पीसीआर टेस्ट पटक–पटक गर्नु पर्दैन, आइसोलेसन १० दिन बस्दा हुन्छ : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

जनस्वास्थ्य विज्ञ पाण्डे लोकान्तरका नियमित स्तम्भकार हुन् ।

कोरोना महामारी फैलिएको १ वर्ष हुँदैछ । यो अवधिमा कोरोना भाइरस, कोरोना संक्रमण तथा कोभिडबारे धेरै धारणा परिष्कृत हुँदै आएका छन् । 

पुराना अवधारणा विस्थापित हुँदै अनुसन्धानको आधारमा नयाँ धारणाको विकास भइरहेको छ । हामीले नयाँ धारणालाई आत्मसात गर्दै अघिं बढ्नुपर्छ । विश्व स्वास्थ्य संगठन, सीडीसी लगायतका आधिकारिक संस्थाले बनाएका नयाँ धारणा यहाँ उल्लेख गरेको छु –


Advertisement

– कुनै संक्रमितसंग ६ फिटको दूरी कायम भएको तथा १५ मिनेटभन्दा कम समय कुरा भएको अवस्थामा लक्षण नदेखिएमा पीसीआर परीक्षण गर्नुपर्दैन ।

– ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, जाडो हुने, स्वाद र गन्ध हराउने जस्ता लक्षण देखिएमा वा संक्रमितसँग १५ मिनेटभन्दा धेरै एक्सपोजर भएमा जति सक्यो छिटो पीसीआर टेस्ट गर्नुपर्दछ । छिटो संक्रमण पत्ता लागेमा आफूलाई पनि जोखिम व्यवस्थापन गर्न सजिलो हुने तथा अन्य व्यक्तिलाई पनि नसर्ने (आइसोलेसनमा बसेपछि) हुन्छ ।


Advertisement

– अमेरिकाको सीडीसी लगायतका संस्थाले आइसोलेसन अवधि १४ दिन घटाएर १० दिन कायम गरेका छन् । केही युरोपियन देश तथा अमेरिकाले पनि आइसोलेसन अवधिलाई ७ दिनमा झार्ने छलफल गरे पनि जनस्वास्थ्य विज्ञहरूले १० दिनभन्दा कम गरेमा संक्रमण फैलिने चेतावनी दिएका छन् । हामीले पनि लक्षण नभएको अवस्थामा आइसोलेसन अवधि १० दिन कायम गर्ने वा लक्षण देखिएका केसमा लक्षण हराएको ३ दिनपछि (१० दिन बसिसक्दा लक्षण हराएको ३ दिनपछि) आइसोलेसन अवधि समाप्त गर्दा हुन्छ ।

– १० दिनको आइसोलेसनपछि जोखिम वर्गमा रहेका व्यक्ति (ज्येष्ठ नागरिक, दीर्घ बिरामी, अटो इम्युन डिजिज भएका व्यक्ति तथा अस्पतालमा गम्भीर रहेका बिरामी) बाहेक अन्य व्यक्तिले पीसीआर टेस्ट गर्नुपर्दैन । ठीक भयो कि भएन भनेर चिन्ता तथा तनाव लिने व्यक्तिले ढुक्क हुनको लागि पीसीआर टेस्ट गर्नु राम्रो उपयुक्त हुन्छ ।

– कोभिडका गम्भीर बिरामीलाई आइसोलेसन अवधि २० दिनसम्म राख्नुपर्ने सीडीसीले जनाएको छ ।

– एकपटक संक्रमण भएर निको भएपछि  ३–४ महिनासम्म सामान्यतया पुनः संक्रमण हुँदैन । जनस्वास्थ्यका मापदण्ड अबलम्बन नगरेमा पुनः संक्रमण हुनसक्छ । तर एकपटक संक्रमित भएको व्यक्तिको शरीरमा भएको एन्टिबोडीले भाइरसलाई नष्ट गर्छ । जसले गर्दा गम्भीर हुने सम्भावना कम हुन्छ । निको भएको व्यक्तिलाई संक्रमण भयो भने उसले अन्य व्यक्तिलाई सार्न सक्छ ।

