पर्दा पछाडिका कथा–व्यथा : चलचित्रकर्मीको पुर्पुरोमा हात !

रामजी ज्ञवाली
रामजी ज्ञवाली

ज्ञवाली लोकान्तरका कला र मनोरञ्जन संवाददाता हुन् ।

स्वदेशी चलचित्र हेर्ने बानी नेपाली दर्शकसँग कमै थियो । राम्रा–राम्रा चलचित्र निर्माण भए पनि विदेशी चलचित्रप्रति दर्शकको मोह बढी देखिन्थ्यो ।

फिल्म हलमा विदेशी चलचित्र प्रदर्शनका बेला खर्लप्पै भीड लाग्ने तर नेपाली चलचित्र प्रदर्शनका बेला वास्तै नराख्ने !


Advertisement

लामै समय यी र यस्ता विषय बहसको रूपमा उठे । बहसमा चलचित्र राम्रो बनाउन सकियो भने दर्शक किन आउँदैनन् भन्ने गरियो । सोही अनुसार दर्शक तान्न नेपाली चलचित्रकर्मीहरू स्क्रिप्टमा मेहनत गर्न थाले, विदेशका अग्ला भवनअघि जम्बो टीमसहित फिल्म खिच्न पुगे ।

लण्डन, अमेरिका, अस्ट्रेलियालगायत संसारका महंगा शहरदेखि नेपालमा कसैले पनि खिच्न नसकेको स्थान मनाङ, मुस्ताङ, तिलिचोजस्ता जोखिमयुक्त ठाउँ पुगेर चलचित्र पर्दामा उतारियो ।


Advertisement

बिस्तारै दर्शक बढ्दै गए । एउटै चलचित्र प्रदर्शन गरेर १८ करोड रुपैयाँसम्म नाफा कमाउने स्थिति बनेको थियो । चलचित्र उद्योगमा लगानी गरेर राम्रैै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पछिल्ला केही चलचित्रको नाफाबाट बन्यो ।

तर एकाएक अन्य देशमा जस्तै नेपालमा पनि कोरोना भाइरस संक्रमणले महामारीको रूप लियो । गत चैत ११ गतेदेखि शुरू लकडाउनसँगै नेपालका चलचित्र हलहरू पूर्ण रूपमा बन्द भए । चलचित्र उद्योगबाट ४ हजार प्राविधिकको रोजीरोटी मात्रै खोसिएन, कोरोनाले निर्माता, निर्देशक, कलाकार लगायत अधिकांश चलचित्रकर्मीलाई बेचैन बनायो ।

अहिले झण्डै ८ महिना लामो कोरोनाको अवरोधपछि आमनागरिकको जीवन सामान्य लयमा फर्किंदैछ । सार्वजनिक क्षेत्र पुनः सञ्चालनमा हुन थालेका छन् । बजारमा चहलपहल शुरू भइसकेको छ । लामो समय कोठाभित्रै उकुसमुकुस भएर गुम्सिएका नागरिक अहिले घरबाहिर निस्किन थालेका छन् । पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । सबैजसो व्यवसाय चलमलाएका छन् । तर चलचित्र हल भने खुलेको छैन । चलचित्र उद्योग कहिलेसम्म अनिश्चित रहन्छ ? सोचनीय विषय बनिरहेको छ ।

अमेरिका, लण्डन, भारत लगायतका विभिन्न देशले कोरोना कहरबीच नै चलचित्र हल खोले । तर हल खोल्नु र नखोल्नु उस्तै भयो । लण्डनमा दर्शक नआएपछि सबैजसो हलमा चाबी लगाइयो । हलिउडको मुख्य शहर अमेरिका पनि अधिकांश हल खोलिए पनि बिजुलीको पैसा समेत तिर्न सक्ने अवस्था नभएपछि पुनः बन्द गरियो । भारतमा आधा दर्शक मात्रै राख्ने गरी हल खोल्ने नियम बनाए पनि कर्मचारीले मात्रै चलचित्र हेर्ने अवस्था आयो, सोही कारण फेरि धमाधम हल बन्द हुन थालेका छन् । सलमान खान, अक्षय कुमार जस्ता स्टारका चलचित्र दर्शकसम्म पुग्न ‘ओटीटी प्लेट फर्म’को बाटो खोज्दैछन् ।

