साहित्यकार मिलनकान्छा किरातीका तीन कविता

घाइते बन्दुक

खरिदेले किनेको खसीजस्तै हिंडेर
पूर्वी माईपोखरीको शिरदेखि
पश्चिमी मान्माको पुछारसम्म
 धेरैपटक पुगेको छु अध्याँरोसित
नौलो विहानी–जनसत्ता ल्याउन ।


Advertisement

दोरम्बा, दुनै, तीनगिरे, घर्तीगाउँ
झलझली नाचिरहन्छ विगत
मजस्तै छापामार बत्तास
झ्यालको खापा थर्काउदै छिर्छ
रातै–रातो झण्डाभित्र यो बन्दुक
परेड खेल्छ आँखामा । 

घुरमैलो तस्बिर खन्याएर
पुराना एल्बमको निस्सार बेडमा
अस्पतालको आईसियुभित्र ।


Advertisement

छातीभित्र गोलीको 
छर्रा दुख्न छाडे
बरु, 
दुखिरहन्छन् किन मुटुभित्र पीडा ?
जसको नेतृत्व 
स्वीकारेर लडियो
जिउदै पटक–पटक मरियो ।

कहिलेकाहीं आफैमाथि 
प्रश्न उठ्छ–
कस्तो मुक्तिको लागि लडियो ?
कस्को मुक्तिको लागि मरियो ?
जनताको मुक्तिको लागि लड्दा
त्यस्तो के भुल गरियो ?
म यस्तरी रुन्छु– अस्त–व्यस्त विहानी शीत ।
आफ्नो भन्नु,
हिजो नेता थिए
आज नर्स छन्
हिजो डिभिजन कमाण्डर थिए
आज डाक्टर छन् । म घाईतेसँग
बाँकी के नै छ र ?
छन् त,
 कोही भेट्न आउछन् कि भन्ने
थोरै बचेको –आशा
सर्वहारा क्रान्तिको अपाङ्ग –धुन
मुक्ति या मृत्युको अशक्त–गीत
जन्मगाउँको एकभारी –माया
अल्गो थुम्काको ढाँडमा टेकेर
अर्को थुम्काको टाउकामा टेक्ने –आकाङ्क्षा
समानताको स्वर्ग पुग्ने–सपना
कृपया ! यो सपना नेताको नासो हो ।
थप,
केही प्रियसीको याद,
छोडिगएको मुस्कान

बिर्सिएको सम्बन्ध
नेताको हाँसो
अब, एउटै चाहना
मेरी प्यारी आमा !
मेरी मुटुको टुक्रा आमा !
आमा ! यो छोरो अवश्य फर्किने छ
यदि, भाग्यले साथ दिए–सहिद भएर ।

म देश

म देश हुँ
के सहर के गाउँ ?
जहाँ चोट लगाउ
दुख्छ, एकै ठाउँ ।

मेरो छाती, पहाड
मेरो शिर, हिमाल
मेरो गोडा, तराई
मेरो शरिर, नेपाल
यहाँ,
शिर उडाउ
अथवा,
छाती छेड
अथवा,
गोडा काट
तर,
दुख्छ, मलाई ।
ए कति गर्न सक्छौ अत्याचार ?
सक्दो गर ।
यो पृथ्वी उचाल्न सक्छौभने
त्यो आकाश उप्काउन सक्छौभने
त्यो चन्द्रमा टपक्क टिपेर सुन्तलाजस्तै
कोया–कोया चबाउन सक्छौभने
टेक, मेरो शिर
कुल्च, मेरो छाती

भाँच, मेरो गोडा
तिम्रो वीरता र वैभवको
एउटा इतिहास लेख्नेछु ।
नत्र,
म देश हँु
के सहर के गाउँ ?
जहाँ चोट लगाउ
दुख्छ, एकै ठाउँ । 

भौमानको कोचिङ

तीन बर्षपछि,
सिकुवामा सुटकेस लडाउँदै
भौमान भक्कानिन्छ ।
अनि पढाउन थाल्छ
आफ्ना र अर्काको
देश र विदेश
पैसा र प्रेम
विश्वास र शङ्का
आफन्त र पराई ।
आँशु पुछ्दै
कसरी खुशीहरु सर्वस्व सुम्पेका थिए !
आज उसको छाती चिरिएको छ
मुटुमा पहिरो गएको छ । चटक्कै छोडेर जाने चिसो बताससँग
उसको गुराँसजस्ता आकृतिलाई
त्यतै कतै मक्किएको पुरानो फोटो फ्रेममा
धुलो टक्टक्याउदै

पढाईरहेछ–जीवनको धुन ।
उसले पढाएको भित्ताले बुझेन
दलीनले सुनेन
भत्किएको छानोले पनि बुझेन
बुझेन–खिया परेका हँसियाले
भुत्ते खुकुरीले
दाँत खसेका दाँदेले
मुख खिइएका हलोले
आँखा च्यातिएका डोकोहरुले कसैले पनि बुझेनन् ।
बरु,
त्यो भत्किनै लागेका घरले
सहारा माग्दै थियो
विदेश जानुको परिणाम उसैलाई पढाईरहेको थियो ।
 

कमेन्ट गर्नुहोस्