सगरमाथा नाप्ने नेपाली टोलीका प्रमुख गौतम : दुई घण्टासम्म चुचुरोमा रोकिए, हिउँले औंला खायो !

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ अग्लिएसँगै नेपाल र नेपालीको शिर स्वतः अग्लिएको छ । गत मंसिर २३ गते मंगलबार युगान्तकारी दिन रह्यो । सरकारले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गर्‍यो । 

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको महशुस भएको छ । ६५ वर्षदेखिको रेकर्ड तोड्दै सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढी कायम भएको हो । जसबाट सगरमाथाको उचाइबारे यसअघि आएका विभिन्न विवाद स्वतः पखालिएका छन् ।


Advertisement

सगरमाथा आरोहण आफैँमा चुनौतीपूर्ण हो । अझ यसको चुचुरोमा पुगेर मापन गर्नु अझ कठिन र चुनौतीपूर्ण हो नै । नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) इञ्जिनीयर खिमलाल गौतम नेतृत्वको आरोही टोलीले अत्याधुनिक प्रविधिमार्फत् गत जेठमा आरोहणसहित उचाइ मापन गरेको थियो । इञ्जिनीयर गौतम नेतृत्वको टोलीमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल पनि संलग्न थिए । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।


Advertisement

कास्कीको माछापुच्छ्रे गाउँपालिका (साविक धिताल गाविस) निवासी ३७ वर्षीय गौतमले पोखरामा लोकान्तरसँग कुराकानी गर्दै भने, ‘सगरमाथाको नयाँ उचाइ घोषणा दिन युगान्तकारी दिन हो । नेपाल आफैँले सगरमाथा नाप्ने अभियानमा एउटा बिन्दुमा राष्ट्रको लागि योगदान गर्न पाउँदा हर्षविभोर छु ।’

सो ऐतिहासिक कार्य पूरा गर्न नेपाल सरकारको नापी विभागको नेतृत्व गौतमले पाएका थिए । ‘मैले सबैभन्दा ठूलो चुनौतीपूर्ण काम गर्ने अवसर पाएँ । विश्वको सर्वोच्च शिखर आरोहण आफैँमा चूनौतीपूर्ण काम हो । त्यसमाथि पनि त्यहाँ पुगेर काम गर्नु अत्यन्तै चुनौतीपूर्ण काम हो,’ उनले भने, ‘नेपालले आफैले इतिहास निर्माण गरेको छ । यो सगरमाथाको राज्याभिषेक समारोह हो । राज्यले अपनत्व गरेको विषय हो । यसको अन्तर्राष्ट्रिय महत्त्व बेग्लै छ । सामरिक महत्त्व पनि छ ।’

‘हामीले आधुनिक प्रविधिमार्फत मापनका लागि कच्चा तथ्यांक संकलन गर्न जोखिम उठाएका हौं । आरोहणका लागि आरोहण गरेका हैनौं । मज्जा लिनलाई, फोटो खिच्नलाई त्यो आरोहण थिएन,’ उनले अगाडि भने, ‘सगरमाथा आरोहण गरेर उचाइ नापेको पहिलो टोली नेपाली टोली हो । यसर्थ पनि हामीहरू गौरवान्वित छौं ।’

गौतम सगरमाथामा पाइला टेक्ने पहिलो निजामती कर्मचारी पनि हुन् । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा गत २०६८ साल जेठ ४ मा सफल आरोहण गरेको उनीसँग अनुभव थियो । त्यसबेला १५ जनामध्ये ९ जना चुचुरोमा पुगेर फर्केका हुन् ।  नापीका कर्मचारी र आरोहण अनुभवी भएकाले पनि उनी यसपालि निर्विकल्प थिए ।

डिभाइस इक्प्युप्मेन्टसहित आरोहण गरेको गौतम नेतृत्वको टोलीले गत २०७६ जेठ ४ गते बुद्ध पूर्णिमाको दिन आधार शिविरबाट प्रस्थान गरी ७ गते चुचुरोमा पुगेर ८ गते फर्किएको थियो । त्यसबेला ३ दिनसम्म त टोलीले आरोहणक्रममा मृत्यु क्षेत्र (डेथ जोन) मा बिताएको थियो । अक्सिजन सकिँदा निकै समस्या परेको र अरूसँग सापटी मागेर जीवन र मृत्युको दोसाँधबाट फर्किएको उनले बताए । पर्यटन विभागका अनुसार उनीहरूले आरोहण गरेको जेठ ७ गतेको बेला अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी आरोही २ सय २३ जना चुचुरोमा पुगेका थिए । 

सगरमाथाको यसअघि मापन नभएको हैन, तर किन नाप्नुपर्‍यो ? भन्ने पनि जिज्ञासा पनि सबैलाई स्वतः आउँछ । ‘कुनै पनि कुरा सानो लाग्ला तर त्यसले दिने अर्थको भौगोलिक र ऐतिहासिक रुपमा ठूलो महत्त्व हुन जान्छ । महत्त्व स्थापना गर्न नेपालले आफ्नै कर्मचारी पठायो । त्यसमा हामीहरू सहभागी भयौँ । अन्तर्राष्ट्रियस्तरको महत्त्व छ । संसारभरका मिडियाले समाचार कभरेज गरेका छन्,’ कुराकानीका क्रममा गौतममा खुशीको सञ्चार भेटिन्थ्यो ।

तैपनि केही क्षण उनी भावुक देखिए । आरोहण गरेर अत्यधिक खुशी बोकेर फर्किँदा यता उनले सुपुत्र गुमाए । सो द्रवीभूत घटनामा उनी भावुक बनेका हुन्  । उनले भने, ‘विजय र शोक एकैपल्ट आयो । अत्यधिक खुशी तथा उपलब्धि मिल्दा दुःख र पीडा पनि सँगसँगै आयो ।’ 

