वैदेशिक रोजगारीको दर्दनाक दृश्य : आमाको विदेशमै मृत्यु हुँदा ४ बालबालिका बेसहारा

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

विदेशबाट असोज १२ गते आमाको शव कफिनमा गाउँ पुगेपछि सुशीला, सुरज र करनको अश्रुधारा थमिएन । तर ८ वर्षकी लक्ष्मी भने आफ्नै बालापनमै मग्न थिइन् ।

अन्तिम संस्कारको लागि आफन्तहरू पनि जम्मा भएका थिए । कफिन समातेर दाइहरू र दिदीले बिलौना गरिरहँदा लक्ष्मी भने अक्क न बक्क थिइन् । वर्षौसम्म आमाबाट बिछोडिएकी उनलाई आमासँगको स्थायी बिछोडको पीडाको आभासै थिएन ।


Advertisement

कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरीकटानकी ४६ वर्षीया गीताकुमारी पार्की ९ महिनाकी दुधे बालिका लक्ष्मीलाई साइली छोरी सुशीलाको जिम्मा लगाई सन् २०१३ जुन ३० तारेखमा वैदेशिक रोजगारीको लागि कुवेत उडिन् । त्यो बेला सुशीलाको उमेर जम्मा १० वर्ष थियो । आर्थिक समस्याका कारण आमा वैदेशिक रोजगारीको लागि कुवेत गएपछि आफैं खेल्ने कुुद्ने उमेरमा ९ महिनाकी बहिनी, ६ वर्षको कान्छो र ९ वर्षको जेठो भाइको पालनपोषणको जिम्मा १० वर्षीया सुुशीलाकै कलिलो काँधमा थपियो ।

‘आमा कुवेत गएपछि साना–साना भाइबहिनीलाई रातदिन आफू नसुतेर हुर्काएँ,’ आमाको शोकमा डुबेकी सुशीला विगत सम्झेर भक्कानिइन्, ‘लक्ष्मी दूध पिउँथिन् । बजारमा पाइने दूध बोत्तलमा भरेर चुसाउँथे । दिसापिसाब सोहर्थे ।’ 


Advertisement

पढ्ने उमेरमै आमा वैदेशिक गएपछि भाइबहिनीलाई हुर्काउँदैमा बाल्यास्था गुज्रेको सुशीला बताउँछिन् । आमाको ममता दिदी सुशीलाले दिएपछि विदेशबाट आमाको शव आएपछि पनि लक्ष्मीलाई आमा गुमाएको आभास नभएको हो । तर उनका दिदी र दाइहरूको भने अश्रुधारा रोकिएको छैन ।

गीता पार्की

मृतक गीता पार्कीले भारतीय रामप्रसादसँग विवाह गरेकी थिइन् । रामप्रसाद प्रायः नेपालमै बसेर इँटाभट्टामै काम गर्थे । रोड बनाउने काम गर्थे । कमाएको पैसा रक्सीमै सिध्याउँथे । घरको जीविकोपार्जनमा पतिको बेवास्तापछि छोराछोरीको सुनौलो भविष्यको सपना बुनेर गीता लालाबाला छाडेर घरेलु कामदारको रूपमा कुवेत पुगेकी थिइन् । 

सुशीलाले भनिन्, ‘बुवाले आफ्नो कमाइ जाँडरक्सी, चुरोट, बिडी, खैनीमै सकाउनुभयो । उहाँलाई क्षयरोग लागेको थियो । आमा विदेश गएको १ वर्षमै बुवाको मृत्यु भयो । आमाको माइती गौरीकटान नै हो । तर बुवाको कुनै थर ठेगान थिएन । कुनै देशको नागरिकता थिएन । आफ्नो पहिचान हामीलाई कहिल्यै भन्नुभएन ।’

आफ्नो निजी घर नभएपछि गीता पार्की धनगढी उपमहानगरपालिका–८ स्थित कैलाली बहुमुखी क्याम्पसको गेट नजिकै घर भएकी लक्ष्मी भण्डारीको घरमा लामो समयदेखि कोठा भाडा लिएर बस्थिन् । वैदेशिक रोजगारीमा गएपछि उनले आफ्ना बच्चाको लागि महिनामा ८–१० हजार पठाउँथिन् । जुन पैसाबाट ४ जना बच्चाको खर्च चलेको थियो ।