कोरोना महामारीसँगै निम्तिएको संकटले नेपाली चलचित्रकर्मीलाई पनि चिन्तित बनाएको छ । अहिले हल खुलिहाले पनि हलमा पुगेर चलचित्र हेर्ने बानी बसालेका दर्शक तान्न निकै सकस पर्ने चलचित्र क्षेत्रका जानकारहरूको अनुमान छ । नेपालमा जनसंख्याको २ प्रतिशतले मात्रै चलचित्र हेर्ने अनुमान गरिन्छ । तर हल खुला भयो भने १ प्रतिशत दर्शक पनि हलमा आउने सम्भावना नरहेको चलचित्र उद्योगका जानकारहरू अनुमान गर्छन् ।

तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम गर्दै हल खोल्नुको विकल्प नरहेको चलचित्रकर्मीहरूको भनाई छ । सरकारले सम्पूर्ण सिनेमा घर खुला गर्न निर्देशन दिए दर्शक आउँछन् त ? सिनेमा हलमा भीडभाड हुने भएकाले कोरोनाको खोप र औषधि नबन्दासम्म संकट कायमै रहने बताइन्छ । यसरी चलचित्रकर्मीको पुर्पुरोमा हात परेको छ ।

के भन्छन् चलचित्रकर्मी ?

करोडौं रकम खर्चिएर निर्माण हुने चलचित्र सामग्री ‘एक्जिट’ हुने विन्दु फिल्म हल कहिले खुल्छ, कसरी खुल्छ र खुले भने दर्शक आउँछन् वा आउँदैनन् भन्ने कुराले चलचित्रकर्मीको ‘निद्रा हराम’ गराएको छ । चलचित्र निर्देशक दिनेश राउत भन्छन्, ‘हामी यसै क्षेत्रबाट पेट पाल्ने भएकाले कामहरू शुरू गरेका छौं । तर हल खुल्ने अनिश्चितकाल जस्तै छ । अहिले तुरुन्तै हल खुले पनि दर्शक आउँछन् भन्नेमा म पनि विश्वस्त छैन ।’

यद्यपि राउतले २ वर्षपछिका लागि भए पनि अहिले चलचित्रको छायांकन थाल्नुपर्ने बताउँछन् । उनी आफैं अभिनेता प्रदिप खड्कालाई लिएर नयाँ चलचित्र बनाउँदैछन् ।

यसअघि जनयुद्ध र विभिन्न आन्दोलनले चलचित्र क्षेत्र धरासायी भएको थियो । तर यत्तिको डामाडोल भने पहिलोपटक भएको चलचित्र विज्ञहरूले अनुमान गरेका छन् । वरिष्ठ चलचित्रकर्मी निर शाह भन्छन्, ‘अहिलेसम्म जे भयो, जसो भयो । कोरोनाको औषधि नआउँदासम्म सावधानी अपनाएर काम गर्नैपर्छ । चलचित्र उद्योगलाई पुनः पहिलाकै स्थितिमा ल्याउन सरकारले पनि धेरै कुरामा सहयोग गर्नुपर्छ ।’ 

‘सरकारले १ वर्ष लगातार लकडाउन गरेको भए चलचित्र उद्योग झन् धरासायी हुने र टेक्निसियन लगायत चलचित्रकर्मीहरू भोकभोकै मर्नुपर्ने स्थिति आउँथ्यो,’ अभिनेता पुष्प खड्का भन्छन्, ‘अब कोरोना भन्दै घरमा बस्न सक्ने कसैको स्थिति छैन । सावधानी अपनाएर काम गर्नुपर्छ ।’  अन्य देशमा जस्तो राहत, सहयोग जस्ता काममा सरकारले ध्यान नदिएको तथा अन्य सेवा सुविधामा सरकारले बेवास्ता राखेको पुष्पको गुनासो छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार संघमा स्पट ब्वाई, लाइट म्यान, मेकअप म्यान, ड्रेस म्यान, क्ल्याप ब्वाईजस्ता गरी १ हजार ५०० सदस्य छन् । ‘विकास बोर्ड र केही सम्पन्न चलचित्रकर्मीको सहयोगमा राहत पनि प्रदान गरियो,’ उनले भने, ‘उनीहरूको अवस्था अब पहिलाजस्तै हुनका लागि धमाधम काम पाउनुपर्छ । तर पहिलाजस्तो काम आएको छैन ।’ अध्यक्ष लामा अन्य देशमा सरकारले चलचित्रकर्मीलाई जसरी सहयोग गरेको छ, त्यस्तो सहयोग भने नेपालमा नभएको गुनासो गर्छन् ।

