दिनदिनै पाखुरा सुर्केर इरिटेट भइसक्यो- बाँस्कोटा, लडाईं ओली होइन ओलीप्रवृत्ति विरुद्ध- दाहाल

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको समस्या समाधान गर्न शीर्ष नेताहरू असफल भएको चर्चा चलिरहेको छ । 

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनता बढेसँगै सम्बन्ध पनि तिक्ततापूर्ण बन्दै गएको छ । 


Advertisement

केही साता अघिसम्म परामर्श र सहमतिका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारीनिवास बालुवाटार गइरहने अर्का अध्यक्ष प्रचण्ड यतिबेला सचिवालय बैठक बोलाउनुपर्ने अडानमा छन्, तर प्रधानमन्त्री ओलीले भने बैठकलाई खासै महत्त्व दिएका छैनन् । 

विगत एक सातामा ओली-प्रचण्डबीच एकाधपटक फोन संवाद पनि भएको थियो । तर संवाद हार्दिकतापूर्ण नभएको शीर्ष नेताहरूले नै खुलासा गरिसकेका छन् । पार्टी एकतालाई अटूट राख्न दोस्रो पुस्ताका नेताहरू सक्रिय देखिन्छन् ।


Advertisement

केही नेताहरू भने आ-आफ्नो पक्षको बचाउमा लागिरहेका भेटिन्छन् । पूर्व सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय कमिटी सदस्य गोकुल बाँस्कोटा र बाग्मती प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य नारायण दाहालसँग लोकान्तरले पार्टी एकतामा कहाँनेर समस्या आको हो भने प्रश्न गरेको थियो ।

एकपटक बिहे भएपछि जिन्दगी त्यसैले चलाउनुपर्छ, सम्झौताका नाममा दिनदिनै सातफेरो गर्नुपर्दैन - बाँस्कोटा 

नेकपाभित्र देखिएको संकटले विभाजन निम्त्याउने आंकलन भइरहेका छन् । यसमा तपाईंको धारणा के हो ?

यो विवाद मलाई केहीझैं पनि लाग्दैन । मेरो विश्वास के हो भने विभाजन पनि हुँदैन । जस्तो छ, त्यस्तैगरी चल्छ । 

त्यसो भए एकता दिगो कसरी हुन्छ त ?

सिद्धान्त र विचारमा खोज्नुपर्‍यो । संगठनात्मक प्रणालीमा एकता खोज्नुपर्‍यो । पदहरूमा एकता खोजेपछि सधैँ यस्तै हो । 

प्रचण्ड-माधव समूहले पदमा एकता खोज्यो भन्न खोज्नुभएको ?

जोसुकैले खोजेपनि पदमा हुने एकता त एकतै भएन नि ! पार्टी एकताको आधार के त ? एकताको आधार विचार सिद्धान्त हो कि छड्केमड्के हो ? नेताहरूले यसमा छलफल गर्नुपर्छ ।

एकले अर्को पक्षलाई पार्टी फुटाउन खोजेको आरोप लगाइरहेका छन्, किन ?

यदि पार्टी फुटाउन सकस परेको हो भने ३० प्रतिशत राख्दिएर अध्यादेश ल्याउन लगाए भइगो नि ! अहिले हेर्दा पार्टी मिलाउन भन्दा फुटाउन बढी सकस परेको जस्तो देखिन्छ । फुटाउने हो भने अध्यादेश ल्याउन लगाउने आफ्नो बाटो लाग्ने । मिलाउन नसकेपछि फुटाउनु त पर्‍यो । 

जुनसुकै पक्ष पनि फुटेर जाँदा आधार त चाहिएला नि ?

सिद्धान्त र विचारविनाको एकता टिक्दैन । फुट्ने नै हो भने अहिले नै फुट्ने कि महाधिवेशनमा फुट्ने भन्ने हिसाबकिताब पनि गरिएको होला नि त ! तर पार्टी केमा मिलेको, केमा फुटेको भनेर जनतालाई भन्नुपर्छ । के मिल्दा एकता भयो, के नमिल्दा फुट्यो भनेर स्पष्ट पार्नुपर्दैन ?

तर नेताहरूले छलफल र सहमतिका लागि बैठक माग गरिरहेका छन्, अध्यक्ष ओलीलाई बैठक बोलाउन किन गाह्रो ? 