‘बुवाले कहिल्यै एक सुको दिनुभएन । आमाले विदेशबाट महिनामा ८–१० हजार पठाउनुहुन्थ्यो । भिडियो कलमा आमासँग कुरा हुँदा आमालाई सोध्थे, बाँकी पैसा कहाँ जम्मा गर्नुहुन्छ ? तर आमाले केही भन्नुहुन्थेन । यति मात्रै भन्नुहुन्थ्यो, छोरी सबै पैसा सँगै लिएर आउँछु । जग्गा किनेर आफ्नै घर बनाउँछु,’ आँसु पुछ्दै सुशीलाले भनिन् ।

आफ्नै घर बनाउने आमाको सपनाले सदैव अरुको घरमा डेरा गरी बस्दै आएकी सुशीलाको मनमा झिनो आशाको सञ्चार हुन्थ्यो । ‘हाम्रो पनि आफ्नै घर होला । दुःखका दिन दूर हुनेछन्,’ उनी सोच्थिन् । नियतिको खेल, त्यही आशा र भरोसालाई दैवले सदाको लागि चुडेर लगेपछि उनको त्यो सपना सपनामै सीमित भयो । हाँसीखुशी पैसाको थैलो लिएर आउने आमा कफिनमा सजिएर आएपछि ती कलिला मुनाहरूको हृदय छियाछिया भएको छ ।

रुँदारुँदै बसेको स्वरमा सुशीला भन्छिन्, ‘न त बुवाआमा । न त घरद्वार । न त कुनै धन सम्पत्ति । कसरी जिन्दगी बित्ने होला ? घरभाडा कसरी चुकाउँ ? भाइबहिनीलाई के खुवाउँ ? कहाँ जाउँ ?’

सुरज र करन किरियामा

कोभिड–१९ को महामारीले विश्व नै प्रभावित भएपछि गीता पार्की नेपाल फर्किनलाई ३ महिनादेखि नेपाली राजदूतावास कुवेतमा बसेकी थिइन् । दूतावासबाटै भिडियो कल गरेर आफ्ना बच्चाको लागि किनिएको कपडा, कान्छी छोरीलाई गुडियालगायत सामान राखेको देखाउँथिन् । दशैं सँगसँगै मनाउने बताउँथिन् ।

गीतालाई श्वासप्रश्वासको समस्या थियो । नेपालमै आएर स्वास्थ्य परीक्षण गराउने र घर बनाएर फेरि वैदेशिक रोजगारीमा फर्किने योजना सुशीलालाई सुनाएकी थिइन् । तर स्वास्थ्यमा समस्या आएपछि कुवेतकै मुवारक अस्पतालमा भर्ना भएकी उनलाई निमोनिया, श्वासप्रश्वास तथा मुटुमा समस्या देखाइएको थियो । उपचाररत उनको भदौ ८ गते (सन् २०२० अगस्ट २४ तारेख) अस्पतालमा ज्यान गएको नेपाली राजदूतावास कुवेतले पठाएको पत्रमा उल्लेख छ । तर सुशीलाले भदौ ३१ गते साँझ मात्रै आमा बितेको खबर राजदूतावासमार्फत जानकारी पाइन् ।

गीताको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । नेपाली राजदूतावास कुवेतमा गीताको ३ वटा (ब्याग) लगेज छ । आमाको त्यसै ब्यागमा कागजात (प्रमाण) रहेकाले सुरक्षित आफूहरू कहाँ पुर्‍याइदिन सुशीलाले माग गरेकी छन् ।

पैतृक सम्पत्तिको नाममा आमाको नागरिकता

सुशीलाका बुवा रामप्रसाद भारतीय भए पनि उनीसँग कुनै प्रमाण थिएनन् । उनी नेपालमै काम गर्थे । कमाएको जत्ति खानमा सकाउँथे । गीताको पनि केही नभएपछि बच्चालाई भाडाको कोठामै छाडेर विदेश गएकी थिइन् । गीताको शवसँगै उनको नागरिकता, राहदानी, अस्पतालमा उपचार गराएको रिपोर्ट मात्रै घरमा पुगेको छ ।