– नेपालमा पीसीआर टेस्टले ७० प्रतिशत सही रिपोर्ट दिएको बताइन्छ । ३०% को गलत रिपोर्ट आउन सक्छ । यदि कुनै व्यक्तिलाई ‘फल्स पोजिटिभ’ देखियो भने उक्त व्यक्तिलाई पछि संक्रमण हुनसक्छ । उक्त व्यक्तिले आफूलाई पुनः संक्रमण भएको ठान्दछ । कुनै लक्षण नदेखिएर निको भयो भने आफ्नो शरीरमा एन्टिबोडी छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ ।

– सिटी भ्यालु धेरै वा थोरै हुँदा चिन्ता गर्नुपर्दैन । कहाँबाट स्याम्पल लिइएको हो ? पर्याप्त मात्रामा लिइएको हो कि हैन ? यसलाई कसरी परिवहन गरियो ? कस्तो किट तथा रि–एजेन्ट प्रयोग गरियो ? प्रयोगशालाको गुणस्तर तथा प्राविधिकको गुणस्तर आदिमा सिटी भ्यालु फरक–फरक आउन सक्छ । संक्रमण शुरू हुँदा भाइरस लोड कम हुने, ५–६ दिनपछि भाइरस रेप्लिकेट भएर भाइरस लोड धेरै हुने तथा ९–१० दिन वा त्यसपछि भाइरस नष्ट भएर त्यसको लोड कम हुने भएकोले समेत सिटी भ्यालु बढी वा घटी हुनसक्छ । सिटी भ्यालु थोरै अंकमा हुँदा उक्त नमूना धेरै संक्रामक भएको बुझिन्छ । सिटी भ्यालु भनेको रफ इस्टिमेट मात्र हो । त्यसैले सिटी भ्यालुको आधारमा चिन्ता गर्नुपर्दैन ।

– लक्षण नभएका व्यक्तिले कुनै औषधि सेवन गर्नुपर्दैन । पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने, घाम ताप्ने, ८–९ घण्टा सुत्ने तथा आइसोलेसनको नियम पालना गर्‍यौं भने ठीक हुन्छ ।

– इम्युनिटी पावर एकाएक बढ्ने हैन । यो निरन्तर प्रक्रिया हो । भिटामिन सी, भिटामिन डी, जिंक तथा हर्बल सप्लिमेन्ट चिकित्सक र स्वास्थ्यकर्मीको सल्लाह अनुसार सेवन गर्नु उपयुक्त हुन्छ ।

– पीसीआर पोजिटिभ आउँदैमा आत्तिने तथा पीसीआर नेगेटिभ आउने बित्तिकै बिजेता भएको ठान्नु हुँदैन । पीसीआर पोजिटिभ आएपनि सामान्य रूपमा निको हुनसक्छ, नेगेटिभ रिपोर्ट आएपनि अस्पताल र आईसीयू बसेको व्यक्तिलाई केही महिना असर गर्न सक्छ । तसर्थ स्वास्थ्यलाई पोजिटिभ र नेगेटिभको रूपमा मात्र लिनु हुँदैन ।

– हाम्रो शरीरको नर्मल तापक्रम ९८.४ डिग्री फ. हो । शरीर तातो महसूस भए पनि तापक्रम १०० डिग्री फ. वरिपरि भएमा पारासिटामोल खान सकिन्छ । खोकीको लागि कफ सिरप तथा एन्टी एलर्जिक औषधि सेवन गर्दा हुन्छ । आफैंले एन्टिबायोटिक जस्ता कडा औषधि खानु हुँदैन । ज्वरो तथा खोकी सामान्य उपचारले ठीक नभएमा चिकित्सकसँग सम्पर्क राखेर औषधि सेवन गर्नुपर्दछ ।

– कोरोना संक्रमणले छातीमा असर गर्ने भएकोले ज्वरो र खोकी र छाती दुख्ने भएमा तुरुन्त छातीको एक्सरे गर्नुपर्दछ वा आवश्यकता अनुसार छातीको सिटीस्क्यान गर्नुपर्दछ ।

– गाह्रो भएमा वा अक्सिजनको मात्रा ९२ भन्दा कम भएमा तुरुन्तै अस्पताल जानुपर्दछ । अस्पताल जाने कुरामा कहिल्यै पनि भरे वा भोलि भन्नु हुँदैन ।

