भ्रष्टाचारको चपेटामा मानव अधिकार : मानव मर्यादा र अधिकारको मर्ममा आघात

महेश शर्मा पौडेल
महेश शर्मा पौडेल

पौडेल उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश हुन् ।

हिंसाले राष्ट्र वा समाजको आत्मालाई अपाङ्ग बनाउँछ भने भ्रष्टाचारले समाज वा राष्ट्रको आत्मा नै मारिदिन्छ । तर पनि भ्रष्टाचार सर्वव्यापक छ । भ्रष्टाचारले कुनै एक क्षेत्र वा मुलुकमात्र आक्रान्त नभई समग्र विश्व नै आक्रान्त छ । यसरी नै भ्रष्टाचारले नछोएको क्षेत्र पाउन कठिन छ । प्रशासनिक, राजनैतिक, वा वित्तिय क्षेत्र लगायतका क्षेत्रमा विश्वव्यापी रूपमा नै  भ्रष्टाचार व्याप्त रहेको छ । जुनसुकै क्षेत्रको भ्रष्टाचार भएपनि यसले सामाजिक स्थायित्व र सुरक्षामा गम्भीर समस्या उत्पन्न गराउँछ, प्रजातान्त्रिक र नैतिक मूल्यमान्यताप्रति उपेक्षा गराउँछ, तथा दिगो विकास, न्याय, समानता, मानव अधिकार र कानूनको शासनप्रति खतरा उत्पन्न समेत गराउने भएकाले यसको नियन्त्रण अनिवार्य छ ।

भ्रष्टाचार विश्वव्यापी समस्या हो । पूर्ण रूपमा भ्रष्टाचारमुक्त समाज ,राष्ट्र तथा संस्था पाउन कठीन छ । यसैले भ्रष्टाचारको कुनै सिमाना नभई यो सर्वव्यापक छ भनिन्छ । भ्रष्टाचारलाई हेर्ने दृष्टिकोण हिजो जस्तो थियो आज परिवर्तन भएको छ । सन् १९९० को दशकसम्म भ्रष्टाचार अन्तर्राष्ट्रिय र कूटनीतिक तहमा छलफलमा नल्याई देशभित्रकै विषय मात्र मानिन्थ्यो तर अहिले विश्वमै यो समस्या अन्तर्राष्ट्रिय समस्याको रूपमा लिई अन्तर्राष्ट्रिय स्तरमा छलफल, चासो र चिन्ताको विषय बन्न पुगेको छ । 


Advertisement

हिजोका दिनहरूमा भ्रष्टाचारलाई केबल शासकीय समस्याको रूपमा मात्र लिई भ्रष्टाचार नियन्त्रणमा सार्वजनिक अधिकारीको उत्तरदायित्व र जवाफदेहिता सिर्जनामा मात्र नीतिगत व्यवस्था केन्द्रित रहने गर्दथे  । पछि भ्रष्टाचारलाई आर्थिक मुद्दाको रूपमा पनि लिन थालियो र हालका दिनमा भ्रष्टाचारले समाजको सामाजिक संरचनामा गम्भीर असर पार्दछ भन्ने तथ्यलाई मनन गर्न थालिएको छ । यसका साथै अहिले भ्रष्टाचार र मानव अधिकार अन्तरसम्बन्धित रहेकाले भ्रष्टाचार नियन्त्रणमा मानव अधिकारको पक्षलाई पनि आत्मसात गर्नुपर्ने धारणा पनि विकास भइरहेको छ । भ्रष्टाचार र मानव अधिकार अन्तरसम्बन्धित भएपनि यी दुई विषयलाई एकापसमा आवद्धित गरेर भर्खरै जस्तो हेर्न थालिएको छ । यथार्थमा राज्यले भ्रष्टाचार नियन्त्रण र मानव अधिकारको संरक्षणको पाटोलाई समानान्तर रूपमा आत्मसात गर्नुपर्छ । 

भ्रष्टाचारले नछुने मानवजीवनको कुनै क्षेत्र छैन । भ्रष्टाचारका धेरै प्रभावहरूमध्ये मानव अधिकारको उल्लंघन एक प्रमुख प्रभाव हो । भ्रष्टाचारले मानिसका नागरिक तथा राजनैतिक अधिकार एवं आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हनन् गर्छ, निर्वाध रूपमा यी अधिकारको उपभोगमा अवरोध पुर्‍याउँछ र अधिकारमा क्षति समेत पुर्‍याउँदछ । भ्रष्टाचार शान्ति, स्थायित्व, दीगो विकास, लोकतन्त्र र मानव अधिकारका लागि बाधकको रूपमा रहेको मानिन्छ । 