एकता सिद्धान्तमा अडिन्छ कि दिनदिनै गरिने सम्झौतामा अडिन्छ ? यसको छिनोफानो नेताहरूले गर्नुपर्छ । बिहे गरेपछि बिहे भयो । त्यही एउटा बिहेले जिन्दगी चलाउने हो । अनि हरेक दिन बिहे हुन्छ र ? बिहान उठ्नेबित्तिकै हरेक दिन सिन्दुर लगाइदिनुपर्ने, सात फेरो घुमाइदिनुपर्ने हुँदैन । एकता भएपछि त्यही आधारमा पार्टी अघि बढ्नुपर्‍यो । दिनदिनै सम्झौता खोजेर हुँदैन । बीचैमा दुर्घटना या फरक परिस्थिति भए अलग कुरा हो । 

यो एकता सिद्धान्त र विचारसहित गरेको एकता हो कि सम्झौता र लेनदेनमा गरिएको हो पहिला ठूला भनिने नेताहरूले टुंगो गर्नुपर्छ ।

पार्टी चलाउन त कमिटी बैठक बस्नुपर्ने होला, दिनदिनैका घटनाक्रमका बारेमा छलफल गरेर पार्टी अघि बढ्नुपर्ने होला । बैठक नै बस्न नमान्नु पनि गल्ती होइन ? 

मेरो यो वा त्यो भन्ने कुनै लाइन नै छैन । सिधा र स्पष्ट के हो भने सिद्धान्तका आधारमा गरेको एकता हो कि लेनदेनका आधारमा गरेको हो भन्ने मूल प्रश्न हो ? पहिला यो कुरामा प्रस्ट भएपछि बाँकी बैठक, छलफल चलिरहन्छ ।

एकता भनेको बिहे जस्तै हो भनेर मैले भनिसकेँ । अनि दिनदिनै पाखुरा सुर्केर त हुँदैन । तरकारी ल्याउन नि झगडा हुने, नून चर्को भए पनि झगडा हुने भन्ने त हुँदैन । कतिपय कुराहरूमा व्यक्तिगत र कतिपय सामूहिक समझदारीमा अडिन सक्नु परेन ? त्यस्तो कुरा परिपक्व हुँदैन । 

यो विषय लाखौँ कार्यकर्ता, लाखौँ मतदाता जोडिएको विषय हो । राति सपनामा देखेको कुरा बिहान उठेर लागू गर्नुपर्छ भनेर हिँडेर भएन । जुन भइरहेको छ खेदजनक कुरा हो । 

मतलब पार्टी एक हुने आधार तपाईंले पनि देख्नुभएको छैन ?

दुई अध्यक्ष आफैं राजी भएर एकता गरेको हो । दुई जनालाई मन पर्दा भागेर मन्दिरमा गएर बिहे गर्ने, अहिले मिलेन भने दुनियाँ साक्षी बसाल्न खोजेर भएन, कि सिद्धान्त मिलेको छैन भन्नुपर्‍यो, कि संगठन मिलेको छैन भनेर भन्नुपर्‍यो । मिलेको छैन भने त्यो मिलाउनतिर लाग्नुपर्‍यो । मिलेको छ भने त्यसअनुसार चल्नुपर्‍यो । 

पार्टीले सरकारका काममाथि भाँजो हाल्न खोजेको बुझाइ हो तपाईंको ?

कसले कति खपेर बस्ने ? इरिटेट भइसक्यो । दुवै पक्षलाई भनेको मैले । एकता हुँदा विचार र सिद्धान्तमा आँखा चिम्लेर अघि बढे । अहिले दिनदिनै समस्या छ ।  

विचार र सिद्धान्तमा एकता हुनुपर्छ भनेर तपाईंले दोहोर्‍याइरहनु भएको छ । त्यो भनेको जनताको बहुदलीय जनवाद (जबज)मा सबै एक हुनुपर्छ भन्ने हो ? 

