रुखबाट लडेर गम्भीर घाइते रिजालको उपचारमा जुट्यो ३ लाख

रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पीप्लेका १ युवकको उपचारमा करीब ३ लाख रुपैयाँ सहयोग जुटेको छ । 

कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।


Advertisement

मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरू गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त २ लाख ९१ हजार ६५५ रुपैयाँ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ । 


Advertisement

अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिए ।

संकलित रकम मंगलवार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्