चलचित्र ‘प्रेम गीत ३’मा सन्तोष सेनले करीब ४ करोड खर्चिए । प्रदर्शनको बेला लकडाउन शुरू भयो । यसको खर्च झन् बढ्यो । सेन भन्छन्, ‘बजेट झन् बढ्यो । यसको ब्याजले झन् चिन्ता थपेको छ ।’ चैत २८ गते चलचित्र प्रदर्शन गर्ने उनको योजना थियो, सोही अनुरुप चलचित्रको प्रचार–प्रसारका लागि गीत, टिजर, पोस्टर लगायतका सामग्री सार्वजनिक गरिएको थियो । तर हल खुल्ने र दर्शक खचाखच भरिने कहिले हो पक्का छैन ।

करोडौं खर्चिएर निर्माण गरेको चलचित्रलाई हलमा दर्शक भरिभराउ हुने स्थिति नदेखिँदासम्म प्रदर्शन नगर्ने योजनामा छन् सन्तोष सेनले । उनी भन्छन्, ‘म मात्रै होइन, म लगायत अन्य केही साथीभाइले पनि राम्रै लगानीमा चलचित्र बनाउनुभएको छ । तर खर्च उठ्ने सम्भावना नरहेसम्म कसरी चलचित्र चलाउनु ?’ सेनजस्तै राम्रै लगानी गरेका धेरैजसो निर्माता पर्ख र हेरको स्थितिमा छन् । दर्शक आएको अवस्थामा मात्रै हलमा चलचित्र चलाउने, नत्र यत्तिकै थन्क्याएर राख्ने योजना रहेको देखिन्छ । 

चलचित्र निर्देशक अनुप बरालले अब के गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेर अघि बढ्नुपर्ने बताए । निर्माता, निर्देशक, कलाकार तथा सरकारीतवरबाट छलफल गरेर चलचित्र उद्योगलाई चलायमान गराउनुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘छायांकन भए पनि, सम्पादनका कामहरू भए पनि हल नखुल्दासम्म चलचित्र उद्योग ठप्प जस्तै हो । त्यसो भएकाले अब कसरी हल खोल्ने र दर्शक तान्ने यसमा फोकस हुनुपर्ने बेला भइसकेको छ ।’

कलाकार माओत्से गुरुङले सरकारले चलचित्र उद्योगको रक्षाका लागि गम्भीर हुनुपर्ने बताउँछन् । ‘म आफैं ५ वटा गुरुङ भाषाका चलचित्रको लागि डेट कुरिरहेको छु,’ उनले भने, ‘केही चलचित्रको छायांकन शुरू गर्ने योजना गराएको छु । केही चलचित्रमा आफैं अभिनय गर्दैछु । तर हल खुलेपछि र दर्शक आउन थालेपछि चलचित्रमा काम गर्ने आँट आउँथ्यो ।’

अभिनेता नाजिर हुसेनले समग्र चलचित्र उद्योगको राम्रोका लागि सरकारले चलचित्रकर्मीको पक्षमा निर्णय लिनुपर्ने बताउँछन् । हुसेन थप्छन्, ‘यो उद्योग बन्द भयो भने हजारौंको रोजीरोटी बन्द हुन्छ । यस्तो गाह्रो परिस्थितिमा पनि सरकारले सहयोग नगर्ने ?’

हल सञ्चालकको तयारी के छ ?