Advertisement

भ्रष्टाचारले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा मानव अधिकारमा असर पार्दछ । कतिपय अवस्थामा भ्रष्टाचारले मानव अधिकारमा प्रत्यक्ष प्रभाव पार्दछ । भ्रष्टाचारका कारण विकासका खर्च दुरूपयोग भई विकासको गति पछाडि धकेलिन्छ । यसले जनताका जीवनको सुरक्षा, रोजगारीका उपलब्धता जस्ता न्युनतम अधिकार हनन हुन पुग्छन् । यसैगरी, सामाजिक सुरक्षा जस्ता मानवजीवनका अति संवेदनशील कार्यमा हुने भ्रष्टाचारका कारण गरीब जनता झन् गरीब भई भोकमरी जस्ता समस्याबाट पीडित बन्ने कारुणिक अवस्था सिर्जना हुन्छन् । गरीब जनताको गाँसबास र कपासको चाहना मृगमरिची बन्न पुग्छ । भ्रष्टाचार एक तर यसका प्रत्यक्ष र अप्रत्यक्ष तथा दीर्घकालीन अनेक प्रभाव मानव अधिकारमा पर्दछन् ।

भ्रष्टाचारले थुपै असमानताजन्य स्थितिको सिर्जना गर्दछ । यसले विभेदको अवस्था सिर्जना गर्छ, नागरिकले पाउनु पर्ने सेवा र सुविधा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था पनि उत्पन्न गराउँछ । अधिकारको उपभोगमा प्रतिबन्ध लाग्ने परिस्थिति पनि उपस्थित गराउँछ तथा असमानरूपमा कसैका पक्षमा प्राथमिकता पनि प्रदान गराउँछ जसले गर्दा नागरिक आफ्ना अधिकारको निर्बाध उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ ।  

शिक्षामा भएको लगानी भ्रष्टाचारका कारण लक्षित वर्गसम्म पुग्न नसक्ने र विद्यार्थीहरू पाठ्यपुस्तक पनि नपाउने अवस्था सिर्जना हुन्छ । विद्यालयले राम्रो र गुणात्मक शिक्षा प्रदान गर्न नसक्ने स्थिति पनि पैदा हुन्छ । भ्रष्टाचारले असमानता र भेदभावलाई बढाउँछ । कमजोर वर्गलाई आय र आम्दानीको अवस्थाबाट वञ्चित गर्दछ, र नागरिकका नागरिक, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको व्यवहारतः उपयोग हुन नसक्ने अवस्था सिर्जना गर्दछ । त्यसैले, मानव जीवन र मानव अधिकारका हरेक पहेलुहरूमा भ्रष्टाचारले नकारात्मक असर पुर्‍याउँछ ।

सबै नागरिकहरू कानूनका अगाडि समान हुन्छन् भन्ने मान्यता सरलरूपमा भनिने तर व्यवहारमा रूपान्तरित नहुने यथार्थता देखिएको छ । समानता र भेदभावको मान्यता मानव अधिकार विधिशास्त्रको आधारभूत मान्यता हुन् तर भ्रष्टाचारका कारण सार्वजनिक पदाधिकारीहरूले नागरिकहरूबीच असमान व्यवहार गरिरहेका हुन्छन् । घुस दिने व्यक्तिको पक्षमा पक्षपातपूर्ण व्यवहार भइरहेको हुन्छ ।

भ्रष्टाचारले थुपै असमानताजन्य स्थितिको सिर्जना गर्दछ । यसले विभेदको अवस्था सिर्जना गर्छ, नागरिकले पाउनु पर्ने सेवा र सुविधा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था पनि उत्पन्न गराउँछ । अधिकारको उपभोगमा प्रतिबन्ध लाग्ने परिस्थिति पनि उपस्थित गराउँछ तथा असमानरूपमा कसैका पक्षमा प्राथमिकता पनि प्रदान गराउँछ जसले गर्दा नागरिक आफ्ना अधिकारको निर्बाध उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ ।  

भ्रष्टाचारका कारण सरकारी अधिकारीले गर्ने निर्णय स्वच्छरूपमा नभई पैसा र शक्तिका आधारमा हुन्छन् । फलतः निर्णयहरू गर्दा आत्मसात गर्नुपर्ने न्याय, समानता, स्वच्छता जस्ता तत्व उपेक्षित हुन्छन् । यसले अन्नतः समानताको अधिकारलाई कुठाराघात गर्छ । कानूनको शासनको मर्मलाई तिलाञ्जली दिन्छ । नागरिक तथा राजनैतिक अधिकार विषयक अन्तर्राष्ट्रिय अनुबन्धलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजले निष्पक्ष सुनुवाईको अधिकारको प्रत्याभूति गरेका छन् । तर, भ्रष्टाचार भएमा व्यक्तिका निष्पक्ष सुनुवाइको अधिकार उल्लंघन गर्छ ।

