संकटमा राना समुदायको मौलिक पहिरन

जीवन विष्ट
जीवन विष्ट

विष्ट लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

राना समुदायको पहिरन मात्र होइन, गरगहना पनि हेर्दै लोभलाग्दा हुन्छन् । गहनाका रूपमा अगियाँ (चोली) र घघरिया (गुन्यू) मा चाला, कंचट लगाउँछन् । खुट्टामा चाँदीको बिच्छु, काँसाको गोलो बनाएर पैडा, पैडाको तल ढुन्नी, पायल लगाउने गरेको धनगढी उपमहानगरपालिका–७ की सीता रानाले बताइन् ।

‘मालाका रूपमा गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा वीर, उफनको डल्लो बनाएर फुलवा र गुट्का, हसुलिया, चाँदीका सिक्काको माला लगाउने गर्छौं,’ धनगढी उपमहानगरपालिका–१३ की पार्वती रानाले भनिन् । तर यी गहनाहरू अहिले बिरलै देख्न पाइन्छन् । 


Advertisement

कपडामा चाँदीको सिक्का सिलाएर घाँटीमा लगाउन बनाइएको माला लगाउने गरेको सीताको भनाइ छ । हातका बालाका रूपमा सुनचाँदीको गोलो घेराजस्तो साम, खडुवा, पहुँची, नाकमा मुदडी, हातको कुममा लगाउने लगौरा, उनको र सिक्काको लगाउँछन् ।

मौलिकता बिर्संदै नयाँ पुस्ता


Advertisement

केही वर्ष अघिसम्म आफ्नै हातले सिलाएको पहिरन लगाउने राना समुदायका महिलाहरू अहिले बजारका कपडाहरू लगाउन थालेका छन् । राना महिलाहरूको मौलिक पोशाकलाई घघरिया (गुन्यू) र अगियाँ (चोली) भन्ने गरिन्छ ।

पहिले सबै महिलाहरू मौलिक पोशाक लगाउने गर्दथे । आधुनिकताको प्रभावले नयाँ पुस्ता कुर्ता सुरुवाल र पाइन्ट–टीसर्ट लगाउन थालेका छन् । जसका कारण अहिले घघरिया लगाउने महिला राना समुदायमा निकै कम देखिन थालेका छन् ।

स्थानीय जानकी रानाले भनिन्, ‘नयाँ पुस्ताले आफ्नो मौलिकता बिर्संदै गएको छ ।’ बालबालिकाहरू कपडा सिलाउन दर्जीको पसलमा जान थालेका छन् । ‘विवाह, विशेष पर्व, होली, तीजमा परम्परागत पहिरनको खोजी हुन्छ,’ उनले भनिन्, ‘मौलिक पहिरन अहिले फेसन बन्न थालेको छ ।’

‘आधा उमेर घघरिया र अगियाँ लगाएर काट्यौं । आफ्नो पोशाक लगाउँदा बेग्लै आनन्द आउँछ,’ धनगढीकै रामदुलारी रानाले भनिन्, ‘बजारका बनिबनाउ लुगा लगाउने नयाँ पुस्ताका बच्चाहरूलाई के थाहा आफ्नो पोशाकको महत्त्व । अहिले घरको कामको भार बढी पर्ने भएकाले एक जोडी कपडा तयार पार्न ३–४ महिनासम्म पनि लाग्छ ।’

मौलिक पहिरन तयार पार्न समय बढी लाग्ने र महंगो पर्ने भएकाले पनि धेरैले लगाउन छाडेको स्थानीय महेश्वरी रानाले बताइन् । ‘रंगीविरंगी कपडाले बन्ने राना पहिरन तयार पार्न पहिलेको तुलनामा महंगो पर्ने भएकाले पनि अहिले बनाउन छाडिएको हो,’ उनले भनिन्, ‘१ जोर परम्परागत पहिरन तयार हुने पैसाले २ जोर बजारका कपडा किन्न सकिन्छ ।’ 

संरक्षणमा गएन कसैको ध्यान

राना समुदायको परम्परागत पहिरन बनाउने सीप न त नयाँ पुस्ताले ग्रहण गर्न खोज्यो, न पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके । ७० कटेकी छिद्दो रानाले भनिन्, ‘फुर्सद भए पनि अहिलेको पुस्ता पुरानो संस्कृति सिक्न खोज्दैन ।’

नेपालमा न्युन संख्यामा रहेको राना समुदायको पहिचान लोप भइरहेको भन्दै बिट्टोदेवी राना चिन्ता व्यक्त गर्छिन् । दिउँसोको बेला घरमा परम्परागत पहिरन सिउँदै गरेकी उनले भनिन्, ‘बनाउन नसक्ने नयाँ पुस्ताले अहिले आफ्नो पहिरन समेत बिर्सेको छ ।’

पहिरन तयार पार्दा आवश्यक पर्ने कपडाका टुक्रा, बुट्टा भर्न चाहिने ऊन, ठाउँठाउँमा राख्न चाहिने ऐनाका स–साना टुक्रा आदि किन्दाखेरी महंगो पर्ने गरेका कारण पनि अहिले परम्परागत पहिरन बनाउनेको संख्या घटेको उनी बताउँछिन् । ‘पहिरन बनाउँदा विभिन्न रंगका कपडाको मिश्रण अनि त्यसलाई कलात्मक रूपमा सजाउनुपर्छ । त्यसैले पनि सबै पहिरन तयार पार्दासम्म १० हजार रुपैयाँ बढी खर्च आउँछ, त्यति रकम सबैसँग हुँदैन,’ सुदूरपश्चिम प्रदेशसभा सदस्य मालामती रानाले भनिन् ।

पढे–लेखेका युवाले पनि रानाको संस्कृति र पहिरन लोप हुँदै गएको कुरामा सचेत रहनुपर्ने उनको भनाइ छ । ‘युवा पुस्ताले आफ्नो पहिचान लोप हुन दिनु हुँदैन,’ मालामतीले भनिन् । राना महिलाले टाउको छोप्न उनिया, ब्लाउजको रूपमा अगियाँ र गुन्युका रूपमा घघरीया लगाउँछन् ।

राना समुदाय नेपालको कैलाली–कञ्चनपुरमा मात्रै बसोबास गर्ने गर्छन् । राना समुदायको आफ्नै भाषा, फरक संस्कृति र आफ्नै पहिरन छ ।

जीवन विष्ट
जीवन विष्ट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्