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्स ठप्प हुँदा करीब १ हजार कर्मचारीको जागिर धरापमा छ । अन्य हलमा कार्यरत कर्मचारीको समेत अनुमानित तथ्यांकअनुसार २ हजारभन्दा धेरै हलका कर्मचारी रोजगारविहीन जस्तै छन् । उनीहरू काममा कहिलेदेखि फर्किन्छन् भन्ने पत्तो छैन । क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगाले अहिले हल भाडा मात्रै तिरिएको अवस्थामा जतिसक्दो चाँडो हल खोल्नुपर्ने बताउँछन् । उनले भने, ‘व्यापार जे जस्तो भए पनि सरकारले छिट्टै हल खोलोस् । सरकारको निर्देशिकाअनुसार काम गर्न तयार छौं ।’

चलचित्र संघले आफूहरूलाई सरकारको सहयोग हुन नसकेको गुनासो गरेको छ । बिजुली तथा ब्याज केही महिनालाई निःशुल्क गरिदिन, बैंकमा तिर्नुपर्ने ऋणको समय केही पछि सारेर सहयोग गरिदिन संघले सरकारसँग सहयोगको अपेक्षा गरेको छ । तर अहिलेसम्म सरकारले यसका लागि पहल नगरेको संघको भनाई छ ।

सरकारले चलचित्रलाई अति प्रभावित क्षेत्रमा राखेर होटल तथा पर्यटनलाई सरह सहयोग गरे खण्डमा चलचित्र चलायमान हुने सम्बद्ध पक्षले दाबी गरेका छन् । गत वर्ष फागुन १६ गतेसम्म ५६ वटा चलचित्र प्रदर्शन भएका थिए । २०७५ सालमा भने ९६ वटा चलचित्र प्रदर्शन भए । तर २०७७ सालमा भने चलचित्र प्रदर्शन हुने सम्भावना एकदमै कम रहेको अनुमान गरिएको छ ।

चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले चलचित्र उद्योगलाई उद्योगको मान्यता दिए पनि राहत, विभिन्न सेवा सुविधामा वास्तै नराखेको गुनासो गरेका छन् । महासचिव शर्मा भन्छन्, ‘चलचित्रभन्दा बढी मान्छेको चहलपहल हुने ठाउँ खुलिसके । अब हल खोल्नुपर्छ । हलवालाले सुरक्षित तरिकाले चलचित्र देखाए भएन ?’

क्यूएफएक्स सञ्चालक भास्कर ढुंगानाले हल व्यवसायीले १ रुपैयाँ व्यापार विना करोडौं नोक्सान व्यहोरिरहेका बताए । हल नखुल्दा उठीबास हुने अवस्था आएको ढुंगानाको गुनासो छ । अब केही समयभित्रै हल नखुल्ने र दर्शक आउने स्थिति नबनेको अवस्थामा धेरै हल सञ्चालक हल छाड्ने र चलचित्र उद्योग झन् पछि धकेलिने उनको कुरा छ ।

अधिकांश हल सञ्चालकले स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । तर स्वयं हल सञ्चालकहरू भने हल खुलेपनि दर्शक आउनेमा भने पूर्ण विश्वस्त छैनन् ।

तत्कालै दर्शक आउने सम्भावना छैन : नकिम उद्धिन, निर्देशक, क्यूएफएक्स

कोरोनाका कारण अन्य देशमा जस्तै नेपाली चलचित्रलाई पनि नराम्रोसँग प्रभावित पारेको छ । नेपालमा लकडाउन त खुल्यो तर हल खुला भएको छैन । मैले भारत र बाहिरका केही चलचित्रकर्मीसँग कुरा गरेको थिएँ, त्यहाँ हल खुला भए पनि दर्शक नआएकाले बन्द गर्नुको अर्को विकल्प नदेखेको बताएका छन् । नेपालमा पनि हल खुलेको अवस्थामा नयाँ चलचित्र प्रदर्शन गर्न निर्माताहरू तयार हुन्छन् जस्तो मलाई लाग्दैन । कतिपयले गर्लान् त्यो अर्कै कुरा भयो । नयाँ चलचित्र प्रदर्शन गर्न नपाएपछि हल खोल्नुको औचित्य नै भएन ।

