कको बलिदान दिइरहेका छन् ।
सामाजिक सञ्जालको लतले सोचविचार गर्ने क्षमता यसरी खोस्दै लग्दा निकट भविष्यमा गृहयुद्ध हुन सक्ने डकुमेन्ट्रीमा विज्ञहरूले अनुमान गरेका छन् । पोहोर साल आएको डकुमेन्ट्री द ग्रेट ह्याकले निर्वाचनका परिणाम सामाजिक सञ्जालले कसरी निर्धारण गरिदिन्छन् भनी देखाएको थियो । त्यसैलाई पुष्टि गर्दै यस डकुमेन्ट्रीले सामाजिक ध्रुवीकरणमा सूचना प्रविधिको योगदानको चर्चा गरेको छ ।
डकुमेन्ट्रीमा यस्ता कुराहरू देखाउँदा स्थिति पूरै निराशाजनक देखिन्छ तर विज्ञहरूले आशा पनि प्रकट गरेका छन् । फेसबूकको लाइक बटन आविष्कार गर्ने जस्टिन रोजेनस्टाइनले भनेका छन्, ‘प्रविधिले गर्ने काम भौतिकशास्त्रको नियम जस्तो अवश्यम्भावी हुँदैन । यो लकिरको फकीर पनि हैन । हामी जस्तै मानवले यो विकल्प छानेका हौं र मानिसहरूले नै प्रविधिलाई परिवर्तन गर्न सक्छन् ।’
उनको भनाइको अर्थ हो– प्रविधिका सम्बन्धमा हामीले भाग्यवादी सोच राख्नुहुँदैन, हामी स्वतन्त्र निर्णय लिनसक्ने चेतनशील प्राणी हौं भन्ने कुरा बुझ्नुपर्छ । यस लतबाट छुटकारा पाउन हामी समर्थ छौं । डकुमेन्ट्रीमा अन्तर्वार्ता लिइएका अन्य विज्ञको पनि यस्तै भनाइ छ ।
आधिकारिक व्यक्तिहरूसँगको कुराकानीमा आधारित रही सामाजिक सञ्जालका खराबीहरूलाई उजागर गरेकाले द सोसल डाइलेमा एक सशक्त डकुमेन्ट्री हो । प्रविधि कम्पनीहरूले मानिसलाई प्रयोगकर्ता र दुहुनो गाई मात्र नठानेर नैतिकता प्रदर्शन गर्नुपर्ने सन्देश यसले दिएको छ । अनि सरकारहरूलाई प्रविधि कम्पनी नियमन गर्न पनि यसले प्रेरित गरेको छ ।
सबभन्दा महत्त्वपूर्ण कुरा, मानिसहरूलाई दिमाग लगाएर लती नबन्न यसले उत्प्रेरणा दिएको छ । हुन पनि लागूऔषध कारोबार र सामाजिक सञ्जालमा मात्र मानिसलाई प्रयोगकर्ता (युजर) भन्ने संज्ञाले चिन्ने गरिन्छ । तपाईं चेतनशील प्राणी बन्ने कि निष्क्रिय प्रयोगकर्ता रहिरहने ?
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...