कोरोनाको कालो बादलमा चाँदीको घेरा: कस्ता छन् ९०% भन्दा बढी सफल भएका खोप, कहिले आउँछ बजारमा ?

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना महामारी शुरू भएको एक वर्ष पूरा भएको छ । यो एक वर्ष विश्वका लागि निकै पीडादायक तथा अकल्पनीय रह्यो । खानपिन, बसाइ, रहनसहन, पठनपाठन, आयआर्जनदेखि विश्वका आममानिसमा असुरक्षाबोधजन्य शारीरिक, मानसिक, भौतिक, सामाजिक तथा राजनैतिक असर नमीठो ढंगले ढंगले भोग्नुपर्‍यो । महामारीको कारण संक्रमितको संख्या कति पुग्ने हो ? मृतकको संख्या कति पुग्ने हो ? यी सबाल अझै अनुत्तरित छन् ।

कोरोना महामारीको कारण छुटेका रोजगारी, विस्थापन भएका व्यवसाय, अनिश्चित क्यारियर, बढ्दो गरिबी तथा आम मान्छेको व्यवहारमा आएको परिवर्तन पुरानो शैलीमा फर्किन असम्भव छ । यो महामारीको अन्त्यसंगै हरेक व्यक्ति, परिवार, समाज, राष्ट्र तथा विश्वमा ठूलो उथलपुथल हुनेछ जसले गर्दा हाम्रो जीवन थप स्वस्थ, थप परिष्कृत एवं थप उज्यालो हुनेछ ।


Advertisement

महामारी अन्त्यका लागि खोप सर्वाधिक प्रभावकारी उपाय हो । इतिहासमा चलेका धेरै महामारी खोपका कारण अहिले सामान्य रोग बनेका छन् । प्रभावकारी खोपको आविष्कारपछि कोरोना संक्रमण पनि भविष्यमा सामान्य रोग हुनेछ ।

खोप स्थापित हुनका लागि सामान्यतया ४ देखि १० वर्ष लाग्दछ । यो वैश्विक महामारीको कारण हरेक देश प्यारालाइज भएको हुँदा फास्ट ट्रयाकमा खोपको काम भइरहेको छ । फास्ट ट्रयाकमा काम गर्ने अनुमति, अपार धनराशिको खर्च तथा हरेक विकसित देशले प्राथमिकतामा राखेको हुँदा एक वर्षमा खोप निर्माणले फड्को मारेको छ ।


Advertisement

विश्व स्वास्थ्य संगठनका अनुसार २१२ प्रयोगशालामा खोपको काम भइरहेपनि आजको मितिसम्म ३८ वटा कम्पनीका खोप पहिलो चरणमा, १७ वटा कम्पनीको खोप दोस्रो चरणमा, १२ वटा कम्पनीको खोप तेस्रो चरणमा तथा ६ वटा खोप सीमित भ्याक्सिनेसनमा पुगिसकेका छन् । एकाध महिनाको फरक होला, करीब एक दर्जन खोप केही महिनापछि सीमित उत्पादनमा सहभागी हुनेछन् भने विश्वलाई पुग्नेगरि खोप उत्पादन हुन अझै एक वर्ष लाग्नेछ । चीन, रूस, अक्स्फोर्ड, जोन्सन एन्ड जोन्सन लगायतका ४-५ वटा भ्याक्सिनको पनि प्रभावकारिता राम्रो आयो भने सबै कम्पनीको जोडेर सन् २०२१ को अन्त्यसम्ममा लगभग सबैलाई दिन पुग्ने भ्याक्सिन बनाउन सकिन्छ भन्ने आशा गरिएको छ। 

भ्याक्सिनको एलायन्स गाभी, सेपी र डब्लुएचओको यो अभियानले सन् २०२१ को अन्त्यसम्म दुई अर्ब डोज भ्याक्सिन वितरण गर्ने लक्ष्य राखेको छ। 

