स्काउटको लुम्बिनी प्रदेश नयाँ समिति चयन, रचनात्मक कार्यक्रम गर्न मुख्यमन्त्रीको आग्रह

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले युवाशक्ति नै देशको मेरुदण्ड भएको उल्लेख गर्दै युवालक्षित कार्यक्रमद्वारा देशको आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणको अभियान सफल हुने बताएका छन् ।  

स्काउटका प्रदेश संयोजक समेत रहेका मुख्यमन्त्री पोखरेलले युवालक्षित कार्यक्रममार्फत प्रदेशको समृद्धि र खुशहालीको अभियान साकार पर्न सकिने भन्दै सोही अनुरुपका योजना तय गर्न प्रदेश सरकार मातहतका मन्त्रालयलाई आग्रह गरे ।  । 


Advertisement

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरीय तदर्थ समितिको आइतबार बुटवलमा आयोजित दिक्षान्त एवम् पद तथा गोपनियताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियानमा स्काउटलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

लुम्बिनी प्रदेश स्तरीय नेपाल स्काउटको तदर्थ समितिलाई आइतबार बुटवल उपमहानगरपालिका सभाहलमा एक समारोहका बीच दिक्षित एवम् पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो । 


Advertisement

प्रदेशको प्रमुख स्काउट समेत रहनुभएका लुम्बिनी प्रदेश स्तरीय नेपाल स्काउटको तदर्थ समितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दिक्षित गराएका थिए ।

युवाशक्तिको भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मिक तथा भावनात्मक विकास गर्ने लक्ष्यलाई व्यवहारमै उतार्नु उनले आग्रह गरे । 

नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नेपाल स्काउटको संगठन स्वरुप राष्ट्रिय परिषद्, प्रदेश परिषद्, राष्ट्रिय कार्यकारी समिति र सल्लाहकार सभा रहेको छ । सोही अनुरुप लुम्बिनी प्रदेश स्तरीय स्काउटको तदर्थ समिति गठन भएको हो । जसको संयोजकमा रुपन्देहीका दिनानाथ भट्टराई रहेका छन् । 

प्रदेशका उमेर समूहका बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाउँदै समृद्ध प्रदेशको अभियानमा केन्द्रित गराउन भूमिका निर्वाह गर्ने संयोजक भट्टराईले प्रतिबद्धता जनाए । 

भट्टराईको संयोजकत्वमा गठित १६ सदस्यीय नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिलाई दिक्षान्त समारोहमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । उक्त समितिका सदस्यहरुमा मुकुन्द सुचिकार (नवलपरासी पश्चिम) खुमाकान्त अधिकारी (रुपन्देही), सिर्जना आचार्य (अर्घाखाँची), जीवन आचार्य (पाल्पा), सन्दिप अधिकारी (नवलपरासी पश्चिम), भगवति न्यौपाने (कपिलवस्तु), कल्पना हरिजन (रुपन्देही रहेका छन् । 

यस्तै दिपक गौली मगर (बाँके), रबिन अली (दाङ), दुर्गा घायल (गुल्मी), भरत अर्याल (गुल्मी), सन्दिप आचार्य (कपिलवस्तु), नारायण अर्याल (रुपन्देही) तथा शुसिला गोदार (पाल्पा) र कपुर घिमिरे (गुल्मी) स्काउटको प्रदेश स्तरीय तदर्थ समितिको सदस्य रहेका छन् ।  
 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्