डियर राजावादीहरू, कृपया पूर्वराजा ज्ञानेन्द्र शाहलाई शान्तिसँग बाँच्न देऊ !

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

प्राकृतिक रूपमा जीवित एउटा मन, मुटु र भावना भएको मनुष्यले एकबारको जीवनको उत्तरार्द्धमा के- के गर्न चाहन्छ ? पक्कै पनि ऊ आफ्नो बाँकी जीवन शान्तिपूर्ण बाँच्न चाहन्छ। हँसिलो चेहरा देखाएर आफ्नो जन्मदिन मनाउन चाहन्छ, नातिनातिनासँग घुम्न चाहन्छ, बगैँचाका फूलबारीमा टहलिन चाहन्छ । पूजापाठ गर्न चाहन्छ, ध्यान योगा गर्न चाहन्छ, पुस्तक पढ्न चाहन्छ। कहिलेकाहीँ यसो नाँचगानमा रमाउन पनि चाहन्छ।

यतिखेर  पूर्वराजा ज्ञानेन्द्र शाहको दैनिकी पनि यसरी नै बितेको देखिन्छ।


Advertisement

तर राजावादीको पगरी गुथेका, थरिथरिका राष्ट्रवादका नारा जानेका, मेरा बाबै आफूहरू मात्रै देशको माया गर्ने सच्चा सपुत हो कि जस्तो गरेर त्यसै–त्यसै गिनिजबूकबाट नै प्रमाणित देशभक्तजस्तो लवज निकाल्न जानेका,  नेपालको झण्डा काँधमा बोकेका अलोकप्रिय तत्वहरूले बेलाबेलामा पूर्वराजा ज्ञानेन्द्र शाहको अमनचयन तथा  शान्ति भंग  गर्दै आएका छन्।

देशको एउटा चर्चित तथा ख्यातिप्राप्त स्तम्भकारको हैसियतले, शाहवंशीय राजाहरूलाई गाँसबास कपास दिएको, युद्ध लडेर सघाएको, लिगलिगकोटमा श्रीपेच सुम्पिएको मगर वंशको शुक्रकिट हुनुको नाताले पनि मेरो उनीहरूलाई विनम्रतापूर्वक आग्रह छ,  डियर राजावादीहरू कृपया पूर्वराजा ज्ञानेन्द्र शाहलाई शान्तिसँग बाँच्न देऊ यार ! किनकी तपाईंहरूले कस्तो कुरा नबुझेको क्या । अब उनलाई राजा  बन्ने मन छैन। त्यसरी जबरस्ती गर्नुहुँदैन नि ! किनकी कहिलेकाहीँ सपनामा उहिल्यै मरिसकेका बाजे बज्यैहरू आउँछन् नि ! हो, अब राजा आउने कुरा पनि त्यस्तै हो ।


Advertisement

पूर्वाराजा ज्ञानेन्द्र शाहप्रति उच्च सम्मान छ। उनले जुन खालको जीवनशैली बिताइरहेका छन्, त्यो प्रशंसायोग्य छ। उनी आवश्यकताका कारण राजा भए, आवश्यकताकै कारण नागरिक भए।  ज्ञानेन्द्र शाहलाई यस प्रकारको आन्दोलनसँग कुनै लगाब देखिन्न, त्यो कुरा उनले आफ्ना निजी सचिवमार्फत भनी पनि सकेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला ८० वर्षको उमेर नजिक छन्। यतिखेर उनको लाइन यही उत्तरार्द्धको लाइन हो । तर केही तत्वहरू 'के गर्नेलाईभन्दा हेर्नेलाई लाज' भने जसरी सडकमा बेमौसमी बाजा बजाइरहेका छन्। यस्तो अलोकप्रिय बाजाको तालमा पूर्वराजा नाँच्न तयार छैनन् । बरु उनी इरिटेट हुन्छन् तर उत्साहित हुँदैनन् । किनकी राजा भइसकेको मान्छेले इतिहास निर्माण गर्छ, पटक-पटक दुस्साहस गर्दैन । अनि शासकले आफ्नो कालखण्डको निरंकुशताको समीक्षा गर्छ, प्रायश्चित गर्छ। तर फेरि निरंकुश बन्ने अलोकतान्त्रिक जिद्दी गर्दैन।  नेपालको अन्तिम शाह वंशीय राजाको नाममा उनको नाम दर्ज हुनु निकै खुशीको कुरा हो।