हो । नेकपामा जबज भन्ने एउटा त्यान्द्रो छ । मैले अघिदेखि भनेको सिद्धान्त र संगठन नमिलेको कुरा त्यही हो । जबज तत्कालीन एमालेको कार्यदिशा हो । त्यसलाई छोड्न माधवकुमार नेपाल लगायतका नेताहरूले सक्नुहुन्न । पूर्वएमाले सबै जबजमै उभिने हो । 

जबज नामको पाडो च्यापेर जुनसुकै नेता अघि लाग्छ, उसका पछाडि अन्य माउहरू लाग्नुको विकल्प छैन । जबज छोडेर पूर्व एमालेका नेताहरू अन्त जाँदैनन् । 

विचारमा पहिल्यै समझदारी भएर आएको भए एउटा कुरा हुन्थ्यो होला । जबज भन्ने यस्तो लैनो पाडो छ, त्यसलाई जसले समातेर लैजान्छ, माउहरू त्यतै लाग्ने हो । यो ढिलोचाँडो पूर्व माओवादीले बुझ्नुपर्छ ।

पूर्व माओवादीले जबज त स्वीकार्न सकिन्न भनिसकेको छ त ?

त्यो दु:ख पाउने बाटो हो । 


पार्टीभित्रको संघर्ष ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो - नारायण दाहाल, अध्यक्ष, बाग्मती प्रदेश 

पार्टी त विभाजननजिक पुगेको छ भन्छन् नि, तपाईंले के देख्नुभएको छ ?

अहिलेको विषय पार्टी विभाजन गर्ने कि नगर्ने भन्ने हुँदै होइन । अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीका केही विचार, प्रवृत्ति र कार्यशैली छन्, त्यसले अप्ठ्यारो पारेको हो । केही राजदूत, केही मन्त्रीको मात्र विषय होइन । 

के हुन् प्रधानमन्त्री ओलीका कार्यशैली, जसले पार्टी एकतामै अप्ठ्यारो पारिरहेको छ ?

पहिलो कुरा त पार्टीको विचार र सिद्धान्तसँग प्रधानमन्त्रीको कार्यशैली मिलेको छैन । पछिल्लो समय भारतबाट विशेष दूत बनेर 'रअ' प्रमुख सामन्त गोयल नेपाल आएर ओलीलाई भेटे, त्यसबारेमा पार्टीलाई स्पष्ट जानकारी छैन । लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा के भइरहेको छ, त्यसको जानकारी पार्टीलाई छैन । 

अहिले सरकारले संघीय गणतन्त्र नेपाल नलेख्ने भन्ने निर्णय गरेको छ । लामो संघर्षपछि प्राप्त उपलब्धिलाई दस्तावेजबाट नै हटाउने प्रयत्न भएको मैले मानेको छु । 

प्रधानमन्त्रीले सरकारको नेकपा जसरी व्यवहार गर्नुभएको छ । हेर्दा सामान्य कुरा हो तर यो चाहिँ नेकपाको सरकार हो नि ! पार्टीले सरकार चलाऊ भनेर ओलीलाई प्रधानमन्त्री बनाएको हो । पार्टी केही होइन भनेपछि पार्टीको विचार र सिद्धान्तबाट च्यूत हुँदै गएको मान्ने कि नमान्ने ?

सरकारले त देश समृद्धिको दिशातर्फ गइरहेको दाबी गरेको छ त ?

देश सुखी र समृद्धि बनाउने त प्रधानमन्त्रीकै कुरा हो नि ! उहाँले त्यो भनिरहनु भएको पनि छ । तर जनताको जीवनमा वास्तविक परिवर्तन कति आयो त्यसको हिसाबकिताब गर्नुपर्छ । अहिले कोरोना महामारी चलिरहेको छ, सम्बन्धित निकायसँग समन्वय भएको छैन ।

जनताले आफैं उपचार गर्नुपर्छ भनेर सरकार पछि हटेको छ । त्यसको अर्थ के हो ? प्रधानमन्त्रीको चिन्तन, प्रवृत्ति र दृष्टिकोण पार्टीलाई मिनिमाइज गर्ने ढंगले अघि बढेको देखिन्छ । जसरी पार्टी र उहाँकै पनि एउटा राष्ट्रवादी छबी बनेको थियो, त्यसबाट डाइभर्ट भएको जस्तो देखिन्छ । 

त्यसको भए अहिलेको समग्र लडाईं प्रधानमन्त्री ओलीविरुद्ध हो तपाईंहरूको ?

यो लडाईं प्राविधिक रूपमा ओलीविरुद्ध होइन । उहाँविरुद्ध नभएर उहाँले देखाएको चिन्तन शैली र प्रवृत्तिविरुद्ध प्रचण्ड, माधव, झलनाथ जस्ता नेताहरूले संघर्ष गर्नुभएको छ । उहाँले प्रधानमन्त्री छोड्नुपर्छ भन्ने पनि होइन । तर पार्टीले आवश्यकता महसूस गर्छ भने म बसेर मात्र के हुन्छ भन्न किन नसकेको ?

