लागूऔषधको सूचीमा रहेको गाँजालाई संयुक्त राष्ट्रसंघले औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेपछि प्रतिबन्ध फुकुवा गर्ने बाटो खुलेको भन्दै नेकपाका सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले खुशी व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै सांसद तामाङले अब नेपालमै कानून बनाएर प्रतिबन्ध फुकुवा गर्दै नियमनको बाटोमा जानुपर्ने बताएका छन् । यसअघि सांसद तामाङले गाँजामाथिको प्रतिबन्ध फुकाउन र नियमनको कानूनी व्यवस्था गर्न संसदमा गैरसरकारी विधेयक दर्ता गराएका थिए ।
‘गाँजा खेतीको कानूनी मान्यताको लागि हामीले जुन बहस सञ्चालन गर्दै संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागि गैरसरकारी विधेयक नै दर्ता गरेका छौं । अब यसको लागि बाटो खुल्ला भएको छ,’ उनले लेखेका छन्, ‘हरेक नेपालीलाई र सिङ्गै राष्ट्रलाई धनी बनाउन सक्ने गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं ।’
गाँजाको प्रतिबन्ध हटाउनेबारे अन्तर्राष्ट्रिय रूपमै बहस भइरहेका बेला विश्व स्वास्थ्य संगठनले ३ वर्षअघि संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै गाँजालाई लागूऔषधको सूचीबाट हटाएर औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राख्न आग्रह गरेको थियो ।
राष्ट्रसंघले यसको प्रक्रिया टुंग्याउँदै बहुमतका आधारमा गाँजालाई औषधीय गुणयुक्त वनस्पतिको सूचीमा राखेको हो । नेपालले गाँजालाई लागूऔषधको सूचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो ।
संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगको सचिवालयमा रहेका ५३ सदस्य राष्ट्रमध्ये २७ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका सांसद तामाङले जनाएका छन् । नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहेका राजदूत प्रकाशकुमार सुवेदीले पक्षमा मतदान गरेका थिए ।
सांसद तामाङले लेखेका छन्, ‘अब हाम्रो अभियान संसदमा दर्ता भएको कानूनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको वनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनिसकेपछि अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको छ । यो अवसरको उपयोग गर्दै अब छिटोभन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।’
गाँजा खेतीको कानूनी मान्यताको लागी बाटो खुल्यो ! गाँजा खेतीको कानूनी मान्यताको लागी हामीले जुन बहस संन्चाल गर्दै संसदमा...
Posted by Sher Bahadur Tamang on Wednesday, December 2, 2020
लोकान्तर संवाददाता