हो एक प्रकारको आवश्यकता, ऐतिहासिक लिगेसी र अप्रत्याशित संयोगका कारण  दुईपटकसम्म नेपालको राजा बन्ने अवसर पाएका शाहले थुप्रैपटक भनेका छन्, राजा हुने उनको कुनै इच्छा थिएन, केवल त्यो आवश्यकता थियो । अब उनी फेरि राजा हुने कुनै देश र जनताका लागि कुनै आवश्यकता नै छैन । त्यो कुरा सबैभन्दा धेरै कसैलाई थाहा छ भने ज्ञानेन्द्र शाहलाई नै छ।

२१औं शताब्दीका चेतनशील जनता एउटा कुनै वंशको कोखमा जन्मिएको भरमा देशको राजा हुने, र जनताहरू प्रजाको हैसियतमा शासित भएर बस्नुपर्ने यस्तो पनि हुन्छ त ?  त्यस्तो हुँदै हुँदैन। त्यही भएर नै होला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खान नखोज्न अर्ती उपदेश दिएका छन्।​

पूर्वाराजा ज्ञानेन्द्र शाहप्रति उच्च सम्मान छ। उनले जुन खालको जीवनशैली बिताइरहेका छन्, त्यो प्रशंसायोग्य छ। उनी आवश्यकताका कारण राजा भए, आवश्यकताकै कारण नागरिक भए।  ज्ञानेन्द्र शाहलाई यस प्रकारको आन्दोलनसँग कुनै लगाब देखिन्न, त्यो कुरा उनले आफ्ना निजी सचिवमार्फत भनी पनि सकेका छन्।

उनलाई शान्तिपूर्ण तनावरहित जीवन बाँच्न मन छ, तर केही राजावादीहरूले उनको शान्तिपूर्वक बाँच्ने चाहनालाई खलल पुर्‍याउने कोशिश गरेका छन्।

हिन्दूवादी शक्ति, राप्रपा, कट्टर राजावादीहरू तथा गणतन्त्रविरोधी र के गर्दा कसो हुने हो भन्ने थाहा नपाएका साधारण मानिसहरू समेत लहैलहैमा बरालिएर 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ'जस्ता महेन्द्रकालीन, पञ्चायतकालीन नारा लगाइरहेका छन्।  यसप्रकारको अप्राकृतिक, अप्रत्याशित, अप्रगतिशील आन्दोलनमा अधिकांश एउटै वर्ग, जाति र समुदायका मानिसहरूको अनुहार बाहुल्य देखिएको छ।

आखिर किन यस्तो देखिएको छ? किनकी हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ भन्नुको अर्थ ढाका टोपी, दौरा सुरुवाल र इण्डो आर्यन खस नेपाली भाषा मात्र हामीलाई प्यारो छ, अरूको कुनै मतलब छैन भन्न खोजिएको छ। यसकारण पनि यो कुराको पुष्टि गर्न सकिन्छ, उपरोक्त असमावेशी नारा त्यतिबेला रचित गरिएको थियो जतिखेर यो देशमा एकल केन्द्रीकृत शाह वंशीय तथा जातिय राज्य सत्ताको वर्चस्व थियो। सारमा शाह टुप्पोमा थिए, पुछार र हाँगाबिँगामा ठकुरीहरू भारदारका रूपमा, ब्राम्हणहरू पूजारी तथा अधिकार सम्पन्न मझौला शासकका रूपमा परिचालित थिए।

तिनको काम राजाबाट जे हुकुम हुन्थ्यो त्यसको सरासर पालना गर्नुहुन्थ्यो। हैन, छैन, हुँदैन, जान्दिनँ भावमा विचार प्रश्न, संवेदना, भावुकता, भूगोल, पहिचानको कुनै ल्याकत थिएन। समग्रमा यसो भनौं कि तत्कालीन शाह जातिय वंशीय राजसंस्थाले एउटा पक्षको मात्र प्रतिनिधित्व गरेको थियो। एउटा जातको, एउटा भाषाको, एउटा संस्कृतिको, एउटा धर्मको मात्रै रक्षा गरेको थियो।  जस्तो कि, राजाले बोल्ने भाषा राष्ट्रिय हुन्थ्यो । यो देशका आदिवासी जनजाति तथा भूमिपुत्रहरू मगर, गुरुङ, तामाङ, राई, लिम्बू वा मधेशी, थारु, लगायतले बोल्ने भाषा न स्कूलमा पढाई हुन्थ्यो न सरकारी कामकाजमा प्रयोग हुन्थ्यो।

