जाडोमा कोरोना बढ्ने सम्भावना कति ? यसो भन्छन् विज्ञ

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

मंसिर महिना लागेसँगै जाडो शुरू भएको छ । अघिल्लो वर्षको जाडो महिनामा चीनबाट शुरू भएको कोरोना भाइरस संक्रमणको महामारीले नेपालमा १ हजार ४५४ जनाको ज्यान गइसकेको छ ।

हालसम्म नेपालमा २ लाख ३६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा २ लाख १८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । बुधवारसम्मको तथ्यांक हेर्दा १६ हजार ५४७ जना सक्रिय संक्रमित छन् ।


Advertisement

कोरोना भाइरस संक्रमण जाडो मौसममा शुरू भएकाले नेपालमा जाडो महिना चलिरहँदा संक्रमण बढ्दै जाने अनुमान गर्न थालिएको छ । लकडाउन अन्त्य भइसकेकाले बजारमा हुने भीडभाड तथा जनस्वास्थ्यका मापदण्डको पालना नगर्दा कोरोना भाइरस संक्रमण फैलिने बताइन् । तर जनस्वास्थ्य विज्ञहरू भने जाडोकै कारण कोरोना भाइरसको संक्रमण तीव्ररूपमा नफैलिने तर्क गर्छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार जाडो वा गर्मीले गर्दा कोरोना भाइरसको संक्रमण फैलिने होइन । ‘जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना धेरै फैलिने डर हुन्छ,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने, ‘हामी बजारमा हिँड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्‍यो ।’


Advertisement

भीडभाडमा हिँड्दा अनिवार्य मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गरेर हिँडेको खण्डमा कोरोना सर्ने जोखिम कम हुने डा. गौतमले बताए । जाडोमा मानिसहरूले हात नधुँदा कोरोना भाइरसको जोखिम हुने सम्भावना रहेको डा. गौतमले बताए ।

‘तपाईं–हामीले जाडोमा भयो भन्दै कम हात धुने गर्छौं यसले झन् धेरै जोखिम बढाउँछ,’ प्रवक्ता गौतमलले भने, ‘गर्मीमा दैनिक १०–१५ पटक हात धुने हामी जाडोमा ५ पटक पनि धुँदैनौं । यसले जोखिम झन् बढ्छ ।’

प्रवक्ता गौतमको कुरामा जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित पनि सहमत छन् । ‘जाडो भयो भन्दैमा कोरोना भाइरसको संक्रमण बढ्ने होइन । जाडोमा सरसफाइका कुरामा धेरै ध्यान दिँदैनौं,’ डा. दीक्षितले भने, ‘जाडोमा हात धुन कम गर्छौं, यसले झन् जोखिम बढ्छ ।’

जोखिम समूहलाई जाडोमा बढी जोखिम

जाडोको समयमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा रहेका व्यक्तिमा अझ धेरै जोखिम हुने जनस्वास्थ्य विज्ञहरूको भनाई छ । वुद्धवुद्धा, दमका रोगी, निमोनियाका रोगी, फाक्सो र मुटुका रोगीहरू कोरोना भाइरसको जोखिम क्षेत्रमा पर्छन् । जाडो महिनामा जोखिम समूहका व्यक्तिलाई असर गर्ने भएकाले बढी जोखिम भएको प्रा.डा. गौतमले बताए । ‘त्यस्ता समूहलाई घर परिवारले विशेष ख्याल राख्नुपर्छ,’ उनले भने ।

जोखिम समूहका व्यक्तिलाई सकेसम्म छुट्टै कोठाको व्यवस्था गर्ने, न्यानो ठाउँमा राख्ने र जाडोबाट जोगाउन सकेमा जोखिम कम हुने डा. समीरमणि दीक्षितले बताए । ‘जोखिम समूहलाई कोरोना भाइरस लागेको खण्डमा मृत्यु नै हुने सम्भावना पनि हुन्छ,’ उनले भने ।

रुघाखोकी, मौसमी ज्वरो र कोरोना भाइरसबीच फरक छुट्याउन समस्या

जाडोमा सामान्यता रुघाखोकी र ज्वरो आउँछ । मौसम परिवर्तनको कारण र उपत्यकामा भएको धुलोको कारणले गर्दा धेरै व्यक्तिमा यस्तो समस्या देखिन्छ । तर सामान्य रुघाखोकीको लक्षण देखिँदा पनि कोरोना भाइरस संक्रमण भन्दै आइसोलेसनमा बस्ने गरेको र अझ चिसोका कारणले समस्या हुने गरेको प्रा.डा. जागेश्वर गौतमले बताए ।

डा. गौतमलले लोकान्तरसँग भने, ‘कोरोना भाइरसको लक्षण र सामान्य रुघाखोकीको लक्षण फरक छ । यसलाई जान्नुपर्छ ।’ रुघाखोकी र ज्वरो आउँदा अन्य दमका रोगी, फोक्सो र मुटुका रोगी, बालबालिका लगायतका समूहले भने विशेष ध्यान दिनुपर्ने गौतमले बताए ।

किन छैन कोरोनाको डर ?

अब २ महिनापछि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको १ वर्ष पुग्छ । कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन । शुरूमा कोरोनाको हाउगुजी फैलिएर मानिसहरू डराए पनि अब कोरोनाबारे वास्तविक थाहा पाएपछि डराउन छाडेका डा. समीरमणि दीक्षितले बताए । ‘शुरूमा भयावह हो भनेर चित्रण गरियो तर त्यस्तो नदेखिएपछि मानिसहरूले टेर्न छाडे,’ डा. दीक्षितले भने, ‘अब खोप पनि आउन थालेपछि मानिसहरूले सामान्य रूपमा लिएका छन् ।’

विश्वभर कोरोनाका ९२ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् भने नेपालमा ९० प्रतिशत मानिसहरू निको भएका छन् । कोरोना निको हुने दर अन्य रोगभन्दा पनि बढी रहेको डा. दीक्षितले बताए ।

देशभर ३ हजार आईसीयू शय्या, १ हजार भेन्टिलेटर

कोरोना भाइरसको संक्रमण फैलिएको १ वर्ष हुन थाल्यो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना उपचारको सघन कक्ष (आईसीयू) शय्या ३ हजार छन् भने १ हजार भेन्टिलेटर छन् ।

‘हामीसँग अहिले ३ हजार आइसोलेसन बेड र १ हजार भेन्टिलेटर छन्,’ प्रवक्ता गौतमले भने, ‘अझै थप्दै गइरहेका छौं ।’

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्