तेस्रो चरणको क्लिनिकल ट्र्यालको दौडमा अमेरिका र जर्मनीको संयुक्त कम्पनी फाइजर / बायोंटेकले रिबन चुमेको छ । यो खोप ४३ हजार ५ सय जना व्यक्तिमा गरिएको तेस्रो चरणको क्लिनिकल ट्र्यालमा ९० % सफलता मिलेको छ । खोपको भण्डारण तथा परिवहन माइनस ७० – ८० डिग्री सेल्सियसको ‘अल्ट्रा कोल्ड चेन' मा गर्नुपर्ने भएकाले नेपालजस्ता अल्प विकसित राष्ट्रका लागि यो खोप त्यति उपयोगी देखिएको छैन । यो खोप ३ हप्ताको फरकमा २ पटक लगाउनुपर्दछ ।

फाइजर कम्पनीको खोपको घोषणा लगत्तै रुसले आफ्नो खोप ९२ % सफल भएको दाबी गर्‍यो । रुसले अगस्त ११ मा नै कोरोना संक्रमणको खोप स्पुत्निक भी पत्ता लगाएको भनेर भनेको तथा यो पटक पनि तथ्यांक विना बोलेको हुँदा वैज्ञानिक जगत अहिल्यै विश्वस्त देखिँदैन ।

पछिल्लो समाचारमा आएको अमेरिकाको मोडेर्ना कम्पनीको खोपले भने आशाको सञ्चार गरेको छ । ३० हजार व्यक्तिमा तेस्रो चरणको परीक्षण सम्पन्न गरेको मोडेर्नाले आफ्नो खोप ९४.५ % सफल भएको तथ्यांकसहित दाबी गरेको छ ।

यो खोपलाई माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने, मानइस २ देखि माइनस ८ डिग्रीमा १ महिना राख्न सकिने तथा सामान्य तापक्रममा २४ घण्टा राख्न सकिने छ । यो खोप नेपालजस्ता अल्प विकसित मुलुकका लागि उपयोगी देखिएको छ । मोडेर्नाको खोप ४ हप्ताको अन्तरालमा २ पटक लगाउनुपर्दछ ।

अबको केही हप्तामै अक्सफोर्ड युनिभर्सिटी / एस्ट्रेजेनेकाको तेस्रो चरणको नतिजा आउनेछ । संसारले सबैभन्दा बढी आशा गरेको यो खोपले भारत लगायत विभिन्न देशमा खोप उत्पादनको प्लान्ट स्थापना गरेको छ ।

 यही दौडमा अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीको खोप पनि छ । यो कम्पनीले ३० हजार व्यक्तिमा गरेको तेस्रो चरणको नतिजा छिट्टै सार्वजनिक गर्नेछ । त्यस्तै अमेरिकाको नोभाम्याक्स कम्पनीको खोप पनि धेरै अगाडि बढेको छ ।

चीनले निर्माण गरिरहेका सिनोफाम, सिनोभ्याक तथा कान्सिनो बायोलोजिकका खोप पनि तेस्रो चरणको ट्र्यालमा छन् । सिनोभ्याक लगाएपछि ब्राजिलमा एक जनाको मृत्यु भएपछि त्यहाँ यसको क्लिनिकल ट्र्याल रोकिएको छ । उक्त मृत्यु खोपको कारण भएको हो कि अन्य कारणले भएको हो भनेर अनुसन्धान भइरहेको छ । आगामी २ महिनाभित्र चीनका ४ वटा खोप सफल हुने चीनको दावी छ । चीनले ठूलो मात्रामा खोप उत्पादन गर्ने जनाएको छ ।