– आइसोलेसन अवधि पूरा भएपछि पटक–पटक टेस्ट गर्नु जरुरी छैन । पीसीआरले सक्रिय हो कि नष्ट भएको भाइरस हो भनेर छुट्याउन सक्दैन । कुनै–कुनै व्यक्तिको शरीरमा १० दिनदेखि ३ महिनासम्म पनि नष्ट भएका भाइरसका अवशेष रहन सक्ने भएकाले पोजिटिभ देखिन सक्छ । पटके पोजिटिभ रिपोर्टले संक्रमण भएको व्यक्तिलाई केहि असर गर्दैन, अन्य व्यक्तिलाई पनि सर्दैन । नेगेटिभ रिपोर्ट ल्याउने भनेर चिन्ता गर्ने वा परीक्षण गरिरहने गर्नु जरुरी छैन । 

– संक्रमण निको भएपछि पनि केही हप्ता असजिलो हुनसक्छ । थकाइ लाग्ने, मांशपेशी दुख्ने, सास फेर्न असजिलो हुने, निद्रा कम हुने, चिन्ता लाग्ने, स्वाद र गन्ध नआउने लगायत हुनसक्छ । यी समस्या केही हप्तापछि आफैं ठीक हुन्छन् ।

– अक्सिजन कम भएमा घरमा अक्सिजन दिएर हुँदैन । निमोनिया भएको भए हाइफ्लो अक्सिजन दिनुपर्ने हुन्छ । साथै एन्टिभाइरल लगायतका औषधि अस्पताल भर्ना भएर दिनुपर्दछ । नशाबाट औषधिहरू चलाउनुपर्छ ।

– जनस्वास्थ्यका मापदण्ड आम नागरिकले पनि जीवनशैलीको रूपमा पालना गर्नु जरुरी छ भने सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गराउन अनुगमन र निगरानी बढाउनु जरुरी छ । परीक्षणको दायरा व्यापक बढाउनु जरुरी छ । आइसोलेसन केन्द्र सुविधासम्पन्न बनाउनु जरुरी छ । संस्थागत आइसोलेसन आकर्षक नहुनाले होम क्वारेन्टीनमा बस्ने संक्रमितको मृत्यु संख्या बढेको हो । अक्सिजन शय्या, आईसीयू तथा भेन्टिलेटरको क्षमता बढाउनु जरुरी छ । 

– अहिले विश्वमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । तेस्रो लहर रोकथामको लागि विभिन्न देशले तयारी गरिरहेका छन् । तसर्थ हामीले पनि दोस्रो तथा तेस्रो लहर रोकथामको लागि तयारी गर्नु जरुरी छ ।

– जाडो मौसममा पहिले पनि निमोनिया, दम, ब्रोंकाइटिस आदि रोगले ठूलो संख्यालाई असर गर्थ्यो । जाडो महिनामा कोरोना संक्रमितलाई निमोनिया हुने सम्भावना धेरै हुन्छ । श्वासप्रश्वासका बिरामीलाई झनै असर गर्छ । प्रदुषणले पनि गम्भीरता बढाउँछ । तसर्थ जाडो महिनामा जोखिम वर्गका व्यक्ति अनिवार्य रूपमा घरमा बस्ने तथा काममा जाने व्यक्तिले अनिवार्य र सही तरिकाले मास्क लगाउनु जरुरी छ । भीडभाडमा नजाने तथा बन्द कोठामा बैठक, भेटघाट, भेला आदि गर्नु हुँदैन । बन्द कोठामा संक्रमण धेरै फैलिन्छ ।

– आफूले खाइरहेका विभिन्न रोगका औषधि छोड्नु हुँदैन । सक्रिय जीवनशैली बिताउनु पर्दछ ।

– कोरोना भाइरसविरुद्ध खोपको निर्माणले ठूलो फड्को मारेको छ । आशा गरौं, खोप छिटो आउनेछ । खोप आफ्नो पाखुरामा नलगाएसम्म मास्क, दूरी र सफाइलाई छोड्नु हुँदैन ।

डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्