केही पुराना चलचित्र चलाएर हलको खर्च बढाउनुबाहेक अरु केही हुन्छ जस्तो लाग्दैन । हामी हल खोल्न त तयार छौं तर मलाई के लाग्छ भने कोरोनाको भ्याक्सिन नआएसम्म सिनेमा बजारको हालत खराब हुने देखेको छु । अझै १ वर्ष दर्शक हलमा आउने सम्भावना एकदमै कम देखेकाले सरकारले हल सञ्चालकको पक्षमा केही सहयोग गरिदिनुपर्नेछ ।

जोखिम बहन गर्ने जिम्मा निर्माताहरूकै हो : आकाश अधिकारी, चलचित्र निर्माता संघ नेपाल

जतिसुकै प्रविधिको जमाना आए पनि नयाँ चलचित्र ठूलो पर्दामा हेर्नुको मज्जा छुट्टै हुन्छ । दर्शक पनि नयाँ चलचित्रका लागि ठूलो पर्दा नै खोज्ने गरेका कारण संसारभर हलहरूको तीब्र विकास भएको हो । तर कोरोनाका कारण सबैभन्दा प्रभावित उद्योग चलचित्र उद्योग बनेको छ । सरकारले चलचित्र प्रदर्शनका लागि बाटो खुला गरिदिनुपर्छ ।

सरकारले छिट्टै हल खोल्ने सम्भावना देखेको छु । हल खुल्नासाथ नयाँ र राम्रा चलचित्र आवश्यक पर्छ । तर केही समय दर्शक आउने सम्भावना कम छ । सोही कारण आफ्नो बजेट हेरेर कुन चलचित्र चलाउन ठीक हुन्छ, कुन हुँदैन भनेर स्वयं निर्माताले निर्णय लिनुपर्ने अवस्था आएको छ । नयाँ चलचित्र नभई दर्शक हलमा आउँदैनन् । नयाँ चलचित्रका निर्माताले  निर्माण खर्च उठ्ने आशा नभएका कारण यो पनि सम्भावना एकदमै कम छ ।

निर्माता संघको पहलमा चलचित्र विकास बोर्डले अहिले केही टेलिभिजनमा ५०–६० प्रतिशत छुट गरेर विज्ञापनमा छुट गराउने योजना ल्याएको छ । नेपाल चलचित्र निर्माता संघले लुम्बिनी फाइनान्ससँग मिलेर पूर्ण लगानीको १ प्रतिशत प्रोजेक्ट इन्सुरेन्स गरिदिने निर्णय भइसकेको छ । यो इन्सुरेन्स २०७७ सालसम्म रहने निर्णय भए पनि हामीले २०७८ सालमा पनि गरिदिन अनुरोध गरेका छौं । यी कुराले थोरै भए पनि राहत हुने अनुमान गरेको छु ।

हाल छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम भइरहेका फिल्म ४० को हाराहारी छन् । छायांकन क्रम रोकिएका र छायांकनमा जान नपाएका ५० जति छन् । तर केही चलचित्र छायांकनमा गएका छन् । मेरो बुझाइ अनुसार अहिले ५० करोडको हाराहारी खर्च धरापमा छ ।

‘पावर फूल’ भएन ‘डिजिटल प्लेटफर्म’

विश्व बजारमा ‘डिजिटल प्लेटफर्म’ राम्रै फस्टाइरहेको छ । तर नेपालमा डिजिटल प्लेटफर्म पावरफूल हुन सकेको छैन । यूट्युबले मात्रै चलचित्र निर्माताको खर्च फिर्ता हुने सम्भावना छैन । केही वर्षअघिसम्म राम्रै चलेको भनिएको आइफ्लिक्स बन्द भयो । एनसेलले सञ्चालनमा ल्याएको आइफ्लिक्सबाट मुनाफा कमाउन नसकेपछि ३ वर्षे सम्झौता नसकिँदै एनसेलले बन्द गरेको थियो ।