योबाहेक फ्रान्स, अष्ट्रेलिया, भारत लगायतका देशमा पनि खोप मध्यम गतिमा छन् ।

अमेरिका तथा बेलायतमा उत्पादन भइरहेका खोप ती देशले ठूलो संख्यामा बुकिङ गरिसकेका छन् । कोरोना महामारीले हरेक देशको अर्थतन्त्र तथा राजनीति समेत उथलपुथल भएको हुँदा खोप आउनेबित्तिकै विकसित मुलुकले ठूलो धनराशि खर्च गरेर खरिद गर्नको लागि साम, दाम, दण्ड तथा भेद अपनाउने छन् । यस्तो नहोस् भन्नका लागि गाभी, कोभ्याक्स, सेपी, विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायतका संस्थाले अल्पविकसित राष्ट्रका लागि सुपथ मूल्यमा खोप उपलब्ध गराउन लबिङ गरिरहेका छन् । खोप उत्पादक देशले खोप कूटनीति, खोप राजनीति तथा व्यापारलाई सँगसँगै बोक्नेछन् । यो अवस्थामा खोपका लागि थप ध्रुवीकरण हुने देखिन्छ ।

बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनकी सह-संस्थापक मेलिन्दा गेट्स (जसले अल्प विकसित राष्ट्रमा सस्तो मूल्यमा खोप उपलब्ध गराउन ठूलो धनराशि सहयोग गरेकी छन्), ले खोप वितरणमा राष्ट्रवाद वा धनी / गरीब राष्ट्र नहेरेर समान रूपमा खोप उपलब्ध गराउन आग्रह गरेकी छन् । उनले भनेकी छन् – 'यदि खोप समान रूपमा वितरण गरेनौं भने हामी अष्ट्रेलिया र न्यूजिल्याण्डको स्थितिमा पुग्नेछौं जसले आफ्नो जनसंख्यालाई कोभिडबाट बचाउन उल्लेखनीय काम त गरेका छन् तर ती देशमा प्रवेश गर्ने मानिससँगै भाइरसको पुनः आयातको सामना गरिरहेका छन् । त्यसैले यो भाइरससित लड्न विश्वव्यापी एकता र सहयोग गरेर यो स्वास्थ्य संकटबाट बाहिर निस्कनु पर्छ”।

खोपले कसरी काम गर्छ ?

मानव शरीरलाई हानी नगर्ने गरी भाइरसको अंशलाई सुइमार्फत हाम्रो शरीरमा प्रवेश गराएर खोपको निर्माण गरिन्छ । उक्त अंशसंग लड्नका लागि हाम्रो शरीरले प्रविधि सिक्दछ र यदि भविष्यमा कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्‍यो भने हाम्रो शरीरले लड्ने प्रविधि सिकेको हुँदा कोरोना भाइरसलाई नष्ट गर्दछ ।

यसपटक फाइजर / बायोंटेक र मोडेर्नाले नयाँ प्रविधि मार्फत खोपको विकास गरेका छन् । यसलाई आरएनए भ्याक्सिन भनिएको छ । यो प्रविधिमा कोरोना भाइरसको जेनेटिक कोडलाई मान्छेको शरीरमा प्रवेश गराइन्छ, ताकि यसले हाम्रो इम्युन सिस्टमलाई तालिम प्रदान गरोस् ।

अक्सफोर्ड र रसियन खोपले चिम्पान्जीलाई संक्रमण गर्ने तर मानवलाई हानि नगर्ने भाइरसमा अनुवंश परिवर्तन गरिएको कोरोना भाइरसलाई प्रयोग गरेका छन् ।

जोन्सन एण्ड जोन्सन कम्पनीको जान्सेन खोपमा सामान्य रुघाको भाइरसलाई हानिकारक रूपमा मोडिफाई गरेर तथा मोलिकुलर लेभलमा कोरोनाभाइरस जस्तो बनाएर खोप निर्माण गरिएको छ । यसले हाम्रो इम्युन सिस्टमलाई कोरोना भाइरस चिन्न तथा त्यसलाई प्रतिकार गर्न तालिम दिलाउँछ ।

चीनका २ वटा ठूला खोपमा ओरिजिनल कोरोना भाइरसलाई निष्क्रिय बनाएर खोपको रूपमा शरीरभित्र प्रवेश गराइन्छ जसले गर्दा कोरोना संक्रमण हुन पाउँदैन ।

नेपालले खोप कहिले पाउला ?

