अमेरिकी लोकतन्त्र संकटमा : ट्रम्पले हार स्वीकार गर्न नमान्नुमा के हो भित्री कारण ?

तस्वीर स्रोत : जुलियो कोर्टेज/एसोसिएटेड प्रेस

अघिल्लो साता जो बाइडनलाई अमेरिकाको राष्ट्रपति निर्वाचनको विजेता घोषणा गरेपछि अनिश्चितता हटेको भनी संसारले अपेक्षा गरेको थियो । तर यो सामान्य समय हैन र डोनल्ड ट्रम्प परम्परागत राष्ट्रपति हैनन् । 

राजनीतिक प्रक्रियाको एक अंगका रूपमा रहेको हार स्वीकारलाई धाँधली गरिएको र निर्वाचन हडपिएको भन्ने आधारहीन आरोपले प्रतिस्थापन गरेको छ । ट्विटरमा चिच्याउने र वाशिङटनमा लाखौं समर्थकको भीड जुटाउने काम ट्म्पले गरेका छन् । 


Advertisement

उम्मेदवारहरूले निर्वाचन परिणामलाई चुनौती दिने उपयुक्त थलो अदालत हो । तर कानूनी प्रक्रिया थाल्नका लागि अवैध काम भएको प्रमाण प्रस्तुत गर्नुपर्छ । ट्रम्पको निर्वाचन अभियानले खासै प्रमाण प्रस्तुत गर्न सकेको छैन । 

प्रश्न उठ्छ– ट्रम्पले कहिलेसम्म यसलाई तन्काइरहन सक्छन् ? अझै महत्त्वपूर्ण कुरा– यसको अन्तिम लक्ष्य के हो ?


Advertisement

ट्रम्प अभियानले राज्य र संघीय अदालतहरूमा अनेकौं मुद्दा दायर गरेको छ । जर्जिया र मिशिगनमा दायर गरिएका मुद्दालाई तत्कालै खारेज गरियो । 
 

पेन्सिल्भेनियामा रिपब्लिकनहरूले फिलाडेल्फियामा मतगणना रोक्नका लागि मुद्दा दायर गरेका थिए । ट्रम्प अभियानका अधिकारीहरूलाई मतपत्र गन्ने प्रक्रियामा नजिक जान नदिइएको उनीहरूको तर्क थियो । 

यस विषयमा न्यायाधीशले प्रश्न गर्दा ट्रम्प अभियानका वकिलहरूले रिपब्लिकन पार्टीका पर्यवेक्षकहरू मतगणनास्थलमा रहेको स्वीकार गरे । हैरान भएका न्यायाधीशले उनीहरूलाई सोधे, ‘माफ गर्नुस्, त्यसोभए तपाईंको समस्या के हो त ?’
 

पेन्सिल्भेनियाको संघीय अदालतमा दायर गरेको अर्को मुद्दामा ट्रम्प अभियानले हुलाकमार्फत भएको मतदान संविधानको समान संरक्षण प्रावधानविपरीत जाने जिकिर लियो जसको कुनै आधार छैन । 

यस्ता र अन्य उपाय अपनाए पनि रिपब्लिकनहरूले निर्वाचनको परिणाम उल्ट्याउन सक्ने कुनै सम्भावना छैन । अनि प्रश्न उठ्छ– यिनीहरूको लक्ष्य के हो त ?

ट्रम्पलाई हार पटक्कै मन पर्दैन भन्ने एउटा बनिबनाउ उत्तर हुन सक्छ । तर कुरा यतिमा मात्र टुंगिँदैन । ट्रम्प पक्षले कानूनी बाधा तेर्स्याउने उपायका पछाडि जनवरी ५ मा हुने सिनेटको निर्णायक (रनअफ) निर्वाचन प्रमुख कारण हो । 
 

जर्जिया राज्यको कानूनअनुसार, राज्यको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेमा शीर्ष दुई उम्मेदवारबीच रनअफ निर्वाचन गराउनुपर्छ । 