शिक्षादीक्षा र नागरिकतामा जटिलता

गीता पार्की वैदेशिक रोजगारमा छँदा बच्चाहरूलाई मासिक ८–१० हजार नेपाली रुपैयाँ पठाउँथिन् । त्यही पैसाले खानेकुरा, कोठाभाडा चुकाउँथिन् । बचेको पैसाले लक्ष्मी र करनलाई पढाउँथिन् । १३ वर्षीय करन पार्की धनगढी उपमहानगरपालिका–७ को शिव आधारभूत विद्यालयको ७ कक्षामा अध्ययनरत छन् । ८ वर्षीया लक्ष्मी पनि सोही विद्यालयमा ४ कक्षामा अध्ययनरत छिन् । तर सुरज पार्की भने आर्थिक समस्या हुँदा सोही विद्यालयमा पढ्दापढ्दै ७ कक्षामै छोडे । यसरी उनीहरूको शिक्षादीक्षामा गम्भीर चुनौती देखिएको छ ।

गीता पार्कीका जम्मा ६ सन्तान छन् । जेठी छोरी भारतको पलिया र माइली छोरी पार्वती सीतापुरमा विवाह गरेर बसेकी छन् । तर उनीहरूसँग पनि न त भारतीय नागरिकता छ, न त आधार कार्ड नै छ ।

सुशीलाको उमेर पनि १८ वर्ष पुगेको छ । उमेर पुगे पनि उनीसँग नागरिकता बनाइदिने कोही छैन । अब उनीसँग नागरिकता पाउने एउटै आधार आमाको नागरिकता मात्रै छ । उनका २ भाइ र बहिनी अझै नाबालक छन् ।

बीमामा अन्योलता

सन् २०१३ जुन ३० मा श्रम स्वीकृति लिएर विदेशिएकी गीताकुमारी पार्कीले श्रम स्वीकृतिसँगै नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा ५ लाखको जोखिम बीमा गराएकी थिइन् । जसको म्याद सन् २०१३ सेप्टेम्बर १५ तारेखदेखि सन् २०१५ सेप्टेम्बर १५ तारेखसम्म थियो । जुन अवस्थामा शारीरिक क्षति भए बीमा रकम दाबी गर्न सकिने अवस्था थियो ।

गीता पार्कीको भिसाको पहिलो म्याद समाप्त भए पनि म्याद थपिएको देखिन्छ । उनको भिसाको म्याद सन् २०२३ जुन ३० सम्म अझै देखिन्छ । श्रम स्वीकृतिभर २–२ वर्ष म्याद थप्न सकिने प्रावधान रहेको बताउँछन् श्रम कार्यालय धनगढीको प्रमुख जनक उकेडा । भिसाको म्याद बाँकी रहेकाले श्रम स्वीकृतिको कागजात सहितका प्रमाण पेश गरेको खण्डमा बीमा रकम हकदाबी गर्न सकिने उकेडाको भनाइ छ ।

वडा सदस्यको शरणमा

बेसहारा, बेघर भएका ४ बालबालिकाहरूलाई हाल धनगढी उपमहानगरपालिकाकी वडा सदस्य शारदा ताम्राकारले शरण दिएकी छन् । ताम्राकारले धनगढी उपमहानगरपालिका–९ स्थित आफ्नो घरमा एउटा कोठा उपलब्ध गराएर शरण दिएकी छन् ।

गीताको शव पुगेपछि दाहसंस्कारदेखि किरियाको लागि सम्पूर्ण व्यवस्थापन उनै वडा सदस्यले गरेकी थिइन्् । उनैको घरमा गीताका दुवै छोरा सुरज र करन असोज १८ गतेसम्म आमाको किरिया बसे ।

वडा सदस्य शारदा भन्छिन्, ‘कुवेतबाट गीताको मृत्युको खबर आएपछि सुशीला निकै अप्ठ्यारोमा थिइन् । अगाडि–पछाडि कोही थिएनन् । मानवताको नाताले आफ्नो घरमा ल्याएँ । परम्परा अनुसार नै अन्तिम संस्कार गराए ।’ 

४ जनाको दीर्घकालीन व्यवस्थापनको सवाल भएकाले आफू पनि सम्बन्धित सरोकारवालालाई निकायसँग सहयोगको याचना गरिरहेको तर अझै सफल हुन नसकेको वडा सदस्य ताम्राकार सुनाउँछिन् ।

शारदासँगै बसेकी सुशीलाले दुपट्टाले आँसु पुुछ्दै भनिन्, ‘बुवाआमाले छाडेर गए पनि केही थिएन । आफ्नो सानो झुपडी भए भाइबहिनीलाई बसाउँथे । ज्याला मजदुरी गरेर खुवाउँथे । तर के गरुँ ? ओत लाग्ने पनि छानो छैन । आफ्नो भन्ने यो संसारमै छैनन् । कता जाने हो ? के खाने हो ? समझमै आउँदैन ।’

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्