फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी साथीसँग घाँस काट्न सधैंजसो जंगल जान्थे । मंगलबार दिउँसो पनि चार जना साथीसँँग घाँस ल्याउन जंगल पसे । चारै जनासँग साइकल थियो । गाउँबाट झन्डै ७ किलोमिटर पश्चिम तुरतुरेधारा नजिक घनाजंगलमा घाँस खोज्ने क्रममा संगम हराए ।
राति अबेरसम्म घर फर्किएनन् । उनलाई खोज्न गएका गाउँलेहरू बाघको आमनेसामने परे । केही त आक्रमणमै परे । रूख चढेर ज्यान जोगाउँँदै जंगलबाट भागेर घर आए । तर, संगम फेला परेनन् ।
बाख्राका लागि घाँस लिन भनेर साथीहरू हरि खड्का, गुन्ज रानामगर र सुदीप थापालाई साथै लिएर संगम साइकलमा जंगल छिरेका थिए । चारै जना लमाह जंगलको बीचभागमा पर्ने तुरतुरेधारा क्षेत्रनजिक पुगे । गाउँबाट झन्डै ८ किलोमिटर पश्चिम पर्छ, त्यो जंगल । हरि, सुदीप, गुन्जेश्वर एकातिर र संगम खोल्सा तरेर पारि गए । अरू साथीहरू वारि नै घाँँस काट्न थाले ।
चारै जनाले बाटोमै साइकल राखेका थिए । साँँझ हुन थालेपछि तीन जना घाँँस बोकेर साइकल भएको ठाउँमा भेला भए । तर संगम भने आएनन् । उनीहरू त्यहीं कुरेर बसे । खोल्सा पारिबाट अचानक ‘ऐय्या’ भन्ने आवाज सुनियो । बाहिर भएका साथीहरूले जोडले कराए– ‘संगम...संगम ।’ जंगलभित्रबाट कुनै आवाज आएन । सुदीप भन्छन्, ‘साँझ झमक्कै भएकाले भित्र पस्ने हिम्मत भएन ।’
तीनै जना घर फर्केर संगम हराएको अभिभावकलाई सुनाए । संगमको साइकल पनि साथीले नै ल्याए । गाउँँमा हल्लीखल्ली भयो । संगमलाई खोज्न तीन जना साथी र दाजु सजीवसहित १४/१५ जना गाउँले हातमा हसियाँँ बोकेर टर्चलाइट बाल्दै राति नै जंगल छिरे । बाटो बिराएर संगम अलपत्रमा परेको हुन सक्ने सबैले अनुमान गरेका थिए । खोजी गर्ने टोली संगमले खोल्सा तरेकै स्थानमा पुग्यो । रातिको ९ बजेको थियो । एउटा समूह पछाडि टर्च बालेर हेर्दै थियो । अगाडि समूहको अग्रपंक्तिमा प्रवीन श्रेष्ठ, मेघराज थापा, संगमका दाजु सजीव भण्डारी र अशोक थापा थिए । उनीहरू चारैतिर टर्च बालेर होहल्ला गर्दै थिए । अचानक पाटेबाघले प्रवीनमाथि आक्रमण गर्यो । उनी घाइते भए । बाघको पन्जाले चिथोरेर प्रवीनको गाला र छातीमा चोट लाग्यो । तर, उनले हिम्मत हारेनन् । उनी निकै बलिया भएकाले प्रतिकार गर्न सके । त्यसपछि सबै होहल्ला गर्न थाले । बाघले सँगै रहेका अशोक थापालाई पनि आक्रमण गर्यो । उनलाई दुवै हात र काखी छेउमा चोट लाग्यो । ज्यान जोगाउन रूख चढ्न थाले ।
प्रवीन, अशोक र सजीव पनि रूख चढ्न भ्याए । तल रहेका मेघराजले बाघको आँखामा एकोहोरो टर्च बाल्न थाले । बाघ डेग चलेन । त्यसपछि उनी पनि बिस्तारै रूख चढे । खोल्सावारि भएकाहरू सबै पहिले नै भागिसकेका थिए । ‘तलै बसेको भए मलाई बाघले निल्थ्यो,’ मेघराजले रातिको घटना सुनाउँँदै भने, ‘बाघको आमनेसामने हुँदा होस उडेको थियो । तर धैर्य गुमाइनँ । नत्र सिध्याउँँथ्यो ।’