खोप कम्पनीहरूले आगामी डिसेम्बरको अन्त्यसम्म केही करोड डोज खोप उत्पादन गर्नेछन् भने आगामी फेब्रुअरीसम्म अल्पविकसित राष्ट्रले सीमित खोप प्राप्त गर्ने सम्भावना छ । सीमित खोप उत्पादन र वितरण भएपछि उक्त खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, ६५ वर्ष माथिका जेष्ठ नागरिक, दीर्घबिरामी, बालबालिका, शिक्षक आदिलाई दिइनेछ । जोखिम वर्गलाई बचाउन सकियो भने सक्रिय उमेरका व्यक्तिलाई दोस्रो चरणमा खोप दिँदा मृत्युलाई न्यूनीकरण गर्न सकिन्छ ।

पहिलो चरणको खोप नेपालले पहल गर्ने हो भने अन्तराष्ट्रिय संस्थाबाट नि:शुल्क वा एकदम सुपथ मूल्यमा पाउनेछ । दोस्रो चरणमा आम नागरिकलाई दिने खोपका लागि नेपाललाई भू-राजनीतिले साथ दिएको छ । चीनले ठूलो मात्रामा खोप उत्पादन गर्नेछ । चीनको खोप अमेरिका, युरोप, भारत, अष्ट्रेलिया, जापान, कोरिया आदिले किन्ने सम्भावना न्यून छ । रुसले आफैँ खोप निर्माण गरिरहेको छ । संसारमा महामारी फैलाएको भनेर अधिकांश देशले चीनलाई आरोपित गरेको समयमा चीनले एसियाका साना देश, अफ्रिका तथा ल्याटिन अमेरिकामा खोप वितरण गर्ने रणनीति बनाउनेछ । नेपालले समुचित पहल गर्‍यो भने चीनबाट नि:शुल्क वा न्युनतम शुल्कमा छिटो खोप पाउने सम्भावना छ ।

अहिले खोप व्यवसायीको ध्यान भारतमा केन्द्रित छ । १ अर्ब ३५ करोड जनसंख्या भएको भारत खोप उत्पादकका लागि सबैभन्दा ठूलो बजार हो । यसैले पनि बेलायतको एस्ट्राजेनेकादेखि रुसको स्पुत्निक भीसम्मले भारतमा खोपको प्लान्ट स्थापना गरेर एसियाका लागि भारतमै उत्पादन गर्ने जनाएका छन् । यीबाहेक अन्य अमेरिकी कम्पनी पनि भारतसँग सहकार्य गर्न इच्छुक छन् । त्यस्तै भारत आफैँ पनि खोप निर्माणको चरणमा छ । भारत बायोटेकले २६ हजार व्यक्तिमा तेस्रो चरणको परीक्षण शुरू गरेको छ । कोभ्याक्सिन भारतमा उत्पादन भएको पहिलो खोप हो । भारतले आफ्ना छिमेकी देश खास गरेर नेपाल, भुटान, बंगलादेश र माल्दिभ्समा ‘खोप कूटनीति' अवलम्बन गरेर जनस्तरमा सम्बन्ध प्रगाढ गर्ने अवसरको रूपमा लिएको छ । यसरी भारतसँगको सुमधुर सम्बन्ध नेपालका लागि फाइदाजनक हुनेछ ।

नेपाल सरकारले खोप आयात गर्नका लागि मुख्यसचिव, स्वास्थ्य सचिव र परराष्ट्र सचिवको समिति बनाएको छ भने खोप खरिद गर्नका लागि अध्यादेशमार्फत बाटो खोलेको छ ।

नेपालले तुरुन्त सातै प्रदेशमा खोप भण्डार गर्ने संरचना ( चिस्यान केन्द्र ), अल्ट्रा कोल्ड चेन प्रबन्ध गर्न सक्ने एम्बुलेन्स, खोप केन्द्रको स्तरवृद्धि, आवश्यक तालिम लगायतको तयारी गर्नु जरुरी छ ।