भारतमै अमिताभ बच्चन, आयुष्मान खुरानाका चलचित्र डिजिटल प्लेटफर्ममै रिलिज भए । सुशान्त सिंह राजपुतकै अन्तिम चलचित्र डिजिटल प्लेटफर्ममै रिलिज भयो । अक्षयकुमार, अजय देवगनजस्ता स्टारका चलचित्रले पनि सिनेमा हलको विकल्प खोजे । तर नेपालमा भने चाहेर पनि डिजिटल प्लेटफर्ममार्फत चलचित्र प्रदर्शन गर्ने सम्भावना छैन । 

केही समयअघि मात्रै अभिनेत्री ऋचा शर्मालगायत टीमले चलचित्र टीभी एप सार्वजनिक गरेको थियो । तर यो एप पनि खासै चलेन । अभिनेत्री ऋचाकै अनुसार नयाँ चलचित्र शुरूमा आफ्नो एपमा सार्वजनिक नगर्दासम्म एप सोचेजस्तो सफल नहुने बताउँछिन् । लकडाउनपछि फिल्म क्षेत्र चलायमान राख्न केही निर्माताले डिजिटल माध्यमबाट चलचित्र प्रदर्शन गर्ने प्रयास नगरेका पनि होइनन् । तर आर्थिक हिसाबले लगानी फर्किने सम्भावना नरहेपछि यो बहस सेलायो । यस्तो कठिन परिस्थितिमा पनि डिजिटल प्लेटफर्म पावर हुन नसक्दा महंगो बजेट खर्चिएर निर्माण गरिएका चलचित्र हलकै प्रतिक्षामा छन् ।

के भन्छ विकास बोर्ड ?

चलचित्र विकास बोर्डले लकडाउनपछि नेपाली चलचित्र क्षेत्रमा १२ हजारभन्दा बढी श्रमजीवी फिल्मकर्मी प्रभावित भएको जनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाबाट प्रभावित नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गर्न सरकारले पहल गरिरहेको जानकारी दिए । श्रमजीवी फिल्मकर्मीदेखि निर्माण, प्रदर्शन र निर्माता लगायतलाई राहतका लागि पहल भइरहेको छ,’ उनले भने, ‘कतिपयलाई सहयोग भइसकेको छ भने कतिपयलाई हुने क्रममा छ ।’ बोर्ड अध्यक्ष दाहालका अनुसार अन्य व्यवसाय जस्तै चलचित्र क्षेत्र नरहेकाले हल खोल्न र चलचित्र चलाउन निर्माता र हल सञ्चालक समेत तयार हुनुपर्छ ।

नेपालभर ११५ वटा हलमा ७० हजारभन्दा धेरै दर्शक एकैपटक अट्न सक्ने क्षमता छ । विदेशी चलचित्र प्रदर्शन गरेर वार्षिक १० करोडभन्दा धेरै चलचित्र विकास शुल्क आउँछ । उत्तिकै मात्रामा राजस्व उठ्ने गरेको छ । नेपाली र हलिउड तथा बलिउडका चलचित्रबाट मासिक २० करोडभन्दा धेरैको व्यवसाय हुने गरेको थियो । लकडाउनसँगै देशभर फिल्म प्रदर्शन र हलको व्यापारमा मासिक अनुमानित करीब २० करोड रुपैयाँ नोक्सान परेको छ ।

हल खुल्ने अनिश्चितकाल जस्तै छ । हल खुला भयो भने दर्शकलाई आकर्षित गर्ने सरकारी कुनै तयारी छैन । विश्व चलचित्र बजारमा कोरोना महामारीबीच हल खुला भएपछि दर्शकले देखाएको प्रतिक्रियाबाट नेपाली चलचित्रकर्मीहरू चिन्तित छन् । चलचित्र बजारमा अहिले चलचित्र उद्योगलाई लिएर फेरि अर्को बहस हुन थालेको छ, चलचित्र हलमा गएर फिल्म हेर्ने सिस्टम बिस्तारै हराउने त हैन ? यदि कोरोनाको महामारी रहिरह्यो भने हलमा गएर चलचित्र हेर्ने चलन हराउन सक्ने विज्ञहरूको अनुमान छ ।

रामजी ज्ञवाली
रामजी ज्ञवाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्