कोरोना भाइरसका कारण विश्वभरका मानिसहरु आतंकित छन् । यतिबेला मानिसमात्रै होइन, जनावरमा पनि प्रभाव परेको छ । केही घटना यस्ता हुन्छन् जसकारण जनावरका बारेमा अधिक जान्ने रुची बढाउँछन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । थाइल्याण्डमा बाँदरहरुको दौडधूपको एक भिडियो अहिले दुनियाँभरमा भाइरल बनिरहेको छ । बाँदरहरु चारैतर्फ फैलिएका छन् र केही सडकमा दौडिँदै छन् ।
यसमा एक बाँदरको हातमा केरा हुन्छ जसलाई अरुले पनि खोस्न खोजिरहेका हुन्छन् । थाइल्याण्डको लम्पबुरी जिल्लाको यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बिन्दु पनि हो ।
कोरोना भाइरसको प्रभावका कारण केही महिनायता यो क्षेत्र सुनसान छ । पर्यटकको बढी घुँइचो हुने भएका कारण पनि यहाँ बाँदरको संख्या अधिक छ । तर, अहिले सुनसान बनेपछि बाँदरलाई खानाको संकट परेको छ ।
खाना खोज्दै यस क्षेत्रका बाँदर अहिले यत्रतत्र घुम्न थालेका छन् । यस्तैमा एउटा केरा समातेको बाँदरका पछि अरु पनि खोस्न भागाभाग गर्दैछन् । एकैसाथ यतिधेरै बाँदर सडकमा देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
सवारीचालक पनि बाटोमै रोकिएर बाँदरको क्रियाकलाप नियाल्न थालेको भिडियोमा देख्न सकिन्छ ।
एजेन्सी