चार / पाँच हजार पर्ने रेमडेसेभिरलाई लाखको दरले कालोबजारी गरेको सन्दर्भमा कोरोनाको खोपलाई असुरक्षित ढंगले झोलामा ल्याएर ‘ब्ल्याक मार्केट' सिर्जना गर्ने प्रयासलाई सरकारले कडाइ गर्नुपर्ने हुन्छ । त्यस्तै स्वास्थ्य मन्त्रालय र ओम्नी समूह मिलेर ठूलो अनियमितता गरेझैं अप्रमाणित खोप वा कमसल कम्पनीको खोप खरिदमा ठूलो चलखेल हुनसक्छ । यो चलखेलले एकातर्फ देशलाई टाट पल्टाउने खतरा कायम रहन्छ भने अर्कातर्फ कमिसनको लागि किनेको असुरक्षित खोपले काम नगरेर महामारी झन् फैलिन सक्छ । यो जोखिमलाई हरेक सचेत नागरिकले छिद्रान्वेषण तथा खबरदारी गर्नु जरुरी हुन्छ । स्तरीय कम्पनीसँग जीटुजी प्रक्रियाबाट खरिद गर्ने काम बढी पारदर्शी एवं स्तरीय हुनेछ ।

खोप वितरणको वैज्ञानिक र न्यायसंगत प्रणाली स्थापना नगरे जोखिम वर्गका लागि आएको खोप कार्यकर्ताको पाखुरामा पुग्ने सम्भावना धेरै हुन्छ ।

आंकलन गरिएको छ, जसरी कोरोना महामारीले विश्वका विभिन्न देशको राजनैतिक उथलपुथल भएको छ, त्यसरी नै खोप वितरणले धेरै सत्ता ढल्नेछन् भने जनताका लागि मरेर खोप पुर्‍याउने सत्ता आगामी कार्यकालका लागि समेत स्थापित हुनेछन् ।

के खोपले मात्र महामारी अन्त्य हुन्छ ?

एकैपटक विश्वभरका मान्छेलाई लगाउन पुग्नेगरी खोप उपलब्ध हुँदैन । उत्पादन र वितरणको अभियान सञ्चालन गरेमा २०२१ को अन्त्यसम्ममा ७० % जनसंख्यालाई खोप दिन सम्भव छ । ७० % ले खोप लगाएमा बाँकी जनसंख्यालाई हर्ड इम्युनिटी प्राप्त हुनसक्छ । त्यो बेलासम्म हामी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नु अपरिहार्य छ । त्यति मात्र हैन वैश्विक महामारी नियन्त्रणमा आउनका लागि सबै देशमा रोग नियन्त्रण हुनुपर्दछ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले भनेका छन् – खोप अन्य उपायका पूरक मात्र हो, तिनीहरूलाई प्रतिस्थापन गर्ने होइन, खोप आफैँले मात्र महामारीको अन्त्य गर्दैन ।’

उनले शुरूवातमा पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, जेष्ठ नागरिक तथा बढी जोखिममा रहेका मानिसलाई खोप दिइने बताएका छन् । ‘खोपले मृतक संख्या त घटाउला तर भाइरस जहाँ पनि हुन सक्ने भएकोले निगरानी निरन्तर हुनुपर्छ, परीक्षण आवश्यक हुन्छ, आइसोलेसन तथा उपचार क्षमतामा ध्यान दिनुपर्दछ ।’

त्यस्तै हालसम्म बालबालिकाको लागि खोप तयार गरिन्थ्यो भने यसपटक सबै उमेर समूहका व्यक्तिलाई उही खोप प्रयोग गरिँदैछ । यो खोपले दीर्घबिरामी तथा जेष्ठ नागरिकलाई कति समय काम गर्छ ? मास भ्याक्सिनेसनपछि के के पार्श्व प्रभाव देखिन्छन् ? खोपले कति समय काम गर्छ ? भाइरसको म्युटेसन भएपछि अहिलेको खोपले काम गर्छ कि गर्दैन ? लगायतका विविध जिज्ञासाको उत्तर पूर्ण रूपमा थाहा पाउन केहि वर्ष प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

खोपको मूल्य कति पर्ला ?