अहिले सिनेटमा रिपब्लिकनहरूको ५० सीट छ भने डेमोक्रेटहरू ४८ सीटमा छन् (सिनेटमा बहुमतका लागि ५१ सीट आवश्यक हुन्छ) । जर्जियाका दुई रनअफहरूका विजेताले सिनेट कसको नियन्त्रणमा रहने भनी निर्धारण गर्छन् । 
 

रिपब्लिकन सिनेटरहरूले हालैका दिनमा लिएको अडानको कारण नै यही हो । उनीहरू ट्रम्पको कानूनी चुनौतीलाई समर्थन गरिरहेका छन् र बाइडनलाई विजयको शुभकामना पनि दिइरहेका छैनन् । साउथ डकोटाका रिपब्लिकन सिनेटर जोन थुनले सीधै भने, ‘हामीलाई ट्रम्पका मतदाता चाहिन्छन् । उनले हामीलाई जर्जियामा सहायता गरून् भन्ने चाहना छ ।’
 

बाइडनको कार्यकाल सफल बनाउन सिनेटको प्रमुख भूमिका छ । रिपब्लिकनहरूको नियन्त्रणमा सिनेट पुगेमा बाइडनले अर्थतन्त्र, जलवायु परिवर्तन वा स्वास्थ्य सेवामा आफूले चाहेमुताबिकको नीति अवलम्बन गर्न पाउँछन् अनि सर्वोच्च अदालतमा आफूअनुकूलका न्यायाधीशहरू बढाउने डेमोक्रेटहरूको क्षमता बढ्छ । 

त्यसैले रिपब्लिकन पार्टीको ध्यान जर्जियातर्फ केन्द्रित हुँदै गएको स्पष्ट छ । सिनेटका दुई रिपब्लिकन उम्मेदवारहरूले जर्जियाका स्टेट सेक्रेटरीको राजीनामा मागेका छन् र राज्यमा धाँधली भएको भन्ने ट्रम्पको आधारहीन दाबीलाई दोहोर्‍याएका छन् । 
 

एट्लान्टा जर्नल–कन्स्टिच्युसन पत्रिकाका अनुसार, ट्रम्पलाई फकाउनका लागि उनीहरूले यसो गरेका हुन् । उनीहरूका विरुद्ध ट्रम्पले नकारात्मक ट्वीट गरिदेलान् र उनीहरूलाई महत्त्वपूर्ण रनअफ निर्वाचनअघि ट्रम्पको मताधारबाट टाढा पारिदेलान् भन्ने डरले गर्दा ट्रम्पको चाकरी उनीहरूले गरेका हुन् । 

यी सबै प्रयासहरूको एउटा लक्ष्य छ ः जर्जियाको रनअफ निर्वाचनमा बाइडनलाई मात्र नभई निर्वाचन प्रक्रियालाई नै अवैध ठहर गर्नका लागि ट्रम्पको मताधारलाई थप जाँगरिलो बनाउनु । 

यसको दीर्घकालीन परिणाम महत्त्वपूर्ण छ । अमेरिकामा अहिले नै कटु विभाजनको स्थिति छ जुन कुरा डेमोक्रेट र रिपब्लिकन दुवै पक्षलाई मत दिनका लागि ठूलो संख्यामा मतदाता आएकोबाट साबित भएको छ । ट्रम्पले आफ्नो दाबीमा अडिग रहने र सजिलै पदत्याग नगर्ने स्थितिमा यो विभाजन झनै गहिरिन्छ । 
 

रिपब्लिकन र डेमोक्रेटहरूलाई एकताबद्ध गर्ने भनी बाइडनले विजयी भाषणमा निर्धारित गरेको प्रमुख लक्ष्य हासिल गर्न यस विभाजनले रोक्नेछ । 

देशको आधा जनसंख्याले निर्वाचन ट्रम्पबाट हडपिएको भन्ने दाबी पत्याइरहने हो भने अमेरिकामा लोकतन्त्र क्षयीकरण हुँदै जाने जोखिम छ । 

अस्ट्रेलियाको वोलोङगोङ विश्वविद्यालयका सहप्राध्यापक मार्कस वाग्नरले द कन्भर्सेसनमा प्रकाशन गरेको विश्लेषणको नेपाली अनुवाद लोकान्तरका लागि विन्देश दहालले गरेका हुन् । 

कमेन्ट गर्नुहोस्