कतिपय अवस्थामा भ्रष्टाचारले अप्रत्यक्ष रूपमा मानव अधिकारको उल्लंघन गरिरहेको हुन्छ । यस्तो अवस्थामा भ्रष्टाचारले प्रत्यक्षरूपमा मानव अधिकार उल्लंघन नगर्ने भए पनि भ्रष्टाचारजन्य कार्य मानव अधिकार उल्लंघनको कारण बनिरहेको हुन्छ । सोही जरियाबाट मानव अधिकार उल्लंघनमा मार्ग प्रशस्त भएको हुन्छ । उदाहरणका लागि यदि कुनै अधिकारीले रिस्वत लिएर विदेशबाट हानिकारक पदार्थ ल्याउन दिई आवास क्षेत्र नजिक राखियो भने त्यतिबेला अप्रत्यक्ष रूपमा रिस्वतका कारण त्यहाँका निवासीको जिउज्यानसम्बन्धी र स्वास्थ्यसम्बन्धी अधिकार हनन हुन पुग्दछ । कतिपय अवस्थामा भ्रष्टाचार मानव अधिकारको उल्लंघनको एक्लो कारण त हुँदैन तर अन्य कारणसँगै  यसले पनि दिर्घकालीन भूमिका निर्वाह गरेको हुन्छ । 

कतिपय अवस्थामा भ्रष्टाचारका कारण मानव अधिकार उलंघन हुने कारण पनि बनिरहेको हुन्छ । उदाहरणका लागि यदि निर्वाचन प्रक्रियामा भ्रष्टाचार हुन्छ भने त्यसले निर्वाचन परिणाममा असर पर्दछ । जसका कारण प्रर्दशनहरू हुन्छन् र त्यसले हिंसाको रूप लिन पनि सक्छ । यसरी निर्वाचन प्रक्रियामा भ्रष्टाचारले राजनीतिक अधिकारमा प्रत्यक्ष प्रभाव त पारेकै हुन्छ त्यसका अतिरिक्त त्यसबाट सिर्जना हुने परिस्थितिले थप मानव अधिकारहरू उल्लघंन हुन मार्ग प्रशस्त गर्न पुग्छ । वास्तवमा भ्रष्टाचार मानव अधिकार उपयोगमा प्रमुख बाधकको रूपमा रहेको हुन्छ ।

मानव मर्यादा वा प्रतिष्ठा कायम गराउनका लागि मानव अधिकार अपरिहार्य हुन्छ । मानिसले समाजमा सम्मानित र प्रतिष्ठितरूपमा रहन पाउनुपर्छ । यसैले, यो मानव मात्रका लागि नभई नहुने कुरा हो । जहाँ मानव प्रतिष्ठा र सम्मान रहँदैन त्यहाँ मानव अधिकार छ भन्न सकिँदैन । मानिसको प्रतिष्ठा वा मानवको जीवनस्तर आर्थिक आधारमा मापन गर्न सकिन्छ भन्ने प्रायः धारणा रहेको देखिन्छ । तर, मानव प्रतिष्ठाको निर्धारणको तत्व आर्थिक पक्ष मात्र हुन सक्दैन । आर्थिक पक्ष एवं स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, खाद्यान्न र मताधिकार लगायतका विभिन्न विषय मानव प्रतिष्ठाका लागि आवश्यक हुन्छ । यसका लागि एउटा मानिस सम्मानित रूपमा बाँच्न जे जति विषय आवश्यक पर्छ ती सबै मानव प्रतिष्ठाका विषय हुन् । मानवले प्रतिष्ठित रूपमा समाजमा जीवनयापन गर्न पाउने कुरा मानव अधिकारको प्रत्याभूतिविना सम्भव हुदैन । तर, भ्रष्टाचारका कारण मानवीय मर्यादा कायम गर्ने कुरामा समेत असर पर्दछ र मानव मर्यादा कायम गर्ने मानव अधिकारको मर्ममा आघात पुग्छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००३ को अक्टोबर ३१ मा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय महासन्धि स्वीकार गरी डिसेम्बर ९ लाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो र तदनुरूप सो दिन यो दिवस मनाइन्छ । यसरी नै सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झनास्वरूप १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पनि मनाइन्छ । संयोगले यी दुवै दिवस एकदिनको फरकमा पर्दछन् ।

नेपाल भ्रष्टाचारको समस्याबाट आक्रान्त छ भन्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनकि गर्ने करप्सन पर्सेप्सन इन्डेक्समा नेपालको अंक प्रत्येक वर्ष १०० मा करीब ३० को हाराहारीमा रहने गरेकोबाट स्पस्ट रूपमा देखिन आएको छ । यस अवस्थामा नेपालमा पनि भ्रष्टाचारले मानव अधिकारको कार्यान्वयनमा नकारात्मक असर पर्नु स्वाभाविक हुन्छ । यसैले, भ्रष्टाचार नियन्त्रण र मानव अधिकार संरक्षण तथा सम्वर्द्धनको विषय राज्यको चासो र सरोकारको विषय हो । नेपालमा भ्रष्टाचार नियन्त्रण र मानव अधिकार संरक्षण गर्ने कार्य आमनागरिकले अनुभूत गर्नसक्ने तहमा हुन सकोस् भन्ने कामना र अपेक्षा गरौं ।

महेश शर्मा पौडेल
महेश शर्मा पौडेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्