मोडेर्नाले आफूले बनाएको भ्याक्सिनको मूल्य प्रतिडोज ३५ देखि ३७ अमेरिकी डलर ( करीब ४५०० नेपाली रुपैयाँ ) हुने बताएको छ। फाइजरले कम्पनीको खोपको मूल्य प्रति डोज १९.५० डलर (करीब २४०० नेरु ) पर्ने देखिन्छ । यी खोपको दुई डोज लगाउनुपर्ने भएकोले सामान्य व्यक्तिको पहुँचमा हुँदैन । बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनले अल्प विकसित राष्ट्रलाई ३ डलर अर्थात् नेरु ३५० मा खोप उपलब्ध गराउनका लागि गाभीलाई ठूलो धनराशि अनुदान दिएको छ । नेपाल गाभी तथा कोभ्याक्सको सदस्य राष्ट्र हो ।

अल्पविकसित मुलुकका लागि खोप उपलब्ध गराउन विश्व बैंक, युनिसेफलगायत संस्थाले पनि पहल गरिरहेका छन्। चीनले पनि अल्पविकसित मुलुकमा खोप अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ। खरिद गर्नुपर्ने अवस्थामा नेपालको लागि चीन तथा भारतमा बनेका खोप निकै सस्तो पर्नेछन् ।

नेपालजस्ता अल्प विकसित राष्ट्रले आफ्नो खर्चमा सबै नागरिकलाई खोप लगाउन सम्भव छैन । नेपालले राजनैतिक, कूटनैतिक एवं अन्तर्राष्ट्रिय संस्थाको च्यानल प्रयोग गरेर नि:शुल्क तथा सहुलियत मूल्यको खोप ल्याउने पहल गर्नु जरुरी छ । बजारमा उपलब्ध खोपमध्ये सबैभन्दा प्रभावकारी खोपको चयन गर्न चुक्नु हुँदैन ।

नेपाललाई चारैतिरबाट घेरेका चीन र भारतमा खोपको उज्यालो प्रकाश चम्किँदा नेपालले त्यसबाट फाइदा लिन सक्नुपर्दछ । जनता तथा अर्थतन्त्र बचाउनका लागि राज्यले तपसिलका मुद्दामा अलमल नभएर सुक्ष्म निगरानी एवं व्यवस्थापन गर्नु जरुरी छ । खोप वितरणमा अन्याय, विभेद तथा अपारदर्शिता भयो भने संकट झनै गहिरिनेतर्फ राज्य जानकार हुनु जरुरी हुन्छ ।

खोपको इतिहासले बताएको छ कि वृद्धावस्थामा खोप त्यति प्रभावकारी हुँदैनन् । जेष्ठ नागरिकको इम्युन सिस्टमले छोटो समय काम गर्न सक्छ, त्यसैले पटकपटक खोप लगाउनु पर्ने हुनसक्छ वा इम्युन बूस्ट गर्न एड्जुभेन्ट केमिकलको प्रयोग गर्नुपर्ने हुन्छ । यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ।

खोप उत्पादक कम्पनीले शुरूको अवस्थामा खोपले ५० % काम गर्‍यो भने ठूलो सफलता मान्नुपर्ने राय व्यक्त गरेका थिए । अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले खोपले ७५ % काम गरेमा महान उपलब्धि हुने जनाएका थिए । अमेरिकी एफडीएले ५० % काम गर्ने खोपलाई बजारमा पुर्‍याउन अनुमति दिने बताएको थियो । हाल सार्वजनिक भएका खोपको ९० % भन्दा धेरै सफलता हुनु अकल्पनीय भएको वैज्ञानिकहरूले बताएका छन् । महामारीको कालो बादलभित्र खोपको सफलता चाँदीको घेरा बनेर बसेको छ । आशा गरौं, त्यो चाँदीको घेरा पूर्ण चन्द्र बनेर हाम्रो घर आँगनमा छिट्टै आउनेछ ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्