भारतसहित अन्तर्राष्ट्रिय उडान खुल्यो

कोरोना महामारीका कारण २०७६ चैत ९ गतेदेखि बन्द भएका भारतसहित अन्य मुलुकमा हुने व्यावसायिक अन्तर्राष्ट्रिय उडान नेपाल सरकारले खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रिपरिषद् बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान खुलाउन अनुमति दिएको हो ।


Advertisement

‘नेपाल–भारत उडानबारे बुधबारको सरकारको निर्णय सोमबार अबेर आइपुग्यो,’ सीसीएमसीमा समेत रहेका सहसचिव लामिछानेले भने, ‘नेपाल–भारत उडान सञ्चालन खुला भएको जानकारी भोलि (मंगलबार) परराष्ट्र मन्त्रालयमार्फत भारत र त्यहाँ रहेको हाम्रो दूतावासलाई पत्राचार गर्दै छौं ।’ उनका अनुसार भारतले प्रस्ताव गरेको एयर–बबल मोडललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।

यो मोडलमा नेपाल र भारतका वायुसेवाले दुवै देशका नागरिकलाई मात्रै सेवा दिनेछन् । ‘अहिलेलाई बढीमा दुई फ्लाइट हुनेछन्,’ सहसचिव लामिछानेले भने, ‘योसँगै सबै क्षेत्रका लागि नेपालले उडान खुला गरेको छ ।’ अब विदेशी वायुसेवाले यात्रु भएका रुटमा व्यावसायिक उडान गर्न पाउनेछन् । पहिले जस्तो सीसीएमसी, परराष्ट्र, पर्यटन मन्त्रालयको विशेष अनुमति लिइरहनुपर्ने छैन ।


Advertisement

नेपालमा १६ वटा मुलुकका २६ वटा वायुसेवाले २१ वटा गन्तव्यबाट काठमाडौंका लागि व्यावसायिक उडान अनुमति लिएका छन् । नेपालसँग अन्तर्राष्ट्रिय उडान हुने मुलुकमा जापान, दक्षिण कोरिया, चीन, हङकङ, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भुटान, थाइल्यान्ड र बंगलादेश छन् । त्यस्तै, भारतसहित मध्यपूर्वी मुलुकहरू कतार, कुबेत, मस्कट, यूएई र टर्की छन् । अन्तर्राष्ट्रिय उडानमा नेपालका चारवटा वायुसेवा (नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्स) ले अनुमति पाएका छन् ।

नेपालले गत चैत ९ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । पाँच महिनापछि भदौ १६ मा सर्तसहित अन्तर्राष्ट्रिय उडान खुकुलो गरिएको थियो । भारत र चीनले अझै पनि निःसर्त नियमित उडान खुला गरिसकेका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्