पत्रकारितासँगै मौरीपालनबाट वार्षिक ५ लाख कमाउँदै घनश्याम

जीवन विष्ट
जीवन विष्ट

विष्ट लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

पुसको कठ्यांग्रिँदो जाडो । अरु दिनको तुलनामा शुक्रवार चिसो निकै बढेको थियो ।

कैलालीमा शितलहर र हुस्सुका कारण आवतजावत गर्नै कठिनाइ भइरहेको थियो तर जाडोको पर्वाह नगरी घनश्याम पौडेल कैलालीको मध्यक्षेत्र गौरीगंगाबाट मह पुर्‍याउन धनगढी बजार पुगे ।


Advertisement

‘यस वर्ष महको उत्पादन बढेको छ,’ उनले भने, ‘अहिले त माग धान्न हम्मेहम्मे छ । माग निकै बढेकाले पुर्‍याउन निकै दौडधुप भइरहेको छ ।’

कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर (मसुरिया) निवासी घनश्याम पौडेल अहिले मौरीपालनबाट मनग्यै आम्दानी गर्दैछन् । उनी पेशाले पत्रकार हुन् ।


Advertisement

२०६२ सालबाट धनगढीको सुदूर सन्देश पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका घनश्याम अहिले पनि कैलालीका सक्रिय पत्रकार हुन् । जिल्लाको मध्यक्षेत्र गौरीगंगा नगरपालिकाबाट कमल चलाइरहेका उनी सफल मौरीपालक किसान बनेका छन् ।

‘मौरीपालन गरिरहेकाहरूको ‘स्टोरी’ (समाचार) लेख्दालेख्दै म आफैं मौरीपालक बनें,’ उनले भने, ‘२०७० सालतिर म आफ्नो क्षेत्रकै एक जना मौरीपालक किसानको रिपोर्टिङका लागि पुगें, ती किसानले मह चखाउँदा निकै मख्ख भएको थिएँ । त्यति मात्रै होइन, मैले मसुरियामा मौरीपालन गरिरहेका अधिकांश किसानको कथा पत्रिकामा लेखें । मौरीपालन सम्बन्धी रिपोर्टिङ गर्दै जाँदा मलाई पनि मौरी पाल्ने रहर जाग्यो ।’

मौरी पाल्न तम्सिएपछि पत्रकार पौडेलले २०७० फागुनमा स्थानीय एक सहकारीमा ५ घार मौरीका लागि पैसा बुझाए । ‘१ घारको ८ हजार शुल्क तिर्नुपर्ने थियो । ५० प्रतिशत अनुदानमा मैले ५ घारको २० हजार तिरें । अर्काे दिन म रिपोर्टिङमा गएको थिएँ । सहकारीले घरमा मौरीको घार पुर्‍याइदिएछ । म साँझ घर फर्किंदा सबै रिसाउनुभयो मसँग । मैले घर सल्लाह गरेको थिइनँ,’ उनले भने ।

तालिम र अनुभव विना शुरूआती चरणमा निकै समस्या भएको उनले बताए । ‘५ घारबाट पनि मह निकाल्न हामीलाई पूरै दिन लाग्थ्यो,’ उनले भने, ‘केही मौरी मरे । किन मौरीपालन गरेछु भनेर पछुताएँ पनि ।’

रहरै–रहरले नै मौरीपालन शुरू गरेका घनश्यामले २२ दिनपछि बल्ल मौरीपालन सम्बन्धी तालिम लिए । त्यसपछि ५ घारबाट उनले १२ घार मौरी थपे । ‘तालिम लिएपछि निकै सहज भयो,’ उनले भने, ‘घर परिवारको पनि साथ मिलेपछि अहिले ५० घार मौरीपालन गरिरहेको छु ।’

पत्रकारिता गरेर सन्तुष्टि र मौरीपालनबाट मनग्यै आम्दानी भइरहेको घनश्यामले बताए । ‘अहिले वार्षिक रूपमा ५ लाख आम्दानी भइरहेको छ । यस वर्ष मौसमले साथ दिँदा मह उत्पादन वृद्धि भयो । ३ पटकसम्म मह निकालिसकें,’ उनले भने ।

मौरीपालनबाट निकै सन्तुष्ट छन् घनश्यान । अहिले उनलाई माग धान्नै मुस्किल भइरहेको छ । मह लिन धेरै ग्राहक घरसम्मै पुग्छन् । कैलालीको धनगढी लगायतका बाह्य जिल्लाबाट पनि महको माग भइरहेको छ । ‘सम्भव भएसम्म पुर्‍याउने गरेको छु,’ उनले भने, ‘कोरोना कहरबीच महले शरीरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात् (इम्युनिटी पावर) बढाउने भन्दै सेवनकर्ताहरू बढेकाले माग धान्न गाह्रो छ ।’

महको माग बर्सेनि बढ्दै गइरहेको उनी बताउँछन् । ‘हामीले उत्पादन गरेको महले मात्रै माग धान्न नसक्ने भएकाले भारतबाट समेत आयात गरिँदै आएको छ,’ उनले भने, ‘जिल्लामा करीब २०० कृषकहरूले मौरीपालन व्यवसाय गरिरहेको छौं । सरदर वार्षिक १५ टनसम्म मह उत्पादन पनि भइरहेको तर हामीले माग धान्न नसक्दा भारतबाट पनि मह आयात भइरहेको छ ।’

नेपाली बजारमा महको माग धान्न र नेपाली युवालाई मौरीपालन व्यवसायतर्फ आकर्षित गरी आर्थिक उपार्जनमा सक्षम बनाउनुपर्ने उनको सुझाव छ ।

जीवन विष्ट
जीवन विष्ट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्