निर्वाचित भएपछि व्यवसायी ढकालले भने : अब महासंघमा प्यानल सकियो

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसायी चन्द्र ढकालले महासंघमा अब प्यानल सकिएको बताएका छन् । 

निर्वाचित भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । 


Advertisement

उनले भने, अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।

 बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् ।


Advertisement

महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । 

महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाएका थिए । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र  प्रधानले ३९ मत प्राप्त गरे । त्यसैगरी  ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरे । 

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरे । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् । 

    वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए ।  

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्