इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले कोभिड–१९ को बीमा दाबी गर्नेको संख्या बढेपछि रुजु गर्न थालेको छ ।
यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी रुजु गर्न शुरूआत गरेको हो ।
बीमा समितिसँग समन्वय गरेर इडीसीडीले रुजु गरिरहेको उनले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ संक्रमित व्यक्तिको बीमाका लागि रुजु गरिसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ ।
समितिले इडीसीडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।
‘संक्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौं,’ समितिका संयोजक अधिकारीले भने, ‘दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्दछौं ।’
समितिले रुजु गरिसकेपछि मात्र बीमा बापतको रकम पाउनेछन् । समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ ।
विक्रम संवत् २०७७ भदौ २८ अगाडि बीमा गरेका कोभिड–१९ को संक्रमित ५० हजार र १ लाख बीमा तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए ।
उनका अनुसार हालसम्म करीब २५ हजार जनाले बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा २ लाख २० हजार ३०८ जना संक्रमित भएका छन् । १ लाख ९९ हजार २४ जना निको र १ हजार ३२१ जना संक्रमणबाट निधन भइसकेको छन् ।
रासस