निकुञ्जले पक्राउ गरेका ३१ जना भागे, कानूनी दायरामा ल्याइने भनाइ

प्रतिकात्मक तस्वीर

चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतवार भागेका थिए ।
 
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरूले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए ।
 
घटनाअनुसार शनिवार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो । उनीहरूले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शंकास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उनले बताए ।
 
अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक  सोधपुछ समेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।
 
गैरकानूनी रूपमा माछा मार्न मात्र नभएर चोर– शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशंका गरिएका १३ डुंगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताए ।
 
पक्राउ परेर भागेकामध्ये २ जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन् ।  तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
 
सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिङ्गे गैंडा मारेका थिए । पछिल्लो समय गैंडा मारिने क्रम बढेको छ । चालू आर्थिक वर्ष शुरू भएयता ४ गैंडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन् । निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्