यसरी उनीहरूले हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ भन्ने शब्दलाई नारामा मात्र हैन व्यवहारमा पनि संस्थागत गर्दै आए। यो संस्थानको प्रक्रियाको मूख्य संवाहक राजसंस्था थियो। राजालाई विष्णु भगवानको अवतारका रूपमा पूजा गरियो। भूगोलमा बस्ने अन्य समुदायहरूको चाडबाड।  धर्म–संस्कृतिको कुनै मूल्य नै भएन। यसरी अरूको  पहिचानलाई जबरजस्ती राजाले दबाएर राखेका कारण हिजोआजको राजावादीहरूको आत्मघाती आन्दोलनमा जनजातिहरूको कुनै उपस्थिति देखिँदैन । मनमा कुरा नलुकाई भन्ने हो भने यो केही सीमित ठकुरी, क्षेत्री ब्राम्हणहरूको सडकको दन्तबजान मात्र हो।

अहिले केही राजावादीहरूले बडो हास्यास्पद तर्क गर्ने गर्छन्, कि गणतन्त्र र दलहरूले आफूहरूको धर्मको रक्षा गर्न सकेन । आफूहरूको भेषभुषा र जमिनको रक्षा गर्न सकेन । अपराध बढ्यो । भ्रष्टचार बढ्यो। यो उनीहरूको तर्क उनीहरूको लागि ठिकै हो। किनकी उनीहरूलाई यो देश  बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक हो भन्ने कुरा थाहा छ तर स्वीकार गर्न मान्दैनन्। गणतन्त्र नेपालको समावेशी विधानले देशको विविधतालाई

समेटेर राज्यको चरित्र बदल्न खोजिरहेको छ, त्यो उनीहरूलाई पटक्कै मन परेको छैन। किनकी उनीहरूको नजरमा यस्ता कुरा जातिय लाग्छन्, तर आफूहरूले जे गरेपनि राष्ट्रिय लाग्छ।

राजावादीहरूले राजाले देश जोगाउने, सीमा जोगाउने कुरा गर्छन्। तर तथ्य त्यो हैन। कालापानीमा भारतीय सेनालाई बस्न अनुमति दिएको राजा महेन्द्रले हो। दार्जिलिङ सिक्किम जस्ता महत्त्वपूर्ण भू-भागहरू पनि राजाहरूकै कारण गुमाउनुपरेको थियो। राजाकै पालामा भारतीयहरूले सबैभन्दा धेरै नागरिकता लिए। सीमा मिचियो। दरबारका भारदारहरूले धेरै हत्याकाण्डहरू मच्चाए। नुन किन्न एक महिना हिँड्नु पर्‍यो। जीवनजल नपाएर मान्छे मरे। पूर्व युवराज पारसले एकजना संगीतकार, गायकलाई मारे। दरबार हत्याकाण्ड पनि परिवारभित्रैबाट भएको हो। इतिहासको अध्ययन गर्दा शक्ति र सत्ताका लागि शाह वंशमा हत्याका श्रृंखलाहरू अनेक छन् ।

हिजो राजाको शासनकालमा वर्षौं वर्षौंदेखि दरबार र तिनका भारदारहरूको नजिक रहेर जग्गा, जमिन, मान पदवी, जागिर, संस्थान, गुठी मन्दिर लगायतका लाभका पद र पैसा कमाएका केही सामन्ती सोच भएका व्यक्तिहरूले राजा फेरि आए त हामीले फेरि पनि त्यसरी नै एकछत्र अधिकार जनाउन पाइन्थ्यो भन्ने छ। हुकुमीप्रमागंतबाट जग्गाजमिन पाउने सुकिलामुकिलाका सन्तानहरूलाई पनि निकै पिर परेको छ, किनकी आजभोलि यस्ता संस्थान गुठीहरूमा आदिवासी जनाजाति, महिला दलितहरूको समानुपातिक सहभागिता छ। लेकसेवामा जनजातिका लागि समावेशीकरण छ। यसकारण हिजो दरबारमा हालीमुहाली गरेकाहरू असन्तुलित बनेका छन्  । आफूले कमजोर ठानिएकाहरू बलिया भएर निस्कँदा उनीहरूलाई आवेग उत्पन्न हुनु स्वाभाविक छ।

हो पक्कै पनि जनतालाई खुशिलायी दिने सन्दर्भमा दलहरूबाट कमजोरी भएकै छ। तर जनता प्रजा भएका छैनन्। किसानको सन्तान यो देशको सबैभन्दा उच्च पदमा पुग्न सक्ने अवस्था छ। यति राम्रो थिति छ। जल्दी खाऊँ, जल्दी मरौं किन गर्ने ?