उनका अनुसार आफू सगरमाथा चढ्ने भनेपछि परिवारका सदस्य त्यति खुशी थिएनन् । त्यसको असर बच्चासम्म परेको हुनुपर्छ । 

२०६१ सालमा अमिन (खरिदार तह) पदबाट निजामतीमा प्रवेश गरेका उनी बढुवा नभइकन खुला प्रतिस्पर्धाबाटै उपसचिव पदमा पुगिसकेका छन् । हाल नापी विभागअन्तर्गत कास्कीमा कार्यरत छन् । तनहुँ, गोरखा र मुस्ताङ जिल्लामा पनि उनी सेवाको क्रममा बसेका छन् । कास्कीको माछापुच्छ्रे«े गाउँपालिकाका भीमप्रसाद गौतम र आमा प्रेमकुमारी गौतमका २ भाइ छोरा र ५ बहिनी छोरीमध्ये उनी कान्छा हुन् ।  सगरमाथा आरोहणसँगै उचाइ मापनमा भएको सफलताबारे अनुभवसहितको किताब पनि लेख्दै गरेको उनले लोकान्तरलाई जानकारी दिए ।

आरोहणको क्रममा वायुमण्डलमा अक्सिजनको मात्रा निकै घट्ने अवस्थामा शारीरिक एवं मानसिक रूपमा लखतरान भएर चुचुरोमा पुग्ने काम हरेक आरोहीका लागि ठूलो सफलता हो । गौतमका अनुसार टोलीले चुचुरोमा २ घण्टा बिताएर साथै लगिएको यन्त्रका सहायताले भूउपग्रहीय विवरण लिएका थिए । चुचुरोमा धेरै समय बिताउँदा गौतमको खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो । त्यहाँ उनीहरूले लगेको जीपीएस यन्त्र र तल जमिनमा राखिएका ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम (जीएनएनएस) ले एकैसाथ आफ्नो अवस्थितिबारे भूउपग्रहको सञ्जालका सहायताले विवरणहरू संकलन गरेका हुन् ।

जीपीएसको सहायताले एक सेन्टिमिटर वा अझै कम तलमाथि पर्ने गरी पृथ्वीको केन्द्रभागसम्मको दूरी नाप्न सकिन्छ । सगरमाथाको मुनि रहेको समुद्री सतह नाप्ने काम भने निकै कठिन हो । नेपालले करीब २ वर्ष लगाएर उचाइ मापन गरेको हो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणक्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौताबमोजिम दुवै देशका सरकारले संयुक्त घोषणा गरेका हुन् । नेपालको नापी विभागले शुरू गरेर डाटा प्रोसेसिङ गरी जुन बिन्दुमा ल्याएको थियो, चिनियाँको टोलीको सर्भे र तथ्यांक प्रशोधनमा पनि समान ८८४८.८६ मिटर तथ्य देखा परेको थियो । 

कसरी नापियो सगरमाथा उचाइ ?

सगरमाथाको उचाइ मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) विधि अवलम्बन गरिएको थियो । सो विधि अत्याधुनिक विधि थियो । यसमा पृथ्वीभन्दा करीब २० हजार किमीमाथि रहेका कृत्रिम भूउपग्रहहरूको मद्दतबाट चुचुरोको अवस्थिति र उचाइ पत्ता लगाइएको हो । 

गौतमका अनुसार यसअन्तर्गत ग्राउण्ड सर्भे, प्रिसाइज लेभलिङ, ड्रिगोमेटिक लेभलिङ, ट्राङ्गुलेसन, भू–आकर्षण सर्भे, ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम (जीएफएसएस) लागू गरिएको थियो ।

कृत्रिम भू–उपग्रहहरूको मद्दतबाट सगरमाथाको चुचुरोमा स्थापना गरिएको स्टेसन र त्यहाँजडित इक्प्युप्मेन्ट जुन सिग्नल रिसिभ गरेर ती स्याटेलाइटको पोजिसन र आफ्नो पोजिसन इन्टरसेक्सन (अन्तरक्षेदन) गरी त्यहाँको परिशुद्ध, अवस्थिति र उचाइ पत्ता लगाइएको हो । 

उचाइ पत्ता लगाउन डाटाका लागि आरोहण टोली चुचुरोसम्म पुगेको हो । त्यो डाटापछि कम्प्युटरमा प्रोसेसिङ गरेर सही मापन पत्ता लागेको हो । गौतमका अनुसार ग्राउन्डमै सयौं स्टेसनहरू स्थापित गरिएको थियो । त्यसको डिफ्रेन्सियल पोजिसनहरू हेर्नुपर्ने हुन्छ । सो कार्यका लागि सिरहादेखि सगरमाथाको चुचुरोवरिपरि करीब ७८ किमी परिशुद्ध लेभलिङ सर्भे गरिएको थियो । त्यसैअन्तर्गत रहेका हिल स्टेसनहरूमा रहेका त्रिकोणमितीय सर्भे, त्यसपछि ग्राभिटेसन (भू-आकर्षण नापी), बाँकी रहेका लेभलिङ लाइनमा जीपीएस सर्भे, विभिन्न सर्भे गरेर विभिन्न डिफ्रेन्सियल पोजिसनिङ निकालेर सगरमाथा र यसको वरिपरि नेपालको क्षेत्रमा सर्भे गरिएको हो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि आधिकारिक मान्यता पाएको थिएन । नेपालले पनि ती मापन स्वीकारेको थिएन । तर अहिलेको विधिबाट गरिएको मापनलाई संसारभर नै अहिलेसम्मकै विश्वसनीय भनी स्वीकारेको पाइन्छ । 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्