अर्जेन्टिनामा आयोजित साइकल रेस प्रतियोगितामा भाग लिएका एक सिकारु साइक्लिस्ट दुर्घटनामा परेर सिउँडीहरू भएको ठाउँमा लड्न पुगेका छन् ।
उनको जिउभरि सिउँडीका काँडा घोचिएपछि अस्पतालतिर दौडाइएको थियो ।
डिएगो मोरेनो नामक ती साइक्लिस्ट राजधानी ब्युनस आयर्सको सिटी पार्क क्षेत्रमा साइकल चलाइरहेको बेलामा लडेका थिए । उनी लडेपछि स्थानीयहरूले उनलाई सिउँडीको झाङबाट निकालेका थिए ।
उनीहरूले मोरेनोको शरीरबाट हजारौं काँडा निकाले तर थप काँडा निकाल्न मोरेनोलाई अस्पतालमा भर्ना गरियो ।
उनलाई सामान्य चोटपटक मात्र लागेको छ । चश्मा र हेल्मेटले आफूलाई अन्धो हुनबाट जोगाएको मोरेनोले बताए ।
उनले पत्रकारहरूलाई भने, ‘म अरू तीन साइक्लिस्टहरूसँग थिएँ । अन्तिममा मै थिएँ । सडकमा सानो खाल्डो रहेछ, देखिनँ । धन्य, मैले चश्मा र हेल्मेट लगाएको थिएँ । अनुहार र टाउकोमा चोट लागेन । काँडामा आँखामा पसेको भए म अन्धो हुने थिएँ ।’
मोरेनो सिउँडीको झाङबाट काँडैकाँडा सहित बाहिर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
एजेन्सी