उनले टर्च झिमिक्क नपारी बाघको आँखामा बाली रहे । अनि बिस्तारै रूख चढेर ज्यान जोगाएको सुनाए । बाघ केही पर सरेपछि उनीहरू रूखबाट हाम्फालेर भागे । राति झन्डै सवा १२ बजे खोजीमा गएकाहरू घर फर्केका थिए । तर संगम भने फेला पार्न सकेनन् ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई संगम हराएको र खोज्न जाँदा बाघको आक्रमणमा परेको खबर गरे । त्यसपछि सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन कार्यालयबाट सशस्त्र वन रक्षक, साझेदारी वनका प्रतिनिधि र स्थानीय गरी करिब सय जनाको जत्था संगमलाई खोज्न जंगल पसे । लमाहाबाट छिरेको टोलीको साथमा राति आक्रमणमा परेका मेघराज पनि थिए ।
उनले आक्रमण भएको स्थानमा पुर्याए । त्यहाँ संगमको चप्पल फेला पारे । त्यसपछि टोली खोजीमा जुट्यो । केही पर भुइँमा रगतको टाटो देखियो र त्यसैको नजिक संगमको सर्ट फेला पर्यो । उनी जीवित छैनन् भन्ने सबैले शंका गरे । अघिल्लो समूहमा रहेका गाउँँले र सुरक्षाकर्मीले बाघ घुरेको र शव गन्हाएको थाहा पाए ।
त्यसपछि सबै होहल्ला गर्दै अघि बढे । बाघले संगमलाई घिसार्न थाल्यो । घनाजंगलमा उनलाई घिसारेको आवाज र बाघ कराएको प्रस्टै सुनिन्थ्यो । गाउँँलेले हतियारधारी सुरक्षाकर्मीलाई अघि सारे । पिछा गर्ने क्रम बढ्यो । घनाजंगल भएकाले साना अवरोध पन्छाउँँदै टोली बाघ पछ्याउँदै अघि बढ्यो । झन्डै एक किलोमिटर परसम्म घिसार्दै लगेपछि मानिसको होहल्लाले डराएर बाघले शव छाडेर भाग्यो । सुरक्षाकर्मीले बाघ फर्केर आउन सक्ने भन्दै एरिया कभर गरेर गाउँँलेलाई छिटोछिटो शव उठाउन भन्यो । बाघले घिसार्ने क्रममा शरीरका अंगका टुक्रा यत्रतत्र छरिएका थिए । अन्य भाग पनि बीभत्स भइसकेको थियो । उनको देब्रे खुट्टा र कोखामुनिको भाग बाघले सबै खाइसकेको थियो । शव गन्हाउन थालेको थियो ।
‘राम्रो घाँसका लागि अलि भित्र जानुपर्छ भन्थ्यो,’ कान्छा छोरालाई सम्झँदै श्याम भण्डारीले भने, ‘कहिले नफर्किने गरी जंगलमै प्राण त्याग्यो ।’ संगमको शवलाई पोस्टमार्टमपछि बुधबार दिउँसो दाहसंस्कार गरियो ।
चन्द्रपुर–६ स्थित तुरतुरेधारा क्षेत्र बाघको बासस्थान हो । २५ वर्षअघि यस क्षेत्रमा गाईबस्तुमाथि आक्रमण गरेर बाघले हैरान पार्थ्यो । बिस्तारै पशु पाल्ने चलन पनि घट्यो । त्यसयता बाघ पनि देखिन छाडेको स्थानीय प्रह्लाद थापाले बताए । ‘पहिला यही जंगलमा बाघले गाईभैंसी, गोरु खाएर हत्तु पार्थ्यो,’ उनले भने, ‘पछिल्लो दुई दशकमा पाटे बाघ देखिन छाडेको थियो । अहिले फेरि देखियो ।’ कान्तिपुर दैनिकमा शिव पुरीले खबर लेखेका छन् ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...