सरकारको काममा भाँजो हालिएको छ भन्ने आरोप आउँछ प्रधानमन्त्रीका तर्फबाट, ५ वर्ष नै सरकार चलाउन दिएपछि भाँजो किन हाल्नुपर्‍यो ?

ओली प्रवृत्ति, चिन्तन र कार्यशैलीले अहिलेको अवस्था निम्त्याएको हो । चिन्तन र कार्यशैलीबीचको सम्बन्ध हुन्छ । उहाँले राम्रै काम गरेपनि चिन्तन ठीक छैन भने त्यो नराम्रो हुन्छ । राष्ट्रियता र जनजीविकाको प्रश्न सम्बोधन गर्ने हैसियत उहाँको देखिएन । 

अर्को कुरा सरकार पार्टीप्रति र पार्टी जनताप्रति उत्तरदायी हुने हो । भोलि चुनावमा जाँदा ओली र प्रचण्डभन्दा पनि पार्टीको कुरा प्रमुख ढंगले आउँछ । पार्टीप्रति उत्तरदायी नहुने र हुन नचाहने ओली प्रवृत्ति अहिलेको समस्या हो । 

फेरि पनि के स्पष्ट भएन भने, सरकार चलाउन पनि दिने अनि यो गर यो नगर पनि भनिरहने कुरा मिल्छ र ? 

पार्टी एकताताका सरकार पनि आधा आधा चलाउने सहमति भएको थियो । त्यतिबेलाको सहमतिलाई मान्ने हो भने अहिले सरकार फेरिएको हुन्थ्यो । तर पछि ल न त तपाईंले नै चलाउनुस् भनेर छाडियो । 
गत माघ महिनामा बसेको केन्द्रीय कमिटी बैठकले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गरेकै हो । तर यो काम ठीक भएन सच्याउनुपर्छ भनेर दिएको सुझाव कार्यान्वयन किन नहुने ? पार्टी नै चाहिन्न जस्तो गरेर व्यवहार किन गर्ने ?

पार्टी एकता गर्दा यी प्रवृत्तिमाथि किन आँखा चिम्लिएको तपाईंहरूले ? अढाई वर्षमै सँगै बस्न नसक्ने परिस्थिति पैदा भएको छ । यी कुरा जान्दाजान्दै एकता गर्नु भूल थिएन र ?

हामी कम्युनिस्ट द्वन्द्ववादी भएकाले उहाँमा रुपान्तरण होला भन्ने सोचियो । उहाँको प्रवृत्ति रुपान्तरण होला भनेर नै अहिले संघर्ष गरिएको छ । 

ओली पनि कार्यकारी अध्यक्ष नै हो । खासमा पार्टी भनेको त उनी पनि हैनन् र ? 

हो, पार्टी भनेको प्रचण्ड, माधव, झलनाथ र वामदेव मात्र होइन । उहाँ पनि पार्टी हो । तर पार्टी उहाँको एक्लो निर्देशनमा चल्दैन । पार्टीलाई लगाम लगाउने र मनपरी गर्ने उहाँको अधिकार क्षेत्रभित्र पर्दैन । 

त्यसो भए निकास के त ?

विधि र प्रक्रियामा चल्नुपर्‍यो, नेताहरू पार्टीप्रति उत्तरदायी बन्नुपर्‍यो । खुला दिल लिएर कमिटीमा छलफल गर्नुपर्‍यो । जसले जे भनेपनि आधिकारिक कमिटी केन्द्रीय कमिटी नै हो । केन्द्रीय कमिटीले गरेका निर्णयहरू पालना हुनुपर्‍यो ।

स्थायी कमिटी बैठकले प्रचण्डलाई पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको छ । बैठक राखेर अघि बढ्न प्रचण्ड किन नसक्नुभएको ?

प्रचण्डले बैठक राख्न नसकेको भन्ने कुरा गलत हो । बैठक राख्दा अर्का अध्यक्ष, महासचिव उपस्थित नभए पार्टी विभाजनको म्यासेज जान्छ कि भन्ने प्रचण्डको चिन्ता हो । अर्को बैठक बस्नुभन्दा अगाडि स्थायी कमिटीको बैठक हुबहु मानिदिए भइगो नि ! त्यो पनि नगर्ने, नयाँ बैठक पनि नबस्ने कुरा त भएन ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्