पूर्वराजाले अवसर नपाएका हैनन्। राजसंस्थाले त २५० वर्ष नै समय पायो । नेपाली जनताको सामाजिक सांस्कृतिक चेतनामा के परिवर्तन भयो?  उत्पीडन र विभेदबाहेक अरू के उन्नति भयो ? केही पनि भएन। राजा विकेन्द्रको वंश नास कसले गर्‍यो ? यस्तो लाग्दैन कि यो कुनै बाहिरको षड्यन्त्र हो। यो परिवारभित्रकै कलह थियो। जेठ २९ गते साँझ साढे ५ बजे ज्ञानेन्द्रले नारायणहिटी दरबारको कास्की हलमा पहिलो र अन्तिम पत्रकार सम्मेलन गरेर  ०५८ जेठ १९ को दरबार हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको बताएका थिए। तर उनी निकै हतास मुद्रामा देखिन्थे। उनी सहजै दरबार छाडेर निस्कनुको मुख्यकारण उनलाई लाग्ने गरेको आरोप प्रधान थियो।

त्यो दु:खद् दिन,  ०५८ जेठ १९ को दरबार हत्याकाण्डसँगै यसको वैधानिकताको विषयमा जोडतोडले बहस शुरू भए। यद्यपि आरोपहरू अझै जस्ताको त्यस्तै छन्।

भूमिगत अवस्थामै तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा 'नयाँ 'कोतपर्व'लाई मान्यता दिनुहुँदैन' भन्ने लेख लेख्दै भने– 'पृथ्वीनारायण शाहदेखि वीरेन्द्रसम्मका राजाहरूले गरेको देशभक्तिपूर्ण कामको नेपाली जनताले युगयुगसम्म उच्च मूल्यांकन गर्नेछन् । तर ‘कोतपर्व’बाट आएको ‘जिग्मे सिंघे’लाई कुनै पनि हालतमा स्वीकार्ने छैनन्।” त्यो स्वीकार गरिन सक्ने घटना त थिएन नै, आफूले अपर्झट शासन सत्ता लिएर पनि तत्कालीन शाही सेनाको साथ पनि गुमाए।

आफैंले हुर्काएको सेनाले दरबारको रक्षा गर्न त सकेन नै नैतिक साथ समेत नदिएपछि उनले दरबार छाडेका हुन्। जनताको माया लागेर भन्ने कुरा भ्रम मात्र हो। जनताको माया लागेको भए उहिल्यै वार्ता हुने थियो । जनतामाथि संकटकाल थोपारेर हेलिकप्टरबाट गोली चलाउनेहरू को थिए ?  उनको निरकुंशतन्त्र जनताले देखिसकेका छन्।

०६१ माघ १९ मा एक शाही घोषणामार्फत् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन सत्ताको नेतृत्व गर्न आइपुगे, तत्कालीन राजा ज्ञानेन्द्र शाह। उनको सक्रिय शासन गर्ने महत्त्वाकांक्षाले राजतन्त्रविरोधी मत बनाउन र फरक-फरक कित्ताका दलहरूलाई एकै ठाउँमा उभ्याउन सहज भई जनतालाई आक्रोशित बनाएको कुरा सत्य हो।

निरंकुश राजतन्त्र अन्त्य गरेर पूर्ण लोकतन्त्र स्थापना नगरेसम्म देशमा शान्ति, प्रगति र समृद्धि सम्भव छैन भन्ने स्पष्ट धारणा त्यो नै सत्य हो, जुन स्थापित भएको छु।

राज्यको पुन:संरचना गर्ने अठोटसहित १५ जेठ ०६५ मा गणतन्त्रको यात्रा तय भएको थियो । शान्तिपूर्ण रूपमा राजतन्त्रको बहिर्गमन चानचुने उपलब्धि थिएन । अहिले सबै जनताहरू आफूले लोकतान्त्रिक विधिबाट चुनेका नेताहरूबाट शासित छन्। निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चयन गर्छन्। लोककल्याणकारी राज्य भनेकै यही हो, जनताको शासन भनेको पनि यही हो।

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको मूलबाटोमा छौँ । ठीक ट्र्याकमा छौं । गणतन्त्रलाई संवैधानिक हिसाबले संस्थागत गरिएको छ। भूगोलका जनताहरू खुसी छन्, समावेशी नेपालको परिकल्पना गरिएको छ। बहुजाति, बहुधर्म र बहुपहिचानको पक्षका लागि संविधान बनेको छ । हो पक्कै पनि जनतालाई खुशिलायी दिने सन्दर्भमा दलहरूबाट कमजोरी भएकै छ। तर जनता प्रजा भएका छैनन्। किसानको सन्तान यो देशको सबैभन्दा उच्च पदमा पुग्न सक्ने अवस्था छ। यति राम्रो थिति छ। जल्दी खाऊँ, जल्दी मरौं